Loading... आजः १ जेष्ठ २०७८, शनिबार
कोरोनाको चपेटामा नेपालगन्ज

भेरी अस्पतालमा अक्सिजन खरीद गर्न वडाध्यक्ष बेहनाले दिए दुई लाख रुपैयाँ

भेरी अस्पतालमा अक्सिजन खरीद गर्न वडाध्यक्ष बेहनाले दिए दुई लाख रुपैयाँ

बाँके । बाँकेमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढिरहेको छ । नेपालगन्ज हायलकायल बनेको छ । स्वास्थ्यकर्मी चिन्तित छन्, सर्वसाधारण भयभीत बनेका छन् । कोरोना संक्रमणको दर बढेसँगै चिकित्सक र अस्पतालले बिरामी थाम्न सक्ने अवस्था छैन । भेरी अस्पतालमा बेड भरिएका छन् । बिरामीका लागि चाहिने अक्सिजन अभाव हुने अवस्था सिर्जना भएको छ ।

सरकार बेखबर छ, नेपालगन्ज दुखिरहेको छ । न मुख्यमन्त्रीलाई चिन्ता, न त प्रधानमन्त्रीलाई नै चासो छ । सत्ता र सक्तिको लडाइँमा हानथाप गरिरहेका मुख्यमन्त्री र प्रधानमन्त्रीलाई जनताको जीउज्यानको के मतलब ? स्थानीय सिंहदरबार अब अन्तिम किस्ताका लागि सोचमग्न छन्, कोरोनाको जोखिमका बारेमा ध्यान दिने फुर्सद छैन ।

स्थानीय, प्रदेश र संघीय सरकारले विरामीको व्यवस्थापनमा चासो नदेखाएको गुनासो बढ्दै गइरहेको छ । पछिल्लो पटक संक्रमित हुने र ज्यान गुमाउनेमा युवा र बालबालिकाको संख्या पनि बढिरहेको छ । कोरोना संक्रमणको अहिलेको दर घटाउन, जनस्वास्थ्य मापदण्ड पालना गर्नुको विकल्प नभएको भन्दै स्वास्थ्यकर्मीहरुले सर्तकता अपनाउन आग्रह गरिरहेका छन् ।

भेरी अस्पतालमा कोरोना संक्रमितको संख्या बढेसँगै बिरामीका लागि चाहिने अक्सिजनको अभाव हुने संकेत देखिएको छ । यस्तो बेला तीनै तहका सरकार कानमा तेल हालेर सुतिरहेका छन् । यहिबेला बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४ का वडाध्यक्ष मो.सफिक बेहनाले भेरी अस्पताललाई अक्सिजन सिलिण्डर खरीदका लागि दुई रकम हस्तान्तरण गरेका छन् ।

वडाध्यक्ष मो.सफिक बेहनाले अस्पतालमा अक्सिजनको अभाव कम हुने नदिन २०० बढी अक्सिजन सिलिण्डर खरीदका लागि भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल र अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.प्रकाशबहादुर थापालाई एक कार्यक्रमको आयोजना गरी दुई लाख रुपैयाँ संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।

उनले रकम हस्तान्तरण गर्दै कोरोनाविरुद्धको लडाइँ लड्नका लागि सबै मनकारी व्यक्तिहरुसँग सहयोग गर्न आग्रहसमेत गरेका छन् । वडाध्यक्ष बेहनाले कोरोना महामारीका बेला आफुले सहयोग गर्न पाउँदा धेरै खुसी लागेको बताउँदै भने, ‘अक्सिजनको अभावले कसैको ज्यान नजाओस् भन्ने कामनाका साथ भेरी अस्पताललाई सहयोग गरेको हुँ ।’

कोरोना संक्रमणको दर बढेसँगै अस्पतालमा बिरामीको चाप बढेको र अक्सिजनसमेत अभाव हुन सक्ने देखिएपछि आफुले सक्दो सहयोगको गरेको उनले बताए । उनले भने, ‘बाँकेको भेरी अस्पतालमा अक्सिजन अभाव हुन सक्ने देखिएपछि मैले अस्पताललाई रकम हस्तान्तरण गरेको हुँ । कोरोनाविरुद्धको लडाईमा मेरो सधैं साथ रहनेछ ।’

रकम हस्तान्तरण कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा.धवलशम्सेर राणाले महामारीबाट बच्न र बचाउन सबैको दायित्व भएकोले वडाध्यक्षको सहयोग महत्वपूर्ण रहेको बताए । ‘अहिले सबैले सावधानी अपनाउँदै कोरोनाविरुद्धको लडाइँमा होमिनुपर्ने बेला भएको छ । यस्तो अवस्थामा हुने सहयोग अतुलनिय हुन्छ । सबैले सहयोग गर्नुपर्छ ।’

उनले दोस्रो चरणमा नेपालगन्ज लगायत देशभर फैलिएको कोरोना संक्रमण जटिल रहेको र यसलाई सबैको साथ र सहयोगले मात्रै नियन्त्रण गर्न सकिने बताए । उनले भने, ‘स्थानीय सरकार कोरोना नियन्त्रणमा लागिरहेको छ । तपाईको सानो सहयोगले पनि बिरामी र अस्पताललाई सहज हुनेछ । यसमा सबैले आ–आफ्नो क्षेत्रबाट साथ र सहयोग गरौं ।’

अस्पतालका मेसु डा.थापाले भने, ‘स्थिति नियन्त्रण बाहिर जान सक्ने अवस्था आएको छ, भएका बेड सबै संक्रमितले भरिएका छन् ।’ पछिल्लो समय आउने कोरोना संक्रमितलाई अक्सिजनको आवश्यकता पर्ने देखिएकाले अक्सिजनसमेत पुर्याउन धौधौ परिरहेका बेला वडाध्यक्षको सहयोगले केही राहत हुने मेसु डा.थापाले बताए ।

उनले अक्सिजन सप्लाई गर्नेले पनि धेरै डिमान्ड हुँदा सप्लाई गर्न नसकिरहेका बेला वडाध्यक्षको सहयोग महत्वपूर्ण र उदारणीय रहेको बताए । अस्पतालमा भर्ना भएकामध्ये ५० प्रतिशत अत्यन्त सिकिस्त बिरामी भएको उनले जनाए । केही सातायता भेरीमा पीसीआर परीक्षण गर्दा दैनिकरुपमा झण्डै ८० प्रतिशतमा कोरोना संक्रमण पुष्टि हुँदै आएको छ ।

संक्रमितको संख्या ह्वात्तै बढेपछि यसले धेरैलाई चिन्तित बनाएको छ । कोभिडको लागि छुट्टाएर राखिएका सम्पूर्ण १४२ बेडहरु पूर्णरुपमा भरीभराउ भएको अस्पतालका मेसु डा.थापाले जानकारी दिए । संक्रमणको दर बढेसँगै चिकित्सक र अस्पतालले समेत थाम्न नसक्ने अवस्था आएपछि मेसु डा.थापाले आफ्नो जनस्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेका छन् ।

कोरोनाको दोस्रो लहरको सबैभन्दा बढी चपेटामा बाँके परेको बताउँदै मेसु डा.थापाले भने, ‘बिरामीले बेड भरिएका छन् । अब थप बिरामी भर्ना गर्न सक्ने अवस्था अस्पतालसँग छैन । आइसोलेसनको कुनाकाप्चामा समेत बेड राखेर उपचार गरिरहेका छौं । आइसोलेसनमा खुट्टा राख्ने ठाउँसमेत छैन । जटिल प्रकृतिका बिरामीलाई पनि भर्ना गर्न सक्ने अवस्था छैन ।’

भेरी अस्पतालमा १४२ आइसोलेसन बेड छन् । ३५ आइसियू र सात भेन्टिलेटर सुविधा छ । अहिले सबै भरिएका छन् । संक्रमण तीव्र गतिमा बढिरहेकाले अहिलेको भन्दा जटिल अवस्था आउन सक्ने मेसु डा.थापाको अनुमान छ । ‘योभन्दा जटिल अवस्था आउने देखिन्छ । हामीले बेलैमा ध्यान पुर्याउनुपर्छ,’ उनले भने, ‘भेरीले मात्र विरामीको अवस्था धान्न सक्ने देखिँदैन ।’

उता कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा पनि आइसोलेसन बेड र भेन्टिलेटर भरिएका छन् । अस्पतालमा संक्रमितका लागि ८० आइसोलेसन बेड, १५ आइसियू र ६ भेन्टिलेटर छुट्याइएका छन् । सबै भरिएपछि बिरामी भर्ना लिन बन्द गरिएको आइसोलेसन वार्ड इन्चार्ज दिनेश श्रेष्ठले बताए । संक्रमितको संख्या निकै बढेको छ, सबै बेड भरिएका छन् ।

‘उनीहरूलाई कहाँ राख्ने हो, टुंगो छैन,’ श्रेष्ठले भने, ‘अब हामीले हात उठाउन मात्र बाँकी छ ।’ जिल्लाभरि बिहीबारसम्म १२ सय ६६ जना सक्रिय संक्रमित छन् । अस्पतालमा भर्ना भएकाबाहेक केहीलाई राँझा विमानस्थल नजिकैको होटल ह्वाइट हाउसको आइसोलेसन सेन्टरमा राखिएको छ भने केही होम आइसोलेसनमा रहेका छन् ।