Loading... आजः १ जेष्ठ २०७८, शनिबार
अन्तवार्ता

स्थानीय तहमा समृद्धिको यात्रा, ‘स्रोत परिचालन र जनसहभागिता’

स्थानीय तहमा समृद्धिको यात्रा, ‘स्रोत परिचालन र जनसहभागिता’

बाँकेको राप्तीसोनारी गाउँपालिका जनसंख्याको हिसाबले नेपालकै सबैभन्दा ठूलो गाउँपालिका हो । १०४१.७३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको गाउँपालिकाकोे अधिकांश क्षेत्र बाँके जिल्लाको उत्तर भावर क्षेत्रलाई समेटिएको छ । पूर्वमा दाङ जिल्ला, पश्चिममा कोहलपुर नगाउँपालिकापालिका र डुडुवा गाउँपालिका, उत्तरमा दाङ र सल्यान जिल्ला र दक्षिणमा नरैनापुर गाउँपालिका र भारतीय सीमानाको चौघेरामा गाउँपालिका रहेको छ । साविकका ६ वटा गाविसहरु खासकुश्मा, कचनापुर, बैजापुर, बिनौना, फत्तेपुर र महादेवपुरी मिलेर ९ वटा वडामा विभाजित गाउँपालिकाको कुल जनसंख्या ५९ हजार ९४६ रहेको छ ।

बाँकेकै दुर्गम मानिने राप्तीसोनारी गाउँपालिकाले वर्षौंदेखि रूप फेर्न सकेको थिएन । गाउँपालिकाको उत्तर भावर क्षेत्र भएर राष्ट्रिय राजमार्गमा गाडी दोडिन्थे । त्यही बाटो भएर विजुलीको राष्ट्रिय प्रसारण लाइन थियो, तर राप्तीसोनारीका बस्तीहरु अँध्यारोमै थिए । गाउँहरुमा विजुली बत्ती, सडक, यातायात, खानेपानी, सिँचाइ पर्याप्त थिएन । धुलाम्मे सडकले रुप फेर्ने स्थानीयहरुको आँकलन पनि थिएन । अहिले भने राप्तीसोनारी गाउँपालिकाको रुप सोचेभन्दा निकै बदलिएको छ । दुर्गम होइन सुगम बनेको छ ।

गाउँमा सडक थिएनन्, भएका सडक पनि धुलाम्मे र हिलाम्मे हुन्थे, अहिले अधिकांश सडक स्तरोन्नतिसँगै कालोपत्रे भएका छन् । केही गाउँहरुमा विजुली बलेको छ । गाउँपालिकाको वडा नं.४ मा १५ शैय्याको राप्तीसोनारी अस्पताल सञ्चालनमा आएको छ । स्थानीय तहको निर्वाचनपछि यस गाउँपालिकाले आफ्ना गाउँपालिकावासीको आर्थिक, सामाजिक र भौतिक विकासमा उल्लेखनीय कार्य गरेको छ । गाउँपालिकाले तीन वर्षको अवधिमा सामाजिक विकास, सुशासन तथा स्रोत–साधनको न्यायोचित वितरणमा जोड दिएको छ । प्रस्तुत छ, राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुसँग पत्रकार काशीराम शर्माले गरेको कुराकानी :

निर्वाचनका क्रममा मतदातासँग गरेका प्रतिवद्धता के कति पुरा भए ?

समग्रमा गाउँपालिकाको विकास गर्छु भनेर मत मागेको थिएँ । गाउँपालिकावासीले अत्यधिक मत दिएर जिताउनु पनि भयो । हामी निर्वाचित भएको चौथो बर्षको योजना कार्यान्वयनमा छौँ । गाउँपालिकाको अध्यक्ष भएदेखि नै गाउँपालिकाको स्रोत, साधन र बजेटले भ्याएसम्म सबै क्षेत्रमा विकास गरिरहेकै छौँ । हामी जनप्रतिनिधिसँग जनअपेक्षा धेरै हुँदोरहेछ । त्यो स्वाभाविक पनि हो । जिल्लाकै दुर्गम मानिने राप्तीसोनारी गाउँपालिकामा सडक, कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौँ ।

गाउँपालिकाको नेतृत्व सम्हालेसँगै प्रतिबद्धताअनुसार नै योजना बनाएर अघि बढिरहेकाले निर्वाचनताका जनताका बीचमा गरिएका प्रतिबद्धताहरु अधिकतम् पुरा भएका छन् भने अझै कतिपय पूरा हुने क्रममा छन् । विकाससँगै नागरिकको चेतनास्तरमा वृद्धि भएको छ । हामी निर्वाचित हुँदै गर्दा कार्यालय भवन, अत्यावश्यक फर्निचरसमेत उपलब्ध थिएनन् । कर्मचारी अभाव, सरकार सञ्चालन संविधानको व्यवस्था बमोजिम गर्नुपर्ने भएकोले ऐन, नियम, कार्यविधि, निर्देशिकाहरुको निर्माण त्यति सहज थिएन । यसलाई क्रमशः पुरा गर्दै लग्यौँ । अहिले हामी जटिलताबाट सहजतातर्फ प्रवेश गरिसकेका छौं ।

जनताका असीमित अपेक्षा, स्रोत साधनको कमी, सर्बदलीय संयन्त्रले बिगारेको उपभोक्तावादी भागवण्डा यी मुख्य समस्याका रुपमा रहेका थिए । नागरिकका आशा र अपेक्षा कति पुरा भएका छन् त्यो त मूल्यांकन गर्ने कुरा हो । तर, हामीले सकेसम्म नागरिकका आशा र अपेक्षा हरसम्भव पुरा गर्ने कोशिष गरिरहेका छौं । शैक्षिक क्षेत्रको विकास र सुधारका लागि शिक्षक व्यवस्थापन गरेका छौं । शिक्षकहरुलाई निजी स्रोतको बहानामा न्यून तलबमा काम गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ । हालसम्म २८ वटा विद्यालय भवन निर्माण भएका छन् । विपत् व्यवस्थापनका लागि सेल्टर भवन (विपत्का लागि आश्रम) बनाएका छौं ।

नमूना गाउँपालिका बनाउन जबसम्म स्वास्थ्य, शिक्षा, बाटोघाटो जस्ता सबै खालका सेवाहरु हुँदैनन्, तबसम्म नमूना गाउँपालिका बनाउन सकिँदैन भन्ने हाम्रो बुझाई हो । यही आधार बुझेपछि हामीले निकै प्रयास गरिरहेका छौं । विकास निर्माणका काममा हामीलाई गाउँपालिकाबासीले पनि साथ र सहयोग गर्नुभएको छ । पूर्व–पश्चिम राजमार्गबाहेक पालिकाभित्रका सडकहरु कहिँकतै पनि कालोपत्रे थिएनन् । अहिले धेरै सडकहरु कालोपत्रे भएका छन् । हामीले निर्वाचनकै बेला ८० प्रतिशत सडक कालोपत्रे गर्ने प्रतिवद्धता व्यक्त गरेको थिए । हाम्रो कार्यकालमा सतप्रतिशत प्रतिवद्धता पुरा गर्न हामीले कोशिष गरिरहेका छौं ।

स्थानीय तहको निर्वाचनपछि हालसम्म पालिकाले के कति विकासका कार्यहरु गर्यो ?

हामीले गाउँपालिकालाई विकसित र समृद्ध बनाउनका लागि समग्र पक्षमा मिहिन ढङ्गले योजना बनाएर लागेका छौँ । स्थानीय आवश्यकता तथा जनचाहनालाई समेट्दै आवागमन सहज बनाउन सडक सञ्जाल निर्माण र स्तरोन्नतीलाई पहिलो प्राथमिकतामा राखेर काम ग¥यौँ । त्यसैगरी वडा केन्द्र र गाउँपालिका हुँदै सबै गाउँ बस्तीहरुमा सडक सञ्जाल निर्माण भइरहेका छन् । पालिकाभित्रका बस्तीभित्रका सडक पुलहरुमा ठाडो खोला तथा खहरे खोलामा पक्की पुल निर्माणका कामहरु भइरहेका छन् ।

जेष्ठ नागरिक, पिछडिएका जातीहरु, अपाङ्गता भएका व्याक्तिहरुको सुरक्षा, रोजगारी तथा उन्नतीमा पनि क्रियाशिल रहेका छौँ । जनताको नजिकको सरकारको अनुभूति हुने गरी काम गरिरहेका छौँ । शिक्षालाई सकेसम्म सहज, सुलभ र व्यवस्थित बनाउन अहिलेको समयअनुसार आवश्यक व्यवस्थापन गरेका छौँ । विद्यालय भवन निर्माणतर्फ पनि उल्लेख्य प्रगति भएको छ । आधारभूत स्वास्थ्य स्थानीय तहको अधिकार क्षेत्रभित्र भएकाले यसका लागि स्वास्थ्य क्षेत्रमा पूर्वाधार निर्माण र व्यवस्थापनमा काम गरेका छौँ । हामी निर्वाचित हुनुअघि र अहिले सडकको अवस्थामा धेरै सुधार भइसकेको छ ।

धेरै क्षेत्रफलमा फैलिएको गाउँपालिका भएकाले बस्ती बस्तीमा सडकको काम गर्न केही समस्या र चुनौति छ । विकासका क्रममा राजनीतिक विचारले पनि कहिलेकाँही अवरोध गर्छ । तैपनि हामीले ती अवरोधहरुलाई चिर्दै आम नागरिकको भावनाअनुसार काम गरिरहेका छौं । सिंहदरबारको अधिकार गाउँमा आयो भनेर प्रचार भएपछि नागरिकमा आशा र अपेक्षा धेरै छ । इमानदारीसाथ भन्नुपर्दा हामीले सतप्रतिशत त नभनौं तर, पहिलेको तुलनामा हरेक क्षेत्रमा धेरै ठूलो परिवर्तन भने ल्याइरहेका छौँ । क्रमैसँग सुधार गर्दै जाने हो । निक्कै पिछडिएको राप्तीसोनारीमा स्थानीय तहको निर्वाचनपछि विकासले गति लिइरहेको छ ।

तपाईको गाउँपालिकाबाट जनताले अनुभूति गर्नसक्ने काम के के भए ?

हाम्रो गाउँपालिकाबाट भइरहेको विकास निर्माण र सेवा प्रवाह स्थानीय जनताको माग र आश्यकताअनुरुप नै सञ्चालन भएको हुँदा प्रत्येक विकासका कार्यहरुबाट गाउँपालिकाबासीले सकारात्मक सन्तुष्टिको अनुभुति गरेका छन् भन्ने हामीलाई विश्वास छ । हामीलाई अप्ठ्यारो पर्दा सरकार उपस्थित रहन्छ भन्ने जनअपेक्षालाई पूरा गर्न हामी निरन्तर तल्लिन भएर लागेका छौँ । सडक सञ्जाल निर्माण, ग्रामिण विद्युतीकरण निर्माण तथा विस्तार, शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाई तथा कृषि र पशुपालन क्षेत्रमा गरिएका कार्यहरु प्रशंसा गर्न योग्य रहेका छन् । निर्वाचन अगाडि प्रतिबद्धता गरेका कुराहरू पूरा गर्न सोचेजस्तो सजिलो रहेनछ ।

कानुन मान्नै पर्यो, प्रतिबद्धताअनुरूप समृद्ध पालिका निर्माणका लागि आधार तय भएको छ । मैले चुनावको बेलामा राप्तीसोनारी गाउँपालिकालाई अन्य गाउँपालिकाभन्दा कमजोर बनाउँदिन भनेर भनेको थिए । चुनावमा जनताका बीचमा गरेका वाचा र दिएका आश्वासनबमोजिम समृद्ध राप्तीसोनारी निर्माणका लागि अनवरत रूपमा लागिपरेको छु । सबै कामहरू पूरा भएको छैनन्, अपूरा कामहरू पूरा गर्ने तयारीमा जुटेको छु । पक्की सडक निर्माण, कृषि, पशुलगायत गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य सुविधाजस्ता धेरै क्षेत्रमा नागरिकले अनुभूति गर्नेगरी महत्वपूर्ण कामहरु भएका छन् ।

भौतिक पूर्वाधारमै बढी महत्व दिँदा अरू क्षेत्र ओझेलमा परेका त छैनन् नि ?

कुनै पनि क्षेत्र ओझेलमा परेका छैनन् । भौगोलिक विकटता भएका गाउँमा भौतिक पूर्वाधार समृद्धिको पहिलो खुट्किलो हुँदोरहेछ । जहाँ सडक, बिजुली, सिँचाइ, सञ्चार, पिउने पानी, खेलकुद लगायतमा सुविधा र विकास हुँदैन त्यहाँ समृद्धि हुँदैन । तर पनि भौतिक पूर्वाधारलाई मात्र ध्यान दिइएको छैन । पालिकावासीको सामाजिक, आर्थिक, साँस्कृतिक पक्षमा सुधार ल्याउन उत्तिकै ध्यान दिइएको छ । बालबालिका, महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई समेत कार्यक्रमले सम्बोधन गरेको छ । हामी क्रियाशिल भएर समग्र गाउँपालिकाको समुचित विकासमा लागेका छौँ ।

प्रदेश र संघीय सरकारबाट गाउँपलिकालाई सहयोग र समन्वय कस्तो रह्यो ?

सङ्घ, प्रदेश र स्थानीय सरकारबीचको सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तबमोजिम ठूला पूर्वाधारको निर्माण तथा धेरै लागत पर्ने आयोजनामा सङ्घ र प्रदेश सरकारसँग आवश्यक सहयोग र सहजीकरणका लागि हामी पहल गरेका छौं । सङ्घ र प्रदेश सरकारसँग हामीले जति अपेक्षा गरेका थियौं, त्यो अनुसारको सहयोग देखिएन । हाम्रो गाउँपालिका बाँकेको दुर्गम क्षेत्रमा पर्दछ । सङ्घीय र प्रदेश सरकारमार्फत ठूला आयोजनाका लागि बजेट प्राप्त भएका छैनन् । सीमित स्रोत र साधन भए पनि काम गर्ने विषयमा विचार र पार्टी बिर्सिएर काम गरेको छु ।

अझै पनि यहाँको बसोबासलाई व्यवस्थित गर्नुपर्छ । नालासहितका सडकहरु फराकिला बनाउनुपर्नेछ । हामीसँग पर्याप्त बजेट छैन । हामीसँग आन्तरिक स्रोत पर्याप्त नहुँदा ठूला आयोजनाका लागि सङ्घ र प्रदेश सरकारकै मुख ताक्नुपर्ने अवस्था छ । तर, सङ्घीय र प्रदेश सरकारबाट हामीले अपेक्षित सहयोग प्राप्त गर्न सकिरहेका छैनौं । समृद्ध राप्तीसोनारी गाउँपालिका निर्माण गर्नका लागि सङ्घ र प्रदेश सरकारमार्फत स्थानीय सरकारलाई हेर्ने दृष्टिकोण अलि फराकिलो हुनु जरुरी छ ।

 

तपाईको कार्यकालभित्र राप्तीसोनारी गाउँपालिकालाई कस्तो बनाउने योजनामा हुनुहुन्छ ?

धेरै सम्भावना बोकेको यस गाउँपालिकालाई हामी विकसित समृद्ध र अरुले अनुकरण गर्न योग्य गाउँपालिका बनाउने अभियानमा छौँ । यसका लागि योजनाबद्ध तरिकाले काम गरिरहेका छौँ । अझ यहाँको प्रमूख सम्भावनाको क्षेत्र पर्यटन हो । यहाँ धेरै जातजातीको मिश्रित संस्कृति र रहनसहन छ । बाँके राष्ट्रिय निकुञ्जको ठूलो हिस्सा हाम्रै गाउँपालिकाभित्र पर्दछ । गाउँपालिकाभित्र होमस्टे खुल्ने क्रम पनि सुरु भएको छ । गाउँपालिककै वडा नं. ९ बुच्चापुरमा हात्तिसार स्थापना भएको छ । यसले पर्यापर्यटनका प्रशस्त आधारहरु रहेकाले हाम्रो गाउँपालिकालाई पर्यटन पालिकाका रुपमा विकास गर्न सकिन्छ ।

गाउँपालिकाको बीच भागबाट राप्ती नदी बगेको छ, जहाँ जल पर्यटनको प्रचुर सम्भावना देखिन्छ । त्यस्तै वडा नं. १ मा पर्ने गाइलेक पनि पर्यटनको प्रचुर सम्भावना बोकेको क्षेत्र हो । जहाँबाट नेपालगन्ज शहरको दृष्यावलोकन गर्न सकिन्छ । हाम्रो गाउँपालिका कृषि उत्पादनका हिसाबले उर्बर भूमि हो । विभिन्न किसिमको हावापानी र सोही अनुसारको उत्पादन हुने भएकाले व्यवसायिक कृषि तथा पशुपालनको सम्भावनालाई पनि रणनीतिक योजनाका रुपमा लिएका छौं । यहाँ कृषि तथा पशुपालनका क्षेत्रमा पनि अध्ययन अनुसन्धानहरु गर्न सक्ने गरी विकास गर्न सकिने प्रशस्त आधारहरु रहेका छन् ।

शिक्षा, स्वास्थ्य र विद्युत्जस्ता महत्वपूर्ण विकास पूर्वाधारका क्षेत्रमा कसरी अघि बढिएको छ ?

शिक्षाको क्षेत्रमा पनि उल्लेखनीय रूपमा काम भइरहेको छ । कोभिड–१९ का कारण लामो समयदेखि बन्द रहेका विद्यालयका लागि चाहिने आवश्यक पूर्वाधार चर्पी, विद्यत् तथा कक्षाकोठालाई व्यवस्थित गरी पठनपाठनको व्यवस्था मिलाइएको छ । आवश्यकता अनुसार बालविकास केन्द्रहरु थप गरेर सञ्चालनमा ल्याइएको छ । यस गाउँपालिकामा रहेका विद्यालयलाई स्तरोन्नति गर्दै लैजाने नीतिअनुरूप काम भइरहेको छ । पालिकाका सम्पूर्ण वडामा विद्युतीकरण सकिएको छैन, त्यसलाई पनि पुरा गर्नुपर्नेछ । सबै वडाका टोलटोलमा विद्युत पोल जडान गरेर बत्तीको व्यवस्था गरी उज्यालो पालिकाका रूपमा विकसित गर्न लागिपरेका छौं । पालिकाभित्र रहेका स्वास्थ्य चौकीहरुको स्तरोन्नति र १५ शैय्याको राप्तीसोनारी अस्पताल सञ्चालनमा ल्याएका छौं । सबै स्वास्थ्य चौकीमा खानेपानी, बिजुली र उपचारका लागि चाहिने आवश्यक सामग्रीको व्यवस्था गाउँपालिकाले गरिरहेको छ ।

काम गर्दा के कस्ता समस्या र चुनौती सामना गर्नुपरेको छ ?

राप्तीसोनारीमा शिक्षाको कमीका कारण अहिले पनि अशिक्षितको ठूलो जमात छ । यसकारण यहाँ काम गर्दा केही समस्या र चु्नौती सामना गर्नु सामान्य कुरा भइसकेको छ । गाउँघरमा देखिएका यस्ता समस्याले काम गर्न धेरै कठिनाइ हुने गरेको र चुनौती पनि थपिँदै जाने गरेकोले केही समयका लागि समस्या आउँछन् । सम्झाई बुझाई गरेर निर्माण तथा विकासका कार्यलाई गति दिने कार्य निरन्तररूपमा भइरहेको छ । तर, पूर्णरुपमा समृद्ध गाउँपालिका बनाउन अझै समय लाग्ने भएकोले यसलाई ठूलै चुनौतीका रूपमा लिएको छु ।

अबको बाँकी अवधिमा के–कस्ता काम गर्ने योजना बनेका छन् ?

स्थानीय स्रोतसाधन परिचालन र जनसहभागिता नै स्थानीय तहको मूल मन्त्र हो । यो मूल मन्त्र अपनाएर पालिकाले स्थानीय स्रोत साधनलाई मुख्य प्राथमिकता दिएको छ । योजना छनोट तथा कार्यान्वयनमा पनि पालिकावासीको सहभागितालाई मुख्यरूपमा ध्यान दिइएको छ । पालिकावासीसँग छलफल गरेर स्थानीयवासीको आवश्यकताअनुसार योजना तर्जुमा, छनोट र कार्यान्वयन हुन्छन् । वडाले पालिकामा ल्याएका योजनालाई प्राथमिकता दिइएको छ । योजना कार्यान्वयमा पनि पालिकावासीको महत्वपूर्ण भूमिका रहन्छ । पालिकावासीको तत्काल र नगरी नहुने आवश्यकता सडक स्तरोन्नति, कालोपत्रे, पुल तथा कल्भर्ट निर्माण तथा कृषि र पशुपालनमा आधुनिकीकरण गर्नसके आयआर्जनका बाटा खुल्ने थिए ।

कोभिड–१९ को नियन्त्रण रोकथाम तथा व्यवस्थापनका लागि के के काम गर्नुभयो ?

कोरोना भाइरसको जोखिमबाट मुक्त रहन हामीले विभिन्न किसिमका कार्यहरु सम्पन्न गर्यौँ । गाउँपालिकास्तरमा जनचेतना जगाउने, वडास्तरमा क्वारेन्टिन पोष्टहरु निर्माण, सुरक्षा सामाग्रीहरुको व्यवस्था, हेल्थ डेस्क सञ्चालन, बढि जोखिमका अवस्थामा गाउँपालिका सिल गर्ने, सरोकारवाला सम्पूर्ण संयन्त्रको परिचालन, राहत वितरण, जिल्ला बाहिर रहेका स्थानीय नागरिकहरुको उद्धार, नियमित औषधी सेवन गर्नेहरुलाई औषधी वितरणको काम गर्यौँ । जसको फलस्वरुप हालसम्म हाम्रो गाउँपालिकामा कोही पनि सङ्क्रमित भएको अवस्था छैन । हिजोको हाम्रो काम गराईबाट देखिएका सफल पक्षको निरन्तरता र कमीकमजोरीलाई केलाउँदै, हटाउँदैै नयाँ योजनाका साथ अगाडी बढ्नुपर्छ भन्ने लागेको छ । कोरोना महामारी फैलिरहेकै बेला हामीले विपद् व्यवस्थापन समितिमार्फत कोरोना नियन्त्रणका कार्यक्रमहरु सञ्चालन गरेका थियौं ।

राहत वितरणसमेत अन्यत्रजस्तो हचुवाको भरमा नभएर वास्तविक पीडितलाई वितरण गर्न सकेकाले हामीकहाँ अन्यत्रजस्तो विवाद देखिएन । लकडाउनको अवस्थामा क्वारेन्टाइनमा मान्छे राख्न सजिलो थिएन, बाहिरबाट आउने व्यक्तिलाई क्वारेन्टिनमा राख्न कन्भिन्स गर्न गा¥हो थियो । जिल्ला बाहिर, भारत तथा तेस्रो मुलुकबाट आउनेको नागरिकहरुलाई सुरक्षितरुपमा क्वारेन्टिनमा राखेर चेकजाँचपछि घर पठाउन सफल भयौं । हामीले हाम्रा नागरिकहरुलाई अलपत्र र बिचल्ली पर्न दिएनौं । यसमा सबै क्षेत्रको साथ र सहयोग रह्यो । कोरोना नियन्त्रणमा साथ दिने सबैलाई धन्यवाद पनि दिन चाहन्छु । अहिले कोभिडको दोस्रो चरण पुनः सुरु भएको छ । यसको तयारीलाई पनि हामीले गम्भीरताका साथ लिएका छौं ।

कोभिड–१९ पछि बेरोजगार जनशक्ति व्यवस्थापनमा गाउँपालिकाले के गरिरहेको छ ?

कोरोना भाइरस संक्रमणपछि भारत लगायत तेस्रो मुलुकबाट धेरै व्यक्तिहरु गाउँ फर्किनुभएको छ । गाउँमा रोजगारीका अवसरहरु निकै कम छन् । व्यक्तिगत रोजगारी निकै चुनौतिपूर्ण छ । उद्योग छैनन, सबै ठाउँमा विजुली छैन । गाउँमा रहेको बेरोजगार जनशक्तिलाई व्यवस्थापन गर्न समस्या भएको छ । कोरोनापछि सबैभन्दा ठूलो समस्या बेरोजगारी नै हो । हामी व्यवस्थापनका लागि लागेका छौं तर, सोचेंअनुसार सकिरहेका छैनौं । सङ्घीय र प्रदेश सरकारले रोजगारीका कार्यक्रमहरु सञ्चालन नगरेसम्म पालिका एक्लैले धान्न सक्ने अवस्था छैन । हामीलाई सङ्घीय र प्रदेश सरकारको साथ चाहिएको छ । अनिमात्रै केही गर्न सकिएला ।

अन्त्यमा यहाँलाई केही भन्नु छ ?

अहिलेसम्म गाउँपालिकाको विकासमा यहाँका राजनीतिक दल, जनता, नागरिक समाज, कर्मचारी लगायत सबै पक्षबाट धेरै सहयोग भएको छ । काम गर्दा केही कमजोरी हुनसक्छ । त्यसमा यहाँका सबै सरोकारवालाको सुझावको अपेक्षा गरेको छु । हामीले काम गर्ने क्रममा केही कुराहरु छुटेका भए वा गाउँपालिकासँग केही समस्या र सुझावहरु भएमा हामीलाई सीधा सम्पर्क गरेर आफ्ना कुराहरु राख्न सक्नुहुन्छ । काम गर्ने क्रममा धेरै सहयोग पनि प्राप्त भएको छ । त्यसका लागि धेरै धन्यवाद दिन चाहन्छु । विकासको काममा सबै एकसाथ अघि बढ्ने हाम्रो योजना छ । गाउँपालिकाको विकासका लागि जनताबाट प्राप्त सुझावलाई ग्रहण गर्नेछु । अन्त्यमा, हामी जनताको सेवामा जुटिरहेका छौँ, सिमित स्रोत र साधनको समूचित प्रयोगमार्फत गाउँपालिका विकसित र समृद्ध बनाउन हामी निरन्तर क्रियाशिल रहेको सन्देश दिन चाहन्छु । –समृद्ध राप्तीसोनारी बुलेटिनबाट