Loading... आजः १ जेष्ठ २०७८, शनिबार

टिकटकमा दाङको एउटा सडक पनि भाइरल !

टिकटकमा दाङको एउटा सडक पनि भाइरल !

दाङ । पछिल्लो समय सामाजिक सञ्जालमा धेरै कुराहरू भाइरल (रातारात चर्चा) भएको पाइन्छ । दाङको एउटा सडक पनि टिकटकमा हिजोआज भाइरल हो । जुन सडक अवलोकन गर्न दैनिक सयौँ संख्यामा मानिसहरू आउने गरेका छन् ।

दाङको घोराही उपमहानगरपालिका–१० नारायणपुरदेखि रोल्पाको होलेरी जोड्न सडक करिब एक सातायता सामाजिक सञ्जाल टिकटकमा निकै भाइरल भइरहेको हो । घोराही–१०, नारायणपुरदेखि वडा नं.११ हुँदै १२ को सिमलकुटीसम्म करिब ९ किलोमिटर सडक कालोपत्रे भएको छ ।

उक्त सडक अन्तर्गत घोराही–११, झुम्केटाडी निकै भाइरल भइरहेको छ । त्यहाँ भिडियो बनाउनको लागि जिल्लाका विभिन्न ठाउँबाट टिकटक प्रयोगकर्ताहरू पुग्ने गरेका छन् । सामाजिक सञ्जाल टिकटकमा भिडियोदेखि पछि आफू पनि हेर्न आएको तुलसीपुरकी कल्पना डाँगीले बताइन् ।

‘टिकटकमा निकै भाइरल भएको थियो, कस्तो रहेछ भनेर हेर्न आएको हौँ,’ उनले भनिन्, ‘अन्य दिनभन्दा विदाको दिन निकै भीडभाड हुँदोरहेछ, यहाँ अरू कुनै हेर्ने चिज त छैन, सबै सडकमा फोटो खिच्नेदेखि भिडियो बनाउन आउने रहेछन् । तर, उक्त क्षेत्रमा दुर्घटनाको जोखिम बढी छ । धेरै भीडभाड र सवारी साधनको चाप पनि बढी हुँदोरहेछ ।’

त्यस्तै शान्तिनगर–२, अमुवाबाट भाइरल सडक हेर्न आएका गणेश खत्रीले पनि सामाजिक सञ्जालबाट आफूले थाहा पाएको बताए । उनले विदाको दिन भएकाले कस्तो रहेछ भनेर हेर्न आएको समेत बताए ।

‘सडक त धेरै बनेका छन् । तर, यो सडक भाइरल भएको देख्दा के रहेछ भनेर आएका छौँ,’ उनले थपे, ‘आज शनिबारको दिन यहाँको दृश्य हेर्दा म आफै दंग परे । यति धेरै मानिसहरू सडक हेर्न आउँदा रहेछन् । यो सडक सर्पजस्तै घुमेकाले पनि भाइरल भएको होला ।’

त्यस्तै, साथीहरूले भनेपछि यो भाइरल सडक हेर्न तुलसीपुरबाट आएको अर्का सुनील सुनारले बताए । उनले भने, ‘खासै त केही रहेनछ, सडक घुमाउरो रहेछ । मानिसहरूको भीडभाड एकदमै हुँदो रहेछ । हेर्दा रमाइलो लाग्दो रहेछ ।’ उक्त ठाउँमा युवायुवतीहरूको चहलपहलले गर्दा स्थानीय पनि अचम्म परेका छन् ।

स्थानीय डिल्लीबहादुर वलीका अनुसार करिब एक हप्तादेखि उक्त ठाउँमा धेरै चहल पहल बढ्दै गइरहेको छ । उनले सडक कालो पत्रे भएको र सर्प घुमेको जस्तै भएकाले टिकटक बनाउनेहरू गर्दा भाइरल भएको बताए । साथै, अन्य दिनमा भन्दा विदाको दिन धेरै युवायुवतीहरू भिडियो बनाउने फोटो खिच्न आउने गरेको समेत उनले बताए ।

‘यहाँ हेर्नको लागि अरू कुनै ठाउँहरू छैन । यो सर्प जस्तै घुमेको सडक मात्र हो,’ उनले भने, ‘एक हप्ताजति भयो दैनिक सयौँको संख्यामा युवायुवतीहरू आउने गर्दछन् । हामीलाई पनि अचम्म लागेको छ । तर, यहाँ दुर्घटनाको जोखिम बढिरहेको छ । टिप्परहरू पनि यहि बाटो हिँडेका हुन्छन् । सडकमा टिकटक भिडियो बनाउनेको अत्याधिक भीडभाड हुन्छ ।’

यो सडक निर्माण सम्पन्न भएको करिब ३ महिना जति भएको उनले बताए । उक्त सडकमा टिकटक भिडियो बनाउने फोटोहरू खिच्नेहरू मात्र खुशी भएका छैन् । त्यो चहल पहल देख्दा स्थानीयहरू पनि खुशी भएका छन् । सडकले गर्दा आफूहरूको ठाउँमा यस्तो चहलपहल भएको भन्दै स्थानीय एकराज डाँगीले खुशी व्यक्त गरे ।