Loading... आजः ५ असार २०७८, शनिबार
समाचार

लुम्बिनी प्रदेशका चार मन्त्रीको पद खारेज

जसपाका वरिष्ठ नेता राजेन्द्र महतो भन्छन्, ‘सांसद हटाउनु फर्जी काम हो’
लुम्बिनी प्रदेशका चार मन्त्रीको पद खारेज

बुटवल । लुम्बिनी प्रदेशमा पार्टी निर्णय विपरित मन्त्री बनेका जनता समाजवादी पार्टी (जसपा)का चार जना प्रदेशसभा सदस्यबाट मुक्त भएका छन् । सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे प्रदेश सभा सदस्यबाट मुक्त भएका हुन् ।

जसपा लुम्बिनी प्रदेश संसदीय दलको पत्र अनुसार उनीहरुलाई जसपा केन्द्रीय कार्यकारिणी समितिले प्रदेशसभा सदस्य र पार्टी सदस्यबाट हटाएको जानकारी आएकोले पदमुक्त गरिएको प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनले बताएका छन् ।

हाल प्रदेशसभा बैठक नभएको हुनाले उनीहरुलाई पदमुक्त गरिएको सूचना टाँस गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि जसपाका चार सांसद मन्त्री बनेका थिए । मन्त्री बनेका तीन जनाले अविश्वास प्रस्तावमा समेत हस्ताक्षर गरेका छन् ।

यता जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले लुम्बिनीका नवनियुक्त मन्त्रीहरुलाई सांसद र पार्टी सदस्यबाट निष्काशन गर्ने निर्णय फर्जी भएको बताएका छन् । बिहीबार दिउँसो लुम्बिनी प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरी जसपा चार सांसद पदमुक्त भएको जानकारी गराएपछि नेता महतोले सांसद पदमुक्त गर्ने निर्णय फर्जी भएको भन्दै स्वीकार नगर्ने बताए ।

‘यो फर्जी कसले गर्यो ? पार्टीको त बैठक नै बसेको छैन । दुनियाँलाई थाहा छ नि,’ महतोले भने । प्रदेशसभा सचिवालयले प्रकाशित गरेको सूचनामा भने जसपा केन्द्रीय कार्यकारिणी समितिले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३२ को उपदफा ९५० बमोजिम प्रदेशसभा सदस्य र पार्टी सदस्यबाट निष्काशन गरेको सूचना जसपा लुम्बिनी प्रदेश संसदीय दलले दिएको उल्लेख गरिएको छ ।

महतोले लुम्बिनीका सभामुखले गलत काम गरेको बताए । ‘फर्जी काम भयो, सभामुख कस्तो मान्छे हो । कन्फर्म त गर्नुपर्छ नि,’ महतोले भने । कम्युनिष्टहरुले आफ्नो पार्टी गोलमाल बनाएपछि जसपाभित्र पनि त्यही गर्न लागेको उनले बताए । ६ वैशाखमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जसपाका चार सांसदलाई त्यसैदिन मुख्यमन्त्री पोखरेलले मन्त्री बनाएका थिए ।