Loading... आजः १ असार २०७८, मंगलवार
समृद्धि

माटो पटान गरेपछि व्यवस्थित बन्दै कब्रिस्तान, जोडिँदै हाइमास्ट

माटो पटान गरेपछि व्यवस्थित बन्दै कब्रिस्तान, जोडिँदै हाइमास्ट

बाँके । नेपालगन्ज उपमहानगरपालिका–४ मा वर्षौदेखि प्रयोगमा रहेको मुस्लिम समुदायको शव विसर्जन स्थल (कब्रिस्तान) अहिले व्यवस्थित बन्दै गएको छ । मुस्लिम समुदायको शव विसर्जन गर्ने कार्यलाई थप व्यवस्थित बनाउन कब्रिस्तानमा माटो पटान गरेपछि व्यवस्थित बन्दै गएको छ ।

पुस्तौंदेखि शव व्यवस्थापन गरिँदै आएको कब्रिस्तान अव्यवस्थित बन्दै गएपछि थप फराकिलो बनाउन वडा नम्बर–४ को १० रुपैयाँको लागतमा माटो पटान गरिएको वडाध्यक्ष मो.सफिक बेहनाले जानकारी दिए । वडाध्यक्ष बेहनाले माटो पटान भइरहेको कब्रिस्तानको आजै अनुगमनसमेत गरेका छन् ।

यसअघि कब्रिस्तानका लागि ७ कट्ठा जग्गा खरिद गरी घेराबार गरेपछि व्यवस्थित बनेको हो । करिब ६० कट्ठा क्षेत्रफलमा फैलिएको कब्रिस्तानको पुरै भाग घेराबार गरेपछि मुहार फेरिँदै गएको पनि वडाध्यक्ष बेहनाले बताए । यसलाई अझै व्यस्थित गर्न आगामी बर्षका लागि थप बजेट विनियोजन गरिने पनि वडाध्यक्ष बेहनाले बताए ।

यसैबीच, वडा नं. ४ लाई उज्यालो बनाउन हाइमास्टको जडान पनि सुरु गरिएको छ । वडाध्यक्ष बेहनाका अनुसार कब्रिस्तान परिसरमा हाइमास्ट जडान गर्न लागिएको हो । हाइमास्ट जडानपछि कब्रिस्तानका साथै आसपासको क्षेत्र रात्रीको समयमा उज्यालो हुँदा त्यस क्षेत्रका टोलहरु सुरक्षित हुने पनि बताए ।