Loading... आजः ३१ बैशाख २०७८, शुक्रबार

कोरोनाको मारमा आइपिएल : अनिश्चितकालीन स्थगित

कोरोनाको मारमा आइपिएल : अनिश्चितकालीन स्थगित

काठमाडौं । भारतमा जारी १४औँ इन्डियन प्रिमियर लिग (आइपिएल) अनिश्चितकालका लागि स्थगित भएको छ ।

पछिल्ला दुई दिनमा तीन टोलीका चार खेलाडी, एक प्रशिक्षक तथा दुई स्टाफ कोरोना संक्रमित भएपछि भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले मंगलबार आइपिएल अनिश्चितकालीन स्थगित भएको घोषणा गरेको हो ।

बिसिसिआईका उपाध्यक्ष राजीव शुक्लाले भारतको कोरोना अवस्था हेरी आइपिएल रोक्नुबाहेक अन्य विकल्प नभएको प्रतिक्रिया दिएका छन् ।

‘हामी कोही पनि भारतको अवस्थाबाट जानकार नभएका होइनौँ, यद्यपि स्वदेशी मात्र नभएर विदेशी खेलाडी र स्टाफ पनि संक्रमित हुने डरका साथ बसिरहेका छन्,’ उनले भने, ‘खेलाडीको परिवार तथा जनस्वास्थ्य सुरक्षार्थ नै आइपिएल रोकेको हो ।’

शुक्लाले मंगलबार दिउँसो १:४५ बजे सहभागी टोलीका सदस्य संक्रमित भएका कारण आइपिल तत्कालका लागि स्थगित गरिएको जानकारी गराएका हुन् । आइपिएलमा अझै ३१ खेल बाँकी छन् भने २९ खेल भइसकेको छ ।

सोमबार कोलकता नाइट राइडर्स र चेन्नई सुपर किंग्सका खेलाडीहरू संक्रमित भएका थिए । कोलकताका वरुण चक्रवर्ती र सन्दीप वारियर सुरुमा संक्रमित भएको रिपोर्ट सार्वजनिक भयो ।

त्यसको केही समयपछि नै चेन्नईका बलिङ प्रशिक्षक लक्ष्मीपति बनलाजीसँगै अन्य स्टाफसमेत संक्रमित भएको सार्वजनिक भयो । मंगलबार सनराइजर्स हैदरावादका रिद्धिमान साह तथा दिल्ली क्यापिटल्सका अमित मिश्रा पनि संक्रमित भएका छन् ।

सोमबार र मंगलबार आइपिएलका खेलाडी, प्रशिक्षक र स्टाफ संक्रमित रिपोर्ट आएपछि आइपिएल स्थगित गरिएको बिसिसिआईका उपाध्यक्ष शुक्लाले बताए । अब आइपिएल पुनः सुचारु कहिले हुन्छ भनी निर्णय बिसिसिआईले गरेको छैन ।

आइपिएल सुरु हुनुअघि कोलकताका नितिश राणा, रोयल च्यालेन्जर्स बेंग्लोरका देवदत्त पडिक्कल, दिल्लीका अक्षर पटेल, बेंल्लोरका डेनियर सेम्स, दिल्लीका एन्रिक तथा मुम्बईका सहायक प्रशिक्षक किरण मोरे संक्रमित भएका थिए ।

यी सबै संक्रमित खेलाडी तथा प्रशिक्षक क्वारेन्टिनपछि नेगेटिभ रिपोर्ट आएपछि टोलीमा सम्मलित भएका थिए । १४औँ आइपिएल सुरु हुँदा भारतमा दोस्रो लहरको कोरोना त्यति फैलिएको थिएन ।

तर, पछिल्लो डेढ सातामा दोस्रो लहरले विकराल रूप लिएको छ । यसैबीच आइपिएल स्थगित किन नगर्ने भन्ने प्रश्नसमेत उठेको थियो । तर, आइपिएल चलिरहँदा खेलाडी संक्रमित भएको समाचार नआएका कारण खेल जारी थियो ।

भारतमा फसे ६ देशका ६१ विदेशी खेलाडी, ४० कमेन्टेटर 
आइपिएल स्थगित भएपछि सबैभन्दा ठूलो चुनौती विदेशी खेलाडीलाई कसरी व्यवस्थापन गरी सुरक्षित रूपमा घर पुर्‍याउने भन्ने प्रश्न आयोजकमाथि तेर्सिएको छ । आइपिएलमा ६ देशका ६१ विदेशी खेलाडी सहभागी छन् ।

चेन्नई, दिल्ली, कोलकता, मुम्बई, सनराइजर्स हैदरावाद तथा पुणेमा समान आठ विदेशी खेलाडी छन् । यसैगरी राजस्थानमा ६ र बेंग्लोरमा सात विदेशी खेलाडी छन् ।

आइपिएलमा अस्ट्रेलिया, इंग्ल्यान्ड, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज तथा बंगलादेशका खेलाडी तथा स्टाफ छन् । साथै यी सबै देशबाट ४० भन्दा बढी कमेन्टेटरका रूपमा आइपिएलमा आबद्ध छन् ।

अन्तर्राष्ट्रिय उडान बन्द भएका कारण सबै विदेशी भारतमा फसेका छन् ।

अन्तर्राष्ट्रिय हवाई उडान बन्द
युएई, बेलायत तथा अस्ट्रेलियाजस्ता देशमा अन्तर्राष्ट्रिय हवाई सेवा बन्द छन् । ती देशहरूबाट भारत आउने सबै उडान रोकिएको छ । बिसिसिआईले विदेशी खेलाडीलाई सुरक्षित रूपमा घर कसरी पुर्‍याउने सम्बन्धमा छफलफल भइरहेको जनाएको छ । तर, अन्तर्राष्ट्रिय हवाई सेवा नहुँदासम्म ती खेलाडी घर फर्काउन सक्ने अवस्था छैन । त्यसवेलासम्म उनीहरू भारतमै बस्नुपर्ने हुन्छ ।

अस्ट्रेलिया र बंगलादेशले भारतबाट आउने सबै अन्तर्राष्ट्रिय फलाइट बन्द गरेका छन् । भारतबाट इंग्ल्यान्ड जाने व्यक्तिहरू कम्तीमा दश दिन कडा क्वारेन्टाइनमा बस्नुपर्छ । बेलायत सरकारले मान्यता दिएको होटेलमा मात्र भारतबाट जाने खेलाडी तथा सर्वसाधारण क्वारेन्टिनमा बस्नुपर्ने नियम छ । आठौँ दिनमा कोरोना परीक्षण गर्नुपर्छ ।

केही समयअघि युएईले भारतबाट आउने फ्लाइट रोकेको थिएन । तर, भारतमा बढ्दो संक्रमित संख्याबाट भयभीत बनेको युएईले १४ मेसम्म भारतबाट आउने र युएईबाट भारततर्फ जाने उडान बन्द गरेको छ । बंगलादेशले १ मेदेखि भारत र दक्षिण अफ्रिकाको अन्तर्राष्ट्रिय फ्लाइट बन्द गरेको छ ।

खेलाडीलाई देशमा नआउन अस्ट्रेलियाको चेतावनी 
न्युजिल्यान्ड क्रिकेट बोर्डले भारतमा रहेका आफ्ना खेलाडीसँग नियमित सम्पर्कमा रहेको जानकारी दिएको छ । बोर्डले न्युजिल्यान्डका सबै खेलाडी तथा अफिसियल सुरक्षित रहेको जनाएको छ ।

तर, न्युजिल्यान्डले आफ्ना खेलाडी तथा अफिसियललाई घर फर्काउनेबारे कुनै योजना बनाएको छैन । खेलाडीलाई होटलमै सुरक्षित रहन सल्लाह दिएको बोर्डको भनाइ छ ।

अस्ट्रेलियाले भने १५ मेसम्म भारतबाट आउने सबै फलाइट्समाथि प्रतिबन्ध लगाएको छ । यसैबीच कोही पनि अस्ट्रेलियन खेलाडी वा स्टाफ भारतबाट आए उनीहरूलाई जेलमा पठाइने चेतावनी दिएको छ ।

क्रिकेट अफ अस्ट्रेलियाले भारतमा रहेका कुनै पनि खेलाडीलाई तत्काल फिर्ता बोलाउने योजना नभएको स्पष्ट पारेको छ । चार्टर्ड फ्लाइटबाट पनि खेलाडी ल्याउन सक्ने अवस्था नभएको सिएको भनाइ छ ।

आइपिएल रोक्न रिट
बिसिसिआईले आइपिएल स्थगित गर्नुअघि दिल्लीस्थित उच्च अदालतमा ‘जनस्वस्थ्य केन्द्रित’ रहन प्रतियोगिता रोक्नुपर्ने मागसहित वकिल तथा सामाजिक कार्यकर्ता करण सिंह ठकरालले रिट दायर गरेका थिए ।

यद्यपि रिट दायर गरेका वकिल ठकराल पनि संक्रमित छन् । उनले आफ्ना एक सहयोगीमार्फत आइपिएल तत्काल रोक्नुपर्ने भन्दै रिट राखेको भारतीय मिडियाहरूले जनाएका छन् ।

‘मानिसको स्वास्थ्यभन्दा आइपिएललाई बढी प्राथमिकता दिइरहेको छ, यो अहिले रोकिनुपर्छ,’ ठकरालले भनेका छन् । यद्यपि दिल्लीको उच्च अदालतले यस सम्बन्धमा कुनै अन्तरिम आदेश जारी गरेको छैन । यसैगरी इंग्ल्यान्डका पूर्वकप्तान तथा कमेन्टेटर केभिन पिटरसनले पनि खेलाडीको स्वास्थ्यमाथि खेलबाड गर्न नहुने भनी आइपिएल रोक्न अपिल गरेका थिए ।

बिसिसिआईलाई दुई हजार करोड नोक्सान
आइपिएल स्थगित भएपछि बिसिसिआईले सम्भवत दुई हजार करोड भारु घाटा सहनु पर्छ । सेप्टेम्बरमा भारतले आइसिसी टी–२० पुरुष विश्वकप क्रिकेट प्रतियोगिता आयोजना गर्दै छ ।

कोरोनाको दोस्रो लहर नियन्त्रण नहुँदा भारतले विश्वकपको आयोजनासमेत गुमाउने अवस्था छ । आइपिएल र विश्वकपसमेत गुमाउँदा भारत हजारौँ करोड घाटा बेहोर्न बाध्य हुनेछ ।

आइपिएल रोकिनुअघिको अवस्था
४ मेमा सनराइडर्स र मुम्बईबीच आइपिएलको ३२औँ खेल हुने तय थियो । तर, कोरोना भाइरसका कारण यो खेल रद्द भयो । त्यसपछि आइपिएलका कुनै पनि खेल भएन ।

अहिलेसम्म साविक उपविजेता दिल्लीले आठ खेलमा सर्वाधिक १२ अंक बटुली शीर्ष स्थानमा छ । गत वर्ष प्ले अफ दौडबाट बाहिरिएको चेन्नई १० अंकका साथ दोस्रो स्थानमा छ । बेंग्लोरको पनि १० अंक नै छ । बेंग्लोर रनरेटमा पछि पर्दा तेस्रो स्थानमा छ ।

साविक विजेता मुम्बईले आठ अंक बटुली चौथो स्थान रक्षा गरेको छ । राजस्थान ६ अंकका साथ पाँचौँ, पन्जाब ६ अंकका साथ छैटौँ र कोलकता चार अंकका साथ सातौँ स्थानमा छन् ।

हैदरावाद दुई अंकका साथ पुछारमा छ । दिल्लीका शिखर धवनले आठ खेलबाट सर्वाधिक तीन सय ८० रन बटुलेका छन् । बेंग्लोरका हर्सल पटेलले सात खेलबाट सर्वाधिक १७ विकेट हात पारेका छन् ।

नयाँ पत्रिकाबाट