Loading... आजः १ जेष्ठ २०७८, शनिबार

आईपिएल: मुम्बईको कीर्तिमानी जित, आज दुई खेल हुने

आईपिएल: मुम्बईको कीर्तिमानी जित, आज दुई खेल हुने

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल)मा  मुम्बई इन्डियन्सले जित हात पारेको छ ।शनिबार  राती भएको खेलमा मुम्बईले चेन्नई सुपर किङ्ग्सलाई ४ विकेटले हराएको हो ।

टस जितेर मुम्बईले पहिला फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको चेन्नईले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा २१८ रनको ‘हाइस्कोर’ खडा गरेको थियो । तर मुम्बईले खेललाई अन्तिम बलसम्मै लम्ब्याउँदै चार विकेटको जित हासिल गरेको हो ।

२१९ रनको लक्ष्य पछ्याएको मुम्बईका लागि किरन पोलार्डले शानदार ब्याटिङ गर्दै ८७ रन बनाए । उनले ३४ बलमा ६ चौका र ८ छक्काको मद्दतमा उक्त रन बनाएका हुन् । यस्तै कप्तान रोहित शर्माले ३५, क्विन्टन डिककले ३८, क्रुनाल पाण्ड्याले ३२ रन बनाए ।

चेन्नइका साम करनले चार ओभरमा ३४ रन दिएर तीन विकेट लिए । यस्तै शार्दुल ठाकुर, रविन्द्र जडेजा र मोइन अलीले एकरएक विकेट लिए । यसअघि चेन्नईका लागि अम्बाती रायडुले विस्फोटक ब्याटिङ गर्दै २७ बलमै ७२ रन बनाएका थिए । उनले ४ चौका र ७ छक्का प्रहार गरे । यस्तै मोइन अलीले ५८ र फाफ डुप्लेसिसले ५० रन बनाए ।

मुम्बईका लागि जसप्रित बुमराह निकै महँगा बलर साबित भए । उनले चार ओभरमा ५६ रन दिएर एक विकेट लिए । यस्तै ट्रेन्ट बोल्टले चार ओभरमा ४२ रन दिएर एक विकेट लिए भने किरन पोलार्डले दुई ओभरमा १२ रन दिएर दुई विकेट लिए ।

पराजयका बाबजुद चेन्नई अंक तालिकाको शीर्ष स्थानमा छ । यस्तै मुम्बई चौथो नम्बरमा छ ।

यस्तै आईपिएल अन्तरगर्त आज दुई खेल हुदैछ। पहिलो खेलमा  दिउँसो ३ः४५ बजे राजस्थान रोयल्स र सनराइज़र्स हैदराबाद भिड्ने छन् भने दोश्रो खेलमा साँझ ७ः४५ बजे पञ्जाब किंग्स र  दिल्ली क्यापिटल्स भिड्ने छन् ।