Loading... आजः २ बैशाख २०७८, बिहीबार
स्वास्थ्यमा खेलबाड

डाक्टर सरुवा भएपछि भेरीमा न्युरो सेवा बन्द

डाक्टर सरुवा भएपछि भेरीमा न्युरो सेवा बन्द

बाँके । नेपालगन्जस्थित भेरी अस्पतालमा सुरु गरिएको न्युरो सेवा विशेषज्ञ चिकित्सक नहुँदा बन्द भएको छ । भेरी अस्पतालका न्युरो सर्जन डा.हरि पौडेलको सेती अस्पताल धनगढीमा सरुवा भएपछि उनको स्थानमा अर्का चिकित्सक नआउँदा अस्पतालको न्युरो सेवा बन्द भएको हो ।

न्युरो सर्जरी सेवा सुरु भएको छोटो समयमै बन्द भएपछि भेरी अस्पताल नेपालगन्जमा उपचारका लागि आउने बिरामी अन्यत्र गएर महँगो शुल्क तिर्न बाध्य भएका छन् । डा.पौडेलको सरुवा भएको महिनौं बितिसक्दा पनि नयाँ चिकित्सक नआउँदा समस्या भएको भेरी अस्पतालले जनाएको छ ।

भेरी अस्पतालका प्रमुख डा.प्रकाश थापाले न्युरो सर्जन डा.हरि पौडेलको सरुवापछि न्युरो सेवा प्रभावित भएको बताए । उनले अस्पतालले न्युरो सेवा प्रभावकारी बनाउन विभिन्न उपकरणहरू खरिद गरिएकोमा चिकित्सकको अभावले ती उपकरण अन्य विभागमा प्रयोग गर्नुपरेको बताए ।

न्युरो चिकित्सक नहुँदा उक्त उपकरणहरू अहिले अर्थो, ईएनटी लगायतका विभागमा प्रयोग भइरहेको अस्पतालले जनाएको छ । अस्पताल प्रमुख डा. थापाले न्युरो उपचार सेवा सुरु गर्न पहल भइरहेको बताए । उनले विषय विज्ञता हासिल गरेका चिकित्सकको व्यवस्था गरेपछि सेवा पुनः नियमित गरिने बताए ।