Loading... आजः १३ श्रावण २०७८, बुधबार
आलेख

नरैनापुरको प्राथमिकतामा ‘कृषि र उद्योग’

उचित कार्ययोजना, बजेट र इच्छाशक्तिका साथ अघि बढ्न सके नरैनापुरको समृद्धिको मुुख्य आधार कृषि र ग्रामीण उद्योग हुने कुरामा दुई मत छैन । कृषिको आधुनिकीकरण र उत्पादनको बजारीकरणले नै विकास र समृद्धिको मार्ग तय गर्दछ ।
नरैनापुरको प्राथमिकतामा ‘कृषि र उद्योग’

बाँकेको ‘कर्णाली’ उपमा पाएको पूर्वी दक्षिणी भेगमा अवस्थित नरैनापुर साविकका ६ गाविस मिलाएर बनाइएको गाउँपालिका हो । साविकका कटकुइँया, लक्ष्मणपुर, कालाफाँटा, नरैनापुर, मटेहिया र गंगापुर गाविसलाई ६ वटा वडाका रुपमा परिणत गरिएको छ । निकै कमजोर साक्षरताले गाँजेको यो पालिकालाई धेरथोर भरथेग गर्ने भनेकै कृषिले हो । परम्परागत कृषि प्रणालीको भरमा निर्वाहमुखी जीवनशैलीका लागि संघर्षरत नरैनापुरलाई कृषिका माध्यमबाट सबल बनाउन स्थानीय सरकार प्रयासरत छ । स्थानीयलाई व्यवसायमुखी कृषि कर्मका लागि प्रेरित गर्दै उत्पादनसंग जोड्ने योजनामा नरैनापुर गाउँपालिका अघि बढेको छ । औद्योगिक ग्राम स्थापना गरी कृषि उत्पादनको बजार प्रबद्र्धन र रोजगारी सिर्जना गर्ने दिशामा गाउँपालिका अग्रसर छ । कृषि र उद्योगलाई उच्च प्राथमिकतामा राखेर नरैनापुर गाउँपालिका स्थानीयको जीवनस्तर उकास्ने उद्देश्यले प्रेरित छ ।

१७२.३४ बर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको नरैनापुरमा ३७०८ हेक्टर खेतीयोग्य जमिन छ । त्यसमध्ये सिंचित क्षेत्रफल २६० हेक्टर छ भने असिंचित क्षेत्रफल २५७ हेक्टर छ । बाँझो जमिन पनि २५७ हेक्टर नै छ । यहाँ मुख्यरुपमा धान, मकै, गहुँ, मसुरो, चना, तरकारी र तेलहन बालीको खेती हुने गर्दछ । वडा नम्बर १ मा ४५० हेक्टर, वडा नम्बर मा ६०७, वडा नम्बर ३ मा ५१५, वडा नम्बर ४ मा ६७० हेक्टर, वडा नम्बर ५ मा ५९४ र वडा नम्बर ५ मा ५९५ हेक्टर क्षेत्रफलमा धान खेती हुने गर्दछ । सबैभन्दा बढी धान उत्पादन वडा नम्बर २ मा ८ हजार १२१ मेट्रिक टन उत्पादन हुने गरेको छ । त्यस्तै गहुँ खेती वडा नम्बर १ मा ३३५, वडा नम्बर २ मा ३५०, ३ मा ३४३, वडा नम्बर ४ मा २४५, वडा नम्बर ५ मा २३५ र वडा नम्बर ६ मा ४३५ हेक्टरमा हुने गरेको तथ्यांक छ । गहुँ उत्पादन सबैभन्दा बढी वडा नम्बर १ मा ८३७ मेट्रिक टन उत्पादन हुने गरेको गर्दछ ।

नरैनापुरमा उत्पादन हुने बालीमध्ये मकै पनि एक प्रमुख बाली हो । तथ्यांकअनुसार वडा नम्बर १ मा ९१ हेक्टर, वडा नम्बर २ मा ७५, ३ मा ८३, वडा नम्बर ४ मा ९५, वडा नम्बर ४ मा ६५ र वडा नम्बर ६ मा ९० हेक्टर क्षेत्रफलमा मकै खेती हुने गरेको छ । मकै उत्पादन वडा नम्बर १ मा सबैभन्दा बढी १८२ मेट्रिक टन उत्पादन हुने गरेको छ । कृषि ज्ञान केन्द्र बाँकेको पछिल्लो तथ्यांक अनुसार सबैभन्दा बढी मसुरो खेती र उत्पादन पनि वडा नम्बर १ मै हुने गरेको छ । वडा नम्बर १ मा १ हजार १३५ हेक्टर जमिनमा १ हजार ५५२ मेट्रिक टन मसुरो उत्पादन हुने गर्दछ । त्यस्तै वडा नम्बर २ मा ७२५, वडा नम्बर ३ मा ८५, ४ मा ९५, ५ मा १०५ र वडा नम्बर ६ मा ९५० हेक्टर क्षेत्रफलमा मसुरो खेती हुने गरेको छ ।

नरैनापुरमा चना खेती पनि उल्लेख्य मात्रामा हुने गरेको छ । वडा नम्बर १ मै सबैभन्दा बढी चना खेती गरिन्छ । उत्पादन पनि वडा नम्बर १ मा नै बढी छ । वडा नम्बर १ मा ९१ हेक्टरमा १८२ मेट्रिक टन चना उत्पादन हुने गर्दछ । वडा नम्बर २ मा ७५ हेक्टर, वडा नम्बर ३ मा ८३, वडा नम्बर ४ मा ९५, वडा नम्बर ५ मा ६५ र वडा नम्बर ६ मा ९० हेक्टर जमिनमा चना खेती हुने गरेको तथ्यांक कृषि ज्ञान केन्द्रसँग छ । तरकारी खेती भने सबैभन्दा बढी वडा नम्बर ६ मा हुने गरेको छ । जहाँ ८० हेक्टर जमिनमा १ हजार मेट्रिक टन तरकारी उत्पादन भइरहेको छ । त्यस्तै वडा नम्बर १ मा ४८ हेक्टर, २ मा ६९, ३ मा ६५, ४ मा ६५ र वडा नम्बर ५ मा ५५ हेक्टर जमिनमा तरकारी खेती भइरहेको छ । तेलहन बालीको उत्पादन सबैभन्दा बढी वडा नम्बर २ मा हुने गर्दछ । २४५ हेक्टर जमिन १५९ मेट्रिक टन तेलहन बाली उत्पादन भइरहेको तथ्यांक छ ।

त्यस्तै वडा नं.१ मा २२० हेक्टर, वडा नं.३ मा २३०, ४ मा २३२, ५ मा २२५ र वडा नं. ६ मा १५५ हेक्टर क्षेत्रफलमा तेलहन बालीको खेती हुन्छ । नरैनापुर गाउँपालिकालाई कृषि हबका रुपमा विकास गर्न पालिकाले प्रत्येक वडामा राष्ट्रिय महत्वका बालीहरुको पहिचान गरी एक बाली एक उत्पादन पकेट कार्यक्रमलाई जोड दिएको कृषि शाखाको भनाई छ । जसअन्तरगत आगामी बर्षहरुमा वडा नम्बर १ लाई धान, वडा नम्बर २ लाई मसुरो, वडा नम्बर ३ धान, वडा नम्बर ४ केरा र मसुरो, वडा नम्बर ५ मसुरो र तरकारी तथा वडा नम्बर ६ लाई मकै र तरकारी बालीको पकेट क्षेत्रका रुपमा विकास गर्ने लक्ष्य लिइएको कृषि शाखा प्रमुख सदन भण्डारी बताउँछन् । वास्तविक कृषकहरुको पहिचान गर्न कृषक परिचयपत्र वितरण गर्ने योजनामा गाउँपालिका छ । त्यस्तै वडा नम्बर १ र ३ मा सिंचाईका लागि बनेका पुराना डिप बोरिङलाई सुचारु गरी पालिकामा पर्याप्त सिंचाई पूर्वाधार विकास गर्ने अर्को रणनीतिक योजना रहेको भण्डारी बताउँछन् ।

पालिकामा अहिले बर्षेनी दुई हजारका दरले पशु विमा कार्यक्रम सञ्चालन भइरहेको छ । प्रत्येक वडामा कम्तिमा १० देखि १५ जना कृषकहरु व्यवसायिक तरकारी खेतीमा आबद्ध छन् । गाउँपालिकाको वडा नम्बर २ लक्ष्मणपुरमा कृषि बजार निर्माण भएको छ । लक्ष्मणपुर कृषि बजारलाई थप जिम्मेवार बनाउँदै बजार विकास समितिमार्फत् पालिकाभित्रका सम्पूर्ण किसानहरुको कृषि उपजहरु सङ्कलन गरी बजारीकरण गर्ने रणनीतिक योजना छ । समूह पद्धतिद्वारा कृषि प्रसारका काम गर्न ६ वटा कृषि सहकारी दर्ता भएका छन् । सबै वडामा करिब तीन हजार कृषक आबद्ध भएका १०० कृषक समूह तथा सहकारी पालिकामा दर्ता एवम् सूचीकृत भएका छन् । विगतमा नेपालगन्जमा कृषि कार्यालय हुँदा नरैनापुरका कृषकहरुलाई प्राविधिक सेवा लनि कठिनाई भएको अवस्था थियो । तर, अहिले गाउँपालिका कार्यालयमै कृषि शाखा छ ।

चार जना प्राविधिक जनशक्तिले गाउँपालिकाका सबै वडाहरुसँग समन्वय गरी कृषि प्रसारका कार्यहरु गरिरहेको कृषि शाखा प्रमुख भण्डारी बताउँछन् । चालू आर्थिक बर्ष २०७७/७८ मा संघीय सशर्ततर्फ ५९ लाख, प्रदेश अनुदान १ करोड १८ लाख ५० हजार र आन्तरिक स्रोततर्फ करिब ७० लाख बजेट छ । कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै गाउँपालिकाले प्रत्येक बर्ष कृषि तर्फको बजेट बढाउँदै लगेको छ । नरैनापुरमा औद्योगिक ग्राम निर्माणको प्रक्रिया पनि शुरु भएको छ । लुम्बिनी प्रदेश सरकारले नरैनापुरमा औद्योगिक ग्राम निर्माणका लागि डिपिआर गर्न बजेट छुट्ट्याएपछि प्रक्रिया अघि बढेको हो । त्यसका लागि प्रदेश सरकारले १५ लाख रुपैयाँ छुट्ट्याएको छ । औद्योगिक ग्राम बनाउन यसै आर्थिक बर्षभित्र डिपिआर गरिसक्ने योजना छ । वडा नम्बर ४ मा ५० विगाहा बढी जग्गामा औद्योगिक ग्राम स्थापना गर्ने गरी व्यवस्थापन भइरहेको छ ।

लुम्बिनी प्रदेश सरकारको घरेलु, साना तथा मझौला उद्योगमार्फत् रोजगार सिर्जना गर्ने र क्षेत्रगत असन्तुलन कम गर्दै जाने नीतिअनुरुप ‘एक निर्वाचन क्षेत्र, एक औद्योगिक ग्राम स्थापना’को कार्यक्रम अन्तरगत नरैनापुरमा पनि प्रक्रिया अघि बढेको हो । सबै उद्योगहरु एकै ठाउँबाट सञ्चालन गर्ने उद्देश्य अनुरुप प्रदेश सरकारले यो अवधारणा अघि बढाएको हो । नरैनापुरमा हुलाकी सडक निर्माण सम्पन्न भएर विद्युतीकरण पनि भइरहेकाले औद्योगिक ग्राम स्थापनाको कार्यले सार्थकता पाउनेछ । औद्यागिक ग्राम स्थापनापछि नरैनापुर ग्रामीण औद्योगिकीकरणको दिशामा अघि बढ्ने गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाह बताउँछन् । स्थानीय उत्पादनले बजार पाउनुका साथै रोजगारी सिर्जना हुने भएकाले नरैनापुरको विकास र समृद्धिका लागि औद्यागिक ग्राम कोशेढुंगा सावित हुने अध्यक्ष शाहको विश्वास छ ।

गाउँपालिकाले यसअघि प्रदेश योजना आयोगमा डेलिगेशन गएर औद्योगिक ग्राम स्थापनाको योजना माग गरेको थियो । गाउँ कार्यपालिकाको बैठकबाट निर्णय गरेर प्रदेशमा पठाइसकिएको छ । ‘डिपिआरका लागि काम अघि बढेको छ, गाउँपालिकाले आवश्यक सहजीकरण र व्यवस्थापन गर्नेछ, जग्गा व्यवस्थापनदेखि रेखदेख लगायत अन्य काममा हामी सक्रिय भएर लाग्छौं,’ प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाही भन्छन् । नरैनापुरलाई उत्पादन र रोजगारीसँग जोड्न अब सहज हुने शाहीको भनाई छ । कृषि र उद्योग प्राथमिकतामा रहेको शाही बताउँछन् । नरैनापुर कृषि र ग्रामीण उद्योगको राम्रो सम्भावना बोकेको ‘भर्जिन’ ल्याण्ड हो । उचित कार्ययोजना, बजेट र इच्छाशक्तिका साथ अघि बढ्न सके नरैनापुरको समृद्धिको मुुख्य आधार कृषि र ग्रामीण उद्योग हुने कुरामा दुई मत छैन । कृषिको आधुनिकीकरण र उत्पादनको बजारीकरणले नै विकास र समृद्धिको मार्ग तय गर्दछ ।

–समृद्धिको यात्रामा नरैनापुर बुलेटिनबाट