Loading... आजः ३१ बैशाख २०७८, शुक्रबार
संस्कृति

बाघलाई लखेटेर मनाइयो ‘बिसु पर्व’

बाघलाई लखेटेर मनाइयो ‘बिसु पर्व’

बझाङ । जयपृथ्वी नगरपालिका–१ कैलासको गाउँकै एक विद्यालय तलपट्टी एउटा मन्दीर, माथि सडक, दायाँतिर गाउँ, बायाँतिर बालो हालेर कटानको पर्खामा रहेका गहुँ, जहुँका गराहरु विद्यालयको चौरको चारैतिर महिला, पुरुष, बालबालिका, लठ्ठी टेकेर बुढापाकाहरु जम्मा भएका थिए । महिलाहरुको हातमा कसैले कालो प्लाष्टिक कसैले सेतो, रातो, हरियो, नुनको प्लाष्टिक र तेलको प्लाष्टिक सबैको हातमा देखिन्थे । बालबालिका, युवा तथा बुढापाका पुरुषहरुको हातमा भिन्नभिन्न रंङ्गले सिंगारिएका लठ्ठीहरु थिए । त्यसमा पनि बालबालिकाहरुको छुट्टै जमात थियो ।

बुढापाकाहरु आफ्नै भलाकुसारीमा व्यस्त देखिन्थे । युवाहरुको जमात विद्यालयकै पछाडीपट्टीको डाँडामा गएका थिए । त्यो युवाको जमातले कसैले च्यातिएको लुगा त कसैले हरिया पालाहरु भाँचेर बोकिरहेका थिए । सबैले उक्तm सामान जम्मा गरेपछि दुई जनालाई बाघजस्तो हुन लगाइयो । मुखमा रोटी हाल्ने चिउरो (छाप्रो) मार्करले बनाएका काला लामा लामा दाह्री, जुुङ्गा, बाबियोको पुच्छर, च्यातिएका लुगा अनुहार नदेखिने गरी हरिया पालाले छोपेको पुरै जिउ ढकमक्क बनाएको थियो । हरेक बर्ष कैलासमा यस्तै गरी बनाइने बिसु पर्व यस बर्ष पनि त्यसैगरी मनाइयो ।

अनुहार नदेखिने गरी बाघजस्तै बनाएका दुई जना व्यक्तिलाई बीचमा हिँडाएर अगाडि, पछाडी गाउँलेहरुको जमात थियो । कतिबेला उक्त व्यक्तिले गाउँलेलाई खेदाउने गर्थे । गाउँलेहरु डरले तछाडमछाड हुन्थे । फेरी सबै एकै ठाउँमा आउथे, बाध बनेका व्यक्ति विद्यालयतिर अघि बढे । सबैले बाघ आयो भाग, बाघ आयो भाग भनेर स्कुलको छेउबाट कोलहाल मच्चाउँथे । बाघ बनेका ब्यक्ति विस्तारै विद्यालयको हाताभित्र प्रवेश गरे । चौरको चारैतिर गोल घरजस्तो बनाएर, लठ्ठीहरु गन्टेरभित्र पस्ने एउटामात्र ढोकाजस्तो छाडिएको थियो ।

उक्त गोलघरभित्र बाघलाई खानको लागि दहि र चामल मिसाएर भिजाएका चामलहरु फरक फरक ढुंगामा राखिएका थिए । त्यतिकैमा एकजना व्यक्ति आएर बाघ बनेका व्यक्तिसँग लामो समयसम्म लड्ने प्रयास गरे, तर सकेन उनी बाहिरिए । बाघले आफ्नो आहाराको लागि राखिएका सबै दही चामल त्यहाँ भएका सबै मानिसलाई आफुले जुठो बनाएर खुवाउने प्रयास गथ्र्यो । तर सबै जना उ आउन वितिकै पर पुग्थे । निरन्तर केहि समय त्यस्तै श्रृङ्खला चल्यो । फेरि बाघ बनेको व्यक्ति विध्यालयको हाता बाहिर जान्छन् ।

परापूर्र्व कालदेखि बाघ बनाएर मानिसहरुले बाहिरसम्म लखेटेपछि बर्षभरी आफ्ना पशु चौपायालाई बाघ लाग्दैन भन्ने जनविश्वासले बिसु पर्वमा बाघ बनाउने चलन रहेको स्थानीय विजबहादुर शाहीले बताए । अनि सबै पुरुषहरु जम्मा भएर धिर…धिरी…धिर…धिर…भन्दै लामो समयसम्म सिगारिएका ति लठ्ठीहरु औलामा कस्ले राख्न सक्छ भनेर प्रतिश्पर्धा गर्छन् । फेरी सबै लठ्ठीहरु विद्यालयको चौर बाहिर फाल्छन् । पञ्चायतको बेला बनाइएका चौमथा भन्ने ठाउँ तथा गाउँका पुराना मुखियाको घरबाट बाजागाजासहित बेहुली बोक्ने डोलीजस्तै बोकेर डाँडातिर लागिन्छ । नयाँ बर्ष आउन लागेको चार दिनअघि गाउँका केटी मान्छेहरु गाउँकै वनमा गएर कपडाका मानिसजस्ता गुन्यु चोली लगाएका, मानिसजस्तै बनाउँछन् ।

फेरि तिनीहरुलाइ नयाँ बर्ष आउनुको चार दिनअघि दाल, चामल तथा नयाँनयाँ परिकारहरु बनाएर ति नमुना मानिसलाई खुवाउँछन् । त्यो दिनबाट लगातार बैशाख १ गतेसम्म रातीराती देउडा खेल खेल्छन् । बैशाख १ गते देउडा खेल्दाखेल्दै एक बेहुला र एक बेहुली बनाएर गाउँकै चौमथामा बाजागाजासहित टिका टालो गरिन्छ । फेरि चार दिनअघि बनाइएका ति नमुना मानिस तथा पुल्तीहरु गाउँ नजिकैको कुवाँमा गएर चाह…चाह… भन्दै सेलाउने प्रचलन रहेको स्थानीय महलबहादुर सिंहले बताए । पुल्ती सेलाएपछि एउटा ढुङ्गा समातेर कसले टाढा फाल्न सक्छ भनेर प्रतिश्पर्धा हुन्छ । जसले टाढा फाल्यो, त्यो नै ताकतदार घोषणा हुने प्रचलन छ । साथै गाउँमा टाढा टाढाबाट दिदीबहिनीहरु माइती घर, देशविदेशबाट दाजुभाई घर आएर भलाकुसारी गरेर मिठामिठा परिकार खाएर मनाउने गरिन्छ ।