Loading... आजः १ जेष्ठ २०७८, शनिबार
सन्दर्भ : पत्रकार महासंघ निर्वाचन

केले नाप्ने पत्रकारिताको गुणस्तर ?

केले नाप्ने पत्रकारिताको गुणस्तर ?

पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको चुनाव नजिकिँदैछ । यतिखेर देशभरकै पत्रकारहरुमा महासंघको चुनावी रौनक छ । जिल्ला जिल्लामा चुनावी सरगर्मी बढेको छ । विभिन्न संगठनहरु, व्यक्तिहरु जित्ने ध्याउन्नमा कोठे बैठकमा व्यस्त छन् । तर अझै फलानो फलानो पार्टीका यो र त्यो मिलेर चुनावी तालमेल गर्ने परिपाटी विगतदेखिकै नै छ । अझ पछिल्लो समयमा त ठूला मिडिया हाउसका सञ्चालकहरु, व्यापार जगतका नेता तथा उद्योगपतिहरुको चुनावमा प्रत्यक्ष अप्रत्यक्ष लगानी रहेको कारण पनि माहोल फरक भएको छ । बजारमा वस्तुको गुणस्तर जाँच गने प्रचलन रहेको छ, यसको एउटा व्यवस्था छ । वैश्विक प्रणाली (World System) छ । आइएसओ स्ट्याण्डर्ड भनेजस्तै मानवीय गुण र व्यवस्थापन गर्न समेत विधि विधान छन् । हामीले यसै आलोकमा हेर्नुपर्छ नेपालमा पत्रकारिताको स्तर पनि ।

दुर्भाग्य त के भने पत्रकारले कुनै पक्षमार्फत जीत हासिल गरेको हुन्छ तर व्यक्तिलाई गौण बनाइन्छ र फलानो पार्टीले जित्यो अथवा हार्यो भनिरहँदा व्यक्तिको योग्यतार पत्रकारिता कर्मकै अवमूल्यन भइरहेको छ । के पार्टीसँगको व्यक्तिको संलग्नता र सोही बमोजिमको प्यानल नै पत्रकारिताको गुणस्तर जाँच्ने आइएसओ हो त ? पार्टीगत आधारमा गरिने पत्रकारिताले समाजमा कस्तो असर पु¥याउला भन्ने के हामीले कहिल्यै सोचेका छौं ? पत्रकारहरुलाई पार्टीगत आकार दिने कार्यमा लोकतन्त्रको मियो भनिने नेपाली कांग्रेसले समेत आफूलाई पछि राखेन, उल्टै अग्रसरता लियो । विभिन्न पार्टीहरुले त्यसैको अनुकरण गर्दै जिल्ला जिल्लामा भगिनी संगठनको रुपमा रुपमा संगठनहरु खडा गरे । यस्ता संगठनहरुले जिल्लामा आफ्ना पक्षका नेता आउदा प्रचार गर्ने गर्छन् । आफ्ना पार्टीका नेता जिल्ला भित्रने बित्तिकै पत्रकार सम्मेलन गर्ने, आफ्ना संगठनका पत्रकारहरुलाई मात्र निम्तो दिने चलन चलिआएको छ । यी दृश्य हरेक जिल्लामा देख्न सकिन्छ । यस हिसावले नेताहरुलाई प्रचारमा आउन पनि निकै सहज र लोभ अरु प्रगाढ भएर आएको छ । राजनीतिक छत्रछायाँमा गरिने पत्रकारिताकै बर्चस्व छ । समाजको नजरमा पत्रकारहरु स्वतन्त्र नभएर वास्तवमा पार्टीका कार्यकर्ताको रुपमा बढी परिचित छन्भन्दा अन्यथा हुँदैन ।

नेपालमा स्वतन्त्र पत्रकार नभएका होइनन् । छन् । तर पत्रकारहरुको बारेमा बोल्ने संघको नेतृत्वमा पुग्न एक त उनीहरु आफै पनि रुचि राख्दैनन् । त्यसको कारण पनि छ किनभने पार्टीमा आबद्ध नभए पछि नेतृत्वमा पुग्न मुश्किल र पुगे पनि काम गर्न झनै कठिन छ । पार्टीगत रुपमा नचिनिएका पत्रकारहरुले काम पाउन पनि मुश्किल छ । कतिपय मिडिया हाउस नै फलानो पार्टी, फलानो नेताको भनेर चिनिने अवस्था छ । रिस उठेको मानिसलाई खुइल्याउने र ब्ल्याकमेलिङ गर्नका लागि मिडिया हाउस चलाउने प्रवृत्ति मौलाउन थालेको छ । यस्तो काम पत्रकारिता होइन फौजदारी अपराध हुन् । कुनै पनि पत्रकारले यस्ता कार्य गर्छन् भने सजायको भागीदार हुनै पर्छ । व्यापारी दलालहरु जो आफूलाई जोगाउन पत्रकारको बिल्ला भिर्ने पनि त्यस्तै थामिनसक्नु छ । आफूलाई पत्रकार भन्ने सूचना विभागको प्रेसकार्ड बोक्ने वा पत्रकार महासंघको परिचय बोक्ने कैयौं व्यक्तिहरु सक्रिय पत्रकारिता नै नगरी विभिन्न व्यवसाय गरिरहेका छन् । उनीहरु सरकारको समर्थनमा विपक्षीको निन्दा गर्छन् या विपक्षीको समर्थन गर्दै सरकारलाई गाली गर्छन् । यसले गर्दा स्वच्छ पत्रकारितामाथि चुनौति थपिदै गएको छ । पत्रकार हुँ भन्दैमा कानुन भन्दामाथि जान मिल्दैन र कानून मिच्ने छुट कसैलाई छैन र हुनु पनि हुदैन । समाजमा सामन्ती संस्कारलाई सामाजिक संजालमार्फत बिस्तार गर्न कतिपय प्रेस पासधारीहरु कै भूमिका देखिँदै आएको छ । यो झनै ठूलो विडम्बना हो ।

नेपालमा नेपाल पत्रकार महासंघ सबै पत्रकारहरुको साझा संस्था हो । अधिकांश मिडियाहरु राजनीतिक हस्तक्षेपबाट संचालन भइरहेको भन्ने तितो यर्थाथलाई पन्छाउन सक्नुपर्छ । राजनीतिक रुपमा धब्बा लागेका मानिसलाई प्रवेश निषेध गर्नुपर्छ । हामी अहिले नागरिक पत्रकारिताको अवस्थामा पुगेका छौं, हरेक व्यक्ति नागरिक पत्रकार । नागरिक पत्रकार र व्यवसायिक पत्रकारमा अन्तर छु््रयाउने कोशिस हामीले गरेनौं । हामीले पत्रकारिता नै गर्ने कि पर्चाकारिता ? नेता र बिज्ञापनदाताको मिडिया हाउस बनाउने कि नेताको कि जनताको ? यस्ता अनेकन सवालहरु दिमागमा आइरहन्छन् । यसका लागि आफ्नो शुद्धीकरण गर्नु जरुरी रहेको छ । पत्रकारहरुले आफ्ना आचारसंहिता मूल्यमान्यताको अधीनमा रहेर कार्य गरिरहेका छन्, छैनन् भनेर हेर्ने निकाय कुन ? पार्टी कि संगठन ? हामी व्यवसायिक बन्ने तर्फ लाग्यौं तर बन्न पुग्यौं अर्कै । यस्तो किन भयो ?

सूचना विभागले गैरपत्रकारहरुलाई प्रेस पास नदिने, पत्रकार महासंघले जग्गा दलाल, नेता, ब्यापारीहरुलाई सदस्यता नबाँड्ने अनि पत्रकारिताको नाममा हुने आपराधिक कार्यको नियन्त्रणमा प्रहरी प्रशासनलाई सघाउने हो भने नेपाली पत्रकारितालाई स्तरीय बनाउन विशेष सहयोग पुग्छ । निश्चय नै विभिन्न समस्याहरुले गर्दा पत्रकारिता पेशा व्यववसायिक बन्न सकेको छैन । यसले गर्दा पत्रकारहरुको, विशेष गरे श्रमजीवी पत्रकारहरुको भविष्य अन्यौलग्रस्त देखिन्छ । कोही पनि पत्रकारिता पेशा मै रहन सक्दैन भन्ने सकारात्मक भावना उजागर गर्न सकिने अवस्था देखिदैन । आशा गरौं समाजमा नेताहरुलाई जसरी अविश्वास गरिन्छ पत्रकारलाई पनि त्यस्तै हेयको दृष्टिले हेरिने परिपाटि बस्ला भन्ने डर छ । अवस्थालाई बुझने, स्वतन्त्र पत्रकारहरुको आफ्नो पेशालाई मर्यादित, कलंकरहित बनाउन आगामी निर्वाचन सफल रहोस् । समाजमा नयाँ नेतृत्व यो नेताको खल्तिबाट आएको भन्ने बात नलागोस् ।

स्वतन्त्र, निष्पक्ष भएर अभिव्यक्ति दिनु, विचार प्रतिनिधित्व गर्नु, राज्यले लुकाएका यथार्थ प्रकाशमा ल्याएर लोकलाई सुसूचित गर्नु पत्रकारको धर्म हो र राज्यलाई जनहितमा काम गर्न प्रेरित गर्नु, नगरे एक्सपोज गर्नु पत्रकारिता मूल कर्तव्य हो । यसलाई आगामी महासंघको नेतृत्वले निष्ठापूर्वक स्थापित गर्दै प्रवद्र्धनका साथै कायम राख्न सक्नुपर्छ । पत्रकारिता पेशालाई समाजको मार्गदर्शक बनाउन सक्नुपर्छ । यसो गर्न सके मात्र यो स्वतः सम्मानित र मर्यादित पेशा हुन सक्ने छ । अग्रिम शुभकामना छ, महासंघ पत्रकारहरुको हक अधिकार स्थापित गर्न सक्षम रहोस् । नयाँ नेतृत्वले नेपाल पत्रकार महासंघमा राजनीतिक भागवण्डाले गर्दा पत्रकारिता पेशा तटस्थ र आशा गरिए अनुरुप जिम्मेवार हुन नसकेको अवस्थालाई चिर्न सकोस् । शुभकामना ।।