Loading... आजः १ असार २०७८, मंगलवार

भारतमा कोरोना बढेसँगै नेपाल फर्किनेको लर्को

भारतमा कोरोना बढेसँगै नेपाल फर्किनेको लर्को
फाइल तस्वीर

बाँके । भारतमा दोस्रो चरणको कोरोना सङ्क्रमण बढेपछि कामका लागि भारत गएका नेपाली फर्किने क्रम बढेको छ । कोरोनाका कारण भारतका विभिन्न सहरमा फेरि लकडाउन हुन थालेपछि नेपालीहरू घर फर्किरहेका छन् । गत वर्षजस्तै कोरोनाको महामारी फैलिन सक्ने आशङ्कामा आफूहरू घर फर्किनुपरेको भारतबाट फर्किरहेकाको भनाइ छ ।

अहिले भारत जानेभन्दा स्वदेश फर्किने नेपालीको सङ्ख्या धेरै भएको इलाका प्रहरी कार्यालय जमुनाहले जनाएको छ । प्रहरी सहायक निरीक्षक विष्णु गिरीका अनुसार दैनिक सरदर सात सय नेपाली सीमा क्षेत्रको बाटो हुँदै स्वदेश फर्किने गरेका छन् । फर्किनेमा अधिकांश महाराष्ट्र, गुजरात र पञ्जाबमा काम गर्नेहरू रहेको पनि उनले बताए ।

फर्किनेमध्ये अधिकांशले भारतमा फेरि लकडाउन सुरु भएकोले नेपाल फर्किएको बताएका छन् । भारतको महाराष्ट्रबाट १५ जनाको समूहमा फर्किएका जाजरकोट ढिमेका जयबहादुर खत्रीले कोरोना फेरि फैलिन थालेपछि आफूहरूको काम गर्ने उद्योग बन्द भएकाले बाध्य भएर नेपाल फर्किएको बताए । उनले गत वर्ष उठाएको दुःख र कष्ट सम्झेर यसपटक पहिले नै धेरै नेपाली फर्किरहेको पनि बताए ।

यसैगरी भारतमा कोरोना सङ्क्रमण बढेसँंगै नेपाली स्वदेश फर्किन थालेपछि नेपाल– भारत जमुनाहमा अत्याधुनिक हेल्थ डेस्क सञ्चालन गरिएको छ । भारतमा लामो समय काम गरेर फर्किएकालाई यो नाकाबाट नेपालगञ्ज प्रवेश गर्न लाग्दा नाकामा खटिएका सुरक्षाकर्मीले स्वास्थ्य जाँच गराएर मात्र आउन अनुमति दिएका छन् ।

नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले ज्वरो आएको या कुनै लक्षण देखिएमा नाकामै तत्काल एन्टिजोन परीक्षण गर्ने व्यवस्थासमेत मिलाइएको जानकारी दिए । उनले बुधबार पहिलो दिन शङ्का लागेका १० जनाको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको पनि बताए ।