Loading... आजः ३१ जेष्ठ २०७८, सोमबार
लुम्बिनीमा हलचल

मुख्यमन्त्रीको शपथ रोक्छौं : विपक्षी दल

मुख्यमन्त्रीको शपथ रोक्छौं : विपक्षी दल
मुख्यमन्त्री शंकर पोखरेलको नियुक्ति बदर र शपथ ग्रहण रोक्न माग गर्दै लुम्बिनी प्रदेश प्रमुखको कार्यालय परिसरमा धर्नामा बसेका विपक्षी गठबन्धनका सांसदहरु ।

बुटवल । लुम्बिनी प्रदेशमा आइतबार बिहान मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि शुरु भएको नाटकीय राजनीतिक घटनाक्रमले आइतबार अपराह्नसम्म आइपुग्दा अर्कै मोड लिएको छ । मुख्यमन्त्री पोखरेलले दोस्रो कार्यकालका लागि आइतबार नियुक्त भइसकेका छन् ।

तर विपक्षीहरुले भने बहुमत आफूहरुसँग हुँदा हुँदै प्रदेश प्रमुखले संविधान मिचेर अल्पमत पक्षलाई मुख्यमन्त्री बनाएको दावी गरेका छन् । यतिबेला विपक्षीहरु ४२ जना सांसदको हस्ताक्षर बोकेर प्रदेश प्रमुख धर्मनाथ यादवलाई मुख्यमन्त्रीको नियुक्ति बदर र शपथ ग्रहण रोक्न माग गरिसकेका छन् ।

नेपाली काँग्रेस प्रमुख सचेतक फखरुदिन खानले भने, ‘हामी प्रदेश प्रमुख कार्यालयमै पुगेर मुख्यमन्त्रीको नियुक्ति बदर र शपथ ग्रहण रोक्न माग गरेका छौं । पोखरेलको नियुक्त बदर गर्नुपर्छ । प्रदेश प्रमुखले एमालेको कार्यकर्ताजस्तै काम गर्नुभएको छ । संविधान मिचेर अल्पमतलाई मुख्यमन्त्री नियुक्त गर्नु भएको छ । हामी उहाँलाई शपथ ग्रहण गर्न दिँदैनौं ।’

प्रमुख सचेतक खानले सत्ता र शक्तिको दुरुपयोग गरी एकतर्फी मुख्यमन्त्रीको नियुक्ति गरेकाले नियुक्ति बदर र शपथ रोक्नुपर्ने बताएका छन् । नेकपा एमाले नेता शंकर पोखरेललाई लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त गरेको विरोधमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासहितको गठबन्धनले प्रदेश प्रमुखको कार्यालय परिसरमा धर्नासमेत दिएको छ ।

बहुमतबिना एमाले संसदीय दलका नेता पोखरेललाई नियुक्त गरिएको भन्दै उनको शपथ रोक्ने मागसहित ती दलका सांसदहरु धर्नामा बसेका हुन् । लुम्बिनी प्रदेश सभाका चार विपक्षी दलले आइतबार दिउँसो एक बजे बहुमत प्रदेशसभा सदस्य आफूमा रहेको मौखिक जानकारी गराउँदै ४ बजेसम्म लिखित हस्ताक्षर लिएर आउने बताएका थिए ।

दिउँसो ४ बजे ४२ जना सांसदको हस्ताक्षर लिएर गठबन्धन पुग्दा प्रदेश प्रमुखले एमाले नेता शंकर पोखरेललाई पुनः मुख्यमन्त्री नियुक्त गरेका थिए । मुख्यमन्त्रीको राजीनामापछि एमाले संसदीय दलका नेता पोखरेलले संविधानको धारा १६८ को १ बमोजिम बहुमतको एकल सरकार बनाउन बहुमत सदस्यको हस्ताक्षरसहितको निवेदन पेस गरेका थिए । सोही निवेदनका आधारमा प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्री नियुक्त गरेका थिए ।

कांग्रेस माओवादी गठबन्धनले भने एमालेमा ४१ सदस्य नरहेकाले संविधानको धारा १६८ को १ बमोजिम सरकार गठन हुन नसक्ने भएकाले मुख्यमन्त्रीको नियुक्ति संविधान विपरीत भएको दाबी गरेको छ । नेकपाबाट चुनाव लडेकी तर एमालेमा संलग्न भनिएकी विमलाकुमारी खत्रीले आफूले माओवादी रोजेको बताएकी छन् ।

उनी दाङको निर्वाचन क्षेत्र ३ (ख)की सदस्य थिइन् । यस्तै कपिलवस्तुको २ (१) का दृगनारायण पाण्डेले प्रदेश सभा सदस्यबाट राजीनामा दिएका छन् । यस्तै स्वतन्त्रबाट उम्मेदवार बनेका धर्मलालप्रसाद श्रीवास्तव र अजय शाहीले माओवादी गठबन्धनलाई सघाउने बताइसकेको गठबन्धनको दाबी छ ।