Loading... आजः १ जेष्ठ २०७८, शनिबार
विचार

जीवन सुन्दर बनाउ, मृत्यु सत्य हो !

जीवन सुन्दर बनाउ, मृत्यु सत्य हो !

कोरोनाका कारण विश्व नै त्रसित भएर हाम्रो देश नेपाल लगायतका अन्य देशहरुमा पनि लकडाउन घोषणा गरिएको छ । म संघीय राजधानी काठमाडौंको एउटा घरको बन्द कोठाभित्र बसिरहेको छु । सबै कोरोनाबाट बच्न आ–आफ्नो क्षेत्रबाट लागि परेका छन् । अस्तव्यस्त देखिने राजधानी काठमाडौंका शहरहरु लकडाउनले शुन्य भएका छन् । दिनानुदिन कोरोना संक्रमितहरु थपिँदै गएका छन् । बन्द कोठामा मोबाइलको सहारामा सामाजिक सञ्जालमार्फत देश, विदेशमा कोरोनाका कारण भएको चित्कार कतै विरामीलाई बेड छैन, कतै अक्सिजन छैन, कतै औषधि छैन भन्ने खबरले मन अतालिन्छ ।

अस्पतालमा एकहातले आफुलाई सलाइन चढाएर विरामीको उपचार गरेका डाक्टरहरुका फोटाहरु सामाजिक सञ्जालमा देखिन्छन् । कोरोना संक्रमणका कारण अनुहारसमेत देख्न नपाएका घर परिवारका चित्कारहरु समाचारमा सुनिन्छन्, अनि सोच्न थाल्छु । हरेकले आफ्नो जन्मसँगै मृत्यु पनि लिएर आएका छन् । त्यहि मृत्यु कसैका लागि चाँडो त कसैका लागि ढिलो आइदिन्छ । जो कोहीलाई पनि मृत्युसँग डर नै लाग्छ, तर यसको अर्थ आत्महत्या गर्नेहरू निडर र बहादुर हुन् भन्ने पनि हैन । आत्महत्या त जीवनको बोध गर्न नसक्नेहरूले, मानसिक संकुचनका रुग्णहरूले जीवनप्रति गर्ने अपराध हो । त्यसैले त धार्मिक ग्रन्थहरूमा पनि ‘आत्महत्या महापाप हो भनी लिपीबद्द गरिएको छ ।

मृत्यु एक त्यस्तो सत्य हो । जसको आगमनको न कुनै समय हुन्छ, न त कुनै संकेत नै यो त जुनसुकै बेला जोसुकै माथि जहाँसुकै पनि घट्न सक्छ । बाटो काट्दा काट्दै गाडीको ठक्करले, अहिलै भुइँँचालो आएर, ज्वालामुखी फुटेर, हृदयघात भएर होस वा अन्य कुनै रोग र बिरामको कारणले होस् जो सुकैको पनि मृत्यु हुन सक्छ । तर यी त मृत्युका बाहाना मात्र हुन् । मानिस मर्दछ छ, त बाँचेको हुनाले । मृत्यु त्यो सत्य जुन अकाट्य र अवश्यम्भावी छ । त्यसैले पनि होला कवि सिरोमणि लेखनाथ पौड्यालले भन्नुभएको छ, ‘आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो, इन्द्रै बिन्ती गरुन झुकेर पदमा त्यो बिन्ती मान्दैन त्यो ।’

मृत्यु त्यो शाश्वत सत्य जसको बोध थोरैले मात्र गरेका छन्, या गर्न सक्छन् जे भनौँ । तर बाँकिरहेका अरु सबै जीवनका असांयोगिक पाटाहरूलाई वास्तविकतामा ढाल्न तल्लिन छन् । जसले गर्दा उनीहरू भूलिरहेछन् बाँच्नुको सार्थकता, जीवनको यथार्थ बुझाई र मरणको वास्तविकता । के मृत्युपछि पनि जीवन निरन्तर छ त ? भनिन्छ आत्मा अमर छ, शरीर मरेर गए पनि आत्मा उडेर गई अन्य कुनै शरीरमा समाबिष्ट हुन्छ । के आत्मा पनि शरीरको परिवर्तनसँगै परिवर्तन हुन्छ ? यदि हुन्छ भने आत्मा कसरी अमर भयो र ?

यदि शरिरसँगै आत्माको परिवर्तन हुँदैन भने पनि फेरि किन जन्मेनन् ती हिटलर र मुसोलिनीका क्रुर आत्माका प्रतिविम्बहरू ?, फेरि किन जन्म भएन शान्तिका दुत गौतम बुद्दहरूको ?, किन आएनन् अरस्तु, रुसो, न्यूटन र आइन्सटाइनका आत्मा ग्रहण गरेका शरिरहरू ? यी र यस्ता प्रश्नहरूले मलाई दोधार तुल्याउँछ र म एउटै निश्कर्षमा पुग्छु । आत्म अमर हुनसक्छ तर आत्मिक पहिचान मृत्युसँगै बिलीन भएर जान्छ जो गुणकारी र हितकारी हुन्छन् तिनीहरूको पहिचान ईतिहासमा लिखत हुन्छ । समयको परिवर्तनसँगै तिनीहरूका कामहरू जीवन्त रहन्छन् र असलहरूका लागि आदर्श पनि बन्छन् तिनीहरू । त्यसैले सबैका लागि नभए पनि धेरैका लागि हितैसी र असल बन्नु उचित हुन्छ ।

असल भन्नुको अर्थ सोझो र कम बोल्नु भन्ने हैन । प्रतिक्रिया बिहीन, असंवेदनशिल र निष्कृय निरिह जीवन्त बन्नु, ठिकलाई सराहना गर्नुलाई असलपनका लक्षण भन्न सकिन्छ । हुनत असल बन्न र रहिरहन सजिलो छैन । प्रयत्नसाध्य र कठिनसाध्य छ तर जीवनको अतभुत आनन्द, सार्थकता र सुन्दरता पनि यसैमा छ । हरेकमा यस्तो सकारात्मक विचार विकास होस् कि, आजको दिन भनेको मेरो लागि हो, भन्ने धारणा पैदा होस् र आजका लागि आजै योजना बनाई त्यसलाई आजै फत्ते गर्नुपर्छ भन्ने दृढ सोच होस् जसले मनमा शान्ति त दिलाउँछ नै, भोलिका योजनाहरूलाई अर्थपूर्ण बनाउने हौसला पनि दिन्छ र जीवन भोगाईलाई बुझ्ने बाटो पनि तय गरिदिन्छ ।

हरेकमा आफ्नै विशिष्ट क्षमता, बुद्धि र विवेक छ, आँट छ । तिनलाई निष्क्रिय नराखी, क्रियाशील बनाउनु, अभ्यासमा ल्याउनु र अरु विकसित गराउनुलाई जीवनको उपभोग भन्न सकिन्छ । जसले जीवनको उपभोग गर्नसक्दछ उसले जीवनलाई सुन्दर बनाउन र जीवनको मूल्य बोध गर्न सक्दछ । जीवनको मूल्य बोध गर्नु भनेको जीवनलाई सकारात्मकतामा भरपुर उपयोग गर्नु हो ताकि मृत्यको क्षणमा पनि आफ्नो जीवनप्रति गुनासो गर्दै मृत्युवरण गर्नु नपरोस् । (लेखक राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा नेकपा एमाले बझाङ्ग जिल्ला कमिटी सदस्य हुन् ।)