Loading... आजः ३१ बैशाख २०७८, शुक्रबार

सोलार लिफ्टबाट गाउँमा खानेपानी

सोलार लिफ्टबाट गाउँमा खानेपानी

बझाङ । दुर्गाथली गाउँपालिका–३ र ४ मा वर्षौंदेखिको खानेपानी समस्या समाधान गर्न सोलार लिफ्ट योजना सञ्चालन गरिएको छ । खानेपानीको अभाव खेपिरहेका १ सय ९६ घरधुरीलाइ राहत मिलेको छ ।

विद्युत् नपुगेकाले गाउँमा सौर्यऊर्जा जडान गरी योजना सञ्चालन गरिएको छ । स्थानीयबासी दिपेन्द्र बहादुर माडले पानीको मुहान तल र बस्ती माथि हुँदा लामो समयदेखि खानेपानी समस्या भोगेको बताउनु भएको छ ।

‘पानी लिन दुई घण्टा हिँडेर खोला पुग्नुपर्ने बाध्यता थियो । उहाँले भन्नु भयो ‘खोलामा पालो नपाउँदा घण्टौं लाइन लाग्नुपर्ने समस्या पनि भोगियो । पानीकै कारण बालबालिकाको पढाइ प्रभावित हुँदै आएकोमा अहिले नियमित बनेको र पानीको लागि राति उठेर खोला जानुपर्दा जोखिम मोल्नुपर्ने अवस्था थियो ।

गाउँमा खानेपानी सुविधा पुगेपछि विकास भित्रिएको अनुभुति भएको माडले बताउनु भयो ।अर्का स्थानिय कमल बोहराले उपभोग गरेर बचेको पानी करेसाबारीमा प्रयोग गर्दै आइरहेका र खानेपानी समस्याकै कारण बिहानको खाना कहिल्यै समयमा नपाकेनले बालबालिका बासी खाना खाएर विद्यालय जान बाध्य भएको बताउनु भयो ।

साथै बोहराले भन्नु भयो, पानीका लागि खर्चिनुपर्ने समय अन्य काममा लगाएका छौं । बोहराका अनुसार गाउँमै धारा बनेपछि पशुचौपायालाई पानी खुवाउन र सरसफाइ गर्न सजिलो भएको छ ।

उमेर ढल्कदैं गएपछि गाउँकै धारामा स्वच्छ पानी भर्ने सपना पूरा भएको स्थानीयबासी धन रोकायाले बताउनु भयो । उहाँले भन्नुभयो, पहिले कुवामा बिहानैबाट लाइन बस्नुपर्ने बाध्यता थियो ।

कहिलेकाहीँ कुवाको पानी सकिए रित्तै फर्किनुपथ्र्यो अब ति दिनहरुको अन्त्य भएको बताउनु भएको छ । योजनाका प्राविधिक सिकेन्द्र बहादुर दौल्यालले एक घर एक धाराको अवधारणा अनुसार दुर्गाथली गाउँपालिकाको वडानम्बर ३ र ४ को बस्ती मा १ सय ९६ धारा निर्माण गरिएको र दुर्गाथली गाउँपालिका र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको साझेदारी र सामाजिक तथा प्राबिधिक बिकास सेवा समूह बझाङको सहयोगमा १ करोड २५ लाख रुपैयाँको लगानीमा उक्तm योजना सम्पन्न भएको बताउनु भयो ।

अहिले गाउँको काँडागाउँ, देउलेख, थलचौरमा पानी चडेको र सेला गाउँमा केहि दिनमा वितरण गरिने समेत दौल्यालले बताउनु भयो ।

साथै ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका फिल्ड संयोजक कृष्ण प्रसाद जोशीले घरघरमा धारा मात्र नभएर समुदाय स्तरमा सरसफाइ तथा जनचेतनामुलक कार्यक्रमहरु पनी गर्दै आएको बताउनु भयो ।

वडानम्बर ३ का वडाअध्यक्ष दल बहादुर धामीले योजनालाई दिगो बनाउन स्थानीयबासीको सक्रियता जरुरी रहेको बताउनु भएको छ । उक्त पानी होचो ठाउँबाट १५ सय मिटर उचाइमा निकालिएको छ ।