Loading... आजः ३१ बैशाख २०७८, शुक्रबार
अपराध

वन्यजन्तुका अङ्ग तस्करी गर्ने तीन पक्राउ, दुई करोडको लोभले जेलको यात्रा

वन्यजन्तुका अङ्ग तस्करी गर्ने तीन पक्राउ, दुई करोडको लोभले जेलको यात्रा

बाँके । राम्रो काम गरेर पैसा आर्जन गर्दा जीवन सुखमय बन्न सक्छ । तर, अवैध र गलत कामले मानिसलाई कुनै न कुनै बेला पोल्छ, दुख दिन्छ र सर्वनास गराउँछ । गलत काम कुनै न कुनै बेला पर्दाफास हुन्छ र मानिसको जीवन क्षणभरमा तहसनहस बन्छ । बाँकेमा यस्तै गलतधन्दामा संलग्न तीन जनाको जेलको यात्रा तय भएको छ ।

आज बिहीबार दिउँसो ६ बजेर ५० मिनेटको समयमा बाँकेको चिसापानी बजार क्षेत्रमा तीन जनाको गतिविधि शंकास्पद देखिरहेको थियो । गतिविधि शंकास्पद देखिएपछि प्रहरीले उनीहरुको निगरानी बढाइरहेको थियो । तीन जनामध्ये एक जनाले कलर लाइफ लेखिएको कालो झोला बोकेका थिए भने दुई जना उनीसँगै हिडिरहेका थिए ।

प्रहरीले शंकास्पद गतिविधि देखेर उनीहरुको खानतलासी सुरु गर्यो । खानतलासीकै क्रममा उनीहरुबाट वन्यजन्तुको अंगहरु फेला पर्यो । उनीहरु रेड पाण्डाको छाला, भालुको पित्त र कस्तुरीको बिनासहित तीन जनालाई बाँके प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमूख एवं प्रहरी नायव उपरीक्षक रबिन्द्र खनालले जानकारी दिए ।

चिसापानी बजारमा शंकाष्पदरुपमा सँगै हिँडिरहेका दैलेख चामुण्डा नगरपालिका–२ का ४२ बर्षियको चिनबहादुर थामी मगर, कैलाली घोडाघोडी नगरपालिका–१ का ४५ बर्षिय रत्नबहादुर खत्री र जाजरकोट नलगाड नगरपालिका–१ का ४० बर्षिय खले बिकलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक खनालले जानकारी दिए ।

उनीहरुका साथबाट दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला एक थान, भालुको पित्त ४० तोला बराबरको दुई थान र कस्तुरीको बिना २० तोला बराबरको एक थान बरामद भएको छ । प्रहरी नायव उपरीक्षक खनालका अनुसार उनीहरुबीच दुर्लभ वन्यजन्तुका उक्त अङ्गहरु दुई करोड रुपैयाँमा मोलतोल भइरहेको खुलेको छ ।

अवैध काम गरेर दुई करोड पैसा रुपैयाँ कमाएर सुखसयलमा रमाउने उनीहरुको यात्रा अन्ततः जेलतिर अघि बढेको छ । बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानी बजारबाट पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा राखिएको छ । रेड पाण्डाको छाला, भालुको पित्त र कस्तुरीको बिनासहित पक्राउ परेका तीन जनालाई प्रारम्भीक अनुसन्धानपछि भोली जिल्ला वन कार्यालयलाई बुझाइनेछ ।