Loading... आजः १ असार २०७८, मंगलवार
समृद्धि

कोरोना कालमा बदलिएको ‘नरैनापुर’

कोरोना कालमा बदलिएको ‘नरैनापुर’

बाँके । बाँकेको नरैनापुर भारतीय सीमावर्ती गाउँपालिका हो । कोरोना भाइरस कारण यो गाउँपालिका कुनै बेला ‘इपिसेन्टर’ बन्यो । तर, अहिले संक्रमण नियन्त्रणमा आएको छ । जिल्ला सदरमुकाम नेपालगन्जदेखि करिब ३५ किलोमिटर दक्षिणपूर्व राप्तीपारि भारतसँग सीमा जोडिएको नरैनापुर गाउँपालिका तत्कालीन ६ वटा गाविस कटकुइँया, लक्ष्मणपुर, कालाफाँटा, नरैनापुर, मटेहिया र गङ्गापुर मिलेर बनेको हो । नरैनापुर गाउँपालिकाको उत्तरतर्फ राप्तीसोनारी गाउँपालिका, दक्षिणतर्फ भारतको सिमाना, पश्चिमतर्फ डुडुवा गाउँपालिका र पूर्वतर्फ पनि भारतको सिमाना जोडिएको छ । कुनै बेला बाँकेको ‘कर्णाली’ भनेर चिनिने नरैनापुरमा मधेसी र मुस्लिम समुदायको बाहुल्यता छ ।

नरैनापुर गाउँपालिकालाई राष्ट्रिय सञ्जालसँग जोड्ने नेपालगन्ज–बघौडा हुलाकी मार्ग कोरोना कालमै सम्पन्न भयो । कोरोना कालमै विजुली बल्यो । निर्माणसँग जोडिएका यावत् झमेलाहरु कोरोना संक्रमणकै अवस्थामा समाधानतिर उन्मुख भए । कोरोना संक्रमणको चरम पीडाकै बीचमा दशकौंपछि झुल्किएका सुखद कामले नरैनापुर बदलिन थाल्यो । गुमनाम रहेको नरैनापुर कोरोना महामारी नेपाल भित्रिएपछि एकाएक चर्चामा आयो । उसो त सयौं फुस्का घरहरुले बनेका नरैनापुरका थुप्रै बस्तीहरु आगलागीले सखाप हुँदा पनि यसको नाम सुनिने गर्दथ्यो भने नरैनापुर गाउँपालिकामा पर्ने गंगापुर, मटेहियाका केही दक्षिणी भूभाग, भारतले राप्ती नदीमा बनाएको लक्ष्मणपुर ब्यारेजका कारण वर्षेनी डुबानमा पर्ने गर्दा पनि यसको चर्चा कहिँकतै सुनिने गर्दथ्यो ।

अरुबेला त्यति नसुनिने नरैनापुरको नाम यस्तै महामारी, बाढी र आगलागीका घटनामा मात्र सुनिन्थ्यो । अनि फेरि गुमनाम बन्थ्यो । राज्यको मूलधारमा अझै पनि आफ्नो दह्रो उपस्थिति देखाउन सकेको छैन । यहाँका धेरै नागरिक रोजीरोटीका लागि भारतमा काम गर्न जान्छन् । दक्षिण र पूर्वतर्फ भारतीय नाका जोडिएको नरैनापुरमा लकडाउन भएपछि धमाधम भारत गएका नागरिक गाउँ फर्के । नाकाबाट लुकीछिपी नेपाल प्रवेश गर्ने क्रम रोकिएनन् । जेठको दोस्रो सातादेखि नरैनापुर ‘इपिसेन्टर’ बन्यो । कोरोनाको इपिसेन्टर भएपछि नरैनापुरकै लक्ष्मणपुरमा प्राथमिक स्वास्थ्य केन्द्रलाई आइसोलेसन बनाउने भने पनि सुविधा सम्पन्न भवन र विद्युत् थिएन । जेनेरेटरबाट आइसोलेसन सञ्चालन गरिए पनि सफल हुन सकेन ।

त्यसपछि वर्षौंदेखि रोकिएको विद्युत विस्तारपछि नरैनापुरमा बिजुली बल्यो । बिजुली भएपछि स्वास्थ्य केन्द्रमा बिरामीको उपचार पनि सहज भएको थियो । सूचना अधिकारी लक्ष्मीकान्त मिश्रका अनुसार नरैनापुरमा जम्मा १२५ जनालाई कोरोना संक्रमण भएको थियो । नरैनापुरमा बनाइएका क्वारेन्टिनमा रहेका सबै घर फर्किसकेका छन् । एक जनाको भने मृत्यु भएको थियो । नरैनापुरस्थित क्वारन्टिनमा रहेका २५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । नरैनापुरस्थित दिपेन्द्र प्राथमिक विद्यालयमा रहेको क्वारेन्टिनमा रहेका ती युवा बैशाख ३० गते भारतको मुम्बईबाट आएका थिए । गाउँपालिका स्वास्थ्य शाखाका अनुसार उनलाई राति वान्ता हुनुका साथै एक्कासी ज्वरो देखिएको र बिहानको समयमा मृत्यु भएको थियो ।

किन एक्कासी बढ्यो संक्रमण ?

नरैनापुर गाउँपालिकामा ४३ हजारको हाराहारीमा जनसंख्या छ । भारतबाट आउनेलाई राख्न १७ वटा क्वारेन्टिन बनाइएका थिए । जसमा १ हजार १६३ जना विदेशबाट आएकाहरु बसेका थिए । यो नेपाल–भारत सीमा क्षेत्रसँगै जोडिएको गाउँपालिका हो । नरैनापुरमा मधेसी समुदायको बसोबास छ । कुनै समयमा नेपाली रुपैयाँसमेत नचल्ने यहाँका अधिकांश व्यक्ति कृषि पेसामा निर्भर छन् । शिक्षा र स्वास्थ्यमा धेरै पछाडि परेको नरैनापुरका प्रायः युवा वैदेशिक रोजगारीमा भारत जाने गरेका कारण रोजगारीबाट फर्केका व्यक्तिका कारण नरैनापुर कोरोनाको हटस्पट बन्यो । सीमापारि आएर रोकिएका ८०० युवालाई गाउँपालिकाले वैशाख अन्तिम साता उद्धार गरेर ल्याएको थियो । गाउँपालिकाले निर्माण गरेको क्वारेन्टिनमा उनीहरुलाई राखियो र परीक्षण सुरु गरियो ।

कोरोना भाइरस प्रभावित क्षेत्र भारतको मुम्बई लगायत स्थानबाट फर्केर आएका व्यक्तिको क्वारेन्टिनमै स्वाब परीक्षण गर्दा जेठ २ गते पहिलो पटक नै ८ जनामा कोरोना संक्रमण पुष्टि भयो । त्यसलगत्तै क्वारेन्टिनमै बसेको अवस्थामा नरैनापुर गाउँपालिका वडा नम्बर ५ का २५ वर्षीय युवकको कोरोना संक्रमणबाट मृत्यु भयो । एम्बुलेन्सले बोक्न नमान्दा समयमा अस्पताल पु¥याउन नसकिएको र त्यही कारण उनको ज्यान गएको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह बताउँनुहुन्छ । नेपालमा दोस्रो कोरोना संक्रमितको मृत्यु थियो । उक्त घटनापछि नरैनापुरमा झन् डरलाग्दो अवस्था सिर्जना भयो । नरैनापुरमा पुष्टि भएका पहिलो संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङका आधारमा थप व्यक्तिको स्वाब संकलन थालियो । यसरी संक्रमितको खोजी हुँदा संख्या झन्झन् वृद्धि हुँदै गयो । कोरोना भाइरस संक्रमणको अवस्था भयावह बन्न थालेपछि नरैनापुरलाई निषेधित क्षेत्र घोषणा गरियो ।

कसरी गरियो नियन्त्रण ?

सूचना अधिकारी मिश्र भन्छन्, ‘ग्रामिण भेग भएकाले कोरोना नियन्त्रण गर्न धेरै असहज भयो । कोरोनाको सुरुवाती चरणमा बिरामी बोक्ने एम्बुलेन्स घेराउ, झडप, ढुङ्गामुढासमेत भएको थियो । तर सबैको सहयोगमा नियन्त्रणमा ल्याउन सफल भयौं । विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गरिएको थियो । जनप्रतिनिधि, कर्मचारी बुद्धिजीवि लगायतको सहयोगमा गाउँपालिकावासीलाई कोरोनाका बारेमा जनचेतना जगायौं । त्यसपछि नियन्त्रणमा सहयोग भयो ।’ प्रदेश ५ को पिछडिएको क्षेत्र नरैनापुर गाउँपालिकामा शिक्षा र चेतनाको कमीका कारण पनि कोभिड–१९ प्रतिको अन्धविश्वासले झन् समस्या निम्त्याएको थियो । तर अहिले अवस्था फेरिएको छ र कोरोना पनि पूर्णरुपमा नियन्त्रणमा आइसकेको छ ।

कोरोना भाइरसबारे अहिले विभिन्न अध्ययन अनुशन्धान भइरहेका छन् । विभिन्न विकशिल देशहरु कोरोनाविरुद्धको खोप बनाउन व्यस्त छन् । नेपाल लगायत कतिपय देशहरुमा खोप लगाउन सुरु भइसकेको छ । नेपाल सरकारले विभिन्न चरणमा कोरोना खोप लगाउन सुरु गरेपछि अब कोरोनालाई लिएर सिर्जित भ्रमहरु समाप्त हुँदै गएका छन् । केही एउटा धर्म मान्ने मान्छेलाई कोरोना लाग्दैन या मान्छेको रंग हेरेर कालो रंगका मान्छेलाई कोरोना लाग्दैन जस्ता भ्रमहरु चिरिँदै गएका छन् । जे जस्तो भनिए पनि यो एउटा भाइरस भएकोले यसको निदान धार्मिक वा कुनै तन्त्रमन्त्रबाट नभइ वैज्ञानिक खोजबाटै हुन्छ र त्यसको लागि विभिन्न खोपहरु पनि उत्पादन र परीक्षण भइरहेका छन् । सानो र अल्पविकसित मूलुक भए पनि नेपालले अन्य विकसित मुलुकहरु सँगसँगै कोरोना खोपको सुरुवात गर्ने शौभाग्य पाएको छ ।

हाल विश्वभरी फैलिरहेका नयाँ कोरोना भाइरसको संक्रमणबाट लागेको रोगलाई विश्व स्वास्थ्य संगठनले ‘कोभिड १९’को नाम दिएको छ र यसलाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरेको छ । कोरोना भाइरस श्वासप्रश्वासको माध्यमबाट सर्ने रोग हो । यो संक्रमित व्यक्त्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक वा मुखबाट निस्कने छिट्टाको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ । ज्वरो र खोकी लागेको व्यक्त्तिबाट टाढा रहने वा आफूलाई ज्वरो र खोकी लागेको छ भने पनि अरू व्यक्तिबाट टाढा रहने र मास्कको प्रयोग गर्ने । खोक्दा वा हाछ्युँ गर्दा नाकमुख टिस्यू पेपर वा कुहिनाले छोप्ने र प्रयोग गरेको टिस्यू पेपरलाई बिर्को भएको फोहर फाल्ने भाँडोमा फाल्ने र साबुन पानीले मिचिमिचि हात धुने वा अल्कोहल भएको स्यानिटाईजर प्रयोग गर्ने । भिडभाडमा नजाने र अरुलाई पनि नजाने सुझाव दिने, हात मिलाउनुको सट्टा नमस्कार गर्ने गरिएमा यो रोग लाग्नबाट आफू पनि बच्न सकिन्छ र अरुलाई पनि बचाउन सकिन्छ । –समृद्धिको यात्रामा नरैनापुर बुलेटिन