Loading... आजः १ असार २०७८, मंगलवार
पत्रकारका दुःख

लहड, बाध्यता अनि अबिछिन्न सफलता

‘पत्रकारितामा त्रास, अभाव र आशजस्ता विषयले प्रवेश पाइरहेका छन् । जथाभावी सञ्चारमाध्यम खुल्ने र जबर्जस्ती चलाउने प्रवृत्ति विकृति नै हो । बेरोजगार उत्पादन गर्ने थलो बनेको छ ।’
लहड, बाध्यता अनि अबिछिन्न सफलता
‘अनावश्यक टर्चर दिए । केही पत्रकार साथीहरुसमेत यसलाई उक्साउन लाग्नुभयो,’ उनी भन्छन्, ‘काम गर्ने मान्छेलाई जहिले जतासुकैबाट धम्की, गालीगलौज आइरहन्छ । यो निरन्तर छ । अहिले पनि कुनै समाचार लेख्यो भने तीन पटक सोच्नुपर्ने बाध्यता छ । किनभने समाज अझै पनि पत्रकारप्रति सकारात्मक छैन ।’

पाल्पाको साविक खालिवन गाउँ विकास समिति–८ लाम्दिखोलामा जन्मिएर हाल तानसेन नगरपालिका–४ बारुदखान पाल्पामा बसोबास गरेका माधव अर्याल विसं.२०५३ सालमा एसएलसी दिनुअघि पत्रकारिताका विषयमा धेरथोर जानकार थिए । किनभने उनका मामा (स्व.नारायणप्रसाद भटराई)ले पत्रपत्रिकामा रुची राख्ने र सेन माविमा पढ्ने बेलामा कक्षा १० मा पत्रकार दामोदर खनाल (सत्यकथा र अर्को एक साप्ताहिकको अनुभव)ले आफ्ना अनुभव शेयर गरेको देख्थे । जसले उनलाई पनि त्यतिबेला नै पत्रकारितमा रुचि जाग्यो । २०५४ सालमा जागिरको खोजी गर्दै भौतारिएको अवस्थामा तानसेनबाट प्रकाशन हुने जगदीश भट्टराई सम्पादक तथा प्रकाशक रहेको जनचेतना साप्ताहिकमा सिक्ने अवसर मिल्यो ।

डेढ वर्षजति जनचेतनाको प्रशिक्षार्थी, व्यवस्थापक, बजार व्यवस्थापन, सम्पादन सहयोगीसम्म पुगेर सिकाई अनुभव लिए । अर्याल भन्छन्, ‘त्यसपछि २०५५ साल फाुगन महिनाबाट बुटवलबाट प्रकाशन हुने दैनिक जनसंघर्षमा नियमित लेख्न थालेको हुँ । तानसेनबाट नै पत्रकारिताको सुरुवा भयो । त्यसअघि नै मैले काठमाडौबाट प्रकाशन हुने खबरकागज साप्ताहिक (जिवेन्द्र सिम्खडा, कबिर राणा, झबिन्द्र बिष्ट)मा लेख्न सुरुवात गरेको थिएँ । किनभने त्यस पत्रिकामा पाल्पाकै भुवन केसी हुनुहुन्थ्यो । उहाँले मैले लेखेर पठाएको समाचारलाई मिलाएर, सम्पादन गरेर छापिन लायक बनाइदिनुहुन्थ्यो ।’ त्यसो त अर्याल उनकोे पत्रकारिताको सुरुवाती अवस्थालाई बाध्यता भएको सम्झन्छन् ।

‘मेरो घरको अवस्थाका कारण पनि मलाई जागिर खानुपर्ने थियो । बाध्यताले अहिले पत्रकारिताको लहडमा लगेको छ । अरुलाई लहडले पत्रकारितामा लग्यो होला तर मलाई बाध्यताले नै हो,’ अर्याल बिगत सम्झदै भन्छन्, ‘मलाई बाँच्नका लागि कमाउन थियो । केही जागिर गर्नु थियो । जसरी हुन्छ मैले आफु बाँच्ने आधार खोज्नुपर्ने अवस्था थियो । त्यसैले पनि मलाई पत्रकारितामा निकै रुचि लाग्यो । सिक्दै जाँदा, बुझेर ल्याउँदा निकै मन परेको थियो । त्यस बेलामा मैले जसरी पत्रकारितालाई सोँचेको थिए । यही पेशामा रुमलिएर हिँड्दा त्यस्तो भेटेको छैन ।’ एसएलसी दिएर नै पत्रकारिताको क्षेत्रमा होमिएको अवस्थामा पनि उनलाई निकै बाधा, अवरोध र समस्या पनि नआएका होइनन् । तैपनि निकै मेहेनत, संघर्ष र आत्मविश्वासका साथमा पत्रकारिताको सुरुवाती चरणमा उनले काम गरेको अनुभव सुनाउँछन् ।

त्यसैले पनि होला उनी पत्रकारितामा लाग्ने प्रेरणा आफैबाट स्वयं प्रकट भएको पनि ठान्छन् । दबाउने, होच्याउने, पछाडी पार्नेहरुका बिचबाट संघर्ष गरेर अगाडी आएको बताउने उनी जसले उनलाई अगाडी बढ्न दिएन उनीहरुकै अगाडी म पत्रकारितामा प्रगति गर्छु भनेर ‘इगो’ लिएर अघि बढेको बताउँछन् । उनलाई भगवानले ‘आँट गरे मैले पुर्याउँछु’ भन्नेजस्तै भएको छ । ‘किनभने मैले जे सोंँच्छु त्यही पुग्दै आएको अवस्था हो,’ अर्याल भन्छन्, ‘पत्रकारितमा मैलै सुरुवाती चरणमा प्रेरणाका स्रोतका रुपमा मेरो मामा स्वर्गीय नारायणप्रसाद भट्टराई, सेन माविका शिक्षक तथा पत्रकार दामोदर खनाल, जगदीश भट्टराई, हिमालदत्त श्रेष्ठ, सुवास प्रधानलाई बिर्सन सक्दिन ।’ त्यसपछि उनले सम्झने र उनलाई साँच्चिकै लेख्न सिकाउने भनेको दैनिक जनसंघर्षमा काम गर्न थालेपछि डिआर घिमिरे र माधव नेपाल पनि हो । त्यसमा उनलाई व्यवस्थापनमा प्रेरणा दिने तत्कालिन जनसंघर्षका प्रमुख कार्यकारी अधिकृत अजयमान श्रेष्ठ र प्रधान सम्पादक बालकृष्ण चापागाईलाई उनले बिर्सन सक्दैनन् ।

पाल्पाबाट निस्कने जनचेतना साप्ताहिकमा झण्डै डेढ वर्ष काम गरेका उनी शुरुमा सहयोगीका रुपमा प्रवेश गरेका थिए । काम सिक्दै, बुझ्दै गए । पछि सम्पादन सहयोगीका रुपमा काम गरेर छाड्ने परिस्थिति आयो । किनभने उनले बुटवलको दैनिक जनसंघर्षमा काम गर्ने अवसर पाएका थिए । ‘जनसंघर्षमा निकै लामो समय काम गरें । मेरो पत्रकारिताको करियरलाई नै अगाडी बढाउन जनसंघर्षको ठूलो योगदान छ,’ पुराना दिन सम्झदै अर्याल भन्छन्, ‘त्यसपछि २०५६ र २०५७ सालमा काठमाडौंबाट निस्कने खबरकागजमा पहिलो पटक काम गरेको अनुभव भयो । त्यसपछि त्यहीबाट छुट्टिएर खबरपत्रिका भन्ने पत्रिका निस्कियो । कबिर राणा, तारानाथ दाहाल लगायत हुनुहुन्थ्यो । उहाँहरुसँग पनि काम गरें ।’ जहाँ पनि कुरा पैसाकै रहेछ । पैसा नपाएपछि काम गर्ने र छाड्ने क्रम चलिरह्यो । उनले असनबजार साप्ताहिक भन्नेमा पनि काम गरे । त्यसपछि पुनः कमाण्डर दैनिकमा पनि केही समय काम गरे । ‘काम गरेर के गर्नु पैसा नपाएपछि अनि काम गर्ने, छाड्ने नै भयो,’ अर्याल थप्छन्, ‘समाजसेवा गरेर सकिँदैन भन्ने लाग्यो ।’

त्यस बिचमा नयाँ सडक दैनिक निस्कियो । त्यसमा पनि मनोरञ्जन शर्मा र उनले काम गरे । आम्दानी राम्रो थियो । दुई वर्षजति काम गरे । तर पत्रिका नै बन्द भयो । आफुले पत्रकारिताका गुरु मान्ने किशोर नेपालसँग काम गर्ने अवसर मिलेको थियो, त्यसबेलामा नयाँ सडक दैनिकको राम्रो क्रेज पनि थियो । ट्याबलोइड साइजको पत्रिकामा काम गरेर पनि राम्रो आम्दानी लिन सकेको थिए । स्टिन्जरका रुपमा काम गर्दा पनि सन्तुष्टि नै थिए, किनकी यता दैनिक जनसंघर्ष पनि छाडेका थिएनन् । त्यसैले आम्दानीका हिसाबले राम्रो नै भएको अवस्था पनि थियो । पछि २०५९ बाट कान्तिपुर मिडिया गु्रप (कान्तिपुर दैनिक, कान्तिपुर टेलिभिजन, कान्तिपुर एफएम लगायत सबै प्रकाशन) हेर्ने गरि आवद्ध भए र पत्रकारितामा स्नाकोत्तर पनि गर्न सफल भए । उनी आफूलाई धेरै समाचार लेख्नेमा दाबी गर्छन् ।

‘मेरो समाचार लेख्ने रफ्तारको कुरा गर्ने हो भने मैले दैनिक जनसंघर्षमा एकैदिनमा १२ वटा समाचार प्रकाशन गरेको थिए भने कान्तिपुर दैनिकमा लागिसकेपछि एक महिनामा १५० वटासम्म समाचार प्रकाशन गरेको छु ।’ कान्तिपुर दैनिकमा झण्डै १७ महिना स्टिन्जरका रुपमा काम गरेका उनी त्यसपछि म तलबी भए । उनलाई त्यो स्टिन्जरका रुपमा काम गर्दा जत्तिको मज्जा कहिल्यै आएको छैन । समाचार प्रभाव पनि निकै परेको अवस्था त्यतिबेला नै थियो । ‘समाचार धेरै लेख्ने क्रममा मलाई शिक्षाका विषयमा रुचि बढी थियो । विभिन्न विद्यालय, त्यहाँ अध्ययन गर्ने विद्यार्थीहरुका विषयमा बढी लेखियो,’ अर्याल समाचार प्रभावको अनुभव सुनाउँदै भन्छन्, ‘रहवासका विद्यार्थीलाई अमेरिकामा बस्नेको छात्रवृत्ति दिलाउने काम देखि लिएर पालुङ्मैनादीका दलित बिद्यार्थीलाई बेलायतबाट छात्रवृत्ति दिने काममा मेरो समाचार नै महत्वपूर्ण थियो ।’ यतिमात्र होइन, दमकडा माविका एक दलित विद्यार्थी (श्याम विक)लाई डाक्टर बनाउने अवस्थासम्म पुर्याउन उनकोे समाचार सहयोगी बनेको उनको अनुभव छ । यस्ता धेरै उदाहरण छन् । कतिपयको उपचार भएको छ । कतिपयलाई सहयोग जुटेको छ । कतिपयले पढ्न पाए । यस्ता उदाहरण धेरै छन् । समाचार लेखेकै आधारमा धेरै पटक गालीगलौज, धम्की खाने काम भए । २०५६ सालमा पहिलो पटक जिल्ला प्रशासन कार्यालयबाट धम्क्याउने काम भयो । त्यसअघि नै २०५५ सालमा जनचेतनामा सम्पादन सहयोगी हुँदा जिल्ला अदालत पाल्पाबाट पुर्जी प्राप्त भयो ।

‘पत्रकारिताको सुरुवातमै यस्तो अवस्था आयो कि छोडुँ कि गरुँ भन्नेसम्म भयो,’ अर्याल भन्छन्, ‘जनचेतनाको सम्पादकीयलाई आधार बनाएर अदालतले पत्रिकाका सबैलाई पुर्जी थमायो । अदालतमा गएर बयान दिएँ । पछि माफी दिइयो ।’ त्यसपछि पनि ‘माडी चक्रपथ’को विषयमा समाचार लेख्दा केही वुद्धीजीवी भनिनेहरुबाट धम्की खाएको उनी बताउँछन् । ‘अनावश्यक टर्चर दिए । केही पत्रकार साथीहरुसमेत यसलाई उक्साउन लाग्नुभयो,’ उनी भन्छन्, ‘काम गर्ने मान्छेलाई जहिले जतासुकैबाट धम्की, गालीगलौज आइरहन्छ । यो निरन्तर छ । अहिले पनि कुनै समाचार लेख्यो भने तीन पटक सोच्नुपर्ने बाध्यता छ । किनभने समाज अझै पनि पत्रकारप्रति सकारात्मक छैन ।’ उनलाई कुनै निश्चित बिटमा बसेर समाचार लेखौं भन्ने लाग्छ तर जिल्लामा बसेर विशेष बिट बनाउन मुश्किल पर्ने रहेछ । तर पनि उनी खेलकुद, शिक्षालाई नै बढी महत्व दिएर लेख्ने बताउँछन् ।

‘मलाई खेलकुदका समाचार लेख्दा आनन्द आउँछ । अर्कोकुरा शिक्षा बिटलाई नै मैले ध्यान दिएको छु । अहिले पनि शिक्षाको समाचार लेख्दा निकै रस पस्छ,’ उनी भन्छन् ‘शिक्षाका विषयमा समाचार लेखेर धेरै अवसर पनि पाएँ । सबै विषयमा लेख्नुपर्छ तर पनि शिक्षालाई मैले बढी महत्व दिएर लेख्छु । खेलकुद पनि अर्को रुचि नै हो । समाज, संस्कृति, अर्थ, राजनीति सबैलाई समेट्नु बाध्यता पनि छ ।’ उनका अनुसार पत्रकारितामा नयाँ प्रयोग भनेको अब स्थलगत र खोजी रिपोर्टिङ नै हो । ‘हामीले ‘सम्पन्न भयो’ ‘बताउनुभयो’ पत्रकारिता गरेका हौं । तर यसलाई अब फिचर, खोजी स्टोरीका रुपमा लैजानुपर्छ भन्ने नै हो,’ अर्याल भन्छन्, ‘यसमा अब नजाने हो भने छापा पत्रकारितामा संकट आउँछ । अहिले सामाजिक सञ्जालले सबैलाई समेटेको छ । सबैले त्यसबाट छोटो र छिटो जानकारी पाउँछन् । अब त्यसलाई खोजी गरेर नयाँ ढंगले प्रंस्तुत गर्न सक्नुपर्छ ।’ तर पनि पत्रकारितामा यसले खासै महत्व नदिएको उनको बुझाई छ ।

उनी अनलाइन पत्रकारिता पनि खोजीभन्दा पनि उही पुरानै शैलीमा भएको ठान्छन् । त्यसैले यस्ता विषयलाई अब विकाससँग जोडेर पत्रकारिता गर्नु जरुरी रहेको उनी बताउँछन् । ‘अब राजनीतिक स्थायित्व र नयाँ संविधान लागु भइसकेको अवस्थामा विकास र समृद्धिलाई जोडेर पत्रकारिता गर्नु जरुरी छ जस्तो लाग्छ,’ उनी भन्छन्, ‘मेरो अनुभव पनि त्यही हो । तर जुन भ्रष्टाचार संस्थागत हुँदै गएको छ, त्यसले खोजी पत्रकारितालाई पनि असर गर्ने पक्का छ । यसले गर्दा पनि यस विषयमा अवको पत्रकारितामा गम्भीर हुन जरुरी छ ।’ उनी सञ्चारमाध्यमभित्रका विकृति कति खोल्ने कति नखोल्ने ? भन्नेमै प्रतिप्रश्न गर्छन् । श्रमजिवी पत्रकार ऐन लागु हुन नसक्नु पहिलो समस्या मान्ने उनी लागु गराउन नचाहनु कारण रहेको बताउँछन् । मालिक, श्रमजीवी एउटै व्यक्ति हुनु पनि समस्या छ । अति राजनीतिकरण पनि अर्को विकृति हो । पत्रकारिता अब झन् पर्चाकारिता बन्दै गएको छ । पत्रकारितालाई सुधार्न समस्यै समस्या छ । सुधार गर्न पनि गाह्रो विषय भइसकेको छ ।

‘पत्रकारितामा त्रास, अभाव र आशजस्ता विषयले प्रवेश पाइरहेका छन् । जथाभावी सञ्चारमाध्यम खुल्ने र जबर्जस्ती चलाउने प्रवृत्ति विकृति नै हो,’ उनी भन्छन्, ‘बेरोजगार उत्पादन गर्ने थलो बनेको छ । जसले गर्दा यस्ता विकृतिलाई कमी गर्दै लग्नुपर्छ । अग्रजहरुबाट नै यस विषयमा सोच्नुपर्ने थियो । तर हाम्रो पत्रकारिताका अग्रजहरु नै अति राजनीतिकरणमा लाग्नु भएको छ । व्यवसायीक पत्रकारिताका विषयमा कुरा सुन्न चाहानुहुन्न ।’ जथाभावी जो सुकैको मिडियामा लगानी पनि अर्को विकृति देख्ने उनी जसले गर्दा यस्ता विषयलाई अब ख्याल गर्नुपर्ने बताउँछन् । ‘समाजले पत्याउने पत्रकारिता हुन सकेको छैन,’ उनी भन्छन्, ‘तपाई हामी पत्रकारभन्दा पनि राजनीतिक दलका कार्यकर्ता बनेका छौं । राजनीतिक चेतना हुनुपर्छ तर पत्रकारितामा यसरी राजनीतिकरण गर्नु राम्रो होइन ।’ २०५४ बाट पत्रकारिता शुरु गरेका उनी लामो समयसम्म कुनैपनि संगठनमा आवद्ध भएनन् २०६१ सालसम्म कुनै पनि संगठनमा नबाँधिएरै बसे । तर सुरुवात चरणमा उनलाई कसैले पनि संगठनका सदस्यता दिएन ।

‘पत्रकार महासंघको सदस्यता लिँदा पनि दुःखले लिएको हुँ । पहिलो पटकको आवदेन फालियो । दोस्रो पटकमा बल्ल सदस्यता पाएको हो,’ उनी भन्छन्, ‘२०५६ साल असोजमा पत्रकार महासंघको सदस्यता पाइयो । त्यसबेलामा प्रेस युनियन थियो । प्रेस चौतारी खुल्नै थियो । पाल्पामा मलाई कुनै पनि संगठनले सदस्यता दिएनन् ।’ पछि संकटकालमा त्यस्तै अवस्था थियो । पत्रकारले पत्रकारलाई सहयोग गर्नेभन्दा पनि मेरो मान्छे, फल्नो मान्छे, त्यसको मान्छे भन्ने सोँचले गर्दा कुनै न कुनै संगठनको सदस्यता लिनुपर्ने अवस्था आएको थियो । उनी अनुभव सुनाउँछन्, ‘२०६२ सालमा बल्ल म पत्रकार महासंघबाहेकको प्रेस युनियनमा आवद्ध भए । सदस्यतासँगै म कार्यसमिति सदस्य भए । अनि संगठनमा काम गर्न थालेको हुँ ।’

उनी पत्रकारिता सम्बन्धी दर्जन बढी तालिम लिएको बताउँछन् । ‘यस अवधिमा धेरै महत्वपूर्ण तालिम लिएको छु । एउटा अन्तर्राष्ट्रिय गोष्ठीमा पनि सहभागी हुने मौका पाएँ । यूरोपको जर्मनी बोन सहरमा आयोजित ‘ग्लोबल मिडिया फोरम’मा सहभागी भएँ । जसमा १८० राष्ट्रका पत्रकार सहभागी थिए,’ उनी भन्छन् ‘ त्यहाँ उनीहरुको अनुभव साटासाट गर्ने अवसर मिल्यो । जहाँ नियन्त्रित पत्रकारिता गर्ने देशहरुबाट पनि पत्रकार सहभागी थिए । सबै क्षेत्रको अनुभव लिने अवसर मिल्यो भने अर्को अत्यन्त दयनीय राष्ट्र हाइटीको पत्रकारिता अनुभव लिने अवसर मिलेको थियो । नेपाली सेनाको मिसन टोलीले त्यहाँ गएको टोलीले गरेको काम मात्र होइन त्यहाँबाट प्रकाशन र प्रशारण हुने पत्रिका, टेलिभिजनबाट अनुभव साटासाट गर्ने अवसर जुर्यो । अतिविकसित मुलुक र दयनीय अवस्थामा रहेको मुलुकका पत्रकारिताका विषयमा केही अनुभव साट्ने अवसर मिल्यो ।’

उनी नेपाली पत्रकारितालाई अब व्यवसायिक, खोजमुलक, विकास र समृद्धिको यात्रामा लैजान जरुरी भएको बताउँछन् । ‘सधैभरि राजनीतिक संक्रमण रहन्न । अब राजनीतिक मिसनको पत्रकारिता गर्नु जरुरी छैन । एउटा पार्टी त्यसमा पनि एउटा गुटको, व्यक्तिको राजनीतिक गरेर पत्रकारिता गर्दा नै अहिलेको अवस्थामा विश्वसनीय बन्न सकेको छैन,’ उनी थप्छन्, ‘पत्रकारितालाई अब पर्चाकारिता गर्नु जरुरी छैन । समाजलाई विकास, समृद्धि, सुशासन, पारदर्शीताको बाटोमा लैजान पत्रकारिताको ठूलो महत्व रहेको छ । जसले गर्दा पत्रकारितालाई विश्वसनीय, पठनीय, संग्रहणीय बनाउने ढंगले लैजान जरुरी छ ।’ उनी यसका लागि ‘म’बाट सुरु गर्नुपर्ने अवस्था भएको बताउँछन् । विकृति, विसंगति थोपरिएको अवस्थामा पुगेको छ यसलाई सुधार गर्न आफैबाट सुरु गर्नुपर्ने देखिएको छ । सबैले ‘म’बाट सुरु गर्ने हो भने पक्कै पनि यसमा सुधार आउनेछ । पत्रकारितामा अवसर धेरै छन् । चुनौतीको चाङलाई पन्छाएर अब अवसरको खोजी गर्ने बेला आएको छ । किनभने मुलुक अव विकास र समृद्धिको बाटोमा अगाडी बढेको छ ।

उनी पत्रकारितालाई अवसर भन्छन् । यसमा चुनौती नभएको होइन । तर अवसरलाई खोजेर चुनौतीलाई पन्छाउन जरुरी रहेको उनको धारणा छ । उनी पत्रकारिता पेशामा लाग्न चाहानेहरुको कमी देख्छन् । ‘अहिले पत्रकारिता तालिम चलाउने हो भने रुचि छैन । पत्रकारितालाई पेशा, व्यवसायको रुपमा भन्दा पनि प्रयोग गर्ने माध्यमका रुपमा लैजाने प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने बेला भएको छ,’ उनी भन्छन्, ‘पत्रकारिता गरेर बाँच्न सकिन्छ । नाम, दाम कमाउन सकिन्छ । परिवार पाल्न सकिन्छ । पत्रकारितालाई समाजसेवा गर्ने थलो मात्र हो भन्ने बुझाईलाई हटाउनुपर्छ । यसलाई रोजगार दिने, व्यवसायिक बनाउने, पत्रकारिताबाटै परिवर्तन ल्याउने सोँच राख्नुपर्छ । पत्रकारितामा आउन चाहनेलाई तालिम चलाउनुपर्छ । अहिलेको अवस्थामा पत्रकारिता गर्दा पढाईसँगै उपकरणहरु पनि आवश्यक पर्छ । तर पनि पत्रकारितामा रुचि राख्ने र चाहानेहरुलाइ हौसला दिनुपर्छ । उनीहरुलाई सिकाउनुपर्छ । अगाडी बढाउन सहयोग गर्नुपर्छ । जसले गर्दा नयाँ पुस्तालाई पनि पत्रकारितामा आउन चाहना होस् ।’