Loading... आजः १ जेष्ठ २०७८, शनिबार
कोरोना कहर

नेपालगन्जका घरघरमा कोरोना, सरकारले दिएन भेरी अस्पताललाई ‘रेम्डिसिभिर’

सरकारले नीजिस्तरको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका लागि १०८ भाइल रेम्डिसिभिर उपलब्ध गराउने भएको छ ।
नेपालगन्जका घरघरमा कोरोना, सरकारले दिएन भेरी अस्पताललाई ‘रेम्डिसिभिर’

बाँके । कोभिड १९ संक्रमित बिरामीहरुको उपचारका लागि प्रयोग गरिने रेम्डिसिभिर वितरण गरिएको छ । मंगलबार अपराह्न राजधानी आइपुगेको सो औषधि मुलुकभरका ५० वटा स्वास्थ्य संस्थालाई २ हजार ४०९ र सोझै बिरामीलाई २०० भाइल वितरण गरिएको औषधि व्यवस्था विभागले जनाएको छ ।

रेम्डिसिभिरको अधिकांश वितरण राजधानी केन्द्रित भए पनि बुधबार आउने ४ हजार भाइल राजधानी बाहिर पठाइने विभागले जनाएको छ । दोस्रो लहरको कोभिड–१९ संक्रमण तीव्ररूपमा फैलिएसँगै बाँके जिल्ला देशकै प्रभावित जिल्ला बनेको छ । सरकारले भने कोभिडको तीव्र संक्रमण रहेको बाँकेलाई रेम्डिसिभिर वितरणमै उपेक्षा गरेको छ ।

दिनहुँ ठूलो संख्यामा संक्रमित थपिन थालेपछि यहाँका सरकारी र निजी अस्पतालले बिरामीको चाप थेग्न सकेका छैनन् । अधिकांश संक्रमित होम आइसोलेसनमा छन् । यहाँस्थित प्रयोगशालाका अनुसार संक्रमितमध्ये धेरै सहरकै छन् । नेपालगन्ज उपमहानगरका प्रमुख आवास क्षेत्र भृकुटीनगर, कोरियनपुर र कारकाँदोका घरघरमै संक्रमित छन् ।

अझ बाँकेको नेपालगन्ज कोरोना संक्रमणको उच्च चपेटामा परेको छ । सीमावर्ती सहरका घरघरमै संक्रमित छन् । प्रत्येक दिन परीक्षण गरिएका स्वाबका नमुनामध्ये ८० प्रतिशतसम्ममा संक्रमण पुष्टि भइरहेका छन् । यस्तो अवस्थामा बिरामीको चाप थेगिरहेको भेरी अस्पतालका लागि रेम्डिसिभिर नै नआउने भएको छ ।

बाँकेमा कोरोना संक्रमण ‘भुसको आगो’झैं फैलिरहेको छ । नेपालगन्जमा दैनिक संक्रमित थपिएको कोरोना संक्रमितको तथ्यांकले नेपालगन्जका घरघरमा कोरोना भाइरस फैलिसकेको सहजै अनुमान गर्न सकिन्छ । दैनिक ठूलो संख्यामा संक्रमण पुष्टि भइरहँदा सरकारले रेम्डिसिभिर उपलब्ध नगराएर भेरी अस्पताललाई उपेक्षा गरेको छ ।

धौ–धौ कोरोना विरामीको चाप थेगिरहेको भेरी अस्पताललाई सरकारले रेम्डिसिभिर उपलब्ध नगराएर उपेक्षा गरेको चिकित्सकहरु बताउँछन् । सरकारले रेम्डिसिभिर वितरणमा काठमाडौं उपत्यकालाई मात्रै प्राथमिकतामा राखेको छ । काठमाडौं उपत्यका बाहिरका फट्टफुट्ट अस्पतालहरुलाई रेम्डिसिभिर उपलब्ध गराएको छ ।

काठमाडौं उपत्यकाभित्रका ९० प्रतिशत अस्पतालहरुमा रेम्डिसिभिर वितरण गरिएको छ । सरकारले काठमाडौं उपत्यका बाहिरका नागरिकलाई पक्षपात गरेको नागरिकहरुको आरोप छ । देशकै सबैभन्दा उच्च चपेटामा परेको नेपालगन्जलाई एक भाइल पनि रेम्डिसिभिर उपलब्ध नगराएर सरकारले नेपालगन्जबासीलाई उपेक्षा गरेको नागरिकहरुको आरोप छ ।

यद्यपी सरकारले नीजिस्तरको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका लागि १०८ भाइल रेम्डिसिभिर उपलब्ध गराउने भएको छ । यसले बाँकेबासीका लागि केही राहत हुने भए पनि सरकारले जानजान भेरी अस्पताललाई रेम्डिसिभिर उपलब्ध नगराएर मृत्यु शैय्यामा छट्पटाइरहेका बिरामीहरुलाई थप पीडा दिएको छ ।

सरकारले वितरण गरेको रेम्डिसिभिरको विवरण अनुसार त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज १३५, नेपाल प्रहरी अस्पताल १०८, ग्रान्डी ५४, चियायु नेशलन ५४, केडिसी २७, भक्तपुर हस्पिटल २७, मध्यपुर हस्पिटल १२, ह्याम्स हस्पिटल १०८, बीएण्डबी ५४, नर्भिक ५४ र टेकु अस्पताल १०८ भाइल उपलब्ध गराइएको छ ।

त्यस्तै काठमाडौं मेडिकल कलेज ५४, हेल्पिङ ह्यान्डस् सामुदायिक हस्पिटल २७, ओम हस्पिटल ५४, निदान हस्पिटल ५४, मेडिकेयर ५४, बयोधा १२, ग्रिनसिटी ५४, खांग्री १२, मनमोहन मेमोरियल २४, शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र १२ र नेपाल आर्मी हस्पिटल ५४ भाइल उपलब्ध गराइएको छ ।

त्यस्तै सशस्त्र प्रहरी अस्पताल ५४, सुमेरु सिटी १८, मेडिप्लस १२, कोरियन मैत्री १२, शिर मेमोरियल १२, वीर अस्पताल ५४, मेडिसिटी १०८, नेपाल मेडिकल कलेज १२, पाटन हस्पिटल ५४, स्टार हस्पिटल १२, मेघा हस्पिटल २७ र निजामती अस्पताललाई १०८ भाइल उपलब्ध गराएको औषधि व्यवस्था विभागले जनाएको छ ।

नेपाल नेसनल हस्पिटल ५४, नारायणी उपक्षेत्रीय अस्पताल ५४, भरतपुर १८, फिस्टेल हस्पिटल पोखरा २७, कीर्तिपुर हस्पिटल २७, दीर्घायु गुरु हस्पिटल २७, काठमाडौं मोडेल हस्पिटल २७, लुम्बिनी प्रादेशिक अस्पताल १०८, युसिएमएस ५४, राप्ती उपक्षेत्रीय अस्पताल ५४ र स्वास्थ्य सेवा विभाग १०८ भाइल उपलब्ध गराइएको छ ।

त्यसैगरी सिविक हस्पिटल २७, शहीद मेमोरियल हस्पिटल २७, विपी स्मृति हस्पिटल २७, नेपाल भारतमैत्री हस्पिटललाई पनि २७ भाइल वितरण गरिएको छ । २०० भाइल सीधै बिरामीलाई उपलब्ध गराइएको छ । वितरण गरिएको रेम्डिसिभिर औषधि व्याक्सिमो फर्मास्युटिकल्स प्रालि नामक बंगलादेशको कम्पनीबाट ‘हाम्रो मेडी कन्सर्न प्रालि’ले आपूर्ति गरेको हो । बंगलादेशकै इन्सेप्टा कम्पनीको ४ हजार भाइल रेम्डिसिभिर औषधि भित्रिनेछ ।

औषधि व्यवस्था विभागले १ लाख ३० हजार भाइलभन्दा बढी रेम्डिसिभिर औषधि आपूर्तिका लागि विभिन्न आयातकर्तालाई अनुमति प्रदान गरिसकेको जनाएको छ । भारतबाट निर्यात प्रतिबन्ध भएका कारण यो औषधि आपूर्तिमा असहज भएको थियो । अहिले बंगलादेशको हेल्थकेयर, एसिआइ, इन्सेप्टा, बेकोन र व्याक्सिमो फर्मास्युटिकल्सका उत्पादन आपूर्ति गर्न विभागले स्वीकृति प्रदान गरेको औषधि व्यवस्था विभागले जनाएको छ ।