Loading... आजः ५ असार २०७८, शनिबार
राप्तीसोनारी श्रृंखला

मिश्रित संस्कृति : पर्यटनमा समृद्धि

मिश्रित संस्कृति : पर्यटनमा समृद्धि

बाँके । पर्यटन विकास र समृद्धिको मूल आधार हो । पर्यापर्यटनको माध्यमबाट समृद्धिको यात्रा तय हुन्छ । पर्यटनलाई प्राथमिकतामा राखेर मात्र विकास र समृद्धि हासिल गर्न सकिन्छ भन्ने उदाहरण संसारमा थुप्रै छन् । आफ्नो भूमीको विशेषता, सौन्दर्य र फरकपनलाई जसले अरुको नजरसम्म पुर्याउन सक्दछ, उसैले आर्यआर्जन र समृद्धिको श्रृंखला शुरु गर्दछ । आफ्नो व्यस्त दैनिकीका बाबजुद् केही समय निकालेर प्राकृतिक तथा मानव निर्मित दृश्य वा परिवेशहरुको अवलोकन गर्न लालायित मानव जगतलाई आकर्षित गर्ने पर्यत्न गरेर पर्यटकीय सम्भावनालाई उजागर गर्न सकिनेमा दुई मत छैन ।

संस्कार, संस्कृति, रहनसहनदेखि प्राकृतिक छटा, मानवनिर्मित विशेष वा अद्वितीय संरचना वा परिवेशलाई नियाल्न आतुर आँखाहरुको पहिचान गर्न जरुरी हुन्छ । ‘बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन’ भनेझै आफूसँग भएको विशेषताको यत्रतत्र चर्चा गरिएन भने समृद्धिको मूल आधार ‘पर्यटन’ले फड्को मार्नै सक्दैन । बाँके पनि पर्यटनको प्रचुर सम्भावना बोकेको जिल्ला हो । यहाँ थुप्रै पर्यटकीय क्षेत्रहरु छन्, जुन कतिपय पहिचान भएर चर्चामा छन् त कतिपय ‘गुमनाम’ । जिल्लाका आठ वटा स्थानीय तहमध्ये राप्तीसोनारी गाउँपालिका पर्यटनको ‘भर्जिन ल्याण्ड’ हो ।

राप्ती नदी यसकै मध्यभाग भएर बग्दछ । बाँके राष्ट्रिय निकुञ्ज यसकै काखमा छ । चुरे क्षेत्रले यसको वातावरणीय गुरुत्वलाई अझ मजबुत् बनाइदिएको छ । गाईलेकको थुम्कोबाट स्वर्णीय दृश्यावलोकनले मनलाई आनन्दित बनाउँदछ । अगैयामा राप्ती नदी माथि बनेको पुल, सिक्टाको हेडवक्र्स र राप्ती नदीको किनारमा विकास भएको ‘पिकनिक स्पट’ आन्तरिक पर्यटकका रोजाई बनेका छन् । नागरिकको विश्वाससंग गहिरो गरी जोडिएको भुवरभुवनी मन्दिर यहाँको आस्था पुञ्ज हो । यी बाहेक राप्तीसोनारीमा पर्यटन प्रबद्र्धनको मुख्य हिस्सा बन्न सक्ने सशक्त पक्ष यहाँको मिश्रित बसोबास हो ।

करिब ७५ हजार जनसंख्या रहेको राप्तीसोनारी गाउँपालिका जनसंख्याका हिसावले नेपालकै सबैभन्दा ठूलो गाउँपालिका हो । जसरी यहाँको जनसंख्या ठूलो छ, त्यसरी नै बसोबासमा विविधता छ । भूगोल पनि ठूलो रहेको यो गाउँपालिकामा फरक फरक जात, धर्म, सम्प्रदायका मानिस बस्दछन् । जातीय हिसावले जुन विविधता छ, निश्चय नै संस्कृति संस्कार पनि त्यही किसिमको छ । जहाँ धेरै जातजाती, धर्म, सम्प्रदायको मानिस बस्दछन्, ती ठाउँहरु सांस्कृतिक दृष्टिकोणले सम्पन्न हुन्छन् । थारु जातीको बाहुल्यता छ यो क्षेत्रमा । त्यसबाहेक पहाडी समुदायको पनि ठूलो संख्या छ । मधेशी बस्ती पनि यो गाउँपालिकाको हिस्सा हो । यहाँ म्स्लिम पनि छन् ।

यहाँको मिश्रित संस्कृति पर्यटनको मुख्य आधार बन्न सक्दछ । यद्यपि अहिले पनि थारु समुदायले यो अभ्यास गरिरहेका छन् । धेरथोर आन्तरिक पर्यटकहरुलाई यसले आकर्षित गरिरहेको छ । राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ८ (ढकेरी नजिकै) नयाँ गाउँमा ‘नयाँ गाउँ होमस्टे’ छ । थारु समुदायले आफ्नो रैथाने संस्कार, संस्कृति, जीवन शैली, रहनसहनलाई दुरुस्त गर्ने कोशिस गरेका छन् । यसलाई अझ व्यवस्थित गरेर लैजान सके राम्रो सम्भावना देखिन्छ । यद्यपि यसको मौलिकपनमा अझ सजग बन्दै प्रचारप्रसारलाई बढावा दिइएको खण्डमा थारु जातिको विशेष सस्ंकार र संस्कृतिमा आधारित यो ‘होमस्टे’ पर्यटनका क्षेत्रमा गतिलो समृद्धि हासिल गर्ने माध्यम बन्ने कुरामा सायदै शंका होला ।

 

थारु जातिले खाने परम्परागत परिकार, उनीहरुको सांस्कृतिक पहिरन, नाचगान र घरमैत्री वातावरण दिने कुरालाई ध्यान दिँदै बाँके राष्ट्रिय निकुञ्जभित्रै रहेको यो ‘होमस्टे’ले निकुञ्जमा ‘हात्ती सफारी’ वा निकुञ्जभित्र विचरण गर्नेे अभियानसंग पर्यटकलाई जोड्न सकेमा पर्यटन क्षेत्र अझ फस्टाउन सक्दछ । पूर्व पश्चिम राजमार्गसंगै जोडिएको यो गाउँ पहुँचका दृष्टिकोणले पनि उपयुक्त स्थानमा छ । अहिले निकुञ्ज घुम्न आउने पर्यटकहरु पनि यहीँ बस्न थालेका छन् । दंगाली थारु संस्कृति, परिकार र अध्ययनका लागि नयाँ गाउँ ‘होमस्टे’मा आउनेहरु बढ्दै गएको होमस्टेकी अध्यक्ष टिकाकुमारी थारु बताउँछिन् । महिलाहरुको अगुवाईमा व्यवस्थापन भइरहेको ‘नयाँ गाउँ होमस्टे’मा ढिक्री, अनदीको भात, स्थानीय हाँस, बंगुर, कुखुरा, स्थानीय मदिरा पर्यटकको रोजाईमा पर्ने गरेको छ ।

यहाँ अहिले ११ वटा घरमा ‘होमस्टे’ छ । पाहुनाका लागि थारु समुदायमा लोकप्रिय लाठी नाच, छोक्रा नाच, भ्रmुमा लगायतका नाच देखाइने गरेको थारुको भनाई छ । राप्तीसोनारीको वडा नम्बर ८ कै बालापुरमा पनि पहाडी समुदायले ‘सामुदायिक होमस्टे’ चलाएको छ । साविकको राप्ती अञ्चलको रुकुम जिल्लाका अधिकांश मानिसहरु बसाईसराई गरेर यहाँ आएका छन् । उनीहरुले नै ‘होमस्टे’ सञ्चालन गरेका हुन् । ३६५ घरधुरी रहेको उक्त गाउँमा पाँच वटा घरमा ‘होमस्टे’ सञ्चालन गरिएको छ । मानिसहरु आउने क्रम बढेपछि ‘होमस्टे’को संख्या थप्दै जाने योजना बालापुरबासीको छ । आफ्नै बारीमा उत्पादन गरेको अर्गानिक तरकारी, लोकल कुखुरा, कोदोको राटी, ढिडो लगायत पहाडी खान्की यहाँको विशेषता हो ।

जंगलको बीचमा रहेको शान्त र सुन्दर गाउँमा पहाडी सांस्कृतिक नृत्य पनि देखाइन्छ । पूर्वपश्चिम राजमार्गबाट केहीभित्र ‘उत्तर’तर्फ रहेको यो बस्ती पनि मौलिक खानपान र संस्कृतिका माध्यमबाट पर्यटक भित्र्याउन सक्ने ‘डेस्टिनेशन’का रुपमा देखिएको छ । ‘हामी अहिले सुरुवाती चरणमा छौं, थोरैबाट सुरुवात गरेका छौं, विस्तारै पाहुनाहरु आउन थाल्नुभएको छ,’ बालापुर सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्र विष्टले भने, ‘हाम्रो परम्परागत नाच देखाउँछौं, मौलिक खाना खुवाउँछौं, जंगलको बीचमा शान्त वातारणमा बस्दा पाहुनाहरुले आनन्द महसुस गर्नुहुन्छ ।’ विष्टले संस्कृतिका माध्यमबाट आफूहरु आयआर्जन गर्ने कार्यमा लागेको बताउँछन् ।

रुकुमबाट झरेर राप्तीसोनारीको शमशेरगन्ज, ढकेरी, बालापुर लगायतका क्षेत्रमा बस्दै आएका रुकुमेलीहरु संगठित भएर परम्परागत मयूर, सिंगारु नाच संरक्षण गर्ने अभियानमा लागेका छन् । यो अभियानबाट उनीहरु मौलिक संस्कृतिको संरक्षण त गर्दै छन् नै, नयाँ पुस्तालाई पनि यसतर्फ आकर्षित गर्ने कोशिसमा छन् । यसले संस्कृतिको जगेर्नासंगै आयआर्जनको बाटो पनि खोलिदिएको छ । विभिन्न सभा समारोह, महोत्सबहरुमा मयूर नाचको माग बढ्न थालेको छ । संस्कृतिका माध्यमबाट पर्यटनमा टेवा पु¥याउने उद्देश्य उनीहरुको छ । पाहुनाहरुलाई नाच देखाएर भब्य स्वागतसँगै आयस्रोतको पनि माध्यम बनेको छ, मयूर नाच । साँस्कृतिक विविधिता पर्यटनको मुख्य आधार नै हो ।

पर्यटनमा समृद्धि हासिल गर्न जुर्मुराएका स्थानीय समुदायको संस्कार, संस्कृति संरक्षण सम्बद्र्धनका लागि गाउँपालिकाले पनि यथोचित पर्यत्न गर्नुपर्दछ । गाउँपालिकका सबै वडाहरुमा मिश्रित बसोबास छ । तर, वडागतरुपमा हेर्ने हो भने बहुसंख्यक समुदायको संस्कृति प्रबद्र्धन र प्रचारप्रसारलाई अभियनकै रुपमा अगाडि लैजान जरुरी छ । वडा नं.१ र २ का पहाडी समुदाय, वडा नं.३, ४, ५, ६ र ७ का थारु समुदाय, वडा नं.६ र ७ का मधेशी मुस्लिम समुदाय, वडा नम्बर ८ र ९ का पहाडी समुदायको संस्कार संस्कृतिलाई जगेर्ना गर्न प्रोत्साहित गर्दै त्यसैलाई पर्यटन प्रवद्र्धनको सशक्त माध्यम बनाउन सकिन्छ । गाउँपालिकाका अध्यक्ष लाहुराम थारु साँस्कृृतिक विविधतामा समृद्ध राप्तीसोनारीलाई पर्यटनसँग जोड्न गाउँपालिकाले पनि प्रोत्साहन गरिरहेको बताउँछन् ।

‘आदिवासी थारु समुदायदेखि पहाडी तथा मधेशी मुस्लिम समुदायको पहिचानलाई पर्यटनसंग जोड्न सकिए आर्थिक क्रियाकलाप बढेर स्थानीयको जीवनस्तरमा सुधार आउँछ,’ उनी भन्छन् । संस्कार, संस्कृति जोगाउन लागिपरेका बस्ती समुदायलाई सक्दो सहयोग गरेर साँस्कृतिक पर्यटन प्रवद्र्धनमा लाग्ने थारु बताउँछन् । दाङ, सल्यान, रुकुम, रोल्पा लगायतका पहाडी जिल्लाका मानिसहरु बसाईसराई गरेर बसिररहेको राप्तीसोनारी क्षेत्र संस्कृतिमा धनी छ । यही संस्कृतिलाई पर्यटनसँग जोड्नतर्फ सबैको ध्यान जान जरुरी छ । प्राकृतिक हिसाबले अत्यन्त समृद्ध गाउँपालिकाको पहिचान बनाएको राप्तीसोनारीलाई साँस्कृतिकरुपमा पनि अगाडि ल्याउन सकिए ‘सुनमा सुगन्ध’ हुने कुरा नकार्न सकिँदैन । नवीन गिरी/समृद्ध राप्तीसोनारी बुलेटिनबाट