Loading... आजः ५ असार २०७८, शनिबार

कोहलपुर आइपुग्यो अक्सिजन लिक्विड, उपचारमा सहज हुने अपेक्षा

कोहलपुर आइपुग्यो अक्सिजन लिक्विड, उपचारमा सहज हुने अपेक्षा

बाँके । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सामाजिक सञ्जालमा स्टाटस पोष्ट गरेको ७ घण्टापछि बाँकेको कोहलपुरमा अक्सिजन लिक्विड आइपुगेको छ । मुख्यमन्त्री पोखरेल विहानै अक्सिजन लिक्विड आइपुगेको भन्दै भ्रामक प्रचार गरेको ७ घण्टापछि मात्रै अक्सिजन लिक्विड आइपुगेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले जनाएको छ ।

कोहलपुरमा दिउँसो ३ बजे लिक्विड अक्सिजन बोकेको ट्याङ्कर आइपुगेको हो । ट्याङकरले ल्याएको अक्सिजन लिक्विड नेपालगन्ज मेडिकल कलेजको ग्याँस च्याम्बरमा झारिएको मेडिकल कलेजले जनाएको छ । मेडिकल कलेजमा अक्सिजनको स्टक समिएपछि कलेजले सूचना निकालेर कोरोना संक्रमणको नयाँ संक्रमितको भर्ना रोकेको थियो ।

कलेजका प्रबन्ध सञ्चालक डा.सुरेशकुमार कनोडियाले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै हाल कलेजले १३५ बेड सञ्चालन गरिरहेको र अक्सिजनको चरम अभाव भएको हुँदा अब थप बिरामी भर्ना गर्न सक्ने अवस्था नरहेको उल्लेख गरेका थिए ।

यसअघि भारतबाट आउने गरेको अक्सिजन ट्यांक र अक्सिजन सिलिण्डर आउन नसकेको हुँदा थप बिरामीको भर्ना तथा उपचार गर्न असमर्थ रहेको भन्दै कलेज प्रशासनले सूचना प्रकाशन गरेर संत्र,मितको भर्ना लिन बन्दसमेत गरेको थियो ।

कोभिडका बिरामी थपिँदै गएपछि वैशाख ३ गतेदेखि आइसियू बेडसहितको ४५ बेड सुरू गरेको र बिरामी थपिने क्रम बढ्दै गएपछि १०० बेड हुँदै बढाएर ३०० बेड सञ्चालन गर्ने मेडिकल कलेजले घोषणा गरेको थियो । मेडिकल कलेजमा हाल १३५ बेडमात्रै सञ्चालनमा रहेका छन् ।

मेडिकल कलेजमा अक्सिजन लिक्विड आएसँगै बिरामी भर्नाको तयारी भएको मेडिकल कलेजले जनाएको छ । भर्ना खोल्दा पहिलेदेखि नै कलेजको नेपालगन्ज र कोहलपुरका इमर्जेन्सीमा रहेका संक्रमितलाई प्राथमिकता दिइने मेडिकल कलेजका उपनिर्देशक डा.नितेश कनोडियाले बताए ।

उनले एक ट्याङ्करमा बढीमा १५०० सिलिण्डर हुने बताउँदै हरेक दिन ३०० बढी सिलिण्डर खपत भएको अवस्थामा बढीमा एक साता चल्ने बताए । सिलिण्डर र लिक्विड पाइपलाइन दुबै प्रबिधि अपनाएर पनि उपचारको दायरा बढाउने तयारी गरिएको उनले बताए ।