Loading... आजः १ जेष्ठ २०७८, शनिबार
कोरोना कहर

बाँकेका दुई अस्पतालको क्षमता बढाइँदै, १५० शैय्या थपिँदै

बाँकेका दुई अस्पतालको क्षमता बढाइँदै, १५० शैय्या थपिँदै

बाँके । कोरोना सङ्क्रमणले ग्रस्त बनेको बाँकेका अस्पतालमा बिरामीलाई शैय्या र अक्सिजनको अभाव भएपछि नेपालगन्जस्थित भेरी अस्पताल र कोहलपुर मेडिकल कलेजमा १५० शैय्या थप्ने कार्य सुरु गरिएको छ । ती अस्पतालमा कोभिड बिरामीका लागि तयार गरिएका सबै शैय्या भरिएर दर्जनौँ बिरामीले बाहिर पालो कुर्ने अवस्था आएपछि तत्काल १५० शैय्या थप गर्न लागिएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले एक्कासी ठूलो सङ्ख्यामा सङ्क्रमित बढेपछि तत्कालै यस्तो तयारी गरिएको बताए । उनले भेरी अस्पतालमा ६० शैय्या थपेर २०० शय्या बनाइने र मेडिकल कलेज कोहलपुरमा १०० बेड थपेर त्यहाँ पनि २०० शैय्या पुर्याउन लागिएको बताए । उनले ती सबै शैय्यामा अक्सिजन लगायतका अन्य स्वास्थ्य उपकरण जडान कार्य सुरु भइसकेको पनि बताए ।

थेग्नै नसक्ने गरी सङ्क्रमित बढेपछि उपचारमा एक/दुई दिन समस्या आए पनि बेड थपिन थालिएको र स्थानीय तहमा पनि अक्सिजनसहितका कोभिड वार्डहरू तीव्र गतिमा निर्माण भइरहेकाले अब समस्या नहुने उनले बताए । उनले बेड थपिए पनि जनशक्तिको भने समस्या रहेको स्वीकार्दै त्यसका लागि प्रदेश र केन्द्र सरकारसँग तत्काल जनशक्ति पठाउन माग गरिएको बताए । प्रदेश सरकारले जनशक्ति दिने निर्णय गरिसकेको आफूले जानकारी पाएको पनि उनले बताए ।

यसैबीच जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले कोरोना नियन्त्रणका लागि प्रदेश सरकारसँग पाँच करोड र केन्द्र सरकारसँग १० करोड रुपैयाँ माग्ने निर्णय पनि गरेको छ । यसैगरी सोही बैठकले जिल्लाका सबै पालिकाले मिलेर ११ लाख रुपैयाँ दिएर आपत्कालीन कोष बनाएर सो रकम कोरोना नियन्त्रणको व्यवस्थापनमा खर्च गर्ने निर्णय पनि गरेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए ।