Loading... आजः १ जेष्ठ २०७८, शनिबार
समृद्धि यात्रा

प्रकृति र संस्कृतिले भरिपूर्ण ‘राप्तीसोनारी’

प्रकृति र संस्कृतिले भरिपूर्ण ‘राप्तीसोनारी’

उत्तरतिर बाँके राष्ट्रिय निकुञ्ज, शितल हावापानी, घना जंगल । गाउँपालिकाको बीच भागबाट अविरल बग्ने राप्ती नदी । विभिन्न चराचुरुङ्गीका चिरबिरका साथै वन्यजन्तुका आवाज । प्रकृतिले सिँगार्नुसम्म सिगाँरेको छ, राप्तीसोनारीका गाउँबस्तीलाई । सिक्टा सिंचाइँ आयोजनाको बाँध वरपर देखिने मनोरम दृश्य पनि नियाल्न सकिन्छ । अगैया बजारमा राप्ती नदीको स्वादिष्ट माछाका परिकार खान पुग्ने पारखीहरुको भीडभाड, ढकेरीको नयाँगाउँ होमस्टे पुग्ने आन्तरिक पर्यटक, ढकेरीका कटेज तथा रेष्टुरेण्टमा पाइने लोकल कुखुराका परिकारहरु खोज्दै पुग्ने ग्राहकहरुको भीडभाडले बढ्दो चहलपहलले व्यापार पनि फस्टाएको छ ।

प्रकृतिले मात्र होइन, सँस्कृतिले पनि उत्तिकै धनी छ, राप्तीसोनारी । गाउँमा पुग्ने पर्यटकलाई प्रवेशद्धारमै फूलमालाले स्वागत गर्न आइपुग्छन् नयाँगाउँ होमस्टेका स्थानीय नागरिकहरु । यहाँसम्म आउने पर्यटकले स्थानीयको आत्मीयताका साथै मनमोहक प्राकृतिक दृश्यसँगै रम्न र मौलिक सँस्कृतिमा झुम्न पाएसँगै स्थानीय परिकारको स्वाद चाख्न पाउँदा ‘स्वर्ग’कै अनुभूति गर्छन् । नयाँगाउँ होमस्टे, ढकेरी बजार, अगैयाबजार र नजिकै रहेको सिक्टा सिंचाइँ आयोजनाको बाँधस्थल, ढकेरी बनस्पति उद्यान राप्तीसोनारी गाउँपालिकामै पर्छन् । जुन ठाउँहरु आन्तरिक पर्यटकले अत्याधिक रुचाउने पर्यटकीय गन्न्तव्यहरु हुन् ।

आन्तरिक पर्यटकको रोजाईको गन्तव्य बनेका यस्ता धेरै स्थानहरु राप्तीसोनारी गाउँपालिकाभित्र पर्दछन् । अहिले ठाउँमा पर्यटकको चाप बढ्दो छ । आन्तरिक पर्यटकको रोजाईमा पर्ने गरेका यी पर्यटकीय स्थानमा दैनिक झण्डै २५० जनासम्म आन्तरिक पर्यटक आउने गर्दछन् । बाह्रै महिना पर्यटक आउँछन् । असार र साउनमा पर्यटकको आगमनमा केही कमी हुन्छ । अरुबेला पर्यटकको चहलपहल बढ्छ । निकुञ्जमा चराचुरुङगी तथा वातावरणीय मनमोहक दृष्य हेर्न पाइने भएकाले पर्यटकको लागि महत्वपूर्ण स्थलको रुपमा परिचित बन्दै गएका छन् । हरेक समुहले आ–आफ्नै तरिकाले बाजागाजा तथा भेषभुषामा सजिएर पिकनिक मनाउन अगैयास्थित राप्ती नदी किनारमा रहेको पार्कमा पुग्छन् ।

पिकनिकमा आएकाहरुको रौनक नै बेग्लै हुने गर्दछ । बर्दिया बाँसगढी नगरपालिकाका भूपेन्द्र खड्का अगैयास्थित राप्ती नदी किनारमा रहेको पार्कमा रमाउँदै साथीहरुसँग रमाइलो गरिरहेको बताउँछन् । बाँकेका पर्यटकीय स्थलहरु पिकनिक आएका समुहहरुले भरिभराउ हुन्छन् । बाँकेको पर्यटकीय स्थल ढकेरीमा पिकनिकमा आएका सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१३ का रमेश आचार्यले साथीहरु रमाइलो गर्दै पिकनिक खान आएको बताए । आचार्यले भने, ‘हामी रमाइलो मात्रै गर्दैनौँ, साथीभाइसँग एकै ठाउँमा भेला हुने, भविष्यका योजनाहरु बुन्ने, नयाँ र पुराना पुस्ताबीच घुलमिल हुन्छौं ।’ त्यसो त पिकनिकलाई साथीको विदाई, विभिन्न संघसंस्थाका साधारणसभा, पारिवारिक भेटघाटजस्ता अवसरका रुपमा पनि लिइन्छ । प्रकृति र संस्कृतिको समिश्रणका रुपमा उदाहरणीय गाउँपालिका पनि हो, राप्तीसोनारी । मिश्रित जातजाती र संस्कृति पनि यही छ ।

पिकनिकको सिजनमा ढकेरी तथा अगैयामा दैनिक १० देखि १५ वटासम्म टोली पुग्ने गर्छन् । ढकेरी र अगैया पिकनिक पारखीहरुको हब बन्दै गएको छ । कात्तिकदेखि पिकनिकको मौसम सुरु हुन्छ । यो क्रम करिब बैशाख महिनासम्म चल्छ । यहाँका बासिन्दाको मुख्य पेशा कृषि र पशुपालनका साथै वैदेशिक रोजगारी हो । पछिल्लो समय निकुञ्ज स्थापनासँगै आन्तरिक पर्यटकीय गन्तव्यहरुको विकासका कारण आन्तरिक पर्यटकहरुको चहलपहल बढेसँगै स्थानीय नागरिकको आम्दानीको दरिलो आधार बन्न थालेको छ । ‘पहिले मेलापात गरी गुजारा गर्नुपर्ने बाध्यता थियो । अहिले आन्तरिक पर्यटकका कारण स्थानीयको जीवनस्तर माथि उकासिँदै गएको छ,’ राप्तीसोनारी–२ की यमुना वलीले भने । ग्रामीण पर्यटनको विकास गरी गाउँमै रोजगारीको अवसर सिर्जना गर्न सकिने पनि उनले बताए ।

धार्मिक तथा साँस्कृतिक हिसाबले पनि राप्तीसोनारी निकै धनी छ । नरैनापुर र राप्तीसोनारी गाउँपालिकाको सीमा क्षेत्रमा बर्फानी बाबा, कुसुमस्थित गाइलेक र शिव मन्दिर, सिद्ध साइकुमारी मन्दीर र मन्दीर परिसरमा रहेको ८० फिट गहिरो कुवा, गोपाल मन्दीर, कन्याराजा मन्दीर, पोखराथान बाबा मन्दीर, वडा नं ९ स्थित वनस्पति उद्यान ढकेरी, झिझिरी बागेसाल सिंचाइँ आयोजनको हेडबक्स यस क्षेत्रमा सबैभन्दा धेरै आन्तरिक पर्यटक आउने स्थान रिम्ना पिकनिक पार्क, वडा नं २ मा रहेको राष्ट्रिय गौरवको सिक्टा सिंचाइँ आयोजनाको मुल नहर, बुच्चापुर हात्तीसार, बैजापुरको भुवरभवानी मन्दीर बैसा पिकनिक क्षेत्र लगायतका साँस्कृतिक सम्पदाहरुले राप्तीसोनारीको धार्मिक पर्यटनमा टेवा पुर्याइरहेका छन् ।

त्यस्तै वडा न. १ भवानीपुर रहेका ओरालघारी गुफा, कुश्मेश्वर मन्दिर खर्चेताल, राप्तीनदी र्याप्टिङ क्षेत्र बाँके राष्ट्रिय निकुञ्जको ठुरिया क्षेत्र मनोरम दृश्य बोकेका ठाउँहरु हुन् । त्यस्तै वडा नं ५ स्थित रामकुटी मन्दिर, कन्याश्वरी सिमसार क्षेत्र, वडा नं ६ मा रहेका नागराफ झरना, वडा नं ७ का मन्दिर तथा मस्जिदहरु राप्तीसोनारी क्षेत्रका आकर्षणका केन्द्र हुन् । धार्मिक, सास्कृतिक, जैविक, जल, खेल तथा पर्यापर्यटनका अधिक सम्भावना बोकेको राप्तीसोनारी प्राकृतिक रुपले पनि उत्तिकै धनी छ । प्राकृतिक वातावरण र रमणीय दृश्यकै कारण यस गाउँपालिका क्षेत्रमा आन्तरिक पर्यटकहरुको संख्या बर्षेनि बढ्दै गएको छ । राप्तीसोनारी गाउपालिकाका अध्यक्ष लाहुराम थारुले राप्तीसोनारी गाउँपालिका प्राकृतिक हिसाबले धनी गाउँपालिका भएकोले यहाँका पर्यटकीय स्थलहरुको संरक्षण तथा प्रवद्र्धनका लागि गाउँपालिकाले बजेट विनियोजन गरेर विभिन्न कामहरु गर्दै आएको बताए ।

त्यसो त बाँकेका आठ वटा स्थानीय तहमध्ये राप्तीसोनारी गाउँपालिका प्राकृतिक स्रोत र साधनमा सबैभन्दा धनी छ । उक्त पालिकामा राप्ती नदीसँगै खैरीखोला, मुगुवा लगायत दर्जनभन्दा बढी खोलानाला छन् । जहाँबाट लाखौँ क्युफिट ढुंगा, बालुवा, गिट्टी लगायत नदीजन्य पदार्थ उत्खनन् हुँदै आएको छ । यसअघि त्यसबापत तत्कालीन जिविसले १० करोड रुपैयाँ वार्षिक आम्दानी गर्दै आएको थियो । स्थानीयले पनि ढुंगा, गिट्टी र बालुवाको कारोबार गर्दै आएको छ । अझ राप्तीसोनारीमै २५ भन्दा बढी सामुदायिक वन रहेका छन् । जसका कारण प्राकृतिक रुपले राप्तीसोनारी धनी छ । बाँकेका अधिकांश वन क्षेत्र राप्तीसोनारीमै पर्छन् । एउटै सामुदायिक वनले वार्षिक १० लाखभन्दा बढी आम्दानी गर्दै आएको छ ।

राप्तीपीडित गुलरी सामुदायिक वनले आम्दानी गरेको रकमबाटै हरेक वर्ष तटबन्ध निर्माण, सडक ग्राभेल र कल्भर्ट बनाउने लगायत काम गर्दै आएको छ । उक्त पालिकाले प्राकृतिक स्रोत र साधनको प्रयोगबाट बाँकेमा सबैभन्दा बढी राजस्व संकलन गर्दै आएको छ । प्राकृतिक स्रोत र साधनको उपभोग गर्न स्थानीय सरकारलाई सीमित अधिकार दिएकाले थप अधिकार प्रयोग गर्न पाउनुपर्ने गाउँपालिकाका अध्यक्ष चौधरीले बताए । नदी र खोलानालाले स्थानीयको जग्गा कटान गर्ने भएकाले स्थानीय तहमै थप अधिकारसहित प्राकृतिक स्रोतको उपयोग गर्न पाउनुपर्ने बताए । ‘हामी प्राकृतिक स्रोतका लागि निकै धनी छौँ । यहाँबाट उठ्ने कर यहीँ खर्च गरेर गाउँपालिकालाई विकासको समृद्धितर्फ लैजाने प्रयासमा छौँ,’ उनले भने, ‘प्राकृतिक स्रोत र साधनको सदुपयोग गरी विकासको गति बढाउँछौं ।’ –समृद्ध राप्तीसोनारी बुलेटिनबाट