Loading... आजः १ असार २०७८, मंगलवार
कसैले सुनेनन् चित्कार

एम्बुलेन्समा राखेर दिनभर अस्पताल दौडाए, बेड नपाउँदा प्राङ्गणमै मृत्यु

संक्रमित शव घरभित्रै राख्दा असुरक्षित होला भनेर नगरपालिकाका जनप्रतिनिधिलाई खबर गरे । तर, नगरपालिकाबाट कोही आएन । सरकारी निकायको उदासीनता देखेर स्थानीयहरु छक्क परेका छन् ।
एम्बुलेन्समा राखेर दिनभर अस्पताल दौडाए, बेड नपाउँदा प्राङ्गणमै मृत्यु

बाँके । पूरै गाउँ त्रासद् अवस्थामा थियो । वरिपरि छरछिमेकीले झ्यालबाट चिहाउँदै अघिल्लो घरतिर हेरिरहेका थिए । घर बन्द थियो । बन्द घरभित्र आफन्ती र शव थियो । कोहलपुर नगरपालिका– २ मा शुक्रबार बिहानदेखि सन्नाटा छायो । संक्रमित महिलाको शव घरभित्रै राखिएको भन्दै स्थानीय भयभित थिए । शवलाई न कुनै प्लास्टिकले बेरिएको थियो न त सेनिटाइज गरिएको थियो । मृतकका श्रीमान भारत गएका थिए ।

उनी आएपछि शव व्यवस्थापन गर्ने भन्दै आफन्तले बाटो कुरिरहेका थिए । छिमेकी इश्वरीप्रसाद विश्वकर्माले संक्रमित शव घरभित्रै राख्दा असुरक्षित होला भनेर नगरपालिकाका जनप्रतिनिधिलाई खबर गरे । तर, नगरपालिकाबाट कोही आएन । ‘खै कसैले मतलब गर्दैनन्,’ उनी भन्छन् । कोभिडको लक्षण देखिएपछि कोहलपुर नगरपालिका २ की ३२ वर्षिया महिलालाई परिवारले एम्बुलेन्समा राखेर बिहीबार दिनभरी अस्पताल दौडाए ।

सुरुमा कोहलपुर मेडिकल कलेज गएकी उनको अस्पतालले अक्सिजन सुविधा दिन नसक्ने भन्दै भर्ना लिन मानेन । त्यसपछि नेपालगन्ज नर्सिङ होममा पुर्याए । नर्सिङहोमले गेट नै खोलेन । अस्पताल दौडाउँदा दौडाउँदै उनको स्वास्थ्य स्थिति झन् बिग्रदै गयो । सरकारी अस्पताल भेरीमा पुग्दा उपचारका लागि उनलाई लाइन लाग्नु पर्यो । ‘अक्सिजन छैन, वेड अभाव छ’ भन्दै चिकित्सकले भर्ना लिएनन् । एम्बुलेन्समै छटपटाइरहेकी उनको अस्पताल प्राङ्गणमै उपचार पाउने पालो कुर्दाकुदै ज्यान गयो ।

पीसीआर जाँच नभएकाले उनको शव संक्रमित हो भन्ने पनि पुष्टि भएन । एम्बुलेन्सले शव धेरैबेर गाडीमा राख्न नमिल्ने भन्दै घरमै ल्याएर छोडिदियो । आफन्तले शव व्यवस्थापन कसरी गर्ने ? उनका ससुरा भारतमा भएको छोराको पर्खाइमा बुहारीको शव घरभित्रै राख्न बाध्य भए । यसैले शुक्रबार यो टोल भयग्रस्त थियो । ‘स्यानिटाइज नगरिएको शव, प्लास्टिकमा पनि नबेरी खुलै राखिएको छ । यसले गर्दा टोलमा पनि संक्रमण फैलिने हो कि भन्ने डर हामी भएको छ,’ एक स्थानीयले भने ।

सरकारी निकायको उदासीनता देखेर स्थानीयहरु छक्क परेका छन् । त्यहाँ न वडाका प्रतिनिधि आए, न कोहलपुर नगरपालिकाकाको स्वास्थ्य टोली आयो, न त अनुगमन समिति कसैले पनि वास्ता नगरेको उनीहरु बताउँछन् । शुक्रबार यही समयमा नगरपालिकामा जिल्ला प्रशासन प्रमुख शिवराम गेलाल, प्रहरी प्रमुख ओम राना, सांसद आरती पौडेल, नगरपालिकाका मेयर लुटबहादुर रावत, उपमेयर सन्जुकुमारी चौधरी, नगर प्रशासन प्रमुख छविलाल नेपालीलगायत विभिन्न पाटीका नेतासमेतको बैठक चलिरहेको थियो, अक्सिजन व्यवस्थापन गर्ने विषयमा ।

तर, घरभित्रै थन्किएको शवबारे सूचना पाउने बित्तिकै व्यवस्थापनतिर कदम चाल्ने विषयमा भने सबै मौन देखिए । मेयर लुटबहादुर रावत कसैले समयमै जानकारी गराएनन् भन्दै उम्किन खोज्थे भने अनुगमन टोलीकी संयोजक सन्जुकुमारी चौधरी ‘यसको पनि प्रक्रिया हुन्छ, विस्तारै गरौंला’ भन्दै आलटाल गरिरहिन् । छलफल सकिएपछि उनीहरु आ–आफ्ना घर लागे । घरभित्रै थन्किएको शवबारे अनुगमन गर्न कोही पनि पुगेनन् । वडा–२ का अध्यक्ष कर्णसिंह बुढा क्षेत्री पीसीआर नगरे पनि कोरोना संक्रमणकै कारण मृत्यु भएको दावी गर्छन् ।

वडामा अहिलेसम्म ५ जना संक्रमित पुष्टि भएर मृत्यु भएको छ भने दुई जना मृतकको पीसीआर नभएको उनले बताए । उनले शवलाई घरभित्र ल्याउनु परिवारको लापरबाही भएको बताए । वडाले शव बाहन तयार गरेर परिवारकै सदस्यको सहयोगमा शव दाहसंस्कार गर्न लागिएको उनले बताए । मासु पसल सञ्चालन गर्दै आएकी ती महिला छरछिमेकीसँग समेत घुलमील भएकी थिइन् । यसले गर्दा टोलका सबै बासिन्दाको पीसीआर जाँच गराउने तयारी पनि हुने वडा अध्यक्ष क्षेत्रीले बताए । ‘जनता संक्रमणबारे संवेदनशील भएनन्,’ उनले अन्त्यमा भने, ‘यस्तै लापरवाही हुने हो भने धेरैले दुख पाउने देख्छु ।’