Loading... आजः ३१ जेष्ठ २०७८, सोमबार

स्वाब दिन लाइनमा बसेकै बेला गयो ज्यान

स्वाब दिन लाइनमा बसेकै बेला गयो ज्यान
पीसीआर परीक्षणका लागि पालो कुर्दाकुर्दै निधन भएपछि शवलाई रिक्सामा लैजादै उनका आफन्त ।

बाँके । कोरोना परीक्षणका लागि स्वाब दिन लाइनमा पालो कुरेर बसिरहेकै बेला एक जनाको निधन भएको छ । पीसीआर परीक्षण गराउन पालो कुर्दै गर्दा कोहलपुर–५ का करिब ५९ वर्षीय पुरुषको शुक्रबार दिउँसो निधन भएको हो ।

सास फेर्न गाह्रो भएपछि कोरोना परीक्षणका लागि स्वाब दिन उनी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पुगेका थिए । तर स्वाब दिने पालो नआउँदै लाइनमै बसिरहेका बेला उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनलाई तीन/चार दिनदेखि ज्वरो आउने, टाउको दुख्ने गरेको र स्थानीय मेडिकलबाटै औषधि लगेर खाँदा पनि निको नभएपछि आज मात्रै उनलाई पीसीआर परीक्षणका लागि अस्पताल ल्याइएको मृतकका आफन्तहरुले जनाएका छन् ।

‘अस्पतालमा स्वाब दिने आउनेको ठूलै भिड थियो । सबै बिरामी उस्तै भएका कारण उनी पनि लाइनमा थिए । लाइनमा बस्दाबस्दै उनी ढले,’ अस्पतालका एक जना चिकित्सकले भने, ‘अस्पताल ल्याउन ढिलो भएको कारण अक्सिजन लेभल कम भएर मृत्यु भएको हुनसक्छ ।’

स्वाब दिन पालो कुरेर बस्दाबस्दै अस्पतालको प्राङ्गणमा मृत्यु भएपछि उनीसँगै आएका आफन्तले शवलाई अटोमा राखेर घर लगेका थिए । बाँकेमा पीसीआर परीक्षणका लागि स्वाब दिन लाइनमा बसिरहेकै बेला र अस्पतालमा वेड नपाएर निधन हुनेको संख्या वृद्धि हुँदे गएको छ ।