Loading... आजः १ जेष्ठ २०७८, शनिबार
कोरोना कहर

बालबालिकामा कोरोना त्रास, मनोविज्ञान र अभिभावकको भूमिका

बालबालिकामा कोरोना त्रास, मनोविज्ञान र अभिभावकको भूमिका

छिमेकी मुलुक चीनको वुहानबाट संसारभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)ले विश्वभर त्रासदीपूर्ण वातावरण छाएको छ भने यसका कारण कैयौं अन्तर्राष्ट्रिय हवाई उडान, सयौंको सङ्ख्यामा सभा, सेमिनार, सम्मेलन, पर्यटन प्रवर्धन, स्कुल कलेज लगायत व्यापारिक, औद्योगिक प्रतिष्ठानहरूलाई प्रभावित तुल्याएको छ । यहाँ चर्चा गर्न खोजिएको विषय कोरोना भाइरसबाट कसरी बच्न सकिन्छ भन्ने हो । यो रोग आनुवांशिक उत्परिवर्तनका कारणले खतरनाक बनेर गएको साथै चमेरो र सर्पको जिन फ्युजनका कारणले भएको बताइन्छ ।

कोरोना भाइरस अर्थात् कोरोना निमोनिया भाइरस अर्थात् कोभिड १९ को सङ्क्रमण भएको लक्षण सजिलै पत्ता लाग्ने भएकाले आत्तिई हाल्नुपर्ने अवस्था छैन । कोरोना भाइरसको संक्रमण भएका व्यक्तिमा सिँगान बग्ने कुराको ठीक उल्टो सुख्खा नाक हुने र सुख्खा खोकी लाग्ने हुन्छ । नेपालले सावधानी अपनाउनुपर्ने क्षेत्रहरू थुप्रै छन् । खुल्ला सीमा हाम्रो लागि मुख्य चुनौती बनेको छ । सरकारको तर्फबाट सामान्य पहलहरू भएका छन् । बालबालिकालाई लक्षित गर्दै विद्यालयहरू बन्द गरिएको छ । स्थानीय र राष्ट्रिय स्तरका सबै परीक्षाहरू रोकिएका छन् ।

यतिबेला सरकारले भीड जम्मा हुने सामान्य कार्यक्रम पनि नगर्न र त्यस्तो ठाउँमा नजान अपिल गरेको छ । लामो दूरीका सार्वजनिक यातायातहरू रोक्ने निर्णय भएको छ । व्यक्तिगत रूपमा प्रयास गर्दा हुने रोकथामका विषयहरूमा जोड दिन सरकारले विभिन्न माध्यमबाट अपिल गरिरहेको छ । समग्रमा अत्यावश्यकबाहेक सबै सेवा ठप्प पारिएको छ । यो समय हामी आफूले व्यक्तिगत सुरक्षा र सफाइमा ध्यान दिन सकेमात्र पनि कोरोनाबाट बच्न सकिन्छ । साबुन पानीले पटकपटक हात धुने र स्यानिटाइजरको प्रयोग गर्नाले हामी सुरक्षित रहन सक्छौं ।

त्यस्तै भीडबाट टाढै रहने, सकेसम्म घरमै बस्ने, हल्ला र अफवाहबाट भ्रमित र प्रभावित नहुने, धैर्यपूर्वक संयमता अपनाउने, विज्ञ र चिकित्सकहरूले दिएको आधिकारिक सल्लाहको पालन गर्नाले पनि हामी कोरोनाको सङ्क्रमणबाट बच्न सक्छौं । विशेषगरी सङ्क्रमित मुलुकबाट नेपाल आएका व्यक्तिहरूसँग र अपरिचित व्यक्तिहरूसँग टाढै रहनुपर्छ । समग्र सुरक्षाको विषय जोडिएर विद्यालय बन्द भएसँगै यतिबेला बालबालिकाहरू घरको चार देवाल भित्र थुनिएर बस्नुपरेको छ । वार्षिक परीक्षा सकिएका बालबालिका ढुक्कले घरमा बसेका छन् भने परीक्षा नसकिएका बालबालिकाहरू तनावमा छन् ।

दुबै किसिमका बालबालिकाको लागि यो समय हौसलाको आवश्यकता देखिन्छ । बालबालिका आफैं कसो गर्ने, के गर्ने भन्ने सन्दर्भमा जानकार हुँदैनन् । उनीहरूलाई मार्गनिर्देशन गर्ने काम अभिभावकको हुन्छ । यो त्रासको समयमा अभिभावकहरूको बालबालिका लक्षित भूमिका कस्तो हुनसक्छ त ? अभिभावकहरूले आफ्नो तर्फबाट खेल्न सक्ने सकारात्मक भूमिकाहरूको सन्दर्भमा यहाँ चर्चा गर्ने प्रयास गरिएको छ । तपाईले बालबालिकालाई समय दिन नसक्नुभएको हुनसक्छ । काम व्यस्तताका कारण अधिकांश अभिभावकहरू बालबालिकासँग समय बिताउन पाउनुहुन्न ।

अझ धेरैजसो अभिभावकहरू बालबालिकालाई पुस्तक पढ्न दबाव दिने अनि आफू अन्यत्र बरालिएर बस्ने गरेको देखिन्छ । मोबाइल, इन्टरनेट, टेलिभिजनमा अभिभावकहरू झुम्मिएर बस्ने अनि आफ्ना छोराछोरी ती सबै साधनहरूबाट टाढा रहनुपर्छ भन्ने तपाईंको सोचले उनीहरूको मस्तिष्कलाई नकारात्मक बनाइरहेको हुन्छ । तपाईको गतिविधिलाई बालबालिकाले नजिकबाट नियालिरहेका हुन्छन् । तपाईंको भनाइ र गराइमा एकरूपता भएन भने उनीहरूले तपाईलाई टेर्न छोड्छन् । त्यसकारण, फुर्सदको समय बालबालिकासँग बिताउने प्रयत्न गर्नुस् । उनीहरूसँग अत्यधिक कुराकानी गर्नुस् । घरभित्रै रहेर उनीहरू रमाउन सक्ने वातावरण सृजना गरिदिनुस् ।

त्यसले पारिवारिक मेल, एकता, प्रेम र सद्भावको वातावरण सृजना गर्नुको साथै सकारात्मक सोचको विकास गराउँछ । परीक्षा रोकिएको विषयलाई हाउँगुजी बनाएर बालबालिकालाई दबाव नदिनुहोस् । उनीहरूको स्वास्थ्यको अगाडि परीक्षा माइनर विषय हो । तपाईंका बालबालिकामा सकारात्मक सोचको विकास छ भने व्यावहारिक जीवनको परीक्षामा कहिल्यै असफल हुन सक्दैनन् । ‘मेरो छोरा वा छोरीले यति तयारी गरेको थियो । परीक्षा रोकियो । अब के होला ?’ भन्ने प्रकारका चिन्ताजनक कुराकानी उनीहरूका अगाडि नगरिदिनुहोला । कुनै पनि बालबालिकामा असक्षमता र असफलता भन्ने शब्द नै हुँदैन । तपाईंको सोच, क्षमता र व्यवहारले उनीहरू बन्ने हुन् । तीन घण्टे परीक्षामा प्रथम नै भएका पनि जीवनको परीक्षामा फेल भएका उदाहरणहरू हाम्रोसामु थुप्रै छन् ।

विगतको संयुक्त परिवारको अवधारणामा रूपान्तरण हुँदै यतिबेला एकल परिवारको कन्सेप्ट अघि बढेको छ । बालबालिकाहरूमा आफूभन्दा बाहिर सोच्न सक्ने वा निश्चित स्वार्थभन्दा माथि उठ्न सक्ने क्षमतामा ह्रास आइरहेको छ । यो समय बालबालिकालाई परिवार र समाजसँग जोड्ने प्रयत्न गर्नुहोस् । त्यसको अर्थ धेरै बाहिर घुम्ने वा भीडमा जान दिने भने होइन । घरभित्र रहेर उनीहरूले गर्नसक्ने सामान्य कामहरू गर्न लगाउनुहोस् । बालबालिकाले घर भित्रका हरेक काम सिक्नुपर्छ । खाना बनाउने, भाँडा माझ्ने, घर तथा टोल सफा गर्नेदेखि आफ्नो लुगा आफैं धुने लगायतका कामहरू आफैं गर्नसक्ने वातावरण बनाइदिनुहोस् ।

साना बालबालिकालाई तपाईंको छेउमा बसेर काम देखाउन र यसरी गर्नुपर्छ भनेर बुझाउन सक्नुहुन्छ । यसले उनीहरूमा आफू सक्षम रहेको अनुभूति हुनुका साथै जटिल परिस्थितिमा लड्नसक्ने आत्मविश्वासको विकास गराउँछ । साना साना बालबालिकाहरू टेलिभिजन र मोबाइलमा अत्याधिक झुम्मिने गर्छन् । तपाईले पर्याप्त समय नदिएका कारण उनीहरू भौतिक दुनियाँसँग आकर्षित हुन्छन् । परिवारका अग्रज सदस्यले समय दिएर उनीहरूको भावना बुझेर व्यवहार गरिदिने हो भने टेलिभिजन र मोबाइलमा झुम्ने क्रम घट्छ । साना बालबालिकासँगै खेलिदिनुस्् । ठूलासँग कुरा गरिदिनुस् । छलफल गरिदिनुस् । यस्ता कुराले उनीहरूमा सकारात्मक भावनाको विकास गराउँछ ।

धेरैजसो अभिभावकलाई विद्यालय बन्द भएसँगै बालबालिकालाई घरमा कसरी टिकाउने भन्ने चिन्ता हुन्छ । अधिकांश अभिभावकले आफ्ना छोराछोरीलाई समय दिन र उनीहरूको भावना बुझ्न सकिरहेका हुँदैनन् । बालबालिकाको रुचि बुझ्ने र त्यस अनुरूप उनीहरूको शारीरिक र बौद्धिक विकास गराउने सन्दर्भमा हामी अभिभावकले ध्यान नै दिएका हुँदैनौं । यो फुर्सदको समयमा उनीहरूको रुचिको विषयमा बालबालिकालाई खोज गर्न लगाउनुहोस् । प्रविधिको प्रयोग गर्ने अनि बिभिन्न पाठ्यपुस्तकको अध्ययन गरेर बालबालिकाले खोज अनुसन्धान गर्न सक्छन् । चित्रकला, सङ्गीत, नृत्यलगायतका अतिरिक्त क्रियाकलापहरूमा तपाईंका बालबालिका अब्बल हुन सक्छन् ।

पुस्तक, अङ्क र परीक्षामा मात्र ध्यान दिने हाम्रो बानीले उनीहरूको भावना र क्षमतालाई खुम्च्याइरहेको हुन्छ । कुनै पनि काम गर्दा फरक ढङ्गले गर्न सिकाउने सन्दर्भमा अभिभावकहरूको भूमिका महत्वपूर्ण हुन्छ । उदाहरणका लागि टेलिभिजनमा कुनै चलचित्र हेर्दै गर्दा त्यहाँ समाज, विज्ञान, प्रविधि, धर्म, भाषा, साहित्य, संस्कारका विषयमा बालबालिकालाई टिपोट गर्न लगाउन सकिन्छ । त्यसपश्चात उनीहरूसँग तपाईले बसेर अन्तरक्रिया गर्ने, छलफल गर्ने र त्यसको नतिजाको सन्दर्भमा जानकारी दिने बानीको विकास गर्नुस् त । सुन्दा सामान्य लाग्छ । व्यवहारमा सम्भव हुन्छ र भनेजस्तो पनि लाग्छ । तर, यसप्रकारका सामान्य विषयहरूले नै हो बालबालिकालाई फरक ढङ्गले सोच्न सिकाउने र सकारात्मक बनाउने । यसले उनीहरूलाई खोज र टिपोट गर्ने बानीको विकास गराउँछ ।

तपाईका बालबालिकाले कोरोना प्रकोपका सम्बन्धमा समाजलाई सचेत बनाउन सक्छन् । सुरक्षित वातावरण सृजना गराएर उनीहरूलाई समाजसँग जोड्ने अवसर प्रदान गर्नुहोु् । ज्येष्ठ नागरिक तथा साना बालबालिकालाई उनीहरूले कोरोनाको प्रकोपबाट बच्नसक्ने उपायका सन्दर्भमा खोज गर्न लगाउने र त्यसलाई समाजसँग पुयाउन सहयोग गर्ने हो भने तपाईंका बालबालिकामा समाजप्रति उत्तरदायी बन्नुपर्छ भन्ने भावनाको विकास पनि हुन्छ । बालबालिकामा सकारात्मक सोच र उच्च आत्मविश्वासको विकास गराउन तपाईं अभिभावकहरूको महत्वपूर्ण भूमिका हुन्छ । तपाईंलाई सामान्य लाग्ने हौसलाको शब्दले उनीहरूको जीवनमा आमूल परिवर्तन आउन सक्छ । बालबालिकाको प्रशंसा गर्न कन्जुस्याइँ नगर्नुस् । हामी बालबालिकाको नकारात्मक पक्षको मात्र खोजी गरिरहेका हुन्छौं ।

उनीहरूको नकारात्मक व्यवहारको सन्दर्भमा व्यक्तिगत रूपमा गाली गर्ने मात्र नभएर समाजका अनि शिक्षकहरूसम्म जानकारी गराइरहेका हुन्छौं । यो फुर्सदको समयमा तपाईसँग हुँदा सकेसम्म बालबालिकाको सकारात्मक पक्षको खोज गर्नुहोस् र उनीहरूको प्रशंसा गर्नुस् । बालबालिकाले गरेको सानो सकारात्मक प्रयासलाई लिएर पटकपटक प्रशंसा गर्नुस् त, त्यसले उनीहरूमा थप सकारात्मक बन्ने र खोज गर्ने हौसला पुग्छ । धर्म, संस्कार, नैतिकता, आचरण र सकारात्मक परम्पराका सन्दर्भमा अतिरिक्त ज्ञान दिने वा खोज गर्न लगाउनाले उनीहरूको फुर्सदको समय सदुपयोग हुन सक्छ । घरमा नयाँ मानिस आउँदा उनीहरूलाई सम्मान गर्नुपर्छ भन्नेकुरा बालबालिकाले पटकपटक सुनेका छन् । त्यसलाई व्यवहारमा उतार्ने सवालमा उनीहरू कन्जुस्याईं गर्छन्, आखिर किन त ? हामी अभिभावकमा भएको संस्कार ‘ट्रान्सफर’ भएर उनीहरूमा पुग्छ ।

पत्याउनुहुन्न होला । तर, सत्य हो । तपाई अरुसँग भित्री र बाहिरी रूपमा जस्तो संस्कार देखाउनुहुन्छ, त्यस्तै संस्कार बालबालिकाले अन्य व्यक्तिलाई देखाउँछन् । विस्तारै उनीहरूलाई देखावटी पक्ष मन पर्दैन र अरूलाई टेर्न नै छोडिदिन्छन् । आफूभन्दा ठूलोलाई सम्मान र सानोलाई माया गर्नुपर्छ भन्ने सन्दर्भ व्यावहारिकरूपमा तपाईंले उनीहरूलाई सिकाउनुपर्छ । कोरोनाको प्रकोप फैलनसक्ने त्रासका कारण यतिबेला सबै विद्यालयहरू बन्द छन् । यो समय बालबालिका फुर्सदमा छन् । अभिभावकले बालबालिकाको मनोविज्ञान बुझ्न नसकेका कारण उनीहरूमा डिप्रेसन वा कुलतमा जानसक्ने सम्भाव्यता बढी हुन्छ । उनीहरूको सामाजिक र सांस्कृतिक विकासको लागि जति रकम खर्च गर्नुहुन्छ, त्योभन्दा बढी समयको खर्च गर्नुस् । तपाईले दिने हरेक पलले उनीहरूको मानसिक विकासमा प्रत्यक्ष सम्बन्ध राख्छ । अन्त्यमा, परिवारका सबै सदस्यहरू र विशेषगरी बालबालिकाको सुरक्षा र सरसफाइमा विशेष ध्यान दिनुहोला । रोग प्रतिरोधात्मक क्षमताको विकासमा जोड दिने प्रकारका खानपिनमा विशेष ध्यान दिनुहोला । (लेखक प्रिभेन्टिभ भेटेनरी मेडिसिनका अध्येयता तथा नेपाल सरकारका सेवा निवृत्त बरिष्ठ पशु चिकित्सक हुन् ।)