Loading... आजः २ बैशाख २०७८, बिहीबार

नेपाल राष्ट्र बैंकद्वारा विद्युतीय भुक्तानीको सीमा दोब्बर

नेपाल राष्ट्र बैंकद्वारा विद्युतीय भुक्तानीको सीमा दोब्बर

काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट भुक्तानीमा रकमको सीमा दोब्बर बनाएको छ ।

राष्ट्र बैंकले हिजो निर्देशन जारी गर्दै सर्वसाधारणले मोबाइल बैंकिङबाट दैनिक २ लाख रुपैयाँसम्म र इन्टरनेट बैंकिङबाट बिल भुक्तानी वा एकाउन्ट ट्रान्सफरमा दैनिक २० लाखसम्म रुपैयाँ कारोबार गर्न सकिने व्यवस्था गरेको हो ।

विद्युतीय माध्यमबाट हुने कारोबारलाई प्रोत्साहन गर्नका लागि भुक्तानीको सीमा बढाइएको केन्द्रीय बैंकले जनाएको छ । यसअघि मोबाइल बैंकिङबाट प्रतिदिन एक लाख र प्रतिमहिना १० लाख रुपैयाँसम्म मात्र कारोबार गर्न सकिने व्यवस्था थियो ।

यसैगरी इन्टरनेट बैंकिङबाट प्रतिदिन १० लाखसम्म र बिल भुक्तानीका लागि मासिक ३० लाख तथा एकाउन्ट ट्रान्सफर गर्दा मासिक ५० लाखसम्म कारोबार गर्न सकिने गरी सीमा तोकिएको थियो । बैंकले मासिक कारोबार सीमा हटाएर दैनिक कारोबार सीमालाई भने दोब्बर बनाएको हो ।

कुनै व्यक्तिको नाममा बैंक तथा वित्तीय संस्थामा रहेको एउटा खाताबाट सोही व्यक्तिको नाममा सोही संस्थामा रहेको अर्को खातामा रकम रकमान्तर गर्दा, सरकारी कर, राजस्व, जरिवाना, सवारी दस्तुर, रजिष्ट्रेशन तथा सेवा शुल्क इत्यादि शुल्क भुक्तानी गर्दा र विद्युत्, दूरसञ्चार, खानेपानी, बिमा प्रिमियम, सामाजिक सुरक्षा भत्ताको भुक्तानी गर्दा तोकिएको सीमा लागू नहुने निर्देशनमा उल्लेख छ ।

यसैगरी शिक्षण संस्था, स्वास्थ्य संस्था, हवाई सेवा, यातायात र होटल तथा रेष्टुरेन्ट कारोबारका साथै धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र प्राप्त धितोपत्र दलालहरुसँग धितोपत्रहरुको कारोबारबापत तोकिएको बैंक खातामा रकमको भुक्तानी गर्दा पनि सीमा लागू नहुने निर्देशनमा उल्लेख छ ।

कोभिड—१९ को महामारी सुरु भएसँगै राष्ट्र बैंकले विद्युतीय भुक्तानीलाई प्रवद्र्धन गर्दै विद्युतीय माध्यमबाट हुने कारोबार सीमा वृद्धि गर्न थालेको हो । राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा गर्दै विद्युतीय कारोबारलाई प्रवद्र्धन गर्नका लागि भुक्तानीको सीमा वृद्धि गर्ने घोषणा गरेको थियो ।

यसैगरी बैंकहरुले संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट ५ प्रतिशत रकम विद्युतीय कारोबारको प्रवद्र्धनका लागि खर्च गर्न सक्ने व्यवस्था समेत गरेको छ ।