Loading... आजः १ असार २०७८, मंगलवार
बेथितिभित्र मौलाउँदै नीतिगत भ्रष्टाचार

कोहलपुरमा ब्रह्मालुटको नयाँ तरिका, ‘आयोजना निर्माणको मध्यतिर ‘आइइई’को अस्त्र’

राज्यको ढुकुटी कुम्याउनकै लागि जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा ५० प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाको दुई बर्षपछि ‘आइइई’ गर्न लागिएको छ ।
कोहलपुरमा ब्रह्मालुटको नयाँ तरिका, ‘आयोजना निर्माणको मध्यतिर ‘आइइई’को अस्त्र’

बाँके । कुनै पनि योजना निर्माणका लागि पहिले ‘आइइई’ महत्वपूर्ण मानिन्छ । त्यसमा योजना वा उत्खननले त्यस क्षेत्रको पारिस्थितिकीय प्रणाली, वातावरण, सामाजिक, आर्थिक क्षेत्रमा पार्न सक्ने असरबारे विस्तृत अध्ययन गरी न्यूनीकरण उपाय पहिल्याइन्छ । ‘आइइई’ विकासले पार्ने असर सकेजति कम गर्न मद्दत पुर्याउँछ । तर, कोहलपुर नगरपालिकाले भने वातावरणजस्तो गम्भीर विषयमा संवेदनहिनता देखाएको छ ।

कोहलपुर नगरपालिका र जटायु रिसाइक्लर्स प्रालिबीच गत असार २६ गते फोहर संकलन, व्यवस्थापन र प्रशोधनका लागि दुई पक्षिय सम्झौता भयो । साउन १ गतेदेखि उक्त संस्थाले काम सुरु गरेको बताए पनि कोहलपुर नगरपालिकाले उक्त क्षेत्रको ‘आइइई’ करिब दुई वर्षपछि गर्दैछ । जुन दुई पक्षबीचको सम्झौता अगावै गर्नुपर्ने थियो । फोहर संकलन, व्यवस्थापन र प्रशोधनका लागि भएको सम्झौता अगावै गर्नुपर्ने ‘आइइई’ दुई बर्षपछि गर्न लागिएको छ ।

नगरपालिका स्रोतका अनुसार जनप्रतिनिधि र कर्मचारीहरुको कमाउधन्दाका लागि उनीहरुकै मिलेमतोमा नगरपालिकामा सरकारी ढुकुटीमाथि ब्रह्मालुट भइरहेको छ । यसैको निरन्तरता स्वरुप फोहर संकलन, व्यवस्थापन र प्रशोधन आयोजना सुरु हुनभन्दा पहिले गर्नुपर्ने ‘आइइई’ दुई बर्षपछि गरिँदैछ । सरकारी ढुकुटी रित्याउनकै लागि डीपीआरसमेत भइसकेको उक्त आयोजनाको ‘आइइई’ दुई वर्षपछि गर्न लागिएको नगरपालिका स्रोत बताउँछ ।

नगरपालिका मेयर लुटबहादुर रावत, उपमेयर सञ्जुकुमारी चौधरी, कार्यपालिका सदस्य डिलबहादुर परियार, नगरपालिका प्रमुख प्रशासकीय अधिकृत छविलाल नेपाली र योजना शाखाका प्रमूख अग्नी आचार्यको कमाउधन्दा चलाउने अड्डा बनेको कोहलपुर नगरपालिकाका फोहरमैला तथा वातावरण सुधार शाखाका पुरुषोतम पोखरेलले सुरुमै ‘आइइर्ई’ गर्नुपर्ने भए पनि दुई बर्षपछि मात्रै ‘आइइई’ गर्न लागिएको स्वीकार गरे ।

कोहलपुर नगरपालिका प्रमुख लुटबहादुर रावतले ‘आइइई’सँगै संरचना पनि बनाउँदै जाने बताए । तर, ‘आइइई’ र संरचना एकै पटक बनाउन मिल्दैन । पहिले ‘आइइई’ गरेर आयोजनाको प्रभाव मूल्यांकनपछि मात्रै संरचना निर्माण गर्न मिल्ने नमिल्ने थाहा हुने भएकाले एकै पटक ‘आइइई’ र संरचना निर्माण गर्न मिल्दैन । मेयर रावतको यस्तो जवाफले पनि कमाउधन्दाकै लागि आयोजना सुरु भएको दुई बर्षपछि ‘आइइई’ गर्न लागिएको प्रष्ट हुन्छ ।

मेयर रावतको भनाई अनुसार हचुवाको भरमा आयोजना सुचारु गरेको पनि प्रष्ट भएको छ । आयोजना निर्माणको जिम्मा पाएको जटायु रिसाइक्लर्सका अनुसार फोहरमैला व्यवस्थापन तथा प्रशोधन केन्द्र निर्माणको ५० प्रतिशत काम सम्पन्न भइसकेको छ । तर राज्यको ढुकुटी कुम्याउनकै लागि जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा ५० प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाको दुई बर्षपछि ‘आइइई’ गर्न लागिएको छ ।

सरकारी ढुकुटी दोहनका अर्का योजनाकार कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल नेपाली पनि यस विषयमा पूर्ण जानकारी नभएको भन्दै गैरजिम्मेवारी प्रस्तुत गर्छन् । ‘कुनै पनि आयोजना निर्माण हुनुभन्दा पहिले नै ‘आइइई’ गर्नुपर्छ भन्ने थाहा भए पनि कमाउधन्दाकै लागि प्रमुख प्रशासकीय अधिकृत छविलाल नेपाली जस्तोसुकै काम गर्न पनि तयार हुन्छन्,’ कोहलपुर नगरपालिका स्रोतले बतायो ।

थप समाचारहरु पनि पढ्नुहोस् :

बदनाम कोहलपुर नगरपालिका : ‘जनप्रतिनिधि र कर्मचारीको कमाउधन्दा चलाउने अड्डा’

कोहलपुरमा चरम आर्थिक घोटाला, किन लुकाइयो छानविन समितिका प्रतिवेदन ?

कोहलपुर नगरपालिकाद्वारा कृषि अनुदानको खुलेआम दुरूपयोग

कोहलपुरमा बेतिथि : प्रसुति गृहको रकममै लुटतन्त्र

कोहलपुरमा मेयर लुटबहादुरको ब्रह्मलुट, ‘जनताको ढाड भाँचिने गरी बजेट दुरुपयोग’

कोहलपुरका मेयर लुटबहादुरको अर्को बदमासी, ‘नेकपा नहुँदा सरकारी सेवाबाट बञ्चित’

स्वास्थ्य संस्था एम्बुलेन्सबिहीन, मेयर लुटबहादुरलाई विलासी कार

कोहलपुरमा वडाध्यक्षदेखि मेयरसम्मको ब्रम्हलुट, अर्थहीन योजनामा बजेट खर्च

कोहलपुर नगरपालिका स्रोतका अनुसार सरकारी ढुकुटी दोहनका अर्का योजनाकार नगरपालिका योजना शाखा प्रमुख अग्नी आचार्य पनि बृहत आयोजना निर्माण हुनुभन्दा पहिले नै ‘आइइई’ गर्नुपर्ने थाहा हुँदाहुँदै कमाउधन्दाकै लागि ‘आइइई’ गर्नुपर्ने पक्षमा छन् । तर हरेक योजनाका बारेमा अभिलेख राख्ने शाखाका प्रमूख आचार्य भने ‘आइइई’ गर्नुपर्ने बिषयमा आफूलाई पनि पूर्ण जानकारी नभएको भन्दै गैरजिम्मेवार जवाफ दिँदै आएका छन् ।

जटायू रिसाइक्लर्स प्रालिले फोहर व्यवस्थापन गर्ने बिषयमा कोहलपुर–९ का स्थानीयबासी रजक अलीले फोहर व्यवस्थापन केन्द्र बस्तीको १५० मिटर मात्र टाढा छ । फोहर व्यवस्थापनजस्तो कार्य आयोजना सञ्चालन हुनुभन्दा पहिले नै ‘आइइई’ नगरेर हचुवाको भरमा व्यवस्थापन गर्न खोजिएको अलीले बताए । सञ्चालन हुनुभन्दा पहिले ‘आइइई’ नगरेरै हचुवाको भरमा आयोजना सञ्चालन गर्न थालेपछि कोहलपुर–९ का स्थानीय नागरिक आक्रोशित बनेका छन् ।

स्थानीयहरुले फोहर व्यवस्थापन गर्न यसको विकल्पका रुपमा अन्यत्रसार्नुपर्ने बताउँदै आएका छन् । आयोजना सञ्चालन गर्दा आफ्नो वडासँग कुनै सहकार्य नभएको र बजेट रकमसमेत थाहा नभएको कोहलपुर नगरपालिका–९ का वडाध्यक्ष ठाकुरप्रसाद थारु बताउँछन् । उनी भन्छन्, ‘मलाई अहिलेसम्म कुनै जानकारी छैन, एकपटक विद्युतको लागि ठेकेदार कम्पनीका कर्मचारी आउँदा मेलै जनताको भावनाविपरित कार्य गर्न नसकिने भनेर पठाइदिए ।’

आयोजना सुरुवातअघि ‘आइइई’ नगर्ने कोहलपुर नगरपालिकाभित्र सञ्चालित आयोजना निर्माण कार्य मध्यतिर पुगेपछि नगरपालिकाका मेयर रावत, उपमेयर चौधरी, कार्यपालिका सदस्य परियार, प्रमुख प्रशासकीय अधिकृत नेपाली र योजना शाखा प्रमूख आचार्यको कमाउधन्दाका लागि ‘आइइई’को अस्त्र प्रयोग गरेर राज्य कोषको लाखौं रकम झ्वाम पार्ने गरिएको कोहलपुर नगरपालिका स्रोतको दावी छ ।

कोहलपुरको गोलपार्कमा बनिरहेको घण्टाघरको निर्माण कार्य मध्य चरणमा पुगिसकेपछि ‘आइइई’ गरिएको थियो । तीन बिगाह क्षेत्रफलमा बगैंचासहित निर्माणाधिन अवस्थामा रहेको फोहर ब्यवस्थापन तथा प्रशोधन केन्द्रबाट कुनै प्रकारको दुर्गन्ध बाहिर नजाने निर्माण कम्पनीको दावी छ । नगरपालिकाको करिब २ करोड र निर्माण कम्पनी जटायू रिसाइक्लर्स प्रालिको करिब ९७ लाख रुपैयाँको लगानीमा फोहर ब्यवस्थापन तथा प्रशोधन केन्द्र निर्माण गर्न लागिएको हो ।

यस रकमभित्र ‘आइइई’ रकम समावेश भने नगरिएको नगरपालिका स्रोतले जनाएको छ । तीन बिगाह क्षेत्रफलमा निर्माण हुन लागेको उक्त प्रशोधन केन्द्रमा नगर क्षेत्रभित्रबाट संकलन गरिएको फोहोरलाई वर्गिकरण गरी पुनःउपयोगका लागि प्रशोधन गरिने कम्पनीको योजना छ । निर्माण कम्पनीका अनुसार फोहर संकलन, व्यवस्थापन, पुनःउपयोग तथा मृत पशु चौपायाको ब्यवस्थापन हुने बताइएको हो ।

कोहलपुर नगर क्षेत्रको फोहर ब्यवस्थापन तथा प्रशोधन केन्द्रले स्थानीयस्तरमा रोजगारीसमेत सिर्जना गर्ने निर्माण कम्पनीको दावी छ । कम्पनीका सञ्चालक सतिष केसीले घरघरमा रहेका कुहिने र नकुहिने वस्तुहरु वर्गीकरण गरेर प्रशोधन केन्द्रसम्म लगिने बताए । प्रशोधन केन्द्रमा प्लाष्टिकलाई प्रशोधन गरिने, धातुताई पनि पुनः प्रयोगका लागि पठाइने र कुहिने फोहरबाट प्राङगारिक मल र बायो ग्याँस उत्पादन गरिने जानकारी दिए ।