Loading... आजः ५ असार २०७८, शनिबार
अन्तर्वार्ता

‘हामी खतरनाक महामारीसँग लडिरहेका छौँ’

समुदायस्तरमा सङ्क्रमण फैलिइसकेकाले कोरोना नियन्त्रण र गम्भीर सङ्क्रमितको उपचार गर्न स्थानीय सरकारलाई ठूलो चुनौती बन्दै गएको छ ।
‘हामी खतरनाक महामारीसँग लडिरहेका छौँ’

बाँकेको पिछिडिएको क्षेत्र मानिन्छ, राप्ती नदीपारिको राप्तीसोनारी गाउँपालिका । बिस्तारै विकास निर्माणमा फड्को मार्न थालेकै बेला कोरोनाको दोस्रो लहर तीव्र गतिमा सुरु भएपछि सबै काम रोकेर पालिका कोरोना नियन्त्रणमा जुटेको छ । सुरुमै गाउँपालिका अध्यक्षसहित सबै शाखाका प्रमुख तथा अन्य कर्मचारी सङ्क्रमित हुँदा नियन्त्रणका काममा केही ढिलाइ हुन गएको थियो ।

अहिले अध्यक्षसहित सबै कर्मचारी कोरोनामुक्त भइसकेकाले नियन्त्रण र उपचारका लागि तीव्र गतिमा काम गरिरहेका छन् । गाउँपालिकाको समग्र अवस्थासहित कोरोना नियन्त्रणका लागि हाल के–कस्ता प्रयास भइरहेका छन् भन्ने विषयमा राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारूसँग पत्रकार सिराज खानले गरेको कुराकानी :

कोरोना सङ्क्रमणको दोस्रो लहरमा गाउँपालिकाको समग्र अवस्था अहिले कस्तो छ ?

– कोरोनाको दोस्रो लहर सुरु भएयता वैशाख महिनाको सुरुवातबाटै समग्र बाँके जिल्लाकै अवस्था भयावह बन्दै गएको बेला अहिले राप्तीसोनारी गाउँपालिकाको अवस्था पनि फरक छैन । समुदायस्तरमा सङ्क्रमण फैलिइसकेकाले कोरोना नियन्त्रण र गम्भीर सङ्क्रमितको उपचार गर्न स्थानीय सरकारलाई ठूलो चुनौती बन्दै गएको छ । पालिकाभित्र जताततै रुघाखोकीका बिरामी बढ्दै गएको सूचना निरन्तर आइरहेका छन् ।

नेपालगन्ज र कोहलपुरमा रहेका कोभिडको उपचार गर्ने दुईवटा अस्पतालमा शैय्या र अक्सिजनको अभावले बिरामी फर्काउने अवस्था छ । यस्तोमा हामीले आफ्नै पालिकामा आफ्नै साधन स्रोतले अक्सिजनसहितका आइसोलेसन बनाउने अभियान सुरु गरेका छौँ । पालिकाभित्रका जनताको परीक्षण र उपचार दुवैका लागि अहिले हामी युद्धस्तरमा खटिएका छौँ । त्यसका लागि सबै पालिकावासीको सहयोग र समर्थन मागेका छौँ ।

पछिल्लो सङ्क्रमण सुरु भएको एक महिना पुग्न लाग्यो तर भर्खर अभियान थालेको भन्नुभयो । ढिला भएन र ?

– हो, तपाईंले ठीक भन्नुभयो । कोरोना नियन्त्रण र उपचारको व्यवस्थापनमा अलिकति ढिलाइ भएकै हो । तर, सो हुनुमा केही विशेष कारण पनि छन् । दोस्रो लहरको सङ्क्रमण सुरु भएलगत्तै मलगायत मेरो पालिकाका सबै शाखा प्रमुख र कर्मचारी गरेर १६ जना एकैपटक सङ्क्रमित हुन पुग्यौँ । जसले गर्दा हामी सबै होम आइसोलेसनमा बस्नुपर्ने बाध्यता आयो ।

सो कारणले तत्काल नियन्त्रण र उपचारको व्यवस्थापनमा खटिन सकिएन । तर पनि आफू सङ्क्रमित हुँदाहुँदै पनि मैले फोनकै माध्यमबाट नियन्त्रण र व्यवस्थापनको काम जारी राखेको थिएँ । आफू थलापरे पनि जनतालाई जोगाउनुपर्छ भन्ने मनसायले आराम गर्न नसकेर व्यवस्थापनमा खटिएँ । अब हामी ठीक भइसकेका छौँ । अहिले दिनरात आइसोलेसन निर्माण, अक्सिजनको व्यवस्थापन र चेतनामूलक कार्यक्रममा जुटेका छौँ ।

कोरोना नियन्त्रण र उपचारका लागि के–के तयारी गर्नुभएको छ त ?

– हामीले सकेसम्म सङ्क्रमितलाई पालिकामै राखेर उपचार गर्ने व्यवस्थापनमा जुटेका छौँ । त्यसका लागि पालिकाभित्र चार ठाउँमा आइसोलेसन केन्द्र बनाएका छौँ । सबै ठाउँमा अक्सिजनको व्यवस्था मिलाउँदै छौँ । वडा नम्बर २, ३, ६ र ७ मा ४२ शैय्याको आइसोलेसन बनाएका छौँ । ६५ वटा अक्सिजन सिलिन्डर झिकाइसकेका छौँ भने थप सिलिन्डरका लागि पनि प्रयास जारी छ ।

बैजापुरमा भएको अस्पताललाई थप सुविधा सम्पन्न बनाएर उपचारको व्यवस्था मिलाएका छाँैं । डाक्टर र स्वास्थ्यकर्मीको भर्नाका लागि सूचना निकालेका छौँ । केही दिनमै डाक्टर र अन्य स्वास्थ्यकर्मीको व्यवस्था हुनेछ । हाम्रो क्षेत्रका सङ्घीय सांसद महेश्वर गहतराज ‘अथक’ले पनि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेटबाट राप्तीसोनारीलाई अक्सिजनका लागि पाँच लाख रुपैयाँ दिएको सुनेको छु ।

त्यसबाट पनि अक्सिजन व्यवस्थापनमा सहयोग पुग्नेछ । यसका साथै रुघाखोकी लागेका वा लक्षण देखिएकाहरूको गाउँमै एन्टिजेन परीक्षण गर्ने व्यवस्था पनि मिलाएका छौँ । जनचेतनाका लागि पालिकाका उपाध्यक्षको संयोजकत्वमा वडा–वडामा कोरोना नियन्त्रणको चेतनामूलक कार्यक्रम पनि सुरु गरेका छौँ । भारत वा बाहिरबाट आउनेहरूको लगत सङ्कलन गर्ने तथा उनीहरूको परीक्षण गर्ने व्यवस्था पनि गर्दै छौँ ।

अहिलेका मूल समस्या र चुनौती के–के हुन् ?

– अहिले हामी युद्धस्तरमा जुटेर आफ्नो पालिकाभित्र चिकित्सक र अक्सिजनसहितका आइसोलेसन तथा अस्पतालको व्यवस्थापन गर्ने काममा लागे पनि धेरै समस्या र चुनौती पनि सामना गर्नु परिरहेको छ । नेपालगन्ज र कोहलपुरमा सुविधासम्पन्न अस्पताल भएकाले हरेक बिरामी उपचारका लागि त्यतै जान चाहन्छन्, त्यो स्वाभाविक पनि हो ।

अलिकति समस्या बढ्यो भने सङ्क्रमितका आफन्तले बिरामीलाई तत्काल नेपालगन्ज वा कोहलपुर लैजान दबाब दिन थाल्छन् । सबैले राम्रो अस्पतालमा उपचार पाउने आशा राख्छन् । भेरी अस्पतालले पालिकाका दुईजना सङ्क्रमितलाई भर्ना गर्न नमानेर पालिकामा फिर्ता पठाएपछि दुवैजनाको मृत्यु भयो । यसले हामीलाई निकै गम्भीर बनाएको छ ।

परेको बेलामा हरेक स्थानीय तहझैँ हामीले पनि कोभिड वार्ड विस्तारका लागि तोकिएको रकम दिने गरेका छौँ , तर हाम्रो पालिकाका बिरामीलाई भर्ना नलिँदा साहै्र चित्त दुखेको छ । भेरी अस्पतालमा अब हरेक पालिकाको कोटा हुनुपर्छ । सबै गम्भीर बिरामीले त्यहाँ उपचार पाउनुपर्छ भन्ने हाम्रो भनाइ हो । पालिकाका बढीभन्दा बढी जनताको कोरोना परीक्षणको पनि सरकारले व्यवस्था गर्नुपर्छ । त्यसो गर्न सकिएन भने अझै क्षति बढ्नेछ ।

प्रदेश सरकार र सङ्घीय सरकारबाट के–कस्ता अपेक्षा गर्नुभएको छ ?

– हामी अहिले निकै जटिल र खतरनाक महामारीसँग युद्ध लडिरहेका छौँ । जनताले स्थानीय, प्रदेश र सङ्घीय सरकारको मुख ताकेर बसेको अवस्था छ । स्थानीय सरकारसँग निकै कम स्रोत साधन छ । त्यसमा पनि हाम्रोजस्तो पहिलेदेखि अति नै पिछडिएको र स्वास्थ्य पूर्वाधारमा निकै कमजोर रहेको गाउँपालिकाले त झनै प्रदेश र सङ्घीय सरकारको सहयोगको अपेक्षा राख्नैपर्छ ।

अहिले गाउँगाउँमा जनताले उपचार नपाएको, परीक्षणको व्यवस्था नभएको र राहतका कार्यक्रम नआएको भन्ने गुनासो बढ्दै गएको छ । सबैले जनप्रतिनिधिको आस गरिरहेका छन् । हामीले पनि आफ्नो बलबुता र अनुभवले भ्याएसम्म काम गरिरहेका छौँ । यद्यपि, हामीले मात्र गरेर नपुग्ने रहेछ । हरेक स्थानीय सरकारलाई अहिले प्रदेश सरकार र सङ्घीय सरकारको सहयोगको खाँचो छ । स्वास्थ्य सामग्री र स्वास्थ्य जनशक्तिको व्यवस्था प्रदेश र सङ्घीय सरकारले तत्काल आवश्यकताअनुसार सबै ठाउँमा गर्नुपर्छ ।

अस्पतालमा सबैले सहजरूपमा उपचार पाउने व्यवस्थाको ग्यारेन्टी हुनुपर्छ । उपचारमा कसैलाई काखा र कसैलाई पाखा गर्नुहुँदैन । कोरोना नियन्त्रणमा नआएकाले बन्दाबन्दीको समय निरन्तर थपिँदै जाँदा सर्वसाधारणलाई दुई छाकको समस्या पनि हुन थालेको छ । त्यसको व्यवस्थापनका लागि पनि प्रदेश र सङ्घीय सरकारले समयमै केही सोच्नुपर्छ । अन्यथा रोग र भोक दुवैबाट जनता च्यापिनेछन् । सबै नेपालीले मिलेर यो महामारीविरुद्ध सङ्घर्ष गरौँ ।