Loading... आजः १ असार २०७८, मंगलवार
कोरोना कहर

सोमबार रातीदेखि बाँकेमा ‘लकडाउन’

सोमबार रातीदेखि बाँकेमा ‘लकडाउन’

बाँके । बाँकेमा लकडाउनको घोषणा गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले भोली (सोमबार) १३ गते राती १२ बजेदेखि आगामी बैशाख २० गते राती १२ बजेसम्मका लागि लकडाउनको आदेश जारी गरेको हो । जिल्लाभर लकडाउन जारी गरिएसँगै बाँकेका आठ वटै पालिकामा हिँडडुल, सभा, जुलुश लगायतका गतिविधिमा रोक लगाइने भएको छ ।

लकडाउनको उलङ्घन गर्नेलाई संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारबाही गरिने बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालद्वारा जारी आदेशमा उल्लेख गरिएको छ । कोरोना संक्रमणको दोस्रो लहर तीब्ररुपमा फैलिन थालेपछि बाँकेमा बैशाख ९ गतेदेखि १२ गतेसम्म नेपालगन्जमा लकडाउन गरिएको थियो ।

लकडाउनकै अवधिमा पनि तीब्ररुपमा कोरोना संक्रमित बढ्न थालेपछि भोली रातीदेखि लागु हुनेगरी पुनः जिल्लाभर नै लकडाउन गरिएको हो । कोरोना कहरले दिनदिनै रेकर्ड ब्रेक भइरहेको र हरेक दिन सयौंको संख्यामा कोरोना संक्रमित थपिँदै गएपछि थालेपछि जिल्लाभरी नै ‘लकडाउन’ गरिएको बाँकेका प्रमूख जिल्ला अधिकारी गेलाले जानकारी दिएका छन् ।

गम्भीर प्रकृतिको संक्रमितको संख्या उच्च देखिएसँगै मृत्युदर पनि बढिरहेको बाँकेमा रहेका कोरोना विशेष अस्पतालका सबै वार्डहरु भरिभराउ भएका छन् । बाँकेमा कोरोना सङ्क्रमणका कारण हालसम्म १८० जनाको मृत्यु भएको छ । तीमध्ये बाँकेका ८० र बाहिरी जिल्लाबाट उपचारका लागि अस्पतालमा आएका १०० गरी १८० जनाको मृत्यु भएको हो ।

हालसम्म मृत्यु हुनेमा बाँकेका ३३ महिला र ४७ पुरुष छन् भने बाहिरी जिल्लाबाट उपचारका लागि यहाँ आएका २५ महिला र ७५ पुरुषको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । बाँकेमा हाल दुई हजार १२८ सक्रिय सङ्क्रमितमध्ये सात जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । ८६ सिकिस्त छन् भने १९८ को अवस्था सामान्य छ ।

तीमध्ये ८३ महिला र ९८ पुरुष गरी १८१ जना भेरी अस्पतालको आइसोलेसन, २४ महिला र ३१ पुरुष गरी ५५ जना शिक्षण अस्पताल कोहलपुर, ६ महिला र ३३ पुरुष गरी ३९ जनाको ह्वाइट हाउस आइसोलेसन र ९ पुरुष कोहलपुर नगरपालिकाको आइसोलेसनमा उपचाररत छन् । बाँकेमा एक हजार ९८० होम आइसोलेसनमा रहेका छन् भने बाहिरी जिल्लाबाट आएका १३६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।