Loading... आजः १ जेष्ठ २०७८, शनिबार
स्थानीय सरकार

‘गौरवका आयोजना’ले फेरिँदै नरैनापुर

स्थानीय तहको निर्वाचनपछि नरैनापुरमा गौरवका योजनाहरु धमाधम सञ्चालन भइरहेका छन् ।
‘गौरवका आयोजना’ले फेरिँदै नरैनापुर

गाडी गुड्न थालेका छन् । बिजुलीका खम्बामा तार टाँगिएको छ । स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सकले सेवा दिन थालेका छन् । समयान्तरसँगै बाँकेको नरैनापुरको मुहार फेरिँदैछ । पछिल्लो समय नरैनापुरले धेरै बदलाव अनुभूत गरेको छ । अहिले गाउँले मुहार फेरिएको । यो देख्ने र भोग्ने त भाग्यमानी पुस्ता हो । बस्ती विकासमा पछि परेको र उपेक्षित थियो । सडक र एम्बुलेन्स नहुँदा धेरैले आमा गुमाएका घटना नरैनापुरले व्यहोरेको छ । केही वर्षअघि समयमै दमकल पुग्न नसक्दा आगो लागेर गाउँ नै सखाप भयो ।

दुई घण्टामा बस्ती डढेर सकियो । बाटो नहुँदा नेपालगन्जबाट दमकल आउनै दुई दिन लाग्यो । त्यो नियति अब भोग्नु नपर्ला । समयमै उपचार नपाउँदा यहाँका धेरैले ज्यान गुमाए पनि । नेपालगन्ज जोड्ने सडक नहुँदा उनीहरू भारतमा उपचार गर्न पुग्थे । किनमेलका लागि पनि सीमावर्ती भारतीय बजारकै भर पर्नुपथ्र्यो । स्थानीय तहको निर्वाचनपछि नरैनापुरको मुहारमा बल्ल उज्यालो देखिन थालेको छ । पञ्चायतकालमा यहाँको विकासमा राज्यको ध्यान तान्न राजा वीरेन्द्रलाई भ्रमणको निम्तो दिइएको थियो । त्यसबेला राजाले यहाँका लागि ५ लाख रुपैयाँ छुट्याइदिएका थिए । त्यो रकम कहाँ खर्च भयो, अहिलेसम्म पत्तो छैन ।

पूर्वमन्त्री प्रेमबहादुर भण्डारीले गाड्न लगाएका विद्युतका पोल झन्डै तीन दशकसम्म बेवारिसे बने । टुकी बाल्नुपर्ने बाध्यतालाई नरैनापुरवासीले आफ्नै बलबुँतामा सोलार प्यानल जडान गरी हटाए । अहिले पोलमै सही, बत्ती आएको छ । पोलमै बत्ती बल्नु पनि यहाँका लागि ठूलो उपलब्धि हो । यस क्षेत्रमा ०७३ चैत ११ मा निर्माण थालिएको हुलाकी सडकको काम पूरा हुन चार वर्ष लाग्यो । उक्त सडक कालोपत्रे भएसँगै यहाँका स्थानीय नेपालगन्जसँग नजिकिएका छन् । गाउँमा बिजुली बत्ती र सडक सुविधा आएपछि नरैनापुरबासी व्यवसायतर्फ आकर्षित भइरहेका छन् । यसअघि नेपालगन्ज पु¥याउने बाटो नहुँदा नरैनापुरका झन्डै २०० किसान भारतमा दूध बिक्री गर्न जान्थे । अहिले सबैले यहीँ दूध बेच्न ल्याउँछन् ।

बिजुली नहुँदाको सास्ती सुनाउँदै ६० वर्षीय मुन्सीप्रसाद यादवले भने, ‘घरमा सोलारबाट बत्ती बाल्थे । टीभी हेर्नुपरे ब्याट्री चार्ज गर्न भारत पुग्थे । घरमा बिजुली नभएका कारण सबै कोठामा पंखा चल्दैनथ्यो । पसिना काढ्दै सुत्नुको विकल्प थिएन । अब खेतीका लागि बोरिङ गर्न सजिलो हुने भयो । खेती किसानी गर्ने सबैलाई फाइदा भएको छ ।’ नरैनापुरमा बिजुली नहुँदा एउटा पनि उद्योग छैनन् । अधिकांश युवा रोजगारीका लागि भारतको हैदराबाद, दिल्ली, पन्जाब, मुम्बई र कानपुर पुग्छन् । ‘अब गाउँमा उद्योग स्थापनाको वातावरण बनाउँछौं,’ गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले भने, ‘बिजुलीको पूर्वाधार नहुँदा अस्पतालमा एक्सरे मेसिन, ल्याब सञ्चालन गर्न गाह्रो भएको थियो ।’

कोरोना महामारीका कारण रोजगारी गुमाएर गाउँ फर्किएका करिब १५ सय युवालाई यहीँ काम दिने गरी तयारी थालेको शाहको भनाइ छ । ‘हामी व्यावसायिक कृषि र उद्योगधन्दा खोल्नका लागि संरचना बनाउँदै छौं,’ उनले भने । नरैनापुरमा एकैदिन ४९ जनामा कोरोना संक्रमण पुष्टि भयो । भारतमा महामारी बढ्दै जाँदा युवा गाउँ फर्किने क्रम बढेपछि यहाँ पनि संक्रमणले भयावह रूप लिएको हो । यो घटनापछि स्थानीयमात्रै होइन जनप्रतिनिधि नै आतंकित बने । सामान्य उपचारका लागि पनि भारत धाउनुपर्ने नियति बोकेका नरैनापुरबासीलाई कोरोना महामारीबाट जोगिन सकिएला भन्ने लागेकै थिएन ।

स्थानीय तहको निर्वाचनपछि नरैनापुरमा गौरवका योजनाहरु धमाधम सञ्चालन भइरहेका छन् । गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा गाउँपालिकाको प्रशासकीय भवन निर्माण, सडक कालोपत्रे, गौशाला निर्माण, विद्यालय भवन निर्माण लगायतका केही गौरवका योजना अघि सारेको छ । गाउँपालिकाले चालु आर्थिक बर्षमा संघीय सरकारको समानीकरण अनुदानबाट नरैनापुर–४ मा दलित निगरानी केन्द्र भवन निर्माणका लागि रु.२५ लाख, नरैनापुर–१ को महतेनिया गाउँमा पीसीसी बाटो निर्माणका लागि रु.३० लाख र नरैनापुर–५ को जमुनाह गाउँमा रिङ्ग रोड निर्माणका लागि रु.३० लाख रकम विनियोजन गरेर काम अघि बढाएको छ ।

संघीय सरकारको समानीकरण अनुदानबाटै नरैनापुर–४ को सामुदायिक भवनदेखि जयरामपूर्वा जाने बाटो माटो पटान तथा ग्राभेलका लागि रु.२५ लाख, नरैनापुर–१ को हुलाकी रोडदेखि मजरेटीसम्म बाटो निर्माणका लागि रु.२५ लाख, नरैनापुर–४ को हुलाकी सडकदेखि मटेहिया गाउँ हुँदै ५ नम्बर वडा कार्यालयसम्म बाटो बिस्तारका लागि रु.२४ लाख रकम विनियोजन गरी काम गरिरहेको छ । त्यस्तै प्रदेश सरकारको समपुरक अनुदानबाट रु.१ रोड ५० लाख र गाउँपालिकाको रु.१ करोड ५० लाख लागत गरी जम्मा रु.३ करोडमा नरैनापुर–२ को हुलाकी रोडदेखि रोशनपूर्वा हुँदै भारतीय सीमासम्म जाने बाटो निर्माण भइरहेको छ ।

त्यस्तै जिल्ला समन्वय समिति आन्तरिक श्रोतबाट रु.१ करोडको नरैनापुर–५ स्थित महेन्द्र माध्यमिक विद्यालय मटेहियाको भवन निर्माण भइरहेको छ । गाउँपालिकाले वडा नम्बर ४ मा गौशाला निर्माणका लागि रु.१२ करोडको विस्तृत परियोजना प्रस्ताव (डीपीआर) गरेकोमा जिल्ला समन्वय समिति आन्तरिक श्रोतबाट रु.७ करोड विनियोजन भई काम भइरहेको छ । गाउँपालिकाकै सबैभन्दा ठूलो आयोजनाका रुपमा रहेको गाउँपालिकाको प्रशासनीक भवन निर्माणका लागि रु.२३ करोडको विस्तृत परियोजना प्रस्ताव (डीपीआर) तयार भएको छ । जिल्ला समन्वय समिति आन्तरिक श्रोतबाट रु.४ करोड र गाउँपालिकाको रु.५ करोड गरी रु.९ करोडमा टेण्डर आह्वान भएर काम सुरु भएको भइरहेको छ ।

गाउँपालिकाले सञ्चालन गरेका ठूला आयोजनाबाहेक अन्य धेरै स–साना योजनाका कामहरु पनि सञ्चालन भइरहेका छन् । साना तथा ठूला आयोजनाहरु धमाधम सञ्चालन हुन थालेपछि नरैनापुरको विकासले जनप्रतिनिधि आएको तीन वर्षमै फड्को मार्न बेर लाग्दैन भन्ने पुष्टि भएको छ । नरैनापुर गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेटले गौरबका योजनालाई प्राथमिकतामा राखेको अध्यक्ष इश्तियाक अहमद शाहले बताए । ‘गौरबका योजनाले नै नरैनापुरको समुन्नत विकासमा टेवा पुग्नेछ,’ अध्यक्ष शाह भन्छन्, ‘हाम्रो नीति नै गौरवका योजना सञ्चालन गरेर नरैनापुरको विकास गर्नु हो ।’

अध्यक्ष शाहले खजुराको विकासका लागि हिजो गरिएको बाचा पूरा गर्न पनि गौरवका योजनाले मद्दत गरिरहेको बताए । उनले आर्थिक वर्ष २०७७/०७८ मा अघि सारेका गौरवका योजना क्रमिकरुपमा काम अघि बढेको बताउँदै नरैनापुरलाई नमूना गाउँपालिकाको रुपमा विकास गर्न पनि यी योजना महत्वपूर्ण कडीकोे रुपमा रहेको बताए । नरैनापुर गाउँपालिका उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तवले चालु आर्थिक वर्षमा अघि सारेको गौरवका तर, बहुवर्षिय योजनालााई निरन्तरता दिन बजेट विनियोजन गरेर काम भइरहेको बताए । नरैनापुर गाउँपालिकाले अघि सारेका गौरवका योजनामात्र नभई सबै योजना जनप्रतिनिधि र कर्मचारीको समन्वयमा गर्दा कार्यान्वयनमा सफलता प्राप्त हुने गरेको छ ।

विकासका योजना कार्यान्वयनका लागि शुरुदेखि नै सबैले आफ्नो आफ्नो क्षेत्रबाट सकारात्मक ढंगले सोचेर कुनै द्विविधा नराखी अक्षरसः पालना गर्ने गरेको नरैनापुर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले बताए । उनले अध्यक्ष, उपाध्यक्ष तथा अन्य सबै जनप्रतिनिधि र कर्मचारीबीचको आपसी सहकार्य, तालमेल र सकारात्मक सोंचका कारण नरैनापुरले सफलता प्राप्त गर्दै आएको बताए । ‘हामीले हरेक आर्थिक वर्षमा ठूला र उपलब्धीमूलक योजना अघि सारेका छौं,’ प्रमुख प्रशासकीय अधिकृत शाहीले भने, ‘यिनै योजना सफलतापूर्वक सम्पन्न गर्दै जाँदा नरैनापुर विकासमा अगाडि बढ्छ ।’

प्रमुख प्रशासकीय अधिकृत शाहीले बस्ती, वडा, विषयगत समिति, कार्यपालिका हुँदै गाउँसभाबाट पास भएर लागु गरिने योजना साझा हुने भन्दै योजना अनुसार बजेट विनियोजन गरेर अगाडि बढेकाले सफलता हासिल हुन थालेको बताए । उनले भने, ‘योजना सम्पन्न गर्न गाउँपालिकाबाट कुनै कमजोरी नभए पनि आवश्यक निर्माण सामाग्री समयमा उपलब्ध नहुनुले केही वाधा पुग्ने गरेको छ ।’ उनले समयमा योजना सम्पन्न गर्नका लागि समपुरक र केन्द्रबाट प्राप्त हुने रकम ढिलो विनियोजना हुँदा ढिला गरी टेण्डर आह्वान हुनु र खोलाजन्य पदार्थ तथा अन्य निर्माण सामाग्रीका कारण चुनौती हुने गरेको बताए । उनले विकासमा नरैनापुरबासी उत्साहित भएको पाएको पनि बताए । –समृद्धिको यात्रामा नरैनापुर बुलेटिनबाट