Loading... आजः २ असार २०७८, बुधबार
समृद्धि यात्रा

राप्तीसोनारीमा ‘इको–टुरिजम’ र स्थानीय सरकारको दायित्व

अहिलेको चुनौती भनेको बढ्दो पर्यटकलाई कसरी व्यवस्थापन गर्ने र वातावरणलाई बिग्रन नदिई पर्यटनलाई दिगो बनाउने भन्ने हो ।
राप्तीसोनारीमा ‘इको–टुरिजम’ र स्थानीय सरकारको दायित्व
योसँगै सदियौंदेखि स्थानीय पर्यावरणको रक्षा गर्दै आएका स्थानीयबासी पर्यटनको लाभ पुर्याउनु र उनीहरूको मौलिकताको संरक्षण गर्नु फस्टाउँदो पर्यापर्यटनसँगै जोडिएको चुनौती हो । सानो भूखण्डभित्र जैविक तथा जलवायुजन्य विविधताको अध्ययनका लागि नेपाल एउटा उत्कृष्ट ठाउँ बन्न सक्छ ।

बाँके । पर्यटनको माध्यमबाट वातावरण र जैविक विविधताको संरक्षणको साथै स्थानीय जनताको आर्थिक तथा सामाजिक विकासमा सहयोग पुर्याउने वातावरणमैत्री पर्यटन नै पर्यापर्यटन वा ‘इको–टुरिजम’ हो । वन्यजन्तु, वनस्पति तथा सांस्कृतिक आकर्षणयुक्त गन्तव्यमा फस्टाउने पर्यटन नै वास्तवमा पर्यापर्यटन हो । वातावरण संरक्षण तथा आर्थिक–सामाजिक विकासको क्षेत्रमा पर्यटनको महत्वलाई आत्मसात गर्दै विश्वमा सन् १९८० को दशकदेखि पर्यापर्यटनको अवधारणा लोकप्रिय बनेको हो ।

पछिल्लो समय पर्यापर्यटनलाई वातावरणीय सचेतना वृद्धि तथा पर्यावरण अनुसन्धानको क्षेत्रमा पनि महत्वपूर्ण मानिँदैछ । पर्यापर्यटनको आधारभूत सिद्धान्तले पर्यटनको माध्यमबाट जैविक तथा साँस्कृतिक विविधताको संरक्षण, दिगो उपयोग तथा सामाजिक–आर्थिक लाभको समन्यायिक वितरणमा जोड दिन्छ । तथापि प्राकृतिक वातावरणमा पर्यटकको अत्यधिक आगमनका कारण प्राकृतिक सन्तुलनमा पर्ने नकारात्मक असर तथा पर्यटन व्यवसाय र स्थानीय बासिन्दा बीचको द्वन्द्वलाई नकार्न सकिन्न ।

पछिल्लो अध्ययनले विश्वमा सबैभन्दा बढी फस्टाएको पर्यटन विधाका रूपमा पर्यापर्यटन रहेको छ । यस अनुसार पर्यापर्यटनमा वार्षिक १०–१५ प्रतिशतले वृद्धि भइरहेको छ । मनोरञ्जनका लागि प्राकृतिक वातावरणमा विचरण गर्न आउनेहरू र प्रकृतिको अध्ययन–अनुसन्धानका लागि भित्रिने अध्येताहरू नै पर्यापर्यटक अर्थात् ‘इको–टुरिष्ट’ हुन् । विश्वमा पर्यावरण विज्ञान फस्टाउँदै गएको, प्रकृतिको अध्ययन, अनुसन्धानमा मानिसको रुचि बढ्दै गएको छ ।

योसँगै आधुनिकीकरणसँगै प्राकृतिक स्थलहरूको कमी हुँदै गएका कारण प्राकृतिक वातावरण जोगाएका क्षेत्रहरू पर्यटकको गन्तव्य बनिरहेका छन् । अहिलेको चुनौती भनेको बढ्दो पर्यटकलाई कसरी व्यवस्थापन गर्ने र वातावरणलाई बिग्रन नदिई पर्यटनलाई दिगो बनाउने भन्ने हो । योसँगै सदियौंदेखि स्थानीय पर्यावरणको रक्षा गर्दै आएका स्थानीयबासी पर्यटनको लाभ पुर्याउनु र उनीहरूको मौलिकताको संरक्षण गर्नु फस्टाउँदो पर्यापर्यटनसँगै जोडिएको चुनौती हो ।

सानो भूखण्डभित्र जैविक तथा जलवायुजन्य विविधताको अध्ययनका लागि नेपाल एउटा उत्कृष्ट ठाउँ बन्न सक्छ । जैविक मात्र नभएर सामाजिक र सांस्कृतिक विविधता र मौलिकता पर्यटकका लागि आकर्षणको विषय हो । पछिल्लो आर्थिक सर्वेक्षणअनुसार नेपालमा आउने पर्यटकमध्ये ७१.६ प्रतिशत विदा मनाउन, २.२ प्रतिशत पदयात्रा, २.८ प्रतिशत तीर्थयात्रा, ३.९ प्रतिशत व्यापार, २.८ प्रतिशत अध्ययन रोजगारी, १.७ प्रतिशत सभा सम्मेलन, ४ प्रतिशत कार्यालय सम्बन्धी र ११ प्रतिशत अन्य उद्देश्यले आउने गरेका छन् ।

यसरी विदा, मनोरञ्जन, यात्रा, पदयात्रा तथा पर्वतारोहणका लागि नेपाल आउने पर्यटकको संख्या दुई तिहाइभन्दा बढी रहेको देखिन्छ । एक तथ्यांकअनुसार नेपाल आउने हरेक दुईजना पर्यटकमध्ये एकजना कुनै न कुनै राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, संरक्षण क्षेत्र वा सिकार आरक्षजस्ता संरक्षित क्षेत्रमा पुग्ने गरेका छन् । नेपालमा पर्यटक आउनुको मुख्य कारण भनेकै यहाँको प्राकृतिक छटा, जैविक तथा भौगोलिक विविधता तथा सांस्कृतिक मौलिकता नै हो ।

देशको झन्डै २३ प्रतिशत क्षेत्र अहिले संरक्षित क्षेत्रको रूपमा रहेको छ । हरेक संरक्षित क्षेत्रमा कुनै न कुनै विशेष महत्वका वन्यजन्तु, वनस्पति वा भौगोलिक संरचना विद्यमान छ । त्यसैले नेपालका हरेक क्षेत्र पर्यापर्यटनको दृष्टिले निकै महत्त्वपूर्ण छन् । तर पनि पर्यटनको सम्भावना बोकेका धेरै क्षेत्रहरूको प्रबद्र्धन र प्रचारप्रसार भने हुनसकेको छैन । चितवन राष्ट्रिय निकुञ्ज, सगरमाथा राष्ट्रिय निकुञ्ज, अन्नपूर्ण संरक्षण क्षेत्र तथा लाङटाङ राष्ट्रिय निकुञ्ज बाहेक अन्य क्षेत्रमा पर्यटकलाई उतिसारो पुर्याउन सकिएको छैन ।

पर्यटकीय क्षेत्रलाई व्यवस्थित, सुरक्षित तथा वातावरणमैत्री बनाउन स्थानीय सरकारको अहंम् भूमिका रहन्छ । पर्यटनले स्थानीय मौलिक कला, संस्कृति तथा परम्परालाई जोगाइराख्न स्थानीय सरकारको विशेष दायित्व रहन्छ । पर्यटनसँगै स्थानीय बासिन्दाको हकहितको संरक्षणमा पनि ध्यान दिनुपर्छ । पर्यटन क्षेत्रलाई अर्थतन्त्रको आधार स्तम्भको रूपमा विकसित गर्दै पर्यटनको लाभ सर्वसाधारणसम्म पुर्याउने लक्ष्य स्थानीय तहले अंगीकार गर्नुपर्छ ।

यसका लागि व्यवस्थित, जनसहभागितामूलक र दिगो पर्यटन विकासको नयाँ सोच आवश्यक छ । नयाँ पर्यटन गन्तव्यको पहिचान र प्रबद्र्धनमा ध्यान दिँदै पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरूमा पूर्वाधार विकास र प्रचारप्रसारका कामलाई अझ व्यवस्थित गर्न गर्दै राप्तीसोनारी गाउँपालिकालाई ‘पर्यटकीय हव’को रूपमा विकास गरेर आम्दानीमा थप वृद्धि गराउन सकिन्छ । गाउँपालिकाभित्र रहका सम्भावित पर्यटकीय क्षत्रका अध्ययन गरे र करिडोर बनाउन सकिन्छ । जसल गर्दा राप्तीसोनारी गाउँपालिका क्षेत्रका होटल, होमेस्टे, टुरिस्ट गाइडजस्ता व्यवसाय फस्टाउनुका साथै गाउँपालिकामा रोजगारीको अवस्था पनि सिर्जना हुन सक्छ ।

पर्यटकीय केन्द्र, आन्तरिक आम्दानीका स्रोत र राप्तीसोनारीको सानका रूपमा रहको सिक्टा सिँचाइ आयोजनाको बाँध क्षेत्रमा बर्सेनि पिकनिकका लागि आउने समुहको भीड हुन्छ । कुसुम गाभरदखि अगैयासम्मको राप्ती नदी क्षेत्रमा ¥याफ्टिङ सञ्चालन गर्न सके सहजैरुपमा आन्तरिक र बाह्य पर्यटक भित्र्याउन सकिन्छ । नदीमा पाइने माछा, गाहीले पनि पर्यटकलाई आकर्षित गर्न सकिन्छ । यसबाट प्रत्यक्षरुपमा गाउँपालिका, होटल व्यवसायी, होमस्ट सञ्चालकहरुलाई फाइदा हुन्छ ।

राप्तीसोनारी गाउँपालिका वनजंगलको धनी गाउँपालिका भएकाले राप्तीसोनारीले वन क्षेत्रबाट धेरै लाभ उठाउन सक्छ । बाँके राष्ट्रिय निकुञ्जको ७० प्रतिशत भू–भाग राप्तीसोनारी गाउँपालिकामा पर्छ । यसका साथै गाउँपालिकामा अन्य सामुदायिक वन पनि छन् । पछिल्लो समय बाँके राष्ट्रिय निकुञ्जमा पाइने विभिन्न जातिका पशुपन्छी, जंगली जनावर हर्न र जंगल सफारीका लागि बाँके राष्ट्रिय निकुञ्ज घुम्न आउन पर्यटक आकर्षण बढ्दो छ । बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको लागि व्यवस्थापन, आकर्षण बढाउन सके बाह्य पर्यटक भित्र्याउनुका साथै गाउँपालिकाको आम्दानी वृद्धि गर्न सकिन्छ ।

बाँके निकुञ्ज पूर्वाधार निर्माणसँगै पर्यटकीय गन्त्वय बन्दै गएको छ । निकुञ्जमा दर्जनौं पर्यटन आकर्षण केन्द्रहरू निर्माण गरिएका छन् । विश्वमै दुर्लभ वन्यजन्तु पाटेबाघको संरक्षण गर्न स्थापित निकुञ्जमा बर्सेनि आन्तरिक र बाह्य पर्यटन बढिरहेका छन् । निकुञ्जमा जैविक, प्राकृतिक, जीवजन्तुबाट पर्यटन आकर्षणका सम्भावनासँगै सिमसार र चुरे क्षेत्र, खोला नदीनाला लक्षित गरी पर्यटन विस्तार भएको छ । निकुञ्जले पर्यटकीय विकासका लागि राप्तीसोनारीका कुसुम, समशेरगन्ज र महादेवपुरी क्षेत्रमा घाँसे मैदान निर्माणसँगै पर्यटकीय केन्द्रहरु विस्तार गरिरहेको छ ।

सिमसार क्षेत्रका रूपमा गिद्धेनी घाँसे मैदानसँगै महादेवपुरी चुनभट्टी, बुच्चापुर, ठुरिया र गोठेरीमा घाँसे मैदान निर्माण गरिएको छ । जहाँ मचान र पानी पोखरीसँगै पैदल तथा सवारी साधनका लागि बाटो वन पथ निर्माण गरिएको छ । घाँसे मैदानमा पानी पोखरी, चराचुरुङ्गी र जनावार अवलोकन गर्ने गरी भ्यू टावर निर्माण गरिएको छ । निकुञ्जले १२ महिना पानी जम्ने र बग्ने स्थलका रूपमा घाँसे मैदानलाई सिमसारमा विकसित गरिएको छ । पोखरी निर्माण, पानी जम्ने स्थल र घाँसे मैदानको चारैतिर घना जंगल, झाँडी रहेकोले निकुञ्जका जनावर र चुराचुरुङ्गी हेर्ने र घुम्न लायक छ ।

यहाँ घुम्न नेपाली नागरिकलाई प्रतिव्यक्ति एक सय रूपैयाँ, र विदेशी पर्यटकलाई एक हजार रूपैयाँ, टिकटको व्यवस्था छ । निकुञ्जमा पर्यटन आकर्षणका लागि जंगली सफारी सुरु भइसकेकाले निकुञ्जले सफारीका लागि बाँके, दाङ र सल्यान जिल्लाका क्षेत्रमा सफारी गर्न मिल्ने गरी चारवटा सडक सञ्जाल विस्तार गरेको छ । निकुञ्जले खड्गवार–सल्यान घुइयाबारी, ठुरियाखोला–हात्तीदमार सल्यान, अगैया–पानी मुहान दाङ र सुतैया–ओभरीसम्म जंगल सफारी र पैदलयात्रा गर्न मिल्ने सडक बनाएको छ ।

बाँके निकुञ्जमा हालसम्म २१ वटा बाघ छन् । निकुञ्जको ७० प्रतिशत भूभाग राप्तीसोनारी गाउँपालिका अन्तरगत पर्ने हुँदा यसबाट गाउँपालिकाले प्रशस्त लाभ लिन सक्छ । यहाँ बर्दिया निकुञ्ज हुँदै जंगली हात्ती आउने गरेका छन् । यहाँ दर्जनौं संख्यामा अजिङ्गर सर्प छन् । यहाँ दुई सय बढी प्रजातिका चराचुरुङ्गी र जीवजनावरको बासस्थान रहेकोले पनि पर्यटकीय अवलोकन र अनुसन्धानका लागि महत्वपूर्ण छ । यहाँ जनावार, चुराचुरुङ्गी, प्राकृतिक मनोरम, वन्यजन्तु, जडीबुटी, डाँडाकाडा, बबई र राप्ती नदीमा घुम्न लायक रहेको छ ।

निकुञ्जमा सफारीका क्रममा पाटेबाघ, जंगली हात्ती, भालु, चितुवा, हुँडार, चौका, निलगाई, सुनगोरी अवलोकन गर्न सकिन्छ । यहाँ जनावर, चुराचुरुङ्गी, प्राकृतिक मनोरम, वन्यजन्तु, जडीबुटी, चुरे, बबई र राप्ती नदी घुम्न लायक रहेको छ । निकुञ्जले आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन गर्न राप्तीसोनारी–९ स्थित बुच्चापुरमा हात्तीसार छ । यो स्थानबाट हात्ती चढ्ने, घुम्न जाने र हेर्ने मिल्ने गरी निकुञ्जले हात्तीसार निर्माण गरेको हो । हात्तीसारबाट बाँके निकुञ्जमा हात्तीमा सफारी गर्न सकिन्छ ।

अहिले स्वदेशी र विदेशी पर्यटकहरूले यहाँ आएर हात्तीमा सवार गर्ने गर्छन् । यहाँ अहिले चारवटा हात्ती रहेका छन् । राप्तीसोनारी–८ स्थित नयाँगाउँमा समेत हात्तीसार बनाइएको छ । पूर्वपश्चिम राजमार्गको ५० मिटर उत्तरमा बाँके राष्ट्रिय निकुञ्जभित्र हात्तीसार रहेको छ । यहाँ महादेवपुरी बुच्चापुर हात्तीसारबाट बिहान हात्ती चराउन र सफारीका लागि ल्याउने गरिएको छ । बेलुका बासका लागि बुच्चापुर लग्ने गरिन्छ । यी दुई स्थानबाट हात्तीमा सफारी गर्न सकिन्छ । –समृद्ध राप्तीसोनारी बुलेटिनबाट