Loading... आजः ३१ बैशाख २०७८, शुक्रबार
कोरोना कहर

करारमा भर्ना गरेका ४१ जना स्वास्थ्यकर्मीलाई काममा खटाइयो

करारमा भर्ना गरेका ४१ जना स्वास्थ्यकर्मीलाई काममा खटाइयो

बाँके । नेपालगन्जमा कोभिड–१९ रोकथाम र नियन्त्रणलाई प्रभावकारी रूपमा अघि बढाउन नेपालगन्ज उपमहानगरपालिकाले स्वास्थ्यकर्मीहरूलाई करारमा भर्ना गरेर विभिन्न अस्पताल तथा हेल्थडेस्कहरूमा खटाएको छ ।

उपमहानगरपालिकाले स्वास्थ्य सहायक, स्टाफ नर्स, पारामेडिक्स र नर्सिङ गरी ४१ जना स्वास्थ्यकर्मी भर्ना गरेर काममा खटाएको हो । उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दका अनुसार उपमहानगरले भर्ना लिएका मध्ये १५ जनालाई भेरी अस्पताल नेपालगन्जमा खटाइएको छ ।

त्यस्तै सीमा नाका जमुनहास्थित सञ्चालनमा रहेको हेल्थडेस्कमा १३ जना स्वास्थ्यकर्मीलाई खटाइएको शाखा प्रमुख चन्दले जानकारी दिए । उनका अनुसार नेपालगन्ज विमानस्थलमा रहेको हेल्थडेस्क, विभिन्न आइसोलेसन केन्द्र र वडास्थित स्वास्थ्य संस्थाहरुमा नयाँ स्वास्थ्यकर्मीहरु परिचालन गरिएको छ ।

यसैबीच, कोरोना संक्रमण दर फैलिँदै गएपछि भेरी अस्पताल नेपालगन्जको कोभिड वार्डमा जनशक्तिको चरम अभाव भएपछि स्वास्थ्य मन्त्रालयले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पठाएको चिकित्सकसतिहको टोली आएर काम सुरु गरिसकेको भेरी अस्पतालका कोभिड फोकल पर्सन डा.सकेत रिसालले जानकारी दिए ।

प्रतिष्ठानका एनेस्थेसिया तथा क्रिटिकल केयर विभाग प्रमुख डा.प्रविण गिरी नेतृत्वको चिकित्सक तथा स्वास्थ्यकर्मीको ६ सदस्यीय टोली आईतवार नेपालगन्ज आइपुगेको उनले बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रहपछि प्रतिष्ठानका ६ जना चिकित्सक र स्वास्थ्यकर्मीको टोली भेरी अस्पतालमा खटिने भएको हो ।

इञ्चार्ज गिरीसहित टोलीमा डा अरुण श्रेष्ठ, डा हरि न्यौपाने, नर्सहरु सुष्मिता खड्का, तेन्जीङ लामा र प्यारामेडिक्स नरेन्द्र शर्मा रहेका छन् । डा गिरीको टोली नेपालगन्ज रहेर १० देखि १४ दिनसम्म भेरीमा बसेर उपचारमा सहयोग गर्नेछ । भेरीमा कोरोना बिरामीको चाप बढ्दै गएपछि त्यहाँ कार्यररत ९५ जना स्वास्थ्यकर्मी समेत संक्रमित भएका छन् ।

कर्मचारीको अभाव भएपछि संक्रमित भएका ९५ मध्ये १० जना स्वास्थ्यकर्मी पनि बाध्यतावश संक्रमणकै अवस्थामा काम गरिरहनुपरेको अवस्था थियो । तर, जुम्लाको टोली आएर काम गर्न थालेपछि केही मात्रामा सहज भएको कोभिड फोकल पर्सन रिसालले बताए ।