Loading... आजः ३१ बैशाख २०७८, शुक्रबार
सामाजिक विकृति

बाँकेमा मौलायो यौन व्यापार, ‘तारे होटलमै यौनधन्दा, पुरुष बेश्या पनि सक्रिय’

प्रहरी अधिकारीको निर्देशनसँगै घुमुवा प्रहरीको सेटिङ्गमा पछिल्लो समय ठुला र तारे होटलमा मौलाएको छ ।
बाँकेमा मौलायो यौन व्यापार, ‘तारे होटलमै यौनधन्दा, पुरुष बेश्या पनि सक्रिय’

बाँके । यौन तृष्णा मेटाउने सयौं यौन अखडाहरु बाँके जिल्लाभित्र छ्यापछ्याप्ती छन् । बाँकेमा यौन व्यापार भित्रभित्रै यति मौलाएको छ कि त्यसको कुरा गरेर साध्य नै छैन । देहव्यापारमा उच्च ओहदाका व्यक्तिहरु समेत सक्रिय छन् । यस्तो धन्दामा पुरुषमात्रै नभई उच्च घरानाका महिलाहरु पनि सामेल भइरहेका छन् ।

जीवन साथी, श्रीमान–श्रीमतीबीच गृह कलह आदिका साथै एकअर्कामा सहबासमा हुने अतृप्तीले पनि मानिसहरुलाई ‘बाहिरको खोजी’मा पुर्याएको देखिन्छ । अर्को कुरा, यदि नयाँनयाँ पुरुष वा महिला खोज्दै र रोज्दै हिँड्ने लत परिसकेको छ भने त्यो बानी नमर्दासम्म पनि फेरिँदैन । स्मार्ट र आफ्नो यौन तृष्ण मेटाउन सक्ने खालका युवायुवतीलाई छानेर देहव्यापार भइरहेको तथ्य पनि खुलेको छ ।

बाँकेमा यौन व्यवसाय यति फँस्टाउदो छ कि कुरा गरेर साध्य नै छैन । खाजाघर र रेस्टुरेन्टको आवरणमा यौनधन्दा चलिरहेका छन् । अझ कलिला (भर्खर २४–१५ बर्षका) युवतीहरु यौनधन्दामा सक्रिय देखिन्छन् । उनीहरुलाई खाजाघर तथा रेस्टुरेन्ट सञ्चलकले नै यस्तो पेशामा लगाउने गरेका छन् । मिहेनत नै नगरी छिट्टै पैसा कमाइने र आफ्नो आवश्यकता पनि टार्न सकिने भएकाले कलिला युवतीहरु यौनकर्ममा सक्रिय छन् ।

युुवायुवतीहरु संगतका कारण खाजाघर तथा रेस्टुरेन्ट सञ्चालक, दलाल वा यौनकर्मी आदिको माध्यमबाट यो पेसामा तानिने गरेका छन् । नयाँ युवती आउने बित्तिकै सञ्चालकहरु स्वयम् ग्राहकसँग डिल गर्न पुग्ने गरेको पनि स्रोत बताउँछ । युवती कन्ट्याक्टमा आउने बित्तिकै नयाँ चरी आएकी छे, अस्तीको भन्दा नि राम्री, च्वाँक छे भन्दै खाजाघर तथा रेस्टुरेन्ट सञ्चालकले बार्गेनिङ गर्ने गरेका छन् ।

पछिल्लो चरणमा खाजाघर तथा रेस्टुरेन्टहरु यौनधन्दाका केन्द्र बन्ने गरेका छन् । बाँकेको नेपालगन्ज, कोहलपुर, राँझा, चप्परगौडी, ढकेरी लगायतका खाजाघर तथा रेस्टुरेन्टहरुमा यौन व्यवसाय मौलाउँदै गएको स्थानीयहरुको गुनासो छ । खाजाको सट्टा यौन व्यवसाय हुने यस्तो क्षेत्रमा प्रहरीको मिलेमतो रहेका कारण यौन व्यवसाय घट्नुको सट्टा झन् मौलाउँदै गइरहेको स्थानीयहरु बताउँछन् ।

अझ पछिल्लो समयमा यौनधन्दाको नयाँ ट्रेण्ड चलिरहेको छ । खाजा पसलका नाममा दर्ता नगरेका पसलमा १–२ वटा खाजाका ‘आइटम’ राख्ने र महिला तथा युवतीलाई यौन धन्दामा लगाउने गरिएको छ । दर्ता नगरेर खाजा पसलका नाममा यौनधन्दा भइरहेका छन् । खाजाघर तथा रेस्टुरेन्टमा यौन क्रियाकलाप मौलाउँदै गए पनि प्रहरी भने बेखबर जस्तै बनेको छ ।

‘ए दाई जाने हो ? सुरक्षित छ क्या ? जस्ता शब्द प्रयोग गर्ने यौनकर्मीहरुका कारण सर्वसाधारणलाई अप्ठ्यारो पारेको भन्ने सूचनाहरू आइरहन्छन् । यति हुँदाहुँदै पनि अटेरी गर्नेलाई कानून प्रहरीले कारबाही गर्न सकेको छैन,’ नाम नबताउने शर्तमा राँझाका एक जना किराना व्यवसायीले भने । प्रहरीकै मिलेमतोमा यौनकर्मीहरु ढुक्कसँग यौनधन्दामा सक्रिय रहेको स्थानीयको आरोप छ ।

पुरुष बेश्या पनि सक्रिय

पछिल्लो समयमा बाँकेमा उच्च घरानाका र श्रीमान विदेश रहेका तथा उमेरमै श्रीमानको देहान्त भएकाहरु पुरुष बेश्याको सम्पर्कमा आउने गरेको स्रोतले बताएको छ । देख्दा हट्टाकट्टा व्यक्तिहरु उनीहरु रोजाइमा पर्छन् । यस्तो पेशामा लागेका युवाहरुले आफूहरु हप्तामा ४ देखि ६ जना ग्राहककहाँ जाने गरेको बताउँछन् । यसका लागि उनीहरुले मोबाइलबाटै सबै कुराकानी तय गर्ने गरेका हुन्छन् ।

सामान्यतया उनीहरुले महंगा होटलहरु बुक गर्ने गर्छन् । कतिपय विवाहित महिलाहरुले भने परिवारका अन्य सदस्य नभएको मौका छोपेर घर अथवा डेरामा बोलाएर पनि आफ्ना कामवासना मेट्ने गरेको स्रोतले बतायो । विवाहित एक जना पुरुषले छुट्टै व्यवसाय गरे पनि त्यो भने देखाउनका लागि मात्र भएको बताए । मस्तीका साथै महिनामै एक लाख रुपैयाँसम्म यहि व्यवसायबाट कमाइरहेको उनले बताए ।

तारे होटलमै यौनधन्दा

साना होटल, गेष्ट हाउस, रेष्टुरेन्टमा हुने यौनधन्दा पुरानै हो । बाँकेका साना झुपडी, साना, मझौला होटलमा हुँदै आएको भनिएको देहव्यापार यतिबेला यहाँका तारे होटलमा समेत मौलाएको देखिएको छ । त्यो पनि प्रहरी अधिकारीको निर्देशनसँगै घुमुवा प्रहरीको सेटिङ्गमा पछिल्लो समय ठुला र तारे होटलमा मौलाउँदै गएको छ । लकडाउनदेखि मौलाउँदै गएको देह ब्यापार अहिले नियन्त्रण बाहिर गइसकेको छ ।

बाँकेका विभिन्न शहरी क्षेत्रमा चिया पसलदेखि तारे होटलसम्ममा यस्तो काम भैरहेको प्रहरीलाई समेत थाहा छ । तर, मोटो रकम असुलीकै कारण प्रहरी उदासीन देखिएको छ । नेपालगन्जको न्युरोड, राँझा, बसपार्क लगायतका क्षेत्रका साथै कोहलपुरको दशबिगाह, बसपार्क, मनकामना चोक, चप्परगौडीदेखि ढकेरीसम्मको क्षेत्रमा सबैभन्दा बढि देह ब्यापार हुने गरेको छ ।

नेपालगन्ज, कोहलपुरका तारे भनिएका होटलमा उच्च सरकारी अधिकारीदेखि उच्च घरानाका यौन जोडीहरू आउने गरेको खुलेको छ । यहाँका स्टारमा यौनधन्दा हुन्छ भन्ने कुरा त यसअघि मालपोत हाकिम काण्डले पनि प्रमाणित गरिसकेको छ । यस्तो पेशामा १४ बर्षदेखि विवाहित महिलाहरु पनि संलग्न रहँदै आएका छन् । लकडाउनदेखि मौलाउँदै गएको देह ब्यापार अहिले नियन्त्रण बाहिर रहेको स्थानीय बताउँछन् ।

देहब्यापार गर्नेहरु साना, मझौला होटलमा हुने यस्ता काममा १५ सय देखि १५ हजारसम्म लिने गरेका छन् । तर, बाँके प्रहरी भने असुलीमा व्यस्त छ । रोकथाम र नियन्त्रणमा उदासीन छ । वडा प्रहरी कार्यालय नेपालगन्जमा प्रहरी प्रमूखका रुपमा डिल्लीबहादुर खड्का आएसँगै शुरूवातमा सानो झुपडीमा छापा मारेर तर्साएसँगै अहिले प्रहरीले नै रकम असुलीमा अभियान चलाएपछि यौन व्यवसाय झनै फस्टाउँदै गएको छ ।

जिल्लाभर सादा पोसाकमा राखिएका घुमुवा प्रहरीले नै यौन अखडा चलाउने, पैसा लिएर होटलको संरक्षण गर्ने गरेको जिल्ला प्रहरी कार्यालय स्रोत बताउँछ । सादा पोसाकका प्रहरीहरु यौनकर्मी महिलासँग रक्सीमा लठ्ठ भएर नाचगानमा व्यस्त भएको देख्न सकिने राँझाका एक जना व्यवसायीले बताए । जिल्लाका केही होटल सञ्चालकहरुले प्रहरीसँग सेटिङ्ग मिलाएर वर्षाैबाट यौन व्यवसाय चलाउँदै आएका छन् ।

‘भिआइपी पाहुना आउँदा अर्डर अनुसार कलेज पढ्ने केटी बोलाईदिन्छु । उनीहरुको रेट पनि महंगो छ । एक रातको कम्तीमा १० हजार लिन्छन्,’ कोहलपुर दशबिगाहका एक होटल सञ्चालकले भने, ‘अन्यत्रै जिल्लाबाट कलेज पढ्नका लागि कोहलपुरमा भाडामा बस्दै आएका केटीहरु कन्ट्रयाक्ट भिआपी पाएपछि डिल गरेर जान्छन् । उनीहरुको एकदिनको रेट १० देखि ५० हजार रुपैयाँसम्म छ ।’

श्रीमान विदेशमा भएका, सम्बन्धबिच्छेद भएका फोनमार्फत कन्ट्रयाक्ट गरेर आफै ग्राहक खोज्ने र कोठामै बोलाउने उनीहरुको रेट २ हजारदेखि ५ हजारसम्म छ । तेस्रो किसिमका यौनकर्मी हरेक होटलमा बस्ने ग्राहकलाई खुशी बनाउने उनीहरुको रेट १ देखि २ हजारसम्म रहेको स्रोतको दाबी छ । घर परिवारबाट टाढा बसेका प्रहरी, सेना र सरकारी कर्मचारी प्रमुख ग्राहक हुन् । यसबाहेक पर्यटकहरू पनि छन् ।

‘प्रहरीले त उपयोग गर्छन्, पैसा पनि दिँदैनन् । कतिपय अवस्थामा जेलमा पनि हालिदिन्छन्,’ एक यौनकर्मी महिलाले भनिन् । केही होटलमा कामदारको रुपमा युवती राख्ने र यौन व्यापार गराउने गरिएको छ । होटलमा नियमित कामदार भएर नै यौन बेच्ने युवतीहरु बाँकेमा धेरै छन् । पछिल्लो समय द्रुतगतीमा शहरीकरण भइरहेका बाँकेका विभिन्न शहरोन्मुख क्षेत्रमा यौन व्यवसाय बढ्दै गएको देखिन्छ ।

फ्ल्याट नै लिएर यौनधन्दा

बाँकेमा नेपाली मात्र नभई भारतीय यौनकर्मीहरु पनि सक्रिय भइरहेको प्रहरी स्रोतले नै बतायो । जिल्लाभित्र केही फ्ल्याट नै भाडामा लिएर यौन व्यवसाय सञ्चालन भइरहेका छन् । प्रहरी संरक्षणमा राँझा क्षेत्रको एक होटलमा खुलेआम यौनधन्दा चलिरहेको छ । उक्त होटलमा यौन सन्तुष्टिका लागि विभिन्न पेशा व्यवसायमा संलग्न उच्च वर्गका व्यक्तिहरु पुग्ने गरेको स्रोतले बतायो ।