Loading... आजः ३१ बैशाख २०७८, शुक्रबार
अन्तवार्ता

‘संघर्षमै कोर्दैछौं नरैनापुरको कर्मरेखा’

‘थकाइँ मानियो भने सफल हुँदैनौं’ भन्ने दृढ संकल्पका कारण हामी संघर्षपूर्ण तरिकाले अघि बढ्यौं । अझ शिक्षामा पछि परेको पालिका भएकाले शैक्षिक सुधारका निम्ति हामी हरसम्भव क्रियाशिल रह्यौं ।
‘संघर्षमै कोर्दैछौं नरैनापुरको कर्मरेखा’
गाउँपालिकामा जनप्रतिनिधिको आगमनसँगै आर्थिक तथा सामाजिक विकास, सुशासन, स्रोतसाधनको न्यायोचित वितरणजस्ता कुरामा नागरिक सन्तुष्ट हुनुहुन्छ । प्रत्येक व्यक्तिका व्यक्तिगत इच्छा, चाहना र स्वार्थ पूरा गर्न नसकिएको होला तर सामूहिक हित र विकासका चाहनालाई अधिक रुपमा पूरा गरिएको छ

नेपालगन्जदेखि करिब ३५ किलोमिटर दक्षिणपूर्व राप्तीपारि भारतसँग सीमा जोडिएको नरैनापुर गाउँपालिका तत्कालीन ६ वटा गाविस कटकुइँया, लक्ष्मणपुर, कालाफाँटा, नरैनापुर, मटेहिया तथा गंगापुर मिलेर बनेको हो । गाउँपालिकाको तथ्याङ्कअनुसार कूल १७२.३४ किमी क्षेत्रफलमा फैलिएको नरैनापुर गाउँपालिका उत्तरतर्फ राप्तीसोनारी गाउँपालिका, पश्चिमतर्फ डुडुवा गाउँपालिका तथा दक्षिण र पूर्वतर्फ भारतको सिमाना जोडिएको छ । यहाँको जनसङ्ख्या करिब ४० हजार हाराहारीे छ । कुनैबेला नेपालगन्जसम्म आउजाउ गर्न पनि भारतीय भूमि प्रयोग गर्नुपर्ने अवस्था थियो । धौ–धौ अथक मेहनतले नेपालगन्जदेखि ३५ किलो मिटरको दुरीमा रहेको नरैनापुर क्षेत्रमा कालोपत्रे सडक बनेको छ ।

बत्तीमूनिको अँध्यारो नरैनापुरबासीको घरमा उज्यालो पसेको छ । जनताको सेवालाई नै ठुलो राजनीतिक सफलता सम्झनुहुन्छ, नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाह । ‘राजनीति कम, जनताको सेवा बढी’ उहाँको आचरणभित्र पर्छ । सडक थिएन सडक पुग्यो, विद्युत थिएन, विद्युत पुग्यो, स्वास्थ्यको कुनै ठेगान थिएन १५ शैय्याको अस्पताल बन्यो र बन्दैछ नरैनापुरबासीको कर्मरेखा । स्थानीय तहको निर्वाचनपछि यस गाउँपालिकाले आफ्ना गाउँपालिकावासीको आर्थिक, सामाजिक र भौतिक विकासमा उल्लेखनीय कार्य गरेको छ । गाउँपालिकाले तीन वर्षको अवधिमा सामाजिक विकास, सुशासन तथा स्रोत–साधनको न्यायोचित वितरणमा जोड दिएको छ । प्रस्तुत छ, नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहसँग गरिएको कुराकानी :

स्थानीय तह गठनदेखि हालसम्म आइपुग्दा गाउँपालिकामा के कस्ता काम भए ?

स्थानीय तहको गठन भई हामी गाउँपालिकाका पदाधिकारीहरु निर्वाचित भइसकेपछि विभिन्न समस्या र चुनौतीसँग जुध्दै जनप्रतिनिधि र कर्मचारीको अथक प्रयासले उल्लेखनीय सफलता हासिल गर्न सफल भएका छौँ । गाउँपालिकाले बनाउनुपर्ने विभिन्न ऐन, नियम, कार्यविधि र निर्देशिका स्वीकृत गरी गाउँपालिका सञ्चालनको लागि आवश्यक कानुनहरुको अभावको अन्त्य गरिएको छ । गाउँपालिकामा विद्युत् पहुँच शून्य भएको अवस्थाको अन्त्य गर्दै नरैनापुरमा विद्युत् विस्तारको पहुँच पुर्याउन सफल भएका छौँ ।

विकास शुन्य थियो । सडक, शिक्षा, स्वास्थ्यजस्ता अत्यावश्यकीय सेवाहरु शुन्यताबाट शुरु गरेका थियौं । ट्रयाक्टरबाट शुरु गरेको यात्राले गाउँपालिकालाई अहिले धेरै परिवर्तन गरेको छ । बस्तीहरु फेरिएका छन् । गाउँ बदलिएको छ । नेपालगन्ज–नरैनापुर सीधा सडक सम्पर्कमा जोडिएको छ । गाउँगाउँमा सडकहरु कतै कालोपत्रे त कतै पिसिसी भएका छन् । विकास नागरिकको चेतनासँग जोडिएको छ । स्थानीय नागरिकलाई गाउँको विकास गर्नुपर्छ भन्ने चेतनासँग गाउँहरु विकासको दिशातर्फ अघि बढिरहेका छन् ।

गाउँपालिकाको शैक्षिक सुधारका लागि शैक्षिक गुणस्तर बढाउन र योजनामा सुशासन प्रवद्र्धन गर्ने काम गरेका छौँ । गाउँपालिकाको प्रशासनीक भवनको निर्माण सुरु भएको छ । आर्थिक र सामाजिकरुपमा पछाडि परेका वर्ग, समुदाय, लिङ्ग र जातिलाई विभिन्न सीप विकास तालिम, सामाजिक सुरक्षा कार्यक्रम, नीति निर्माण तह र विकास निर्माणमा समानुपातिक सहभागितामार्फत आर्थिक र सामाजिक उत्थानका काम भएका छन् । १५ शैय्याको अस्पताल सञ्चालनमा आएको छ । गाउँपालिकाको अभिलेख, तथ्याङ्क र विकास कार्यलाई व्यवस्थित गर्न सफल भएका छौं ।

अहिलेसम्मको काम गराइबाट के कति सन्तुष्ट हुनुहुन्छ ?

सोचेजति सबै काम शतप्रतिशत सम्पन्न गर्न नसकिएको होला । तर, हालसम्मको काम र प्रगतिको समीक्षा गर्दा जनप्रतिनिधिलगायत आमनागरिक सन्तुष्ट हुनुहुन्छ । गाउँपालिकामा जनप्रतिनिधिको आगमनसँगै आर्थिक तथा सामाजिक विकास, सुशासन, स्रोतसाधनको न्यायोचित वितरणजस्ता कुरामा नागरिक सन्तुष्ट हुनुहुन्छ । प्रत्येक व्यक्तिका व्यक्तिगत इच्छा, चाहना र स्वार्थ पूरा गर्न नसकिएको होला तर सामूहिक हित र विकासका चाहनालाई अधिक रुपमा पूरा गरिएको छ ।

पछिल्लो समय नरैनापुरको हरेक क्षेत्रले काँचुली फेर्न थालेको छ । शिक्षा, स्वास्थ्य, कृषिको क्षेत्रमा आत्मनिर्भरताको बाटोमा अगाडि बढिरहेको छ । गाउँपालिकाका सबैजसो बस्तीमा सडक पुगेको छ । अथक मेहनतले बिजुली बाल्न सकेका छौं । स्वास्थ्यको लागि १५ शैय्याको अस्पताल बनाउन सफल भएका छौं । कृषिको क्षेत्रका कृषकहरुको प्रोत्सानको लागि अनुदानको ब्यवस्था गरेका छौं । जनप्रतिनिधि र कर्मचारीको अथक र संघर्षपूर्ण मेहनतका कारण हामी एकपछि अर्को गर्दै सफलतातर्फ अघि बढिरहेका छौं । यसकारण पनि नरैनापुर गाउँपालिकाले काँचुली फेरेको छ ।

स्थानीय तह र प्रदेश तथा सङ्घबीच काम गर्ने क्रममा के कस्तो समन्वय भइरहेको छ ?

सङ्घ र प्रदेश सरकारबाट वित्तीय अनुदान, समानीकरण, समपूरक, सशर्त र विशेष अनुदानको व्यवस्था हुनु, सङ्घ र प्रदेश सरकारबाट समन्वय, निर्देशन र सहयोग उपलब्ध नहुँदा हामीले सोंचेजति काम गर्न सकिरहेका छैनौं । गाउँपालिकालाई प्रदेश तथा सङ्घ सरकारले निकै अन्याय गरिरहेको छ । यसमा हामीलाई निकै दुख लागिरहेको छ । हामीले पटक–पटक हाम्रा समस्याहरुलाई प्रदेश तथा संघमा राखेका छौं । प्रदेश तथा संघबाट हामीलाई आश्वासन आउँछ, बजेट र सहयोग आउँदैन । प्रदेश तथा संघीय सरकारले हामीलाई सहयोग नगरेकै कारण पनि सोचेअनुरुप विकास गर्न सकिरहेका छैनौं ।

 

समृद्ध गाउँपालिका बनाउन के–कस्ता कार्यक्रम र योजना सञ्चालन भइरहेका छन् ?

सुरुवातको चरणमा बस्ने ठाउँ थिएन, कर्मचारीलाई काम गर्न निकै सकस थियो । कर्मचारीको संख्या निकै कम थियो । दरबन्दी पनि उस्तै कम थियो । सानो कोठा भाडामा लिएर हामीले गाउँपालिकाको काम सुरु गरेका थियौं । जनप्रतिनिधि तथा कर्मचारीहरुको प्रयास र इच्छाशक्तिका कारण हामी निरन्तर सफलताउन्मूख भयौं । ‘थकाइँ मानियो भने सफल हुँदैनौं’ भन्ने दृढ संकल्पका कारण हामी संघर्षपूर्ण तरिकाले अघि बढ्यौं । अझ शिक्षामा पछि परेको पालिका भएकाले शैक्षिक सुधारका निम्ति हामी हरसम्भव क्रियाशिल रह्यौं । शैक्षिक सुधारका निम्ति अहिले पनि हामीले लगानीमैत्री वातावरण खोजिरहेका छौं ।

नरैनापुरमा स्वास्थ्यको अवस्था अहिले पनि नाजुक नै छ । हामीले यसलाई निरन्तर सुधार गर्दै अघि बढिरहेका छौं । नरैनापुरमै १५ शैय्याको अस्पतालदेखि सर्पदंश उपचार केन्द्र सञ्चालनमा ल्याउन सकेका छौं । अस्पतालमा एक्सरे÷भिडियो एक्सरे सेवा सुरुवात भएको छ । यसले नरैनापुरवासीलाई सामान्य औषधोपचारका लागि नेपालगन्ज पुग्नुपर्ने बाध्यताको अन्त्य गरेको छ । जिल्लामै पहिलो पटक जय किसान माविमा १० जोड दुई कक्षा सञ्चालनमा आएको छ । यसले नरैनापुरका विद्यार्थीहरुलाई उच्च शिक्षाका लागि टाढा जानुपर्ने बाध्यताको अन्त्य गरेको छ । कृषि प्राविधिकतर्फ १५ महिने जेटिए कक्षा नरैनापुरमै सञ्चालनमा ल्याउन सफल भएका छौं । यसले आगामी दिनमा नरैनापुरको शैक्षिक गुणस्तरले थप फड्को मार्नेछ ।

नरैनापुरमा विजुली बत्ती थिएन । २७ बर्षसम्म पुरा नभएको विद्युतीकरण २७ दिनमा पुरा गर्न सफल भएका छौं । नेपालगन्ज पुग्न भारतको बाटो प्रयोग गर्नुपर्ने अवस्थाको पूर्णरुपमा अन्त्य भएको छ । पालिकाभित्रका सडक निर्माणले गति लिएका छन् । नरैनापुर–अगैया २८ किलोमिटर सडक निर्माणका लागि डीपीआर सम्पन्न भएर बाँकी काम अघि बढ्ने चरणमा छ । राप्ती नदीको पिप्रहवा–खडैचा पक्की पुल निर्माणका लागि डीपीआर निर्माणको काम भइरहेको छ । नेपाली रुपैयाँ नसाटिने अवस्थाको अन्त्यसँगै नरैनापुरमै बैंक स्थापना भएपछि हालसम्म सात हजार बढीले बैंक खाता खोलेको तथ्यांक हामीसँग छ । हामीले सामाजिक सुरक्षा भत्तालाई सबैको बैंक खातामा पुर्याउन सफल भएका छौं । यस्ता धेरै क्षेत्रमा सकारात्मक र परिवर्नतका कामहरु भइरहेका छन् ।

यो गाउँपालिका जिल्लाका आठवटै स्थानीय तहमध्ये सबैभन्दा विकट र विकासका दृष्टिले पछिपरेको पालिका हो । अहिले गाउँपालिकासम्म जाने सडक कालोपत्रे गर्ने कार्य भइरहेको छ । गरिब उत्थानका लागि रोजगारी सिर्जना गर्न विभिन्न सीप विकासका कार्यक्रमहरु सञ्चालन गरिएको छ । जनतालाई दिने सेवा सुविधामा कुनै कञ्जुस्याइँ गरिएको छैन । स्वास्थ्य, शिक्षा र कृषिमा ध्यान दिएका छाँै । नागरिकहरुलाई सकेसम्म छिटो र छरितो तरिकाले सेवा दिइरहेका छौँ । हामी निर्वाचित भएर आएको तीन वर्षको अवधिमा १५ किलोमिटर सडक पक्की बनाएका छौं । यो गाउँपालिका सडक पूर्वाधारको हिसाबले महत्वपूर्ण काम हो । हामीसँग आन्तरिक आम्दानीको श्रोत छैन । कुनै एउटा क्षेत्रको विकासभन्दा पनि गाउँपालिकाको समग्र क्षेत्रको विकास नै हाम्रो प्राथमिकता हो ।

कृषि, शिक्षा, स्वास्थ्य, सडक, सिँचाइ क्षेत्रको विकास आदि हाम्रा विकासका प्राथमिकता हुन् । अझ हामीले रोजगारी सिर्जना गर्नका लागि उद्योग स्थापनालाई प्राथमिकतामा राखेका छौं । उद्योग सञ्चालन हुँदा स्थानीय नागरिकहरुले रोजगारी पाउने र त्यसले नागरिकको जीवनस्तरमा सुधार ल्याउने देखिन्छ । त्यसका लागि हामीले १०८ बिगाह जग्गा छनौछ गरिसकेका छौं । उद्योग स्थापनाका लागि हामी प्रस्ताव आह्वान गर्नेछौं । त्यस्तै ३५ बिगाह जग्गामा गौशाला निर्माण हुने क्रममै रहेको छ भने नरैनापुरमा रंगशाला निर्माणको कामलाई पनि अघि बढाएका छौं । अबको अवधिमा गाउँपालिकाको सबै सुकुम्बासी, भूमिहीन र अव्यवस्थित जग्गाको समस्या समाधानका लागि हामीले पहल गरिरहेका छौं । त्यस हिसाबले गाउँपालिकाका धेरै कामहरु पूरा भएको जस्तो लाग्छ ।

कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनमा गाउँपालिकाले कसरी काम गरिरहेको छ ?

कोरोना भाइरसबाट बच्न, रोकथाम तथा नियन्त्रणका लागि सीमित स्रोतसाधन र जनशक्तिका बीच पनि महत्वपूर्ण कार्यहरु भएका छन् । कोरोनाबाट बच्न आमनागरिकलाई आवश्यक सतर्कता र सावधानीका लागि जनचेतना जगाउनुको साथै प्रत्येक नागरिकको स्वस्थ आनीबानीका लागि हात धुने साबुन र मास्क वितरण गरिएको छ । भारत तथा तेस्रो मुलुकका साथै जोखिमपूर्ण क्षेत्रबाट घर फर्किएका नागरिकलाई क्वारेन्टाइनमा राखी आरडीटी तथा पीसीआर परीक्षणपश्चात् जोखिममुक्त बनाएर होम क्वारेन्टाइनमा पठाउने व्यवस्था गरेका थियौं । भारतबाट फर्किने नागरिकहरुको सीमामा भीड लागेको थियो । हामीलाई उनीहरुको व्यवस्थापन निकै चुनौतीपूर्ण पनि थियो ।

नेपाल सरकारद्वारा घोषित बन्दाबन्दी सफल बनाउन गाउँपालिकाको नेपाल–भारत सीमा क्षेत्रका साथै विभिन्न नाकामा सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीहरु खटाएर कोरोनाबाट बच्न स्वास्थ्य शिक्षा प्रदान गरिएको थियो । हामीले यो अवधिमा आफ्नै लगानीमा पीसीआर परीक्षणका लागि किट किनेर पनि नागरिकको स्वास्थ्य परीक्षण गर्यौँ । कुनैबेला कोरोनाको केन्द्रबिन्दु बनेको बाँके नरैनापुरलाई विस्तारै कोरोनामुक्त बनाउन सफल भयौं । एकातिर संक्रमित बढिरहेका थिए भने अर्कातर्फ क्वारेन्टाइनमा बसेका मानिसहरु पनि धमाधम भाग्न थालेपछि स्थिति नियन्त्रणमा लिन हामीलाई हम्मेहम्मे परेको थियो । भारतबाट एकैपटक ८०० जना नागरिकहरु सीमाबाट भित्रिएर नेपाल आइपुगेपछि हामीले ठूलो समस्या झेल्नुपरेको थियो । हामी तीन महिनासम्म त राम्ररी सुत्नसमेत पाएनौं । जनताको साथले हामीले कारोनालाई जित्यौं । त्यो हाम्रा लागि सुखद् क्षण बन्यो ।

कोरोना संक्रमणको सुरुवाती अवस्थामा त हामी निकै अताल्लिएका थियौं । भारतीय सिमाबाट सम्झाएर आफ्ना नागरिकहरुलाई क्वारेन्टाइनमा ल्यायौं, बेलुका भागेपछि प्रहरी लिएर खोज्न जानुपर्ने अवस्था आयो । समुदायमा सरेर झन् महामारी फैलँदै गाउँ नै सखाप पार्ने हो कि भनेर प्रधानमन्त्री र प्रदेशलाई पत्र लेखेका थियौं । हामीसँग न डाक्टर न राम्रो स्वास्थ्य सेवा न सरकारको सहयोग थियो, हामीसँग मात्रै तनाबको हिसाब थियो । हामी गाउँ नै सखाप हुन्छ भन्ने डरले पागलझैं भएका थियौं । त्यति हुँदाहुँदै पनि हामी विचलित नभएर कोरोनाको त्यो सन्त्रासलाई व्यवस्थापन गर्न सफल भयौं । यो अवधीमा हामीलाई सञ्चार क्षेत्रको सहयोग र भूमिका निकै महत्वपूर्ण रह्यो । अहिले फेरि कोरोना संक्रमण तीव्ररुपमा फैलिएको छ । यसका लागि हामीले पालिकास्तरको तयारीलाई व्यवस्थित गरिरहेका छौं ।

यो अवधिसम्म आइपुग्दा काम गर्दा के कस्ता चुनौती भोग्नुभयो ?

राज्यको पुनःसरचनासँगै नरैनापुर गाउँपालिकाको स्थापना भएपछिको पहिलो स्थानीय सरकार गठन भई तीन वर्षमा विभिन्न चुनौतीको सामना गर्दै गाउँपालिकाप्रति आमनागरिकको आवश्यकता र अपेक्षालाई मूर्तरुप दिनुपर्ने ऐतिहासिक जिम्मेवारी हाम्रो काँधमा छ । स्थानीय तहको अधिकारक्षेत्र तथा जिम्मेवारी कार्यान्वयन गर्न आवश्यक विभिन्न ऐन, नियम कानुनहरुको अभाव तथा नीतिगत अस्पष्टता, कर्मचारी समायोजनको प्रभाव तथा प्राविधिक जनशक्तिको अभावबीच पनि यस गाउँपालिकाले यो तीन वर्षे कार्यकालमा महत्वपूर्ण सफलता प्राप्त गरेको छ । गाउँपालिकाको समृद्धि, आर्थिक विकास र उन्नतिमा सहभागी गराउन कोरोना संक्रमणपछि युवाहरुलाई रोजगारीको सुनिश्चितता गर्नु मुख्य चुनौती देखिएको छ । स्थानीय तह एक्लैले बेरोजगार जनशक्तिलाई रोजगार दिनसक्ने अवस्था छैन । यसमा प्रदेर तथा संघीय सरकारको पनि सहयोग र सहकार्य आवश्यक छ ।

हालसम्मको अवधिमा गाउँपालिकाबासीले स्थानीय सरकारबाट आशा गरेबमोजिम प्रतिफल प्राप्त गरे कि गरेनन् ?

पूर्ण सन्तुष्ट हुने अवस्था छैन । अझै धेरै काम बाँकी छन् । ती अबको अवधिमा पूरा गर्न हरसम्भव प्रयास रहनेछ । जनताले अहिलेसम्म भएका कामबाट स्याबासी दिएका छन् । काम गर्ने दौरानमा जनताबाट राम्रो ‘रेस्पोन्स’ प्राप्त भएको छ । जनताका असीमित इच्छा, चाहना र सपना हुन्छन् । ती सबै एकैपटक पूरा गर्न सकिँदैन । विकासको चाहना र समृद्धिको यात्रा कहिल्यै टुङ्गिदैन । अब अधुरा काम पूरा गर्ने र जनतासँग गर्छु भनेका काम सम्पन्न गर्ने दिशामा छौँ । आशा छ दुई वर्षको बाँकी अवधिले सन्तुष्ट हुने आधार दिलाउनेछ । यसै सन्दर्भमा जनताबाट निर्वाचित भई जिम्मेवारी सम्हाल्दै गर्दा हामीले धेरै कामहरु पूरा गरेका छौं र बाँकी कामहरु दुई वर्षमा पूरा हुने देखिएको हुँदा नागरिकको आशाबमोजिम नै प्रतिफल प्राप्त भएको अनुभूति भएको छ ।

अबको बाँकी कार्यकालमा के कस्ता काम हुँदैछन् ?

कोभिडले हाम्रो काम गराइको रफ्तारलाई धेरै नै रोकेको अवस्था छ । विगत आठ महिनाको बीचमा धेरै गर्नुपर्ने काम सम्पन्न गर्न सकिएन । सुरु गरिएका योजना अधुरै रहेका छन् । अब ती योजना सम्पन्न गर्ने कुरामा ध्यान दिएका छौँ । अधुरो योजना सकेर फेरि विकासको रफ्तारलाई कसरी अघि बढाउन सकिन्छ भनेर योजना बनाइरहेका छौं । अधुरा योजना पूरा गर्नेछौँ । कृषि र उद्योगलाई स्वरोजगारको आधार बनाउँछौँ । शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइ क्षेत्रमा गर्न बाँकी रहेका कामलाई प्राथमिकता दिएर सम्पन्न गर्नेछौँ । हाल सञ्चालनमा रहेका आयोजना तथा कार्यक्रमलाई निरन्तरता दिनुको साथै अति महत्वपूर्ण कार्य, जुन सञ्चालन हुन सकेका छैनन्, ती काम प्राथमिकतामा राखी अगाडि बढ्छौँ । अबको बाँकी अवधिमा प्रत्येक वडा तथा बस्तीका घरधुरीमा विद्युत्को पहुँच पुगेको हुनेछ । वडा तथा बस्तीमा यातायात सञ्चालन हुने गरी सडक स्तरोन्नति तथा निर्माण गरिनेछ । सबै घरधुरीमा स्वच्छ खानेपानीको पहुँच विस्तार हुनेछ ।

गाउँपालिकाको कार्यालय भवन, अधिकांश वडा कार्यालय भवन, स्वास्थ्य संस्थाका भवनहरु तथा विद्यालय भवन निर्माण सम्पन्न भइसकेका हुनेछन् । कृषि क्षेत्रको व्यवसायीकरण, विविधीकरण तथा आधुनिकीकरण गरी उत्पादन र उत्पादकत्वमा वृद्धिसँगै कृषि उपजमा आत्मनिर्भर बनाई रोजगारी सिर्जना गर्ने र सेवा प्रवाहलाई जनमुखी, पारदर्शी र मितव्ययी बनाइनेछ । बर्षौदेखि अँध्यारोमा हराइरहेको नरैनापुर उज्यालो बनेको छ । ३५ किलोमिटरको दुरीमा रहेको नेपालगन्ज देशकै विकासलाई चुनौती दिइरहेका बेला नजिकैको कान्छो कर्णालीजस्तै थियो । तीन बर्षअघि र अहिलेको नरैनापुर साना दुःखले परिवर्तन भएको होइन । सीमानाको दुख के हो ? राज्यले नरैनापुरलाई सोध्नुपर्छ । हामी राजनीति कम सेवा बढी गर्छौं । जनताका दुःखसुःखमा हाजिर हुन्छौं । हाम्रो गाउँपालिकाका जनतालाई भोक र रोगबाट टाढा बनाउँदै समृद्ध नरैनापुरको सपना पुरा गर्ने अभियानमा छौं ।