Loading... आजः १ असार २०७८, मंगलवार
कोरोना कहर

कोरोना महामारीको जोखिममा पत्रकार, स्थलगत रिपोर्टिङ उत्तिकै चुनौतीपूर्ण

कोरोना महामारीको जोखिममा पत्रकार, स्थलगत रिपोर्टिङ उत्तिकै चुनौतीपूर्ण

काठमाडौं । अहिले पूरै विश्व कोरोना महामारीले आक्रान्त छ । कतै धनजनको क्षति भइरहेको छ त कतै अर्थतन्त्र धराशायी भएको छ । सार्वजनिक स्वास्थ्य प्रणाली तहसनहस बनिरहेको छ । भारतलगायत देशमा कोरोनाको तेस्रो लहरसम्म पैदा भइसकेको छ ।

अस्पताल र अक्सिजन अभावमा संक्रमितहरूले ज्यान गुमाइरहेका छन् । सहभागी हजारौं मानिसहरू र सो सो प्रदर्शनबारे सूचना संकलन गर्न गएका पत्रकारहरूसँग बोल्सेनारो प्रत्यक्ष सम्पर्कमा थिए । जबकि, ब्राजिलमा कोरोना भुसको आगो झैँ फैलिइरहेको थियो ।

बोल्सेनारोले कोरोनाबाट सजग हुन दिइएका सरसल्लाहलाई एक ‘हिस्टेरिया’को संज्ञा दिए । बोल्सेनारो स्वयम्लाई कोरोना संक्रमण भए/नभएको थाहा पाउन स्वाब परीक्षण गरियो । भर्खरै अमेरिका पुगेर फर्किएका उनी लगायत भ्रमण दलका २२ सदस्य कोरोना संक्रमित रहेको पुष्टि भयो ।

अनि, पत्रकारको मृत्यु

अमेरिका भ्रमणबारे रिपोर्टिङ गर्न पत्रकार मरिना डायस पनि बोल्सेनारोसँगै थिइन् । संक्रमण भएपछि दिएको जानकारीअनुसार उनी वासिंगटनमा आयोजित एक कार्यक्रममा पनि पुगेकी थिइन् । त्यहाँ एउटा ठूलो हलमा झ्याल खुला थियो र मानिसहरू खचाखच भरिएका थिए ।

उनीहरू कोरोना महामारीप्रति त्यति संवेदनशील भएको देखिँदैनथ्यो । उपचार गर्दागर्दै मरिनाको निधन भयो । अहिलेसम्म विश्वका ८६ देशमा १ हजार १८१ पत्रकारको मृत्यु भइसकेको छ । यी मध्ये सबैभन्दा धेरै अर्थात १८१ पत्रकार त ब्राजिलकै हुन् ।

जोखिममा पत्रकार

अहिले पनि पत्रकारहरू नागरिककै सेवामा खटिइरहेका छन् र पत्रकार सम्मेलनहरूमा पनि पुगिरहनु परेको छ । यस्ता सम्मेलन र सभाहरू आफैँमा जोखिमपूर्ण छन् । स्थलगत रिपोर्टिङ पनि उत्तिकै चुनौतीपूर्ण छ । कतिखेर कहाँ र कस्तो अवस्थामा पुग्दा कोरोना संक्रमित होइन्छ भन्ने यथेष्ट जानकारी पत्रकारलाई नै छैन ।

पत्रकारले आफैँलाई कसरी जोगाउने त ?

शुरूमा कोरोना महामारीलाई नजरअन्दाज गरेको ब्राजिल अहिले अतिप्रभावित मुलुकको सूचीको तेस्रो स्थानमा छ । त्यहाँ ४ लाख ३ हजार ७८१ जना संक्रमितको ज्यान गइसकेको यो धेरै मानवीय हताहती ब्यहोरेको दोस्रो देश हो ।

स्थिति निकै जटिल भएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) सल्लाह अनुसार ब्राजिलको स्वास्थ्य मन्त्रालयले एक मार्गनिर्देश जारी गर्यो । सो मार्गनिर्देश त्यहाँको व्यापारिक क्षेत्र र आमसञ्चारका माध्यमहरूमा पनि लागू हुने भनियो । उप्रान्त भर्चुअल बैठक गर्न र अनावश्यक हिँडडुल नगर्न भनियो ।

साथै, संस्थाहरूसँग कर्मचारीहरूलाई घरमै राखेर तथा व्यस्त समयमा आलोपालो काममा लगाउन निर्देशन दिइएको थियो । त्यसपछि ब्राजिलका धेरै समाचार संस्थाहरूले रोकथामका उपाय अपनाउन थाले । महामारीबारेकै समाचारमा पनि सचेतता अपनाइयो । पत्रकार एवम् कर्मचारीहरूलाई सकेसम्म भौतिकरूपमा उपस्थित नभइकन सम्भव कामहरू घरबाटै गर्न भनियो ।

कोरोना संक्रमणपश्चात्‌ ज्यान गुमाएकी ब्राजिलकी पत्रकार मरिना डायस र महामारीलाई ‘हिस्टेरिया’ बताएका राष्ट्रपति जैर बोल्सेनारो ।

न्यूजरूममा के गर्ने ?

समाचार कक्षमै बस्ने पत्रकारहरूलाई केही फीट दूरी कायम गर्न सरूवा रोग विशेषज्ञ डा. जमाल सुलेमान सुझाउँछन् । साथै, समाचारवाचक र स्टुडियोमै आएर अन्तरवार्ता दिने व्यक्तिबीच पनि अनिवार्य रूपमा यस्तो दूरी कायम हुनु आवश्यक छ ।

जमाल भन्छन्, ‘तपाईंले काम सक्नासाथ आफूले त्यहाँ प्रयोग गरेका सामानहरू कम्तिमा ७० प्रतिशत अल्कोहल भएको स्यानिटाइजरले सफा गर्नुपर्छ । यसरी सफा गरेपछि हात धुनुपर्छ र काममा बस्नुपर्छ । काम सकिएपछि पनि पहिले झैँ आफूले प्रयोग गरेका सामान र आफ्नो शरीर सफा गर्नुपर्छ ।’ यसो गर्दा पनि कार्यकक्षमा धेरै हदसम्म भाइरसलाई निष्क्रिय पार्न सकिने उनी बताउँछन् ।

स्थलगत रिपोर्टिङमा जाँदा के गर्ने ?

सक्रिय पत्रकारहरू अधिकांश समय स्थलगत रिपोर्टिङमै हुन्छन् । त्यतिखेर उनीहरूलाई संक्रमण हुने या उनीहरू संक्रमित छन् भने अरू व्यक्ति संक्रमित हुने जोखिम रहने नै भयो । यस्तो बेला के गर्ने त ? अत्यावश्यक बाहेक मानिसहरूसँग साक्षात्कार गर्दै नगर्ने । समाचार कभरेजका लागि अतिआवश्यक नरहेका व्यवसायिक यात्राहरू रद्द गर्ने ।

जस्तो कि, हामीकहाँ विभिन्न व्यापारी र सरकारी अधिकारीहरूले आफ्नो सेवा तथा उत्पादनको प्रचार गराउन कोरोना महामारीकै बीच पनि पत्रकारहरूलाई अनेक ठाउँमा डुलाइरहेका छन् । यो सरासर पत्रकारको पेशा र जीवन दुवै जोखिममा पार्ने खेल हो भनी बुझ्नुपर्छ र त्यस्ता निमन्त्रणाहरूलाई ठाडै अस्वीकार गर्नुपर्छ ।

फोटो र भिडियो पत्रकारले के गर्ने ?

फोटो र भिडियो पत्रकारहरूका हकमा यस्ता मार्गनिर्देशहरू आफैँमा विरोधाभाषपूर्ण हुन्छन् । उनीहरू स्थलगत रूपमा प्रत्यक्ष नखटिँदासम्म फोटो र भिडियो बन्दैन । यहाँनेर पनि धेरै हदसम्म जोखिम कम गर्न सकिन्छ । अहिले अधिकांश मानिसको हातमा स्मार्टफोन हुन्छ ।

यस्तो सहजता हुँदा मिडियाले केही सम्झौता गर्नुपर्छ र आफ्ना पत्रकारलाई सुरक्षित राख्दै भिडियो कलबाट अन्तरवार्ता लिने वातावरण मिलाउनुपर्छ । तर, फोटोका हकमा यसरी सम्भव हुँदैन । फिल्डमा खटिनैपर्छ । यहाँनेर, फोटो पत्रकारले त्यस्तो लोकेशन छान्नुपर्छ–जहाँ मानिसहरू कम होउन् र आफूले जमघट गर्ने मानिसलाई कोरोना या अन्य फ्लू नलागेको होस् ।

खुला ठाउँ कति सुरक्षित ?

हामीमध्ये धेरैलाई लाग्नसक्छ–सानो घर या कोठाभन्दा त खुला ठाउँ नै सुरक्षित हुन्छ नि ! तर अहिले खुला ठाउँहरू पनि सुरक्षित छैनन् । किनकी त्यहाँ केही समयअघि मात्रै संक्रमित हिँडेको हुनसक्छ या उसको शरीरबाट भाइरस फैलिएको हुनसक्छ । पछिल्लो समय त हावामा २ घण्टासम्म सक्रिय रहनसक्ने भाइरसहरू फेला परिसकेको छ । त्यसैले मानिस आवतजावत गर्ने खुला ठाउँ झनै सुरक्षित छैन ।

पत्रकारले यसो गर्ने :

१. सकिन्छ भने घरबाटै काम गर्ने,
२. समाचार कक्ष कम्तिमा ७० प्रतिशत अल्कोहल भएको पानी या स्प्रेले दिनहुँ सफा गर्ने, एक पटकमा २० सेकेण्डसम्म मिच्दै नियमित हात धुने,
३. अत्यावश्यक मानिसलाई मात्र समाचार कक्षमा प्रवेश दिने,
४. अन्तरवार्ता दिने व्यक्तिसँग कम्तिमा ३ फीट दूरी कायम गर्ने,
५. फरक–फरक माइक्रोफोन प्रयोग गर्ने, प्रयोगपश्चात अल्कोहलले स्यानिटाइज गरी पुछेर राख्ने,
६. दुईजना भन्दा धेरै मानिसहरू एकैसाथ स्टुडियो या रिपोर्टिङमा नजाने,
७. कमभन्दा कम हिँड्नेगरी मात्रै गन्तव्यमा जाने, त्यो पनि सकेसम्म कम गर्ने, र
८. सडक या अन्यत्र अन्तरवार्ता/आम धारणा लिँदा सर्जिकल मास्क लगाउने र सकिएपछि तत्कालै सुरक्षित स्थानमा बिसर्जन गर्ने ।