Loading... आजः ३१ बैशाख २०७८, शुक्रबार

महिला सांसदहरु भन्छन्, ‘डिआइजी धानुकविरुद्ध कानुनी उपचार खोज्छौं’

महिला सांसदहरु भन्छन्, ‘डिआइजी धानुकविरुद्ध कानुनी उपचार खोज्छौं’

बुटवल । लुम्बिनी प्रदेशमा महिला सांसदमाथि नेपाल प्रहरीका डिआइजी रविन्द्र धानुकले हातपात गरेको भन्दै महिला सांसदहरुले त्यसको कानुनी उपचार खोज्ने बताएका छन् । आइतबार मुख्यमन्त्रीको सपथ रोक्न धर्नामा बसेका महिला सांसदहरुले प्रहरीले आफूमामाथि हातपात गरेको आरोप लगाउँदै कानुनी उपचार खोज्ने बताएका हुन् ।

सोमबार बुटवलमा पत्रकार सम्मेलन गर्दै उनीहरुले प्रदेश प्रमुखकै कार्यालय परिसरमा महिला सांसदमाथि धरपकड र प्रहरी दमन भएकाले त्यसविरुद्ध कानुनी उपचार खोज्ने बताएका छन् । कांग्रेस सचेतक निर्मला क्षेत्रीले सांसदमाथि हातपात गर्ने प्रहरीले नागिरकमाथि कस्तो दमन गरेका होला भन्दै घटनाविरुद्ध कानुनी उपचार खोज्ने बताइन ।

प्रहरीसँग भएको झडपमा नेपाली कांग्रेसकी सचेतक क्षेत्री, लौटी थारु पुष्पा थरुनी, सुष्मा यादव, गीता थापा र पुर्मती ढेंगामगर र दिपेश थारुलगायत महिला सांसदमाथि डिआइजी धानुकको नेतृत्वमा आक्रमण भएको थियो । डिआइजी धानुकले महिला प्रहरी प्रयोग नगरी महिला सांसदलाई आफै धकेलपकेल गरेका थिए । उनीहरुले डिआइजी धानुकको शैलीको चर्को आलोचना गरेका हुन् ।

नेकपा माओवादी केन्द्रकी सचेतक पार्वती पुन गहतराज, जसपाकी सचेतक पुर्मती ढेंगामगर र राजमो नेता तारा जिसीले संयुक्त विज्ञप्ति निकाली घटनाको भत्सर्ना गर्दै दोषीमाथि तत्काल छानबिन गरी कारबाहीको माग समेत गरेका छन् । लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादव सपथ ग्रहणका लागि मुख्यमन्त्री कार्यालयमा जान खोज्दा सांसदहरुले अवरोध गर्नुका साथै नाराबाजी गरेका थिए । त्यस क्रममा धकेलाधकेलसमेत भएको थियो ।