Loading... आजः ३१ बैशाख २०७८, शुक्रबार
नमुना युवा संसद

बझाङबाटै सत्ता सञ्चालनको अभ्यास

बझाङबाटै सत्ता सञ्चालनको अभ्यास

बझाङ । युवाहरूको क्षमता बृद्धि तथा सशक्तिकरणका लागि बझाङको खप्तडछान्ना गाउँपालिकामा नमुना युवा संसदद्वारा सत्ता सञ्चालनको अभ्यास सम्पन्न भएको छ । गाउँपालिकाको पसल बगरमा २ दिनसम्म सञ्चालन भएको युवा संसद स्थापना र अभ्यास कार्यक्रममा नमुना युवा संसदहरुले सत्ता सञ्चालनको बिधि र प्रक्रियाको अभ्यास गरेका छन् ।

खप्तडछान्ना गाँउपालिका र जिल्ला युवा समितिको समन्वयमा संसद सञ्चालनको प्रक्रिया बारे जानकारी गराउन युवा संसद अभ्यास गरिएको हो । युवाहरुलाई संसदीय अभ्यास, मुल्य मान्यता, मर्यादा र संसद सञ्चालनको प्रक्रिया बारे जानकारी गराउने उदेश्यले संसद स्थापना र अभ्यास कार्यक्रम राखिएको जिल्ला युवा समिति बझाङका अध्यक्ष शैलेन्द्र रोकायाले बताए ।

उनले युवाहरुको नेतृत्व बिकासका लागि भूमिका निर्वाह गर्ने गरी युवा संसद स्थापना र अभ्यास कार्यक्रमबाट राष्ट्रपतिदेखि प्रधानमन्त्री, सभामुख, उपसभामुख, विभिन्न मन्त्री, प्रमुख सचेतक लगायतको निर्वाचन गरिएको बताएका छन् । संसद सञ्चालनमा बोल्नका लागि २ वटा समय छुट्टाइएको थियो ।

शुन्य समय र बिशेष समयमा संसदले बिभिन्न बिषयमाथि सरकारको ध्यानाकर्षण गराएका थिए । सत्तापक्षले सरकारको बचाउ गरेको र प्रतिपक्षले सरकारको बिरोध गरेको बिषयवस्तु उठान गरेर अभ्यास गरेका थिए । संसदहरुले उठाएका बिषयवस्तुमाथि नमुना युवा प्रधानमन्त्रीले संसदलाई जवाफसमेत दिएका थिए ।

युवा पुस्तामा यस्तो ज्ञान आवश्यक रहेको र यस्तो खाले अभ्यासले युवालाई देशको नीति निर्माणमा समेत सहज भुमिका खेल्न सक्ने सहभागीहरुको भनाई छ । सांसदले नै सिक्नु पर्ने मुल्य मान्यता, मर्यादा र संसद सञ्चालनको प्रक्रियाको अवसर आफुहरुले पाउँदा खुसी लागेको नमुना युवा प्रधानमन्त्री सरेन्द्र रावलले बताए ।

नमुना निर्वाचन गरी राष्ट्रपतिमा फुलुकुमारी रोकाया, सभामुखमा रेखा सुनार , गृहमन्त्रीमा योगेन्द्र भट्टराई, योजना मन्त्रीमा लोकेन्द्र रोकाया, श्रम तथा रोजगार मन्त्रीमा राजेश्वरी रोकाया, युवा तथा खेलकुद मन्त्रीमा करुणा खत्री, स्वास्थ्य मन्त्रीमा शिल्पा सुनार, प्रतिपक्ष दलको नेतामा केशव ओखेडा, मुख्य सचेतकमा सृष्टि थापा, प्रमुख सचेतकमा अन्जना कार्की र महासचिवमा योकान्त खड्का लगायत ६५ जना युवा सांसदहरु सहभागी थिए ।

नमूना युवा संसदमा सत्तापक्षका ४० जना र प्रतिपक्षमा २५ जना गरी ६५ जना सांसद रहेका छन् । सार्वजनीक जरुरीको प्रस्ताव र नीति तथा कार्यक्रमको संसदमा छलफल भएर नमुना युवा संसदद्वारा सत्ता सञ्चालनको अभ्यास सम्पन्न भएको विषय प्रशिक्षक उमेश जेठाराले बताए ।