Loading... आजः ३१ बैशाख २०७८, शुक्रबार
समृद्धि यात्रा

बालमैत्री गाउँपालिका बन्ने अभियानमा ‘नरैनापुर’

कुनै समय आफ्ना बालबालिकालाई विद्यालय पढाउँदै नपढाउने पढाएपनि माध्यमिक शिक्षा पुरा गर्नबाट बञ्चित गराउने, बालिकालाई शिक्षाभन्दा पनि घरेलु काममा लगाएर सानै उमेरमा विवाह गराइदिने जस्ता बेथितिहरु न्यूनीकरण हुँदै गएका छन् ।
बालमैत्री गाउँपालिका बन्ने अभियानमा ‘नरैनापुर’

सुगम जिल्लाको दुर्गम क्षेत्रका नामले परिचित नरैनापुर क्षेत्रले विस्तारै मुहार फेर्दै आएको छ । कुनैबेला सदरमुकाम नेपालगन्ज पुग्न एक दिन लाग्ने यो क्षेत्रले विकासको फड्को मारेसँगै केही घण्टाभित्रै नेपालगन्ज पुगेर पुनः फर्किन सकिन्छ । नरैनापुरदेखि नेपालगन्जसम्मको पीच सडकले सीमाना जोडिएपछि यसक्षेत्रका सर्वसाधरणको दैनिकी फेरिएको छ । सडक सञ्जालसँगै यतिबेला नरैनापुरका विविध समस्या र चुनौतीहरु विस्तारै समाधान हुँदै गएका छन् । मधेशी समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा विकासले फड्को मारेसँगै यसक्षेत्रमा नेपालीपन झल्किनुका साथै यहाँका सर्वसाधारणको सोँच, विचार र काम गराईमा समेत परिर्वतन आएको छ ।

कुनैबेला आर्थिक कारोबार गर्दा नेपाली रुपैयाँ नचल्ने, कसैले नेपाली रुपैयाँ दिएर सामान खरिद विक्री गरेमा नेपाली रुपैयाँ नलिने यहाँको रिती नै बसेको थियो । अझ यसक्षेत्रको प्रशासनिक काम होस् वा विद्यालयमा पठनपाठन नेपाली भाषा नै बोलिदैन्थ्यो । तर, यतिबेला नेपाली रुपैयाँमै कारोबार हुनेदेखि नेपाली भाषाको प्रयोग हुने भएपछि राज्यको मूलप्रवाहिकरणमा पिछडिएको नरैनापुर तङ्ग्रिदैछ । शिक्षा, स्वास्थ्य, सञ्चार लगायतका मुख्य पूर्वाधारदेखि सँधै संघर्ष गरिरहेको नरैनापुर क्षेत्र पछिल्लो समय स्थानीय सरकार पाएपछि यी कुरामा बलियो बन्दै गएको छ । शिक्षा, स्वास्थ्यजस्ता मुख्य पूर्वाधारमा सहजै पहुँच नभएका यस क्षेत्रका बासिन्दाको दैनिकी परम्परागत शैलीमा रहँदै आएको थियो । अझ पनि परम्परागत शैलीमै रहेको यसक्षेत्रको जीवनशैलीमा छिमेकी देश भारतको वर्चश्व रहँदै आएको छ ।

सदरमुकाम नेपालगन्जसँग सोझै सम्पर्क नभएका कारण शिक्षा, स्वास्थ्य, ब्यापार र रोजगारीका लागि भारतका सहरमा निर्भर रहेका यहाँका बासिन्दाहरु विकासले फड्को मारेसँगै नेपालगन्ज र आसपासका क्षेत्रसँग जोडिन पुगेका छन् । कुनै समय आफ्ना बालबालिकालाई विद्यालय पढाउँदै नपढाउने पढाएपनि माध्यमिक शिक्षा पुरा गर्नबाट बञ्चित गराउने, बालिकालाई शिक्षाभन्दा पनि घरेलु काममा लगाएर सानै उमेरमा विवाह गराइदिने जस्ता बेथितिहरु न्यूनीकरण हुँदै गएका छन् । बालबालिकाका क्षेत्रमा बजेट छुट्याउने, उक्त बजेट बालबालिकाको क्षेत्रमै खर्च गर्नेजस्ता सामान्य कुरामा चासो नदिने नरैनापुर क्षेत्रले यतिबेला बालबालिकाको क्षेत्रमा बजेट विनियोजन गर्नुका साथै बालबालिकाका क्षेत्रमा चासो देखाउँदै आएको छ ।

पूर्ण खोप, खुला दिसापिसाब मुक्त बन्नुका साथै बालविवाह, बाल दुव्र्यवहार, बालश्रमजस्ता घटनाहरु क्रमशः घट्दै गएका छन् । बालबालिकाको क्षेत्रमा क्रियाशिल संघसंस्था, स्थानीय, जनप्रतिनिधि तथा स्वयम् बालबालिकामा बालअधिकार र बालबालिका सम्बन्धी जागरुक्ता र सचेतिकरण बढेसँगै यतिबेला नरैनापुर बालमैत्री अभियानमा अग्रसर भएको छ । बालमैत्री गाँउपालिका निर्माणमा नरैनापुर गाँउपालिकाले तदारुक्ता देखाएपछि यतिबेला बालमैत्री अभियानमा अग्रसर गाँउपालिकाले नीति तथा कार्यक्रमका साथसाथै बजेट विनियोजन गर्दै अभियानलाई सशक्त बनाउँदै आइरहेको छ । नरैनापुर गाँउपालिकाले लिएको बालमैत्री अभियानलाई साथ र सहयोग भने गाँउपालिकामा रहेका बालक्लब तथा किशोरी क्लबले साथ दिइरहेका छन् ।

उनीहरुले यतिमात्र नभई बालक्लब, किशोरी क्लब गठन, पुनःगठन र विस्तार गर्दै बालमैत्री गाँउपालिकामा परिणत गराउन कसरत गरिरहेका छन् । गाँउपालिकाका विभिन्न वडा, समुदाय तथा विद्यालय स्तरमा गठित बालक्लब र किशोरी क्लबमा आबद्ध बालबालिकाले बालबालिका सम्बन्धी ब्याप्त समस्या, चुनौतीलाई न्यूनीकरण गर्न समुह छलफलसँगै सम्बद्ध सरोकारवालालाई झकझकाउने समेत गरेका छन् । गाउँपालिकाले बामलमैत्री अवधारणालाई अवलम्बन गरेपश्चात बालक्लबहरूले बालबालिकाको क्षेत्रमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न थालेपछि परिवर्तन आएको हो । बिहान विद्यालय पुगेर बेलुकी घर फर्किने बालबालिका यतिबेला बालमैत्री अभियान तथा बालअधिकारका पक्षमा क्रियाशील बन्न थालेका छन् ।

वडा, समुदाय तथा विद्यालय स्तरमा गठित बाल क्लबमा आबद्ध भएका बालबालिकाले नेतृत्व विकास, क्षमता विकास तथा बालअधिकारबारे छलफल, सार्वजनिक सवालका विषयमा सरोकारवालालाई झक्झकाउनेदेखि टोल, विद्यालय सरसरफाइ लगायतका कार्यक्रम बालक्लब तथा किशोरी क्लबले स्वयम सञ्चालन गर्दै आएका छन् । जसका कारण बालबालिकाबीच अन्तरक्रिया, ज्ञानसीप र सूचना प्रवाह हुनुका साथै उनीहरुको ब्यवहारमा समेत परिर्वतन आएको छ । बालबालिकाको सक्रियता बढ्दै गएपछि समुदायले बालबालिकाप्रति गर्ने ब्यवहार, दृष्टिकोण र धारणामा समेत परिर्वतन आएको छ । जसले बालबालिकाद्वारा सञ्चालित बाल गतिविधिमा सार्वजनिक चासो र सक्रियता बढ्दै आएको छ ।

बालिकाहरुलाई विद्यालय पढाउनु हुन्न भन्ने मानसिकता हराउँदै गएको छ । सानै उमेरमा बालविवाह गराउने परिपाटी क्रमिकरुपमा घट्दै गएको छ । यो सबै बाल क्लब र बालबालिकाको सक्रियताका कारण भएको महिला तथा बालबालिका प्रमुख कृष्णकुमारी चन्दले बताइन् । चन्द भन्छिन्, ‘गाँउमा हुने बालविवाह, बालश्रम, बाल दुव्र्यवहारका घटना होस् विद्यालय जानबाट बञ्चित बालबालिकाका सवाल क्लबका बालबालिकाहरुले सल्लाह र परामर्श दिँदै समस्या समाधानका बाटा पहिल्याउने गरेका छन् ।’ बालबालिकाका सवालमा स्वयम् बालबालिकाहरु नै क्रियाशिल भएर अघि बढ्दा यसले सकारात्मक सन्देश दिएको सम्बद्ध सरोकारवालाहरुको बुझाई छ । बालबालिकाको क्रियाशिलता बढ्दै गएपछि गाउँपालिकालाई समेत नीति तथा कार्यक्रम बनाउन थप दवाव आएको भन्दै यसप्रति गम्भीर रुपमा अघि बढेको चन्दको बुझाई छ ।

बालमैत्री उन्मुख गाँउपालिका यसअघि बालमैत्री अवधारणाअनुरुप विभिन्न सूचकहरुलाई पुरा समेत गरेको छ । नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहका अनुसार नरैनापुरलाई बालमैत्री बनाउनका लागि नीति तथा बजेट विनियोजन गर्दै कार्यक्रमहरु अघि सारेको छ । उनले भने, ‘हामीले बालसंरक्षण नीति निर्माण गरि बालसंरक्षण कोष खडा गर्नुका साथै बालअधिकार कार्यविधि, बालविवाह न्यूनीकरण निर्देशिका, बालक्लब, सञ्जाल गठन, विस्तार र सञ्चालन कार्यविधि बनिसकेको छ ।’ पछिल्लो समय बालक्लब र किशोरी क्लबमार्फत चालिएका अभियानले गाउँपालिकामा सकारात्मक प्रभाव परेको भन्दै थप कार्यक्रम गर्न हौसला पाएको उनी बताउँछन् । ‘बालमैत्री अभियान र बालमैत्री घोषणा कार्यविधिले तोकेका सूचक र मापदण्ड पुरा गर्न हामी तल्लीन छौं,’ अध्यक्ष शाहले भने ।

त्यही अनुरुप बजेट तथा कार्यक्रमहरु विनियोजन गरि बालबालिकाको अर्थपूण सहभागितामूलक रुपमा अघि बढिरहेको अध्यक्ष शाहले बताए । उनले भने, ‘गाँउपालिकाका केही वडामा अझै पनि बालबालिका समस्या र चुनौतीहरु विद्यमान छन्, ती समस्याहरु समाधान गर्न हामी सजग र सचेत बनेका छौं ।’ विकासले भर्खरै फड्को मारिरहेको बताउँदै अध्यक्ष शाहले भने, ‘परिर्वतन भन्ने कुरा आजको भोली नै हुँदैन । यसका लागि समय लाग्छ ।’ उनले अगाडी थप्दै भने, ‘यहाँका मुख्य समस्याहरु पहिचान गर्दै ती समस्या र चुनौतीलाई विस्तारै निराकरण गर्नतर्फ गाउँपालिकाका सबै लागिरहनु भएको छ । पहिले भन्दा उल्लेख्य मात्रामा यहाँ परिर्वतन भएको छ । यो हामीले अनुसरण गरेका छौं ।’

बालमैत्री गाउँपालिका निर्माणको नीति अवलम्बन गरेसँगै नरैनापुरलाई बालमैत्री गाउँपालिका निर्माणका लागि कुनै कसर बाँकी नराख्ने बताउँदै अध्यक्ष शाहले बालबालिकाका सवालमा बालबालिकाद्वारा गरिने गतिविधि बढि प्रभावकारी हुने बताए । ‘आगामी आर्थिक वर्षमा बालमैत्री अभियानका अधिकांस सूचक पुरा गरी छिट्टै गाँउपालिकालाई बालमैत्री घोषणा गर्नेछौं,’ अध्यक्ष शाहले भने । सोहीअनुसार गाउँपालिकाका सबै वडालाई निर्देशन दिएको बताउँदै उनले बालमैत्री गाउँपालिका निर्माणका लागि सबैको साथ र सहयोग अपिहार्य रहेको बताए । नरैनापुर गाँउपालिकामा लामो समयदेखि बालबालिकाको क्षेत्रमा कार्य गर्दै आएका स्थानीय त्रिभुवनप्रसाद यादवले बालबालिका र किशोरीहरुले समाजमा ब्याप्त बाल समस्या समाधानका लागि स्वयम् आफैँ अग्रसरता देखाएका छन् ।

उनी भन्छन्, ‘बालमैत्री अभियानकै कारण यो सम्भव भएको छ । अहिले आफ्नै विवाहका लागि समेत बालबालिका र किशोरीले आवाज उठाइरहेका छन् ।’ गाउँपालिकाले बालिका शिक्षा बीमा कार्यक्रमअन्तरगत २४ लाख विनियोजन गरी विद्यालय पहुँचदेखि टाढा रहेका बालिकालाई विद्यालय उपस्थिति गराउनुका साथै बालविवाह न्यूनीकरणमा यसले उल्लेख्य मद्दत गरेको यादव बताउँछन् । बालमैत्री अभियान अवलम्बन गरेको नरैनापुरले पछिल्ला दिनमा बजेट विनियोजन गर्नुमात्र नभई बालबालिकाको अर्थपूर्ण सहभागितामा समेत जोड दिएको छ । बालबालिकाको अर्थपूर्ण सहभागितालाई समेत महत्वपूर्णरुपमा अंगिकार गरेको नरैनापुरले वडास्तरबाट मात्र नभई गाउँपालिकास्तरबाट समेत बालमैत्री अभियनालाई ध्यानमा राखेर कार्यक्रम तथा बजेट विनियोजन गर्ने गरेको छ ।

नरैनापुरमा ३ मावि, १ निमावि र मदरसासहित ४७ वटा विद्यालय रहेका छन् । गाउँपालिकामा पछिल्लो समय शैक्षिक गुणस्तरतामा समेत बढोत्तरी भएर आएको छ । शैक्षिक गुणस्तरतामात्र नभई विद्यालयमा विद्यालय जाने उमेरका बालबालिकाको बढोत्तरीसँगैबीचमै कक्षा छाड्नेको संख्यामा समेत कमी आएर विद्यार्थी टिकाउदर बढेको छ । अभिभावकमा शिक्षाप्रति आएको सचेतनासँगै बालक्लब र किशोरी क्लबमार्फत बालबालिकाले चलाएका अभियान प्रबद्र्धनात्मक कार्यक्रमले थप सहयोगी भूमिका दिएको महिला तथा बालबालिका प्रमुख कृष्णकुमारी चन्दको बुझाई छ । नरैनापुर गाउँपालिकामा बालविवाह, यौनजन्य हिंसा लगायतका केही जटिल समस्याहरु रहेको भए पनि यसतर्फ गाउँपालिका र सम्बद्ध वडा कार्यालयहरु सचेत बन्दै आएको उनले बताइन् । विजय मल्ल/समृद्धिको बाटोमा नरैनापुर बुलेटिनबाट