Loading... आजः १ जेष्ठ २०७८, शनिबार
सत्यपाटी समाचार प्रभाव

‘देह व्यापार’ रोक्न प्रहरी एक्सन, होटल सञ्चालकसहित सात पक्राउ

‘देह व्यापार’ रोक्न प्रहरी एक्सन, होटल सञ्चालकसहित सात पक्राउ

बाँके । बाँकेमा देह व्यापार अर्थात् यौन व्यवसाय फस्टाउँदै गएपछि प्रहरीले कडा निगरानी थालेको छ । बैशाख ३ गते सत्यपाटी डटकममा ‘राँझा क्षेत्रका होटल देह व्यापारका कारखाना’ शीर्षकमा समाचार प्रकाशित भएपछि प्रहरीले कडा निगरानी थालेको हो ।

निगरानी कै क्रममा प्रहरीले नेपालगन्ज उपमहानगरपालिका–२० स्थित राँझा क्षेत्रका होटलमा अवैध यौन व्यवसाय गर्ने सात जनालाई बुधबार पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नेपालगन्जबाट प्रहरी निरीक्षक डिल्लीबहादुर खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले अवैध यौन व्यवसायमा संलग्नलाई पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्जसमेत रहेका प्रहरी निरीक्षक खड्काका अनुसार राँझास्थित काठमाडौं गेष्ट हाउसका सञ्चालक ४२ बर्षिय नैनबहादुर भन्ने नथनबहादुर नापित र भेरी महाकाली गेष्ट हाउस सञ्चालिका ४२ बर्षिया पार्वती नाथसहित सात जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेहरुमा बढैयाताल गाउपालिका–१ बर्दियाकी १८ बर्षिया मुस्कान बिक, लम्कीचुहा नगरपालिका–६ कैलालीकी २४ बर्षिया भुमिका क्षेत्री, धनगढी उपमहानगरपालिका–२ कैलालीका २८ बर्षिय सुमन भट्ट, बंगलाचुली गाउँपालिका–१ दाङकी ३२ बर्षिया रितु पाण्डे र गौरीगंगा नगरपालिका–१० कैलालीका २२ बर्षिय राजेन्द्रबहादुर अधिकारी रहेका छन् ।

उनीहरुलाई राँझास्थित काठमाडौं गेष्ट हाउस, भेरी महाकाली गेष्ट हाउस र विकास खाजा घरबाट पक्राउ गरिएको प्रहरी निरीक्षक खड्काले जानकारी दिएका छन् । पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय बाँकेमा राखेर अनुसन्धान भइरहेको पनि प्रहरी निरीक्षक खड्काले जानकारी दिएका छन् ।

राँझा क्षेत्रका होटलहरुमा यौन व्यवसाय फैलिँदै गएपछि जनगुनासो बढेपछि सत्यपाटी डटकमले समाचार प्रकाशित भएपछि बाँके प्रहरी एक्सनमा उत्रिएको छ । प्रहरीका अनुसार ‘देह व्यापार’मा संलग्नहरु ठाउँ परिवर्तन गर्दै यौनधन्दा चलाइरहेका छन् । ‘राँझा क्षेत्रका होटल देह व्यापारका कारखाना’का रुपमा परिचित हुँदै आएका छन् ।

सत्यपाटी डटकममा समाचार प्रकाशित भएसँगै ‘यौनकर्मी’हरु कोहलपुर तथा ढकेरी क्षेत्रका होटलहरुमा केन्द्रीत हुन थालेका छन् । प्रहरीले उनीहरुमाथि कडा निगरानी थालेको छ । खुलेआम यौनधन्दा चल्न थालेपछि आजित बनेका राँझा क्षेत्रका नागरिकहरु समाचार प्रकाशित भएसँगै होटलहरुमा प्रहरीले निगरानी बढाएको बताउँछन् ।

राँझा क्षेत्रका होटलहरुमा यौन व्यवसाय फस्टाउन थालेपछि स्थानीयहरुले उक्त कार्य रोक्नसमेत माग गर्दै आएका थिए । बाँकेको नेपालगन्ज–२० राँझा क्षेत्रका होटलहरुमा कलिला किशोरीहरुलाई यौन कार्यमा लगाएको समाचार प्रकाशित भएसँगै अहिले ती होटलको सम्पर्कमा रहेका किशोरीहरुलाई हवल्दारपुर क्षेत्रका होटलहरुमा सिफ्ट गरिएको प्रहरी अनुमान छ ।

होटल, रेष्टुरेन्ट, खाजाघर, गेस्ट हाउस र क्याबिनमा बालिका र किशोरीहरूलाई ‘ग्राहक रिझाउन’कै लागि राखिँदै आएको छ । उनीहरू प्रायः १४ देखि १७ वर्षसम्मका हुन्छन् । तर, उमेर सोध्यो भने मालिक र उनीहरू स्वयंले पनि साँचो बताउँदैनन् । धेरैजसो राम्रो कमाइ हुने आशामा बाँके, बर्दिया, सुर्खेत, दाङ्ग लगायत जिल्लाका ग्रामीण क्षेत्रबाट आएका हुन्छन् ।

यो समाचार पनि पढ्नुहोस्

सामाजिक विकृति : राँझा क्षेत्रका होटल ‘देह व्यापारका कारखाना’

‘देह व्यापार’मा संलग्न होटल साउनीसहित १० जना पक्राउ, पाँच जनालाई मुद्दा

‘होटलले केटीहरु त राखे पनि केही ग्राहकले बाहिरबाटै लिएर आउँथे,’ नाम नछाप्ने शर्तमा राँझास्थित एक होटलमा कार्यरत एक जना मजदुरले सत्यपाटी डटकमसँगको कुराकानीमा भने, ‘प्रायः जोडीहरु बाहिरबाटै आउने र रात बिताएर जान्थे । होटल सञ्चालकले प्रहरीले निगरानी बढाएको सूचना पाएपछि दुई÷तीन दिनदेखि त्यो क्रम रोकिएको छ ।’

नेपालगन्ज उपमहानगरपालिका–२० राँझाका स्थानीयहरुले दिएको जानकारी अनुसार भेरी महाकाली (भुपु सैनिक) होटल, न्यू पूर्ण होटल एण्ड लज, भेरी महाकाली होटल, तुफान खाजाघर, झरना खाजाघर, एमएसएन खाजाघर, काठमाडौं गेष्ट हाउस, गीता होटल, तृप्ती खाजाघर लगायतका होटल तथा रेष्टुरेण्टहरुमा खुलेआम ‘देह व्यापार’ हुँदै आएको थियो ।

होटल तथा रेस्टुरेन्ट सञ्चालकहरूले किशोरीहरुलाई राम्रो कमाई हुने भन्दै फकाएर यो पेशामा लगाउने क्रम बढ्दो छ । कमाई हुने लोभमा किशोरीहरू यो पेशालाई सहजै स्वीकार गर्छन् । वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी निरीक्षक खड्काका अनुसार राँझा क्षेत्रमा रहेका होटलहरुमा कडा निगरानी गर्न प्रहरी टोली खटाइएको छ ।

‘कानून अनुसार १८ वर्षभन्दा कम उमेरका बालिकासँग सहमतिमा शारीरिक सम्पर्क गर्नु पनि जबर्जस्ती करणी गरेको ठहर्छ । किशोरी प्रयोग भएको भए हामी त्यस्ता होटल, रेष्टुरेण्ट सञ्चालकलाई कुनै हालतमा छाड्दैनौैं । सिधैं मुद्दा चलाएर अदालत पठाउँछौं,’ प्रहरी निरीक्षक खड्काले सत्यपाटीसँग भने ।

उनीहरूलाई नै होटल, रेस्टुरेन्ट सञ्चालकहरूले विस्तारै यौन कार्यमा लगाउँछन् । त्यहाँ भाँडा माझ्ने लगायतका सरसफाइका काम गर्न पाका महिला या केटाहरूलाई राखिएको हुन्छ । ‘देह व्यापार’मा संलग्न महिला तथा किशोरीको एकिन तथ्यांक नभए पनि बाँकेमा यौन व्यवसायमा संलग्न महिला तथा किशोरीको संख्या तीन हजार बढी रहेको अनुमान छ ।

यौन व्यवसायमा अधिकांश छोडपत्र गरेर बसेका श्रीमान तथा श्रीमति, वैदेशिक रोजगारमा गएका श्रीमान अथवा श्रीमतिमात्र हैन कलेजमा पढ्ने किशोरीहरु संलग्न रहने गरेका छन् भने दैनिक गुजारा चलाउन मुस्किल हुन थालेपछि राम्रो कमाई हुने लोभमा ग्रामीण क्षेत्रका किशोरीहरु पनि देह व्यापारमा लाग्ने गरेका छन् ।