Loading... आजः १ असार २०७८, मंगलवार
समाचार

गण्डकीका ‘बेपत्ता’ सांसद अस्पतालमा

सरकारी रिपोर्ट नेगेटिभ, निजीमा कोरोना पोजेटिभ !
गण्डकीका ‘बेपत्ता’ सांसद अस्पतालमा

काठमाडौं । सम्पर्कविहीन भएको भनिएका राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य खिम विक्रम शाही कोभिड अस्पतालमा भेटिएका छन् । उनी पोखरास्थित चरक अस्पतालको कोभिड वार्डमा भेटिएका हुन् । उनको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको छ ।

निजी प्रयोगशाला लाइफ केयर डाइग्नोस्टिक एण्ड रिसर्च सेन्टरमा गरिएको परीक्षणमा उनमा कोरोना पोजेटिभ देखिएको हो । अस्पतालका अनुसार उनी विहानै अस्पताल भर्ना भएका हुन् । तर मंगलबार सबै सांसदसँग गरिएको सरकारी परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाले मंगलबारै गरिएको परीक्षणको नेगेटिभ रिपोर्ट आज बिहान दिएको थियो । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमा आज प्रदेशसभामा मतदानको तयारी थियो । उनी सम्पर्कविहीन भएपछि जनमोर्चाले बैठक रोक्न माग गरेपछि प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । जनमोर्चाले मुख्यमन्त्री गुरुङविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने बताएको थियो ।