Loading... आजः ३१ जेष्ठ २०७८, सोमबार

सरकारले तत्काल देशभर लकडाउन गर्दैन : परराष्ट्रमन्त्री ज्ञवाली

सरकारले तत्काल देशभर लकडाउन गर्दैन : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं । सरकारले तत्कालै देशव्यापी लकडाउन नगर्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा एमालेको बैठक सकिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले तत्काल देशब्यापी लकडाउन नगर्ने जानकारी दिनुभयो ।

व्यापक संक्रमण देखिएका ठाउँमा भने क्षेत्रगत रुपमा लकडाउन गर्न सकिने उहाँको भनाइ छ । अहिले सरकारको आग्रह सबै नागरिकहरुलाई स्वास्थ्य प्रोटोकलको पालना गर्नुस् भन्ने रहेको मन्त्री ज्ञवालीले बताउनुभयो ।

लकडाउन कोरोना संक्रमण रोक्ने अन्तिम समाधान नभएको भन्दै मन्त्री ज्ञवालीले अर्थतन्त्र र जनजीविकामा लकडाउनले प्रभाव नपरोस् भन्ने सरकारको चाहना रहेको उल्लेख गर्नुभयो ।

यसैबीच एमालेले कोरोना महामारीविरुद्धको लडाइँमा एकढिक्का भएर परिचालित हुन मातहतका कमिटीलाई निर्देशन दिएको छ ।

बालुवाटारमा आज बसेको महाधिवेशन आयोजक समितिको बैठकले स्थानीय तह र जिल्लास्थित समितिसँग समन्वय गरेर पार्टी पंक्तिलाई परिचालित हुन निर्देशन दिएको हो ।

एमालेले क्वारेन्टिन बनाउन, जिल्ला–जिल्लामा हेल्थ डेस्क राख्ने, सचेतनाका अभियान चलाउन पार्टी कार्यकर्तालाई निर्देशन दिएको छ ।