Loading... आजः ३१ बैशाख २०७८, शुक्रबार
दुर्गमको समृद्धि

विद्युतिकरण र सडक सञ्जालले घेरियो नरैनापुर

नरैनापुरले यतिबेला विकासको फड्को मार्दै समृद्धिको बोटामा आफुलाई लम्काउँदैछ ।
विद्युतिकरण र सडक सञ्जालले घेरियो नरैनापुर

बाँके । गाडी गुड्न थालेका छन् । बिजुलीका खम्बामा तार टाँगिएको छ । स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सकले सेवा दिन थालेका छन् । समयान्तरसँगै बाँकेको नरैनापुरको मुहार फेरिँदै छ । नेपालगन्जबाट ४४ किलोमिटर पूर्वमा रहेको यस गाउँलाई जिल्लाको ‘कर्णाली’ भनिन्थ्यो । कुल १७२ दशमलव ३४ किलोमीटर क्षेत्रफलमा फैलिएको बाँकेको नरैनापुर गाउँपालिका यतिबेला समृद्धिको बोटोमा तीब्र लम्किरहेको छ ।

उत्तरमा राप्तीसोनारी गाउँपालिका दक्षिणतर्फ भारतको सिमाना, पश्चिमतर्फ डुडुवा गाउँपालिका र पूर्वतर्फ भारतको सिमानामा जोडिएको नरैनापुर यसअघि सुगम बाँकेको दुर्गम पालिकाका रूपमा चिनिन्थ्यो । तर, यतिबेला यहाँका जनप्रतिनिधी र स्थानीयको पहल सक्रियता र सहयोगमा उक्त गाउापालिका सुगम पालिकाको दर्जामा दरिएको छ । दशकौदेखिको अलपत्र रहेको योजनाले पूर्णता पाउँदै नरैनापुरका जनताले गुणस्तरिय स्वास्थ्य सेवा तथा आइसोलेशन अस्पताल आफ्नै घर दैलोमा पाएका छन् ।

नरैनापुरले यतिबेला विकासको फड्को मार्दै समृद्धिको बोटामा आफुलाई लम्काउँदैछ । बाँकेको नरैनापुर क्षेत्र विकासका हिसाबले पिछडिएको हो । विगतमा सरकारी कर्मचारीले महत्व नदिएको उक्त क्षेत्र जनप्रतिनिधी आएसँगै मुहार फेर्न थालेको छ । सधैं दुर्गम र बिकटको संज्ञा पाईरहने बाँकेको नरैनापुर क्षेत्र सडक सञ्जालले घेरिएको छ । सडक सञ्जालले घेरिएसँगै राप्तीपारि सुगम साबित हुनेछ । विद्युत र सडक सुबिधा पुगेको छ । अस्पताल बनेको छ । चिकित्सक बस्न थालेका छन् ।

सरकारी कार्यालयले गाउँमै सेवा दिइरहेका छन् । टेलिफोन र नेटवर्क पनि गतिलै छ । नरैनापुर फेरिएको छ । बघौडा क्षेत्र फेरिएको छ । दोस्रो संविधान सभाको निर्वाचन भएको करिब तीन वर्षमै नरैनापुरको मुहार फेरिएको छ । अहिले नयाँ सडक निर्माण तथा पुराना सडकको स्तरोन्नती भैरहेको छ । राप्तीपारिको नरैनापुर लगायतका क्षेत्रमा २६ वर्षदेखि हुन नसकेको विद्युतिकरण योजनाले भर्खरै पूर्णता पाएको छ । राप्तीपारिलाई सुर्गम क्षेत्रका रूपमा विकास गर्न र राज्यको मुल प्रवाहमा ल्याउन यहाँका सडकहरू विकासको मुख्य प्राथमिकतामा परेका छन् ।

अहिले मुख्य सडक निर्माण प्रक्रियाको काम भैसकेको छ । मुख्य प्राथमकिताका सडक निर्माणसँगै गाउँपालिका सडक सञ्जालमा सहजै जोडिने छ । मुख्य सडक निर्माणका लागि प्रदेश सरकार र संसद विकास कोषको गरी करिब डेढ अर्ब बजेट लगानी भइरहेको छ । अहिले नरैनापुरदेखि अगैयास्थित महेन्द्र राजमार्ग जोडने (२८ किलोमिटर) मुख्य सडकको निर्माण भैरहेको छ । अगैयादेखि बैजापुर विनौना हुँदै नेपालगन्ज जोड्ने (२३ किलोमिटर) सडकको निर्माणका लागि ईआइए प्रक्रियाअघि बढेको छ ।

यसैगरी राप्तीसोनारी जिरोबाट मधुवा हुँदै टिकुलीपुर भएर राजपुरसँगै डुडुवाको कम्दी जोडने (२८ किलोमिटर) सडक र अगैयाबाट राप्तीपारि दाङ चनौटी जोड्ने (८० किलोमिटर) सडक मुख्य प्राथमिकताका साथ निर्माण प्रक्रियामा अघि बढेको प्रदेश सांसद कृष्ण केसी ‘नमूना’ बताउँछिन् । वर्षेनी डुवानको समस्याबाट केही राहत पुर्याउने लक्ष्य अनुसार राप्तीनदीमा दुबैतिर तटबन्ध निर्माण गरिएको र नेपालगन्जबाट सिधै नरैनापुरमा विजुली बालिएको उदाहरणीय कामसँगै यस क्षेत्रलाई सडक सञ्जालमा जोड्ने अभियानलाई प्रमुखताका साथ हेरिएको छ ।

प्रेमबहादुर भण्डारी लगायतका तत्कालिन नेताहरूको सक्रियतामा २६ वर्षअघिको विद्युतिकरण योजना अलपत्र परिरहेको अवस्था छ । यस क्षेत्रमा विद्युतिकरणका लागि गाडिएका पोल अहिले पनि बेवारिसे छन् । तर, नेपालगन्जबाट सिधैँ नरैनापुरमा विद्युतिकरण गरिएको नरैनापुर गाउँपालिका अध्यक्ष मोहमद ईश्तियाक अहमद शाह बताउँछन् । नरैनापुर–५ मा जन्मिएका वरिष्ठ अधिवक्ता इन्द्रजित तिवारी ७२ वर्षका भए । यसै क्षेत्रमा तीन पुस्ताको अनुभव सँगालेका उनले नरैनापुरको मुहारमा अहिले बल्ल उज्यालो देखिन थालेको सुनाए ।

उनका अनुसार पञ्चायतकालमा यहाँको विकासमा राज्यको ध्यान तान्न राजा वीरेन्द्रलाई भ्रमणको निम्तो दिइएको थियो । ‘त्यसबेला राजाले यहाँका लागि ५ लाख रुपैयाँ छुट्याइदिएका थिए,’ उनले भने, ‘त्यो रकम कहाँ खर्च भयो, अहिलेसम्म पत्तो छैन ।’ पूर्वमन्त्री प्रेमबहादुर भण्डारीले गाड्न लगाएका विद्युतका पोल झन्डै तीन दशकसम्म बेवारिसे बने । टुकी बाल्नुपर्ने बाध्यतालाई नरैनापुरवासीले आफ्नै बलबुतामा सोलार प्यानल जडान गरी हटाए । ‘अहिले पोलमै सही, बत्ती आएको छ,’ उनले भन्नुभयो, ‘पोलमै बत्ती बल्नु पनि यहाँका लागि ठूलो उपलब्धि हो ।’

६० वर्षीय मुन्सीप्रसाद यादवले बिजुली नहुँदाको सास्ती सुनाउनुभयो । घरमा सोलारबाट बत्ती बाल्थे । टीभी हेर्नुपरे ब्याट्री चार्ज गर्न भारत पुग्थे । घरमा बिजुली नभएका कारण सबै कोठामा पंखा चल्दैनथ्यो । पसिना काढ्दै सुत्नुको विकल्प थिएन । ‘अब खेतीका लागि बोरिङ गर्न सजिलो हुने भयो,’ उनले भने, ‘खेती किसानी गर्ने सबैलाई फाइदा हुने भयो ।’ विद्युतिकरण भइसकेको यस क्षेत्रमा सडक सञ्जाल निर्माणको अभियानले यहाँका स्थानीय नागरिक झनै हर्षित भएको अध्यक्ष शाहले बताए ।

नरैनापुरमात्रै नभई सडक सञ्जालले यो क्षेत्र घेरिने योजना अघि बढेपछि आ–आफनो पालिकाले गर्न सक्ने सहयोग र सडक सञ्जाल र गुणस्तरीय निर्माणका लागि पहल गर्न कुनै कसर बाँकी नराख्ने यस क्षेत्रका पालिका तहका अध्यक्षहरू बताउँछन् । नरैनापुर क्षेत्रको विकास र नागरिकको स्तरोन्नतीका लागि विकासमा राजनीति हुँदैन । सहकार्य र सहमतिमै राप्तीपारिको समृद्ध र विकास सम्भव छ । यतिबेला यहाँको समग्र विकासका लागि स्थानीय पालिका जनप्रतिनिधिदेखि सांसदसम्म लागिपरेका छन् ।

बृहत् गुरुयोजना बनाएर एकीकृत स्वरुपमा प्रस्ताव पेश गरिएको छ । शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका विविध प्रशासकीय निकायको स्थापना गरी घरदैलोमै सेवा प्रवाहको व्यवस्थापन मिलाइएको छ । सुगम जिल्लाभित्र रहेर पनि विगतदेखि दुर्गमको परिचय बनाउन बाध्य भएको नरैनापुर अहिले विस्तारै विकासमा लम्कँदै गरेको र त्यसको बृहत्तर विकासका लागि आयोगसँग विकासका योजना माग सारिरहेको छ ।

नरैनापुरमा शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, पर्यटनको विकास र प्रबद्र्धनका लागि स्थानीय तहले संघीय र प्रदेश सरकारलाई निरन्तर ताकेता गरिरहेको छ । प्रदेश योजना आयोगसमक्ष राप्ती नदीमा नरैनापुरको पिप्रहवादेखि डुडुवा जोड्ने मोटरेबल पुल निर्माणका लागि बजेट माग गरिएको छ । यसले नेपालगन्ज पुग्न १८ किलोमिटर दुरी कम हुनेछ । मटेहियादेखि सोनबर्षासम्मको ६ किलोमिटर बाटो कालोपत्रे, गंगापुरदेखि जमुनी हुँदै हुलाकी सडक जोड्ने पक्की सडक, सोनबर्षादेखि कोहला हुँदै हुलाकी रोड जोड्ने पक्की सडक निर्माणको योजना माग भएको छ ।

नरैनापुरदेखि अगैया जोड्ने सडक, हुलाकी सडकदेखि बानियाँगाउँ नेपाल भारत सीमासम्म जोड्ने कालोपत्रे सडक, हुलाकी रोडदेखि कोटिया नेपाल भारत सीमासम्म जोड्ने कालोपत्रे सडक, हुलाकी सडकदेखि हुलासपुर्वासम्म जोड्ने कालोपत्र सडकका लागि योजना माग गरिएको छ । नरैनापुरमा औद्योगिक ग्राम निर्माणका लागि पनि योजना माग गरिएको छ । नेपाली रुपैयाँ नचल्ने ठाउँमा अहिले आकाश–जमिनको फरक देखिएको छ । लकडाउनले झनै भारतप्रतिको निर्भरता हटाएर स्थानीयमा आत्मविश्वास पनि जगाएको छ । कमल न्यौपाने/समृद्धिको यात्रामा नरैनापुर बुलेटिनबाट