Loading... आजः ३१ जेष्ठ २०७८, सोमबार
कोरोनाको चपेटामा नेपालगन्ज

स्वास्थ्यकर्मी भन्छन्, ‘बाँचे सँगै रेल चढौंला, अहिले कृपया ज्यान बचाइदिनुस्’

आइसोलेसनको कुनाकाप्चामा समेत बेड राखेर उपचार गरिरहेका छौं : मेसु डा.थापा
स्वास्थ्यकर्मी भन्छन्, ‘बाँचे सँगै रेल चढौंला, अहिले कृपया ज्यान बचाइदिनुस्’

बाँके । ‘अस्पतालमा बेड थप्ने र अक्सिजनको व्यवस्थापनमा सबैको ध्यान र सहयोग केन्द्रीत हुन जरुरी देखिन्छ । बाँचे सँगै रेल चढौंला, अहिले कृपया ज्यान बचाइदिनुस्,’ जिल्ला कोभिड १९ संकट व्यवस्था केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले आफ्नो फेसबुकमा लेखेका छन् । नेपालगन्जमा कोरोना संक्रमितको संख्या हत्तै बढेपछि यसले धेरैलाई चिन्तित बनाएको छ ।

भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले फेसबुकमा लेखेका छन्, ‘आज कोभिड वार्ड निरिक्षण गरियो, अवस्था हेर्दा रुन मन लाग्छ ।’ संक्रमणको दर बढेसँगै चिकित्सक र अस्पतालले समेत थाम्न नसक्ने अवस्था आएको भन्दै भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.प्रकाशबहादुर थापाले आफ्नो फेसबुकमा जनस्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरे ।

मेडिकल सुपरिटेण्डेण्ट डा.थापाले आफ्नो फेसबुकमा लेखेका छन्, ‘स्थिति नियन्त्रण बाहिर । कोभिडको लागि छुट्टाएर राखिएका सम्पूर्ण १४२ बेडहरु पूर्णरुपमा भरीभराउ । संक्रमित बिरामीको आउने क्रम जारी छ । हामी मुखदर्शक भएर बस्नेबाहेक केही गर्न सक्ने अवस्था छैन । हरेकले आफ्नो ठाउँबाट महत्वपूर्ण भूमिका निर्वाह गर्न जरुरी देखिन्छ ।’

‘सरकार बेखबर छ, नेपालगन्ज दुखेन, न सिएमलाई न त पिएमलाई, स्थानीय सिंहदरबार अब अन्तिम किस्ताका लागि सोचमग्न छन् होला, ध्यान छैन यता,’ यस्तै खजुराका युवा समाजसेवी सतिश निरौला फेसबुकमा लेख्छन्, ‘भेरी अस्पतालमा बेड भरियो, अब थप ५०० शैय्याको अस्थायी कोभिड बिशेष अस्पताल रामलिला मैदान, रंगशाला वा अन्यत्र उपयुक्तस्थल मा बनाउने प्रयास हुनुपर्छ ।’

पछिल्लो समय एक दिनमै कोरोना संक्रमितको संख्या ३०० बढी नाघ्न थालेपछि नेपालगन्ज हायलकायल बनेको छ । स्वास्थ्यकर्मी चिन्तित छन्, सर्वसाधारण भयभीत बनेका छन् । कोरोना संक्रमणको दर बढेसँगै चिकित्सक र अस्पतालले बिरामी थाम्न सक्ने अवस्था छैन । यसअघि बनाइएका आइसोलेशन सेन्टर बन्द अवस्थामा छन् । स्थानीय, प्रदेश र संघीय सरकारले विरामीको व्यवस्थापनमा चासो नदेखाएको गुनासो बढ्दै गएको छ ।

पछिल्लो पटक संक्रमित हुने र ज्यान गुमाउनेमा युवा र बालबालिकाको संख्या पनि उल्लेख्य छ । गत वर्ष बालबालिका र युवा कम सिकिस्त भएका थिए । तर नयाँ भेरियन्टले उनीहरुलाई पनि बढी प्रभाव पारेको छ । कोरोना संक्रमणको अहिलेको दर घटाउन, जनस्वास्थ्य मापदण्ड पालना गर्नुको विकल्प छैन । स्वास्थ्य मापदण्ड तोडेर लापरबाही गर्दै भीड भाड गर्नु, मास्क र सेनिटाइजर प्रयोग नगर्नु र हात नधुनुले संक्रमणको दर बढाउने छ ।

कोरोनाका कारण हुने मृतकको संख्या पनि बढिरहेको छ । त्यसैले सबै नागरिक जिम्मेवार बन्नुको बिकल्प छैन । मेसु डा.थापाले स्थिति नियन्त्रण बाहिर पुगेको र कोरोना संक्रमितलाई राख्ने बेडको अभावसँगै अक्सिजनको समेत अभाव भएकोले सहयोग गरिदिन मनकारीहरुसँग अपिल गरिरहेका छन् । भेरी अस्पतालले जनशक्ति समेत अभाव भएकोले जनशक्ति थप गरिदिन स्वास्थ्य मन्त्रालयसँग माग गरेको छ ।

भेरी अस्पतालमा जनशक्ति अभाव भएपछि सर्वसाधारणले पालिकामा कार्यरत स्टाप नर्सहरुलाई तत्कालका लागि कामकाज गर्ने गरी स्थानान्तरण गर्न जरुरी देखिएको छ । अस्पतालका मेसु डा.थापाले भने, ‘स्थिति नियन्त्रण बाहिर गएको छ, भएका बेड सबै संक्रमितले भरिए अब कहाँ राखेर उपचार गर्ने हो हामी अन्यौलमा छौं ।’ डा थापाले भेरी अस्पतालमा कोभिड डेडिकेटेड १४२ वटा बेड पूरै संक्रमितले भरिएको र अन्य बेड थपेर पनि उपचार गरिरहेको जनाए ।

पछिल्लो समय आउने संक्रमितलाई अक्सिजनको आवश्यकता पर्ने देखिएकाले अक्सिजन समेत पुर्याउन धौधौ परिरहेको उनले बताएका छन् । भेरी अस्पतालमात्र नभई मेडिकल कलेज लगायतका अन्य अस्पतालमा पनि उही हालत भएको भन्दै सरकारले नै ठोस निती ल्याएर केही नगरेसम्म धेरै संक्रमितले बेड र समयमा उपचार नपाएर ज्यान गुमाउन सक्ने अवस्था आउन सक्ने समेत डा.थापाले चेतावनीसमेत दिएका छन् ।

अस्पतालमा भर्ना भएकामध्ये ५० प्रतिशत अन्यन्त सिकिस्त बिरामी भएकोसमेत उनले जनाएका छन् । उनले अक्सिजन सप्लाई गर्नेले पनि धेरै डिमान्ड हुँदा सप्लाई गर्न नसकिरहेको बताए । यही अवस्था रहेमा अब सरकारले सबै अस्पताललाई कोरोनाको उपचार गर्न निर्देशन दिनुपर्ने उनको भनाई छ । उनले भेरीमा अब बेड थप्न सक्ने ठाउँसमेत नभएको र जनशक्ति पनि कम भएको भन्दै वैकल्पिक व्यवस्थापनका लागि सोच्नुपर्ने बेला आएको बताए ।

केही सातायता भेरी अस्पतालमा पीसीआर परीक्षण गर्दा दैनिकरुपमा झण्डै ८० प्रतिशतमा कोरोना संक्रमण पुष्टि हुँदै आएको छ । कोरोना समूदायस्तरमा फैसिकेको र पहिलोको भन्दा बढी संक्रामक र जटिल भएकाले अझै स्थिति बिग्रन सक्ने चेतावनी दिएका छन् । उनले भने, ‘संक्रमित भएपछि बेड नपाएर दुख पाउनुभन्दा अघि नै हामी आफैं सचेत भएर अनिवार्य मास्क लगाऔं, सामाजिक दूरी कायम गरौं, भीडभाडमा नजाऔं, नियमित हात धोऔं ।’

कोरोनाको दोस्रो लहरको सबैभन्दा बढी चपेटामा बाँके परेको छ । अस्पतालका मेसु डा.थापाले भने, ‘बिरामीले बेड भरिएका छन् । अब थप बिरामी भर्ना गर्न सक्ने अवस्था अस्पतालसँग छैन ।’ उनका अनुसार आइसोलेसनको कुनाकाप्चामा समेत बेड राखेर उपचार भइरहेको छ । ‘आइसोलेसनमा खुट्टा राख्ने ठाउँसमेत छैन । अब जटिल प्रकृतिका बिरामीलाई पनि भर्ना गर्न सक्ने अवस्था छैन,’ मेसु डा.थापाले भने ।

भेरी अस्पतालमा १४२ आइसोलेसन बेड छन् । ३५ आइसियू र सात भेन्टिलेटर सुविधा छ । अहिले सबै भरिएका छन् । संक्रमण तीव्र गतिमा बढिरहेकाले अहिलेको भन्दा जटिल अवस्था आउन सक्ने मेसु डा.थापाको अनुमान छ । ‘योभन्दा जटिल अवस्था आउने सम्भावना छ । सबैले बेलैमा ध्यान पुर्याउनुपर्ने अवस्था आएको छ,’ उनले भने, ‘भेरी अस्पतालले मात्र विरामीको अवस्था धान्न सक्ने अवस्था छैन ।’

उता कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा पनि आइसोलेसन बेडदेखि भेन्टिलेटरसम्म सबै भरिएका छन् । अस्पतालमा कोरोना संक्रमितका लागि ८० आइसोलेसन बेड, १५ आइसियू र ६ भेन्टिलेटर छुट्याइएका छन् । सबै भरिएपछि बिरामी भर्ना लिन बन्द गरिएको आइसोलेसन वार्डका इन्चार्ज दिनेश श्रेष्ठले बताए । कोरोना संक्रमितको संख्या निकै बढेको छ, सबै बेड भरिएका छन् ।

यही बेला (बिहीबार) मात्र १५ जना संक्रमित थपिएका छन् । ‘उनीहरूलाई कहाँ राख्ने हो, टुंगो छैन,’ श्रेष्ठले भने, ‘अब हामीले हात उठाउन मात्र बाँकी छ ।’ जिल्लाभरि बिहीबारसम्म १२ सय ६६ जना सक्रिय संक्रमित छन् । अस्पतालमा भर्ना भएकाबाहेक केहीलाई राँझा विमानस्थल नजिकैको होटल ह्वाइट हाउसको आइसोलेसन सेन्टरमा राखिएको छ भने केही होम आइसोलेसनमा रहेका छन् ।