Loading... आजः २ बैशाख २०७८, बिहीबार

काठमाडौंमा आज साँझ पानी पर्ने सम्भावना

काठमाडौंमा आज साँझ पानी पर्ने सम्भावना

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण काठमाडौंमा आज पानी पर्ने सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज साँझ काठमाडौंमा पानी पर्ने छ । साँझपख हल्का वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् ।

केहीदिनदेखि बादल लाग्ने क्रम चलिरहेका कारण केही चिसोको अनुभव भइरहेको भन्दै उनी भन्छिन्, “घाम राम्रोसँग नलागेका कारण केही दिनयता चिसोको अनुभूत भइरहेको छ ।

बादल लाग्ने क्रम अझै तीनदिन रहने छ ।” काठमाडौंको आजको न्यूनतम तापक्रम १०.६ डिग्री सेल्सियस रहेको थियो भने दिउँसो २१–२३ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ ।

आज विहान सुदूरपश्चिम प्रदेशका साथै देशका पश्चिमी पहाडी भू–भागमा पूर्ण बदली रहेको छ भने अन्य पहाडी क्षेत्रमा सामान्य बदली रहेको छ । देशका बाँकी भू–भागहरूमा आंशिक बदली रहेको छ विभागले जनाएको छ ।

आज दिउँसो सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूररपश्चिम प्रदेशका पहाडी भू–भागको केही स्थानमा तथा वाग्मती र प्रदेश १ का एकदूई स्थानमा मेघ गर्जन र चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

देशको केही उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ ।आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

प्रदेश १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागको एकदुई स्थानमा मेघ गर्जन र चट्टयाङसहित वर्षाको सम्भावना रहेको छ ।