Loading... आजः १ जेष्ठ २०७८, शनिबार
फस्टाउँदै व्यवसाय

पशुपालनमा आत्मनिर्भरतातर्फ ‘नरैनापुर’

पशुपालनमा आत्मनिर्भरतातर्फ ‘नरैनापुर’

बाँके । दुध बिक्री गर्ने ठाउँ नपाउँदा नरैनापुर–५, हुलासपूर्वाका राजेन्द्र यादव केही समयअघि भारतीय बजारमा निर्भर रहँदै आएका थिए । पर्याप्तरुपमा दुध उत्पादन हुने भए पनि नरैनापुरमा दुध बिक्री गर्ने ठाउँ अभाव र नेपालगन्ज पुर्याउनका लागि बाटो नहुँदा उनी सस्तोमा भारतको ककरदरी, मल्हीपुर र जमुनहा बजारमा सस्तो मुल्यमा दुध बिक्री गर्न बाध्य थिए । दुध बिक्री नहुँदा उनी भैसीपालन व्यवसायलाई कसरी अगाडि बढाउने भन्नेमा सधैँ अलमल र निरास हुन्थे । पशुपालन नै जिविकोपार्जनको मुख्य आधार भए पनि पशुपालनबाट हुने दुध, दही र अन्य परिकारको बिक्री बितरण गर्ने ठाउँ नभएपछि दैनिकी चलाउन पनि समस्या हुँदै आएको यादव बताउँछन् ।

‘कडा परिश्रम गरी गाईभैसी पालेको भए पनि दुध बिक्री गर्ने बजार नपाएर श्रम खेर गइरहेको थियो,’ यादवले भने । नेपालगन्जमा ६० देखि १०० रुपैयाँ प्रतिलिटर बिक्री हुने दुध नरैनापुरमा प्रतिलिटर ४० देखि ५० रुपैयाँमा विक्री गर्नुपर्ने बाध्यता रहेको कृषक यादव बताउँछन् । ‘नेपालगन्ज हाम्रो गाउँदेखि ३८ किलोमिटर टाढा रहेको र बाटोको सुविधा नभएकोले समयमा दुध पुर्याउन नसक्ने भएकोले छिमेकी देश भारतको ककरदरीमा लगेर भारतीय ३०–३५ रुपैयाँमा दुध बेच्नुपथ्र्याे,’ कृषक राजेन्द्र यादवले भने, ‘दुध खरीद गर्ने व्यक्तिले भनेको समयअनुसार दुध पुर्याउन नसके दुध पनि फर्काएर घरमै ल्याउनुपर्छ, अनि खपत नभएर बिग्रेर जान्थ्यो ।’ केही समयअघि नजिकमा डेरी नभएका कारण भारतीय बजारमा लैजानुपर्ने बाध्यता रहेको बताउने यादव नेपालगन्जसम्म दुध विक्री गर्न नपाएको अनुभव सुनाउँछन् ।

बाँके जिल्लाको अति दुर्गम मानिने नरैनापुर गाउँपालिकाको मटेहियादेखि नेपालगन्जसम्म दुध पु¥याउनका लागि यातायात र बाटोघाटोको अभावका कारण महंगो शुल्क तिरेर पशुपालन गरे पनि नाफा पाउन नसकेको यादवले बताए । छरछिमेकबाट ऋण लिएर भैसी र गाई पालेका यादव बजार अभावका कारण लगानी अनुसार नाफा कमाउन नसक्दा चिन्तित भएका बताउँछन् । त्यसैगरि नरैनापुर–४ परसुरामपुरका ज्ञानबहादुर चौधरी पनि दुध बिक्रीका लागि उपयुक्त बिक्री केन्द्र नपाउँदा हैरान थिए । उनले घरमा उत्पादन हुने २० लिटर दुध सस्तोमा बेच्ने गरेका तथा कतिपय अवस्थामा त छिमेकमै निशुल्करुपमा समेत बाँडने गरेको दुखेसो सुनाए । उनलाई पशुपालनमा गरेको लगानी कसरी जोगाउने भन्ने चिन्ताले सँधै पिरोलिरहेको थियो । ‘बाँकेको ग्रामीण क्षेत्र राप्तीपारी दुध बिक्री गर्ने कुनै दुध बिक्री केन्द्र नभएकोले पशुपालनमा आधारित रहेर घरपरिवार चलाउँदै आएका किसानहरुको लगानी समेत घाटामा गइरहेको थियो,’ चौधरीले भने ।

बाटो घाटो, शिक्षा तथा स्वास्थ्यमा समेत पछाडि परेको सो क्षेत्रमा लगानी अनुसार नाफा नहुनु र सम्बन्धित क्षेत्रले कृषकहरुको समस्याका बारेमा ध्यान नदिँदा किसानहरुको पशुपालन व्यवसाय पनि धरासायी हुँदै गएको छ । अन्य कुनै व्यवसाय नभएर पशुपालनबाटै आयआर्जन गरी घरखर्च चलाउन अरुसँग सापट लिएर पशुपालनमा लगानी गरे पनि दुधको बजार नहुँदा सापटी लिएको रकमसमेत तिर्न नसकेको अवस्था सो क्षेत्रमा रहँदै आएको थियो । माथि चर्चा गरिएका पात्र यादव र चौधरीमात्र नभएर त्यस क्षेत्रको पशुपालनमा आश्रित सयौं किसान यसअघि बाटोघाटो र बिक्री केन्द्र नहुँदा समस्या झेल्दै आइरहेका थिए । पहिला जे–जस्तो समस्या भए पनि पछिल्लो समय अवस्था भने फेरिएको छ । संघीयता कार्यान्वयनपछि स्थानीय तहरुमा जननिर्वाचित प्रतिनिधिहरु आएपछि त्यस क्षेत्रको चौतर्फी बिकासको बाटो खुलेको छ ।

अहिले त्यस क्षेत्रमा पनि बाटोघाटोको राम्रो ब्यवस्था भएको छ भने बिद्युत बिस्तारको काम पनि केही मात्रासम्म सम्पन्न भइसकेकोले अन्य ब्यवसायसँगै पशुपालन ब्यवसायको सम्भावना बढ्दै गएको छ । अहिले बिभिन्न वडाहरुमा पशुपालन ब्यवसायका लागि बिधिवतरुपमा दर्ता भएर बाख्रापालन, कुखुरापालन, बङ्गुरपालन, भैसीपालन, गाइपालनदेखि लिएर दुध डेरीसमेत सञ्चालनमा आएका छन् । पछिल्लो समयमा महालक्ष्मी डेरी उद्योग कपिलबस्तुको शाखाको रुपमा नरैनापुर–५ मटेहियामा स्थापना भएको दुध संकलन केन्द्र त्यस क्षेत्रका पशुपालक किसानहरुका लागि बरदान नै सावित भएको छ । पशुपालनमा लगानी गरेर पछुताइरहेका कृृृृृृषकहरु अहिले खुशी छन् । नरैनापुरमा दुध सकलन केन्द्र तथा डेरी नहुँदा भारतीय बजारमा प्रतिलिटर ४० देखि ५० रुपैयाँ बिक्री हुने दुधले अहिले स्थानीयस्तरमै ८० देखि ८५ रुपैयाँमा बिक्री गर्न पाएको स्थानीय कृषक अमरनाथ यादवले बताए ।

दुधको गुणस्तर हेरेर प्रतिलिटर ६० देखि ८५ रुपैयाँसम्ममा बेच्ने गरेको उनले बताए । उनीजस्तै नरैनापुर–५ हुलासपुरवाकै राजेन्द्र यादवले पनि प्रतिदिन आफ्नै घरमा पालेका ६ वटा भैसीहरुबाट उत्पादन हुने २५ लिटरको हाराहारामा दुध बेचेर मनग्य आम्दानी गरिरहेको बताउँछन् । आफनै घरमा उत्पादन हुने २५ लिटर र छरछिमेकबाट समेत संकलन गरेर प्रतिदिन २५० देखि ३०० लिटर दुध महालक्ष्मी डेरी उद्योगमा बेच्ने गरेको कृषक राजेन्द्र यादवको भनाई छ । नरैनापुर–५ मटेहियामा महालक्ष्मी डेरी उद्योग सञ्चालनमा आएदेखि यहाँका सयौं कृषकहरुलाई लाभ पुगेको बताउँदै आफुमात्रै दुध बेचेर प्रतिमहिना ३० हजार रुपैयाँ आम्दानी गरिरहेको उनले बताए । खेती र पशुपालनबाहेक अर्काे कुनै पेशा नभएकोले मेरो घर ब्यवहार चलाउनेदेखि छोराछोरीको शिक्षा, स्वास्थ्य लगायत सम्पूर्ण खर्च पशुपालनले नै धानेको राजेन्द्रले बताए ।

गाउँपालिकामा डेरी स्थापना भएपछि १०० बढी कृषकहरुको आम्दानीको स्रोत पशुपालन नै बनेको महालक्ष्मी डेरी उद्योग मटेहियाका सञ्चालक चन्द्रमणी यादवले बताए । सञ्चालक यादवका अनुसार अहिले प्रतिदिन सरदर १ हजार लिटर दुध संकलन हुने गरेको बताए । अहिले दिनदिनै दुधको कारोबार गर्ने कृषकहरुको संख्या बढदै गएको बताउँदै सञ्चालक यादवले भने, ‘कृषि र पशुपालनमा लगानीको लागि सरकारीस्तरबाट ऋण लगायतको सहयोग हुनसके नरैनापुर पशुपालनमा आत्मनिर्भर बन्न सक्ने प्रवल सम्भावना छ ।’ कृषि र पशुपालनमा बैँकहरुबाट कर्जा लिन सकिने प्रावधान भएको सुनिए पनि कहाँ र कसरी पाउने भन्ने थाहा नभएकोले कृषकहरुले चाहेअनुसार ब्यवसायमा लगानी गर्न नसकेको सञ्चालक यादवको भनाई छ ।

छरछिमेकमा मागेअनुसार ऋण नमिल्ने धितो राख्ने जग्गा र बस्तुभाउ नहुँदा व्यवसायमा चाहेजति लगानी गर्न नसकिएको स्थानीयहरुको भनाई छ । जग्गा भएका किसानहरुलाई पनि सदरमुकाममा केन्द्रित कर्जा दिने बैंकहरु जग्गा धितो लिइ कर्जा लगानी गर्न नमान्ने गरेकोले किसानहरु चाहेअनुसार व्यवसाय गर्न नसकिरहेको सोही ठाउँका स्थानिय वुद्धिजिवी तथा सन्तश्री नुरदास गौसालाका सचिव रामनिवास यादव बताउँछन् । सचिव यादवका अनुसार सदरमुकामका बैंकहरुमा कर्जाका लागि आफ्नो जग्गाको लालपुर्जा लगायतका कागजात लिएर जाँदा राप्ती क्षेत्र विकट भएको भन्दै ऋण दिन अस्वीकार गरी बैँकहरुले फिर्ता पठाउने गरेका छन् । बैङ्कहरुसँग कर्जाका लागि स्थानीय तहले सहजीकरण गरेर किसानहरुको लगानी र क्षमता अभिबृद्धिमा पनि सहयोग गर्न सके कम समयमै पशुपालनमा आत्मनिर्भरता बढाउन सकिने यादवले बताए ।

यादवकै अग्रसरतामा सोही वडामा स्थापना गरिएको सन्तश्री नुरदास गौशालामा अहिले ३०० को हाराहारीमा गाई राखिएका छन् । गौशालामा अन्यत्र स्थानबाट छाडा पशुचौपाया ल्याएर संरक्षण गरेर गौशालाकै ब्यवस्थापनमा दुधजन्य पदार्थ, कम्पोष्ट मल र गाईको मुत्रलाई प्रशोधन गरी गहुँत बनाएर बजारीकरण गर्न सके दर्जनौं स्थानीय नागरिकका लागि रोजगारी सृजना गर्न सकिने सम्भावना रहे पनि सरकारी उदासीनताका कारण योजना सञ्चालनमा समस्या आइरहेको सचिव यादवको भनाई छ । गौशालामा रहेका गाईहरुको गोबरबाट कम्पोष्ट मल बनाउने र स्थानीयहरुले आफ्नो घरमा पालेको पशुचौपायाहरुको समेत गोबर किनेर कम्पोष्ट मल बनाएर रासायनीक मल प्रयोगमा कमी ल्याएर कृषकहरुको आयआर्जनमा सघाउ पु¥याउने योजनामा लागि परेको गौशाला सचिव यादवको भनाई छ ।

अहिले नरैनापुरमा ३ हजार ८०० भैँसीराँगा र पाडापाडी, २ हजार ६२९ गाई र बाछाबाछी, ७ हजार ५५७ खसीबाख्रा तथा ३३ वटा सँुगर र सन्तश्री नुरदास गौसाला मटेहिया तथा उत्तमपुर गौशाला गेगली गरी २ वटा गौशालामा ७०० बढी गाई गरेर १४ हजार ७०० बढी पशु चौपाया रहेको गाउँपालिकाको कृषि तथा पशुपंक्षी शाखाले जनाएको छ । गाउँपालिकाको कृषि तथा पशुपंक्षी शाखाका अनुसार बिभिन्न वडामा समेत गरेर चालु आ.वको ६ महिनामा १ दर्जन पशुपालन फर्म दर्ता भइसकेका छन् । ३४ हजार ९४२ जनसंख्या रहेको नरैनापुर गाउँपालिका नेपालगन्जदेखि नजिकै रहेकोले सो क्षेत्रमा दुग्ध संकलन, प्रसोधन र बिक्री केन्द्र थप्न सके पशुपालनबाट त्यस क्षेत्रका सयौं किसान आत्मनिर्भर बन्न सक्ने प्रबल सम्भावना छ ।

संघ, प्रदेश र स्थानीय सरकारले यस क्षेत्रमा किसानका लागि पशुपालनमा कुनै सहयोग नगरेकाले चाहेअनुसारको प्रगति गर्न नसकिए पनि पहिलाको अपेक्षामा पछिल्लो समय राम्रै उपलब्धी छ । गाउँपालिकाभित्र पशुपालन गरिरहेका किसानलाई सहयोग पुग्ने र राम्रो गरिरहेका किसानहरुलाई प्रोत्साहन गर्न सके यहाँका कृषकहरु पशुपालनमा चाँडै आत्मनिर्भर बन्ने र सरकारलाई पनि लाखौं राजस्व उठ्ने नरैनापुर–४ का स्थानीय ग्रामीण पशु स्वास्थ्य कार्यकर्ता सब्बीर खानले बताए । गुरमुरत यादव/समृद्धिको यात्रामा नरैनापुर बुलेटिनबाट