Loading... आजः १ असार २०७८, मंगलवार
आगलागीको कहर

नरैनापुरका तीन हजार घर उच्च जोखिममा

सुरक्षित घर नहुँदा त्यसको सबैभन्दा बढी मार महिला तथा बालबालिकाले खेप्दै आएका छन् ।
नरैनापुरका तीन हजार घर उच्च जोखिममा

बाँके । हावाहुरी र गर्मीको मौसममा हरेक वर्ष आगलागीका घटना हुने गरेको बाँकेको नरैनापुर गाउँपालिकाका तीन हजारभन्दा बढी घर अझै पनि आगलागीको उच्च जोखिममा रहेका छन् । गत शनिबार गाउँपालिका–४, खोदावा गाउँमा आगलागी हुँदा सो गाउँमा रहेका ११२ वटा फुसको छाना भएका कच्ची घर जलेर खरानी भएका थिए ।

सोही गाउँमा रहेका दुई दर्जनभन्दा बढी पक्की घरलाई कुनै क्षति भएन भने कच्ची र फुसका घर सबै जलेर नष्ट भएका छन् । यसैगरी गत फागुन २३ गते सोही गाउँपालिकाको वडा नम्बर १ सुइया गाउँमा आगलागी हुँदा २५ घर जलेर खरानी भएका थिए । ती सबै घर पनि फुसका र कच्ची घर नै थिए ।

सो गाउँका पनि पक्की घर सबै सुरक्षित नै रहेका छन् । नरैनापुरका फुसको छानो र कच्ची घर भएका अधिकांश घनाबस्ती आगलागीको अत्याधिक जोखिममा रहेको गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बताए । उनले कुन बेला कुन गाउँबाट आगलागीको खबर आउने हो भन्नै नसकिने अवस्था रहेको बताए ।

गाउँपालिकाले सरकारसँग सबै कच्ची र फुसका घरलाई जस्तापाताका घरमा परिणत गर्न केन्द्र र प्रदेश सरकारसँग माग गर्दै आएको अध्यक्ष शाहले बताए । सरकारले आगलागी र डुबानको जोखिममा रहेका बाँकेका गरिब तथा विपन्न परिवारलाई टिनको छाना भएको घर बनाउन गाउँपालिकामार्फत प्रतिपरिवार ५० हजार रुपियाँ अनुदान दिँदै आएको छ ।

बाँकेको नरैनापुरका लागि पनि सरकारले चालू आर्थिक वर्षमा ३६१ घरपरिवारका लागि टिनको छाना लगाउन प्रतिपरिवार ५० हजारका दरले अनुदान उपलब्ध गराएको थियो । गाउँपालिकाका अनुसार नरैनापुरमा फुसको छाना भएका गरिब तथा विपन्न परिवारका तीन हजारभन्दा बढी घर रहेका छन् । ती सबै घरहरू आगलागीको उच्च जोखिममा छन् तर ३६१ परिवारका लागि मात्रै अनुदान आएको छ ।

स्थानीय जनप्रतिनिधिले सङ्घीय र प्रदेश सरकारसँग आगलागीको जोखिम कम गर्न टिनको घर बनाउने विशेष प्याकेज ल्याउन आग्रह गरिरहेको जिल्ला समन्वय समितिका प्रमुख अजय श्रीवास्तवले बताए । सोही क्षेत्रको बासिन्दा रहेका उनका अनुसार सुरक्षित घर नहुँदा त्यसको सबैभन्दा बढी मार महिला तथा बालबालिकाले खेप्दै आएका छन् ।