Loading... आजः १ जेष्ठ २०७८, शनिबार
समृद्धि यात्रा

बाघको ‘हटस्पट’ बाँके निकुञ्ज

‘राम्रो प्याकेज बनाएर प्रचारप्रसार गर्न नसक्नु व्यवसायीको कमजोरी होला । पर्यटकीय पूर्वाधार विकास नगरेर सरकारले त्योभन्दा ठूलो गल्ती गरिरहेको छ ।’
बाघको ‘हटस्पट’ बाँके निकुञ्ज

पर्यटकलाई बाघ हेर्न चितवन र बर्दिया नै धाउनुपर्ने बाध्यता अब रहेन । यसअघि पर्यटकको आँखामा खासै नपरेका पश्चिम तराईको बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या वृद्धि दोब्बर भएको छ । यसले संरक्षणकर्मीलाई खुसीमात्र बनाएको छैन, पर्यटन व्यवसायी र स्थानीय सरोकारवालालाई समेत उत्साहित बनाएको छ ।

सन् २०१० मा रसियामा सम्पन्न विश्व बाघ सम्मेलनले सन् २०२२ सम्म बाघको संख्या दोब्बर वृद्धि गर्ने प्रतिबद्धता जनाएको थियो । सन् २०१३ को बाघ गणनाले बाँके निकुञ्जमा पहिलो पटक चार वटा बाघ गणना भएकोमा सन् २०१८ मा गणना हुँदा वयस्क बाघको सङ्ख्या २१ पुग्यो । पहिलो पटकको गणनामै चार वटा बाघ गणना भएपछि सबै क्षेत्र, संरक्षणकर्मी र पर्यटन व्यवसायी उत्साहित बने ।

निकुञ्जमा बाघमात्र होइन, आहारजन्य अन्य प्रजातिमा पनि उल्लेख्य वृद्धि भइरहेको छ । निकुञ्ज पनि आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने दौडमा छ । बाँकेमा प्रतिवर्गकिलोमिटर क्षेत्रमा १० वटा वन्यजन्तु पाइने निकुञ्जको दावी छ । वन्यजन्तु वृद्धि हुन आहार, पानी र लुक्ने ठाउँ पर्याप्त चाहिन्छ । बाघको संख्या वृद्धि गर्न निकुञ्जले यी तीन वटै सुविधालाई थप सुधारोन्मुख बनाएर बाघको आहाराजन्य वन्यजन्तु वृद्धि गर्न लागिपरेको छ ।

माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा सगरमाथा आधार क्षेत्र कालापत्थरमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार सरकारले २०६७ सालमा बाँके राष्ट्रिय निकुञ्ज स्थापना गरेको हो । यस निकुञ्जमा बाघ, चौका, चितुवा, बँदेल, जरायोसहित ३२ प्रजातिका स्तनधारी पाइन्छन् । राम्रो सम्भावना रहेको निकुञ्जमा पर्यटकको आवागमन बिस्तारै बाक्लिँदै गएको छ ।

बाँके निकुञ्जमा स्वदेशी र विदेशी पर्यटकले भ्रमण गरिसकेका छन् । बाघ हेर्न तथा अनेक प्रजातिका पन्छीसँग रमाउन सकिने भए पनि बाँके निकुञ्जमा कम पर्यटक कम आउनुका तीन कारण छन् । पहिलो, यी निकुञ्ज काठमाडौँबाट टाढा छन्, बसाइ थोरै हुने पर्यटकका लागि उपयुक्त बन्न सकेका छैनन् । दोस्रो, लामो यातायातका कारण खर्चिलो छ ।

काठमाडौँबाट नेपालगन्ज वा धनगढी विमानस्थल उत्रेर निकुञ्ज घुमेर फर्किने हवाई भाडाले चितवनमा बास बस्न पुग्छ । अर्को, तेस्रो मुलुकका लागि बाँके निकुञ्ज ‘भर्जिन गन्तव्य’कै रूपमा रहे पनि सरकार र पर्यटन व्यवसायीले पर्याप्त प्रचारप्रसार गर्न सकेका छैनन् । डलर खर्च गर्ने तेस्रो मुलुकका पर्यटकलाई काठमाडौंका पर्यटन व्यवसायीहरूले काठमाडौं, पोखरा, चितवन र माउन्टेन फ्लाइटमै अल्झाइरहेको यहाँका पर्यटन व्यवसायीहरु बताउँछन् ।

‘राम्रो प्याकेज बनाएर प्रचारप्रसार गर्न नसक्नु व्यवसायीको कमजोरी होला,’ पर्यटन व्यवसायी भाष्कर काफ्लेले भने, ‘पर्यटकीय पूर्वाधार विकास नगरेर सरकारले त्योभन्दा ठूलो गल्ती गरिरहेको छ ।’ राप्ती नदीमा ¥याफ्टिङ र सिक्टा सिंचाइँ आयोजनाको बाँधस्थल आसपासका क्षेत्रमा रिसोर्टहरू सञ्चालनमा ल्याउन सके बाँके निकुञ्ज पर्यटकका लागि छुट्टै नयाँ गन्तव्य बन्न सक्ने पर्यटन व्यवसायीहरुको दावी छ । यो परकिल्पना पूरा हुन सके राप्ती तटीय क्षेत्र चितवनको सौराहाभन्दा राम्रो पर्यटकीय केन्द्र बन्न सक्छ ।

पर्यटक बढाउने दौडमा निकुञ्ज

मुलुककै कान्छो बाँके राष्ट्रिय निकुञ्ज पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने दौडमा लागेको छ । निकुञ्ज स्थापना भएदेखि हालसम्म निकुञ्जमा आन्तरिक र बाह्य गरी १६० जना पर्यटक आएको तथ्याङ्कले देखाउँछ । त्यसमध्ये १४८ जना नेपाली, ११ सार्क र एक विदेशीसहित १६० पर्यटकले निकञ्ज घुमेका छन् । निकुञ्जमा पर्यटक धेरै ल्याउन आक्रामक रणनीतिक योजना बनाउन लागिएको निकुञ्जले जनाएको छ ।

निकुञ्जले यहाँका जनप्रतिनिधि, होटल तथा यातायात व्यवसायी, पत्रकार, उद्योगी, व्यापारी र अन्य सरोकारवाला पक्षसँग छलफल गरी राय–सुझाव लिएर योजना बनाइरहेको बाँके निकुञ्जका प्रमूख संरक्षण अधिकृत श्याम शाहले बताए । बाँके निकुञ्ज नेपालगन्जदेखि २० किलोमिटर टाढा पूर्व–पश्चिम राजमार्गको छेउमै अवस्थित छ । राजमार्गको चौबाटो कोहलपुर चोकबाट पूर्व, पश्चिम र उत्तरी क्षेत्रमा अवस्थित यो पाटेबाघको मुख्य क्रिडास्थलका रुपमा समेत परिचित छ ।

निकुञ्जको मनमोहक प्राकृतिक छटा, विभिन्न थरीका वन्यजन्तु, नदीनाला र विभिन्न जातिका परम्परागत आवास घरवास (होमस्टे) ले निकुञ्जको शोभा बढाएको छ । १० वर्षअघि स्थापना भएको यो निकुञ्जमा पाटेबाघको सङ्ख्या २१ पुगेको छ । पछिल्लो समय बाघको सङ्ख्या बढ्दै गएपछि पर्यटकको सङ्ख्यामा पनि वृद्धि हुने क्रम बढेको छ । चुरिया रेन्जले पनि बाँके राष्ट्रिय निकुञ्जको शोभा बढाएको छ ।

पर्यटन व्यवसायी कृष्णलाल चौधरीका अनुसार चुरे क्षेत्रमा हाइकिङको व्यवस्था भएकाले पनि यो निकुञ्ज पर्यटकको रोजाइमा पर्ने विश्वास गरिएको छ । ‘एक त हामीकहाँ उत्साहजनक रुपमा पर्यटक आगमन हुन सकेको छैन,’ पर्यटन व्यवसायी चौधरी भन्छन्, ‘त्यसमा पनि बाह्य पर्यटकको संख्या अझै सोंचेजस्तो छैन ।’ निकुञ्जमा पर्यटकीय पूर्वाधारहरु विकास गर्ने क्रमले पनि तीव्रता पाएको छ ।

के छ निकुञ्जमा ?

निकुञ्जमा दुर्लभ पाटेबाघ, चौका, भालु, मृग, चित्तल, जरायो, बँदेल, नील गाई लगायतका जनावर तथा चराचुरुंगी पाइन्छन् । छोटो समयमै बाघ संरक्षणमा सफलता हात पारेको निकुञ्जमा बाघका आहाराजन्य वन्यजन्तु वृद्धि भएसँगै बाघको सङ्ख्या पनि बढ्दै गएको हो । ‘निकुञ्ज घुम्न जाने पर्यटकमध्ये धेरैले बाघ देख्न पाएका छन् ।

बाघ देखिएका कारण पर्यटक आउने क्रम बढेको छ,’ बाँके निकुञ्जका प्रमूख संरक्षण अधिकृत श्याम शाहले भने । उनका अनुसार बाघ अवलोकनका लागि निकुञ्ज सफल बनेको छ । पर्यटक आगमनले यहाँ छेउछाउमा होटल निर्माण बढेको छ । चोरी सिकारी नियन्त्रण हुँदै गएपछि बाघको सङ्ख्या बढेको उनको भनाई छ ।

उचित आहारा, सुरक्षा र प्राकृतिक बासस्थानका लागि उत्तम मानिएको निकुञ्जमा पछिल्लो पटक बाघको सङ्ख्या बढ्दै गएको हो । पर्यटन व्यवसायी कृष्ण चौधरीले बाघ लगायतका वन्जजन्तु सहजै देखिने गरेको बताए । ‘यहाँ बाघ, गैँडा, हात्ती सहजै देख्न सकिन्छ । वन्यजन्तु हेर्न मन पराउने पर्यटकको सङ्ख्या बढेको छ ।

यसको प्रचारप्रसारकाल लागि ब्रोसरहरु निर्माण गर्ने, क्रस बोर्डर मार्केटिङ गर्ने र त्यसमार्फत कम्तिमा भारतीय पर्यटकलाई यसतर्फ आकर्षित गर्ने योजना बनाईराखेका छौँ,’ पर्यटन व्यवसायी चौधरीले भने । निकुञ्जका प्रमुख संरक्षण अधिकृत शाहका अनुसार पर्यटकको अवलोकन र घुमफिरका लागि निकुञ्जको जंगलभित्र भ्यू टावरहरु निर्माणका काम भइरहेका छन् ।

जंगलभित्र फायर लाइन बिस्तार गरिनुका साथै बन्यजन्तुका लागि पानी पोखरी, उनीहरुको बासस्थान व्यवस्थापन र घाँसे मैदान पनि बनाउने कामले पनि तीव्रता पाइरहेका छन् । निकुञ्जले गत बर्षदेखि हात्ती सफारी पनि सुरु गरिसकेको छ । निकुञ्जमा अवलोकन र घुमफिरका लागि आउने पर्यटकको सुरक्षा र वन्यजन्तुको चोरी शिकारी रोक्न निकुञ्जभित्र ठाउँठाउँमा सीसीटिभी क्यामेरा जडान गरिएको छ ।

पर्यटकीय सम्भावना बोकेको यस निकुञ्जलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन यस क्षेत्रका पर्यटन ब्यवसायीहरुले बिभिन्न कार्यक्रमहरु गर्दै आइरहेका छन् । यहाँका स्थानीय तहले पनि पर्यटन प्रवद्र्धनका लागि योजना बनाउन थालेका छन् । निकुञ्ज हाम्रा लागि पर्यटन विकासको महत्वपूर्ण कडी हो, यहाँ पर्यटन प्रवद्र्धनको राम्रो सम्भावना छ ।

निकुञ्ज संघ सरकार मातहत रहने भएकाले यसभित्रको पूर्वाधार विकासमा स्थानीय तहले योजना बनाउन नसकेको राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले बताए । ‘संघ मातहत सञ्चालन हुने भएकाले हामीले प्रत्यक्षरुपमा बजेट बिनियोजन गर्न सकेका छैनौँ । बाह्य रुपमा पर्यटन प्रबद्र्धनका लागि भने केही योजनाहरु अगाडी सारेका छौँ ।’ उनले गाउँपालिकाले निकुञ्ज आसपासका गाउँहरुमा पर्यटक लक्षित होमस्टे स्थापना गरी सञ्चालन गर्न स्थानीयलाई प्रेरित गरिरहेको बताए ।

अध्यक्ष थारुले भने, ‘दीर्घकालिन रणनीति र योजना निर्माण गरेर हामी अघि बढ्छौं ।’ राप्तीसोनारी गाउँपालिकामा पर्यटक भित्र्याउने एक बलियो माध्यम हो, बाँके राष्ट्रिय निकुञ्ज । तर यसको प्रचारप्रचारका लागि प्रदेश र संघीय सरकारले भने हालसम्म चासो दिन नसकेको स्थानीयहरुको गुनासो छ । निकुञ्जमा पर्यटकको संख्या वृद्धि गरी टाइगर जोनका रूपमा विकास गर्न स्थानीय नागरिकहरुले मध्यवर्ती क्षेत्रमा होमस्टे सञ्चालन गरेर पर्यटक आकर्षित गर्न थालेका छन् ।

निकुञ्ज क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकको आकर्षण बढाउन ढकेरी नजिकै नयाँगाउँ होमस्टे सञ्चालनमा छ भने बालापुरमा होमस्टे सञ्चालन सुरु भएको छ । राप्ती नदीमा बोटिङ, जंगल ड्राइभ, पैदल मार्ग, हात्ती सफारी लगायतका प्याकेजहरु ल्याउने गरी होमस्टे सञ्चालन भइरहेको राप्तीसोनारी वडा नं. ८ का अध्यक्ष खुमबहादुर बस्नेतले बताए ।

निकुञ्जले पनि अगैया क्षेत्रको राप्ती नदीमा बोटिङ, सूर्यास्त र ¥याफटिङको व्यवस्था गर्ने तयारी थालेको छ । त्यसका लागि स्थानीयलाई विभिन्न सीपमूलक तालिम सञ्चालन सुरु गरिएको छ । निकुञ्जलाई लक्षित गरेर राप्तीसोनारी गाउँपालिकाले समयमै दीर्घकालिन योजना बनाउन सके गाउँपालिकाबासीको आयस्तरसँगै पर्यटन क्षेत्रमा ठूलो परिवर्नत आउने निश्चित छ ।