Loading... आजः १ असार २०७८, मंगलवार
लुम्बिनीमा हलचल

प्रदेश सांसद वली माओवादीतिर, एकल बहुमतको सरकार बनाउने एमालेको प्रयासमा धक्का

प्रदेश सांसद वली माओवादीतिर, एकल बहुमतको सरकार बनाउने एमालेको प्रयासमा धक्का

काठमाडौं । तत्कालिन नेकपाबाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री (वली) माओवादी केन्द्रमा प्रवेश गरेपछि मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकार अल्पमतमा परेको छ । सांसद वलीले पार्टी परिवर्तन गरेपछि मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकारले बहुमत गुमाएको हो ।

कूल ८१ सदस्य रहेको लुम्बिनी प्रदेशसभामा नेकपा एमालेबाट ४१ जना सांसद थिए । प्रदेशसभामा बहुमत रहेको उनको पक्षमा ४० जना सांसद मात्र भएका छन् । सरकार निर्माण गर्न वा टिकाउनका लागि ४१ जना सांसदको आवश्यकता पर्दछ । सांसद बहुमत गुमाएकाले पोखरेल नयाँ मुख्यमन्त्री बन्न नपाउने भएका छन् ।

मुख्यमन्त्रीबाट पोखरेलले राजीनामा दिएकाले नयाँ मुख्यमन्त्री बन्न धारा १६८ को १ बाधक बनेको छ । उनले संविधानको धारा १६८ को २ अनुसार बहुमतको आधारमा मुख्यमन्त्रीको शपथ लिनुपर्छ । त्यसपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ । जसपाले पदमुक्त गरेका दुई जना समानुपातिक सांसदको नियुक्ती प्रक्रिया अघि बढाइसकेको छ ।

त्यसपछि जसपाको सांसदको संख्या चार, माओवादी केन्द्रका सभामुखसहित १९ कांग्रेसको १९ र जनमोर्चाको १ गरेर ४३ हुन्छ । दाङ ३ (ख)बाट निर्वाचित वलीले नेकपाका तर्फबाट उपचुनाव जितेकी थिइन् । सर्वोच्चले नेकपा खारेज गरेपछि उनले माओवादी केन्द्र रोजेकी हुन् । वलीले माओवादी केन्द्र रोजेको औपचारिक जानकारी प्रदेश सभालाई जानकारी गराइसकेकी छिन् ।

वली स्वर्गीय प्रदेशसभा सदस्य उत्तरकुमार वलीकी श्रीमती हुन् । उत्तरकुमार एमालेबाट निर्वाचित भएका थिए । सवारी दुर्घटनामा उत्तरकुमारको निधन भएपछि भएको उपनिर्वाचनमा विमला नेकपाबाट विजयी भएकी थिइन् । यससँगै एकल बहुमतको सरकार बनाउने एमालेको प्रयासमा धक्का लागेको छ ।

मुख्यमन्त्री पोखरेलले आइतबार विहान राजीनामा दिएका थिए । एमालेले संविधानको धारा १६८(१) अनुसार एकल बहुमतको सरकार बनाउन दाबी पेश गरेको छ । लुम्बिनी प्रदेशसभा ८७ सदस्यीय भए पनि ६ जना प्रदेशसभा सदस्य पदमुक्त भएकाले ४१ सांसद भएको आफ्नो दलको एकल बहुमत पुग्ने भएकाले सरकार बनाउनुपर्ने एमालेको दाबी छ ।