Loading... आजः ५ असार २०७८, शनिबार
समृद्धि यात्रा

दुर्गमको परिचय बदल्दै ‘बघौडा’

हुलाकी सडक निर्माण पुरा भएपछि सदरमुकाम नेपालगन्जसँग नरैनापुर नजिकिएको छ । जनप्रतिनिधि आएपछि धेरै क्षेत्रहरुमा सुधार भइरहेको छ ।
दुर्गमको परिचय बदल्दै ‘बघौडा’
अधिकांश नरैनापुरबासीका सपना र आकांक्षाहरु एकै प्रकारका छन् । उनीहरुका कुनै ठूला सपना छैनन्, खाली भरपेट खान र लाउन पुगोस्, छोराछोरीहरु आफ्नो क्षमता अनुसार, शिक्षा र रोजगारी पाउन सकुन् भन्ने चाहना प्रकट हुन्छन् । वर्षौंदेखि राज्यबाट भोग्दै आउनु परेको चरम विभेद र असमानता हट्दै गएको छ ।

बाँके । नेपालका कतिपय विकट क्षेत्रहरुलाई चिनाउन ‘कर्णाली’को उपमा दिइन्छ । स्थानीय तहको निर्वाचनअघि बाँके जिल्लाको राप्ती नदी पूर्वको भेगलाई पनि ‘बाँकेको कर्णाली’ उपनामले चिनिन्थ्यो । कारण लामो समयसम्म राप्ती नदीमा सडक पुल बन्न सकेको थिएन । हरेक वर्षायाममा यस क्षेत्रको बाँकी जिल्लासँगको सम्बन्ध टुट्थ्यो ।

उक्त सडक पुल वर्षौंपछि मात्र सम्पन्न हुन सकेको थियो । नरैनापुर बाँकेको राप्तीपूर्व क्षेत्रको साविकको एक गाविसको नाम हो र त्यस क्षेत्रको एक बजार केन्द्र पनि । पछि यस क्षेत्रका साबिकका कटकुइँया, लक्ष्मणपुर, कालाफाँटा, नरैनापुर, मटेहिया तथा गंगापुर गाविसहरुलाई समेटेर नरैनापुर गाउँपालिका बनाइयो ।

जिल्ला सदरमुकाम, नेपालगन्जबाट यी सबै साविकका गाविसहरुलाई जोड्दै हुलाकी सडकमार्ग बघौडा भन्ने अन्तिम विन्दुसम्म पुग्छ, जुन भारतको सीमा नाका नजिकै पर्छ । यसैले यस क्षेत्रलाई बघौडा क्षेत्र भनेर पनि चिनिने गरिएको छ । स्थानीय तहको निर्वाचनअघि यस क्षेत्रलाई विकटता र पछौटेपनले गाँजेको थियो । जस्तो कि स्थानीयबासीले नेपाली भाषा नबुझ्ने, नेपाली पैसा नचल्ने, बर्षायाममा सदरमुकामसम्म आउन भारतीय भूमि प्रयोग गर्नुपर्ने आदि ।

त्यतिबेला साँच्चै सापेक्षिकरुपमा सुगम मानिएको नेपालको तराई क्षेत्रमा नरैनापुर निकै बिकट पनि थियो । त्यतिबेला सडक पुलको अभावमा राष्ट्रिय सडक सञ्जालसँग जोडिन नसकेको यस हुलाकी सडकको अवस्था निकै जीर्ण थियो । सडक मार्गमा पर्ने विभिन्न नालामा पुल, कल्भर्ट नहुँदा त्यसलाई पार गर्न घुमाउरो बाटो प्रयोग गर्नुपथ्र्यो ।

बाँकेको बिनौना र बैजापुर क्षेत्र, जसलाई कुनै समय बाँकेकै सबभन्दा अनकन्टार क्षेत्रको रुपमा लिइन्थ्यो । किनकि यी राप्तीपारि जंगलले घेरिएर रहेका बस्तीहरु हुन् र लामो समयसम्म कतैबाट पनि सडक मार्गले जोडिन सकेका थिएनन् । बिनौना र बैजापुरको दक्षिणपट्टि रहेको छ, दाङबाटै विस्तारित हुँदै आएको चुरेको होचो श्रृंखला र यो राप्ती नदी नपुग्दै अन्त हुन्छ ।

साल, असना, कर्मा, कुसुम लगायतका रुखहरुको जंगलले ढाकेको यही होचो चुरे श्रृंखलाको अझ दक्षिणपट्टि रहेको छ, नरैनापुर गाउँपालिका । त्यतिबेलासम्म हिउँदमा नेपालगन्जबाट नरैनापुर जाने बाटो भनेको नेपालगन्ज, पुरैनी, कम्दी, फत्तेपुर हुँदै त्यहाँ पुग्ने हुलाकी सडक मार्ग नै थियो । वर्षायाममा भने राप्तीमा पुल नभएका कारण भारतभूमि भएर घुमेर जानुपथ्र्यो । वर्षौंको मर्मत सम्भारको अभाव र सडकमा गुडेका गाडी तथा बयलगाडाहरुले उडाएको धुलोले सडक कुइरीमण्डल भएको बन्थ्यो ।

वर्षौदखि कर्णाली अर्थात पिछडिएको क्षेत्रको उपनाम पाइरह्यो खाल्टाखुल्टी बाटोले गिज्याइरह्यो । ‘आपत’ पर्दा भारतीय बाटो भएर जानुपर्ने भएपछि मान्छेहरुले बघौडालाई कर्णाली नभनुन् पनि किन ? हो, त्यही बघौडा अर्थात् नरैनापुर गाउँपालिका पछिल्लो समयमा ‘सुगम’ हुँदै गएको छ । समय परिवर्तनशील हुन्छ नै । बघौडा पनि परिवर्तनकै रफ्तार अघि बढेको छ । पुच्छरको केही किलोमिटरलाई छोडेर बाटो बनिसकेको छ ।

केही महिनामै नेपालगन्जदेखि ४४ किलोमिटर टाढा रहेको बघौडा गाडीमा एक घण्टाको दुरीमा परिणत हुँदैछ । डेढ दशकअघि राप्ती नदीमा पुल बनेपछि बघौडा नेपालगन्जसँग जोडिएको थियो । तर, त्यसपछि पनि बाटो नबन्दा बघौडाले नेपालगन्जलाई अपनत्व महसुस गरेन । किनमेल, उपचार गर्न भारतीय शहर मात्रै रोजिएन, बघौडामै नेपाली पैसा नचल्ने अवस्था रह्यो ।

स्थानीय तहको निर्वाचन अघि नरैनापुरको नाम हतपत सुनिँदैनन्यो, न त यसको कहिल्यै राष्ट्रियस्तरमा चर्चा हुने नै गथ्र्यो । तर, नेपालमा कोरोना संक्रमण भर्खर भित्रँदै गर्दा नरैनापुर नेपालमा सबैभन्दा धेरै कोरोना भाइरस संक्रमित भएको गाउँपालिका बनेपछि देशव्यापीरुपमा नरैनापुरको चर्चा हुन थाल्यो । नरैनापुरका रामसुरत यादव भन्छन्, ‘बाटो बन्यो । नेपालगन्जसँग नजिक भएको छ ।’

हुलाकी सडक निर्माण पुरा भएपछि सदरमुकाम नेपालगन्जसँग नरैनापुर नजिकिएको छ । जनप्रतिनिधि आएपछि धेरै क्षेत्रहरुमा सुधार भइरहेको छ । गाउँमा आधुनिक प्राथमिक स्वास्थ्य केन्द्र बनेर अस्पतालको रुप धारणा गरेको छ । बैंक पुगिसकेको छ । बालबालिकालाई स्कूलको पहुँचमा पुर्याउने प्रयासहरु भइरहेका छन् ।

आफ्नो ठाउँको मान्छे पढेलेखेको नभएसम्म त्यो गाउँको विकास हुन सक्दैन भन्ने रटानमा रहेका गाउँपालिकाका अध्यक्ष मो.इस्तियाक अहमद शाहले शिक्षामा जोड गरिरहेका छन् । नरैनापुर अहिले पनि समस्यासँग जुध्दै अघि बढिरहेको छ । नरैनापुरलाई राप्ती नदीले पीडा दिइरह्यो । अहिले यसको समाधान हुँदै गएको छ । मोबाइल नलाग्ने समस्या अब नरैनापुरमा रहेन ।

बघौडा अर्थात् सुगमको ‘कर्णाली’को ‘उपमा’लाई बदल्दै नरैनापुर गाउँपालिकाले आफ्नो दुर्गमको परिचय फेर्दै अगाडि लम्किदै गएको छ । गाउँपालिकाभित्रका समथर फाँटका बीचमा रहेका फुसका घरहरु विस्तारै फेरिँदैछन् । तर, ती बस्तीहरुबाट मधेशको गरिबी र विपन्नताले अहिले पनि चियाइरहेको छ, पक्की घरहरु विरलै देखिन्छन् । यहाँका बस्तीमा भौतिक तथा सार्वजनिक पूर्वाधारहरु ज्यादै न्यून छन् । सायद यस क्षेत्रमा व्याप्त पछौटेपनका कारण नै हुनुपर्छ, नेपालपट्टिको बघौडा नाका, जसलाई स्थानीयहरु सुइँया नामले पनि पुर्काछन् ।

गाउँपालिकाका अध्यक्ष शाहले भने, ‘हुलाकी सडकको निर्माण सम्पन्न भएपछि नरैनापुरका बस्तीहरुमा आर्थिक सम्पन्नता र विकासको झल्को देखिन थालेको छ । चरम गरिबीलाई चिर्दै सम्पन्नतातर्फ उन्मूख भएका छौं । सामाजिक स्तरमा अघि बढ्न पनि धेरै बाँकी छ । कृषिका नयाँ प्रविधि र स्रोत साधनहरु अझै पनि पुग्न सकेका छैनन् । हुलाकी सडक विस्तारसँगै कृषि उत्पादनहरु जस्तै मसुरो, रहर, तोरीले बजारसम्मको पहुँच पाउन थालेका छन् । जसका कारण स्वास्थ्य, शिक्षासम्मको पहुँचमा पनि यसले सकारात्मक प्रभाव पार्न थालेको छ ।’

नेपालका मुस्लिम बहुल धेरै कम स्थानीय तहहरु मध्ये एक हो, नरैनापुर गाउँपालिका पनि । यस गाउँपालिकाको लगभग ४५ प्रतिशत जनसंख्या मुस्लिमको रहेको छ । नेपालका मुस्लिमहरु धार्मिक अल्पसंख्यकका रुपमा रहेका छन् । नेपालमा विशेषगरी रौतहट र बाँकेका ग्रामीण क्षेत्रका मुस्लिमहरुको आर्थिक–सामाजिक जीवनस्तर अझै पनि धेरै तल रहेको देखिन्छ । मुस्लिम समुदायमा सरकारी स्कूलमा भन्दा मदरसा स्कूलहरुमा बढी रुची छ ।

मदरसाहरुमा प्रायः उर्दू भाषामा पढाइन्छ भने यी मदरसाहरुलाई राष्ट्रिय शिक्षाको मूलधारमा ल्याउन अझै धेरै प्रयासहरु गर्न बाँकी रहेको गाउँपालिकाका उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तव बताउँछिन् । उनले गरिबीका कारण प्रायजसोः मुस्लिम बालबच्चाहरु प्राथमिक स्कूल पढ्दा पढ्दै स्कूल छाड्नुपर्ने बाध्यता विस्तारै अन्त्य हुँदै गएको बताइन् । राज्यले दिने आधारभूत सेवा सुविधाको सामान्य पहुँचसम्म पनि पुग्न नसकेका नरैनापुरबासी स्थानीय तहको निर्वाचनपछि आशावादी र सम्भावनातर्फ अघि बढ्न सकेका छन् ।

आर्थिक, सामाजिक र राजनैतिक अवसरहरु पाउने कुरामा नरैनापुरबासी आशावादी छन् । सरकारी र गैरसरकारी क्षेत्रमा स्थानीयहरुले पहुँच विस्तारसँगै अवसरहरु पाउन थालेका छन् । अध्यक्ष शाहले भने, ‘मलाई राजनीति गर्नु छैन । जनताको सेवा नै ठुलो राजनीतिक सफलता हो । म राजनीति कम सेवा बढि गर्छु । जनताको हर दुखसुखमा साथ छोडेको छैन । गाउँपालिकाका जनतालाई भोको, रोकोभन्दा पनि समृद्ध सपना पुरा गर्ने अभियानमा छु ।’

अधिकांश नरैनापुरबासीका सपना र आकांक्षाहरु एकै प्रकारका छन् । उनीहरुका कुनै ठूला सपना छैनन्, खाली भरपेट खान र लाउन पुगोस्, छोराछोरीहरु आफ्नो क्षमता अनुसार, शिक्षा र रोजगारी पाउन सकुन् भन्ने चाहना प्रकट हुन्छन् । वर्षौंदेखि राज्यबाट भोग्दै आउनु परेको चरम विभेद र असमानता हट्दै गएको छ । शायद, यिनै सामान्य सपनाहरु पनि पूरा हुन सकेको अवस्थाले सुगमको ‘कर्णाली’ अर्थात् बघौडा बदलिँदै सुगमतातर्फ अघि बढिरहेको छ । –समृद्धिको यात्रामा नरैनपुर बुलेटिनबाट